चुरोमै चुकेको सामाजिक अध्ययन

यदि हामी शिक्षालाई जीवन-व्यवहारको महत्वपूर्ण कडीको रूपमा लिन्छौं भने, विद्यालय शिक्षाको पाठ्यक्रम माटो सुहाउँदो हुनु जरूरी हुन्छ। हाम्रो अहिलेको पाठ्यक्रम र त्यसको भार प्रायोगिक नभई बढी सैद्धान्तिक रहेको छ। यहाँ उठाउन खोजिएको विषय– सामाजिक शिक्षा पाठ्यक्रम-२०७८ अन्तर्गत कक्षा-९ र १० को सामाजिक विषयको पाठ्यपुस्तकसँग सम्बन्धित छ। त्यसमा पनि मुख्यतया कक्षा-१० को पाठ्यपुस्तकलाई आधार मानेको छु।

राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६ ले मार्गदर्शन गरे अनुरूप सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको पाठ्यक्रम तयार गरिएको छ। यस पाठ्यक्रमबाट विद्यार्थीमा सामुदायिक भावना विकसित हुनसकोस्, विद्यार्थीले आफ्नो मुलुकको वास्तविक विकासका अवधारणा बुझन सकुन्; आफ्ना सामाजिक मूल्यमान्यतासँग परिचित भई एक लगनशील; कर्तव्यनिष्ठ, इमानदार र असल नागरिक बनुन् भन्ने उद्देश्य राखिएको छ। साथै विद्यार्थीमा असल आचरण निर्माण, अनुशासन, जिम्मेवारी, सहयोग, सहकार्य, शान्ति, प्रेम, समानुभूति विकास गराउने उद्देश्य पनि राखिएको छ। 

पाठ्यक्रममा, कक्षा-९ र १० दुवैमा साप्ताहिक चार पाठ्यघण्टा र वार्षिक १२८ कार्यघण्टा समय निर्धारण गरिएको छ। विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कनका लागि ७५ प्रतिशत अंक आवधिक मूल्याङ्कन र २५ प्रतिशत अंक आन्तरिक मूल्याङ्कनका निम्ति छुट्याइएको छ। आवधिक मूल्याङ्कनको लागि विशिष्टीकरण तालिका सहित प्रश्नपत्रको नमूना पनि दिइएको छ। 

आन्तरिक मूल्याङ्कनका लागि समेत मूल्याङ्कन निर्देशिका जारी भएको छ। यद्यपि मूल्याङ्कनमा कसरी एकरूपता कायम गर्ने, सामाजिक विविधतायुक्त पृष्ठभूमिबाट आएका विद्यार्थीलाई कसरी सम्बोधन गर्ने, वैयक्तिक भिन्नता कसरी छुट्याउने, आन्तरिक मूल्याङ्कनमा असफल भएका विद्यार्थीको सन्दर्भमा के गर्ने, एक शैक्षिक सत्र भित्रै आन्तरिक मूल्यांकन गरिसक्नुपर्ने तर आवधिक मूल्याङ्कनमा ‘ननग्रेडेड’ भएका विद्यार्थीहरूको सन्दर्भमा अर्को वर्षको परीक्षामा आन्तरिक मूल्याङ्कन के, कसरी गर्ने वा पुरानै कायम राख्ने भन्ने विषयमा द्विविधा वा अस्पष्टता कायम छ।

अप्ठ्याराहरू
सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकका दशवटै एकाइका सिकाइ उपलब्धि, विषयवस्तु र तिनको विस्तृतीकरण, सम्भावित सहजीकरण र मूल्याङ्कन प्रक्रिया समेत उल्लेख गरेर पाठ्यक्रमलाई वैज्ञानिक र समयसापेक्ष बनाउन खोज्नु– यसको सकारात्मक पाटो हो। विद्यालयमा सामाजिक अध्ययन  मात्र यस्तो विषय हो जसले किन, कसरी र कस्तो जीवनशैली बाँच्ने भन्ने कुराको ‘फ्रेमिङ’ गर्दछ। यो त्यस्तो ‘सोसियल इन्जिनियरिङ’ हो कि अहिलेको पुस्ता कस्तो हुने मात्र होइन, आगामी पुस्ता कस्तो हुने ? ‘ब्रेन-ड्रेन’ लाई रोक्ने यथार्थपरक विधि के हुने ? देशमा नै किन बस्नुपर्ने ? कस्तो खानपान गर्ने ? मातृभाषा र हाम्रो सभ्यताबीचको सम्बन्ध के हुने ? के कस्ता अन्तरवैयक्तिक सीपहरू हासिल गर्ने ? समाज र युगलाई वैज्ञानिक बनाउन नागरिकको भूमिका के हुने ? परसंस्कृतिग्रहण र सांस्कृतिक हस्तक्षेपका विरुद्धमा के-के गर्ने ? राजनीतिलाई शुद्धीकरण हेतु परिवार र समाजमा कस्तो भूमिका निर्वाह गर्ने ? लगायत कैयन् विषयको जवाफ र समाधानको मार्ग निर्धारणको अपेक्षा गरिएको हुन्छ। तर, दुःखपूर्वक भन्नुपर्छ– यस्ता प्रश्नहरूको जवाफ प्रस्तुत पाठ्यक्रम/पाठ्यपुस्तक कहीं पाइन्न। 

विविध पहिचानहरूको बारेमा यो पाठ्यपुस्तकले धेरै बोध गराँउछ, तर मूल पहिचान हाम्रो राष्ट्रियतासँग जोडिएको हुन्छ भन्ने बारेमा चाहिं मौन छ। पाठ्यपुस्तकमा समेत पहिचानसम्बद्ध विषयवस्तुहरूलाई तथ्याङ्क सहित प्रस्तुत गरिएको छ। जस्तो; जातीय, भाषिक, धार्मिक पहिचान उपशीर्षकमा तत्–तत् क्षेत्रका तथ्याङ्कको उल्लेख छ तर मूलतः पहिचान भावना र व्यवहारजन्य विषय हो भन्ने बोध त्यहाँ गराइएन । ‘विविधतामा एकता’ भन्ने विषयलाई व्यवहारपरक रूपमा कक्षा, बिहानी प्रार्थना सभा, विद्यालयका विभिन्न उत्सव आदिलाई ‘मिनिएचर सोसाइटी’का रूपमा अवलोकन गराउँदा हुने भन्ने विषयलाई पाठ्यक्रमले क्लिष्ट बनाइदिएको छ। पाठ्यपुस्तकले ‘समानता सोचौं’ भन्ने फर्मान जारी गर्दछ तर समानता हासिल गर्न के के व्यवहार/अभ्यासहरू प्रयोग गर्ने, कुन तरिका अपनाउने भन्ने विषयमा मौनप्रायः रहन्छ। 

‘राष्ट्रिय गौरव’का रूपमा उल्लिखित कतिपय विषयहरूले पाठ्यपुस्तकको गरिमालाई उँचो बनाउन सकेका छैनन्; जस्तो कि नेपालीहरूले प्राप्त गरेका भिक्टोरिया क्रस, मिलिटरी क्रस आदि नेपालको भूगोल र राष्ट्रियतालाई सर्वोच्च राख्नका लागि थिएनन्, पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतको पक्षमा लडेर पाइएका हुन् जसको हाम्रो गौरवसँग कुनै प्रत्यक्ष सम्बन्ध छैन। तर पाठ्यपुस्तकले यस्तो आलोचनात्मक चेत पैदा गर्ने तरिका सिकाउँदैन। 

दिगो विकासका अवधारणालाई स्थानीय विकासका मोडेलहरूसँग जोड्ने र स्थानीय निर्माणाधीन र निर्माण भइसकेका समेत केही आयोजनाहरू हेरेर त्यो ज्ञानलाई स्थानीयकरण गर्न सकिन्छ भन्ने विषयमा पाठ्यक्रम र पाठ्यपुस्तक दुवै मौन छन्। पाठ्यपुस्तक स्थानीय ज्ञान, सीप, धारणा आदिलाई दिगो विकाससँग जोड्न हिच्किचाएको छ, जस्तो कि– किरातीहरूको उँधौली थानले वनजंगल संरक्षणमा जबरजस्त योगदान गर्दछ, जलरानीको पूजा गर्ने र देवीस्थल पूजन संस्कृतिले वन/पानीको मुहान संरक्षण गर्दछ। त्यस्तै, सामुदायिक वन, रानीवन, सार्वजनिक वन आदिको नेपाली अभ्यासले दिगो विकास र कार्वन उत्सर्जन न्यूनीकरण मार्फत वातावरणको दिगोपनामा सहयोग पुर्‍याएका कुरा पाठ्यपुस्तकमा भए पो मौलिक ढंगले बालबालिकाले सिक्न सक्दथे । त्यतातिरको सोच पाठ्यपुस्तक र पाठ्यक्रम तयार गर्ने विज्ञहरूमा देखिएन। 

सामाजिक अध्ययन विषयले व्यक्तिलाई धनी, शिक्षित या सचेतका अलावा ‘मान्छे’ बन्न सिकाउने हो, आफूलाई चिन्न सिकाउने हो, खुशी बन्न सिकाउने हो, आत्मसाक्षात्कार गर्न, संवेग नियन्त्रण गर्न सिकाउने हो। तर त्यो दिशामा यी पाठ्यक्रम र पाठ्यपुस्तक दुवै मौन छन्।


हाम्रा लोक तथा शास्त्रीय कलाहरूको सैद्धान्तिक सिकाइ सहजीकरण गर्न खोज्नु गलत हुन्छ। यस्ता विषयहरू क्षेत्र भ्रमण, स्रोत व्यक्तिको पहिचान र प्रयोग, सांगीतिक कार्यक्रमहरूको आयोजना, मिनी सांस्कृतिक संग्रहालय निर्माण आदि तरिकाहरू अपनाएर गर्ने हो। तर पाठ्यक्रमको आँखा त्यतातिर पनि गोचरित छैनन्। पाठ्यपुस्तकले समेत भद्दा सूचनाभन्दा थप कुरा दिनसकेको पाइँदैन।

राष्ट्रिय दिवस सम्बन्धी जुन धारणा दिन खोजिएको छ त्यसमा स्थानीय दिवसहरू (जस्तो काठमाडौं उपत्यकामा नेवारी संस्कृतिसँग सम्बन्धित, इलाममा नामवुन, बालाचतुर्दशी आदि) को समेत धारणा दिनसकेको भए स्थानीय ज्ञानको राष्ट्रियकरण हुनेथियो।

‘सामाजिक सुधारमा अन्तर्राष्ट्रिय संघ–संस्थाले खेलेको भूमिका’ शीर्षकमा स्थानीय तहमा कार्यरत कुनै न कुनै अन्तराष्ट्रिय संघ-संस्थाको बारेमा क्षेत्र भ्रमण वा स्थानीय कार्यपालिकाको भ्रमण गराएर पनि सिकाइ सहजीकरण प्रक्रिया अगाडि बढाउन सकिने थियो। तर, पाठ्यक्रमले त्यो दिशातिर सोच्न सकेन । त्यसैगरी सरकारका अंगहरूको सिकाइ सहजीकरण प्रक्रियामा स्थानीय सरकारका कार्यालयको भ्रमण र स्थानीय जनप्रतिनिधिहरूलाई स्रोतव्यक्तिको रूपमा प्रयोग गरी सिकाइ सहजीकरण प्रायोगिक बनाउन सकिन्थ्यो। राजनीतिक दल र निर्वाचन प्रक्रियाको सम्बन्धमा दलका स्थानीय अगुवाहरूलाई स्रोतव्यक्तिका रूपमा प्रयोग गर्न सकिन्थ्यो । तर पाठ्यक्रम निर्माण र पाठ्यपुस्तकहरू त्यसबमोजिम विकास गर्न नसक्नु ठूलो कमजोरी हो।

भूगोल अन्तर्गतको खण्डका लागि हाम्रो विद्यमान जनशक्ति व्यवस्थापनको अवस्था हेर्ने हो भने विषयवस्तुको क्लिष्टतासँग जनशक्तिको सम्बन्ध व्युत्क्रमानुपातिक देखिन्छ। यस खण्डका अधिकांश विषयवस्तुुहरू हटाएर ज्ञान तहको अनावश्यक बोझ्लाई घटाउने दिशातिर सोच्नु जरूरी छ।
अर्थशास्त्रीय धारणाहरू ऐच्छिक अर्थशास्त्र, लेखा लगायत विषयहरूसँग दोहोरिएका देखिन्छन् । देशको रोजगारीको अवस्था, ऊर्जा विकास, पर्यटन विकास, स्थानीय तहमा पर्यटनको विकास लगायत विषयवस्तुहरू क्षेत्रीय विकासको अवधारणा अन्तर्गत नै शिक्षण सहजीकरण गराइने विषयहरू हुन् । त्यसका लागि एउटा एकाइ नै थपेर पाठ्यक्रम र पाठ्यपुस्तकलाई भद्दा बनाउनु जरूरी थिएन ।

समसामयिक वैश्विक विषय र जनसांख्यिक अवधारणा वर्तमान पुस्ताको लागि अत्यावश्यक विषयहरू हुन् । यसलाई बोध तहमा सीमित गर्नुपर्ने देखिन्छ । फगत संख्या र कोरा तथ्याङ्क दिमागमा भरेर बालबालिकाको क्षमता विकास भएको भ्रम पाठ्यक्रमले बोकेको छ, जुन गलत हो । 

पाठ्यक्रममा उल्लेख गरिएका विषयवस्तुहरूको सिकाइ सहजीकरणमा सबैलाई समान महत्व दिनुपर्ने हुन्छ। तर, शिक्षकहरूको सबै विषयमा सूचना, ज्ञान र अवधारणा अभावको कारण उपलब्धि हासिल गर्ने कुरामा शंका उत्पन्न हुन्छ । यस विषयले क्रियाकलापमा आधारित सिकाइलाई महत्व दिने हुँदा कक्षाभित्र वा कक्षाबाहिर आ-आफ्ना गाउँ, टोल समुदायसँग सम्बन्ध राखी क्रियाकलापहरू गराउनुपर्दछ जसका लागि निर्धारित पाठ्यघण्टामा सम्पन्न गर्न कठिन पर्दछ।

सिकाइ सहजीकरण गर्दा घोक्ने, कण्ठ गर्ने/गराउने शिक्षण पद्धतिलाई निरुत्साहित गरी खोज, अन्वेषण वा गरेर सिक्ने वातावरण तयार गरिदिनुपर्दछ। त्यसो गरे मात्र उपलब्धि हासिलमा सहजता प्राप्त हुन्छ, यद्यपि त्यसो गर्नलाई विद्यार्थीको दक्षतागत विविधता र समयाभावको कारण सहज हुने देखिन्न।


समग्रमा कक्षा-९, १० को निम्ति तयार पारिएको सामाजिक अध्ययन विषयको पाठ्यक्रम र पाठ्यपुस्तकले १४/१५ वर्षका बालबालिकाको मनोवैज्ञानिक अवस्था र नेपालको भूधरातलीय यथार्थलाई बेवास्ता गरेको देखिन्छ। यो पाठ्यक्रमले औपनिवेशिक र दास मानसिकताबाट मुक्त हुने उपाय, ‘पढ्दै कमाउने’ र मुलुक नै सबैभन्दा शीर्ष स्थानमा हुने, मौलिकता प्रधान हुने लगायत थुप्रै विषयलाई अनदेखा गर्दछ। यहुदीहरूको नृशंस हत्या हुनु हिटलरको हठ मात्रै दोषी होइन, तत्कालीन प्रणाली पनि दोषी थियो भन्ने कुरा हिटलरको मृत्युसूचीमा रहेका तर बाँच्न सफल मनोचिकित्सक डा. भिक्टर फ्रायंकलको पुस्तक मेन इन सर्च अफ मिनिङ बाट बुझिन्छ। 

‘जंकफुड क्यापिटलिजम’ले हाम्रो समुदायसँगै संसारभर जनस्वास्थ्य बिग्रेको छ र थप बिग्रँदैछ, ‘क्रोनि क्यापिटालिजम’ले आसेपासे बाहेक मान्छे नदेख्ने बनाएको छ, हामी श्रमबाट कट्दै-कट्दै क्रमशः उपभोक्तावादी बन्दैछौं, सामाजिक संजालको अधिक प्रयोगले मानिसमा एन्जाइटी, डिप्रेसन लगायत समस्या भयंकर रूपमा बढ्दैछन्; साइबर अपराधले समाज झ्नै बिग्रँदै गइरहेको छ– लगायतका कैयन् विषय क्षेत्रमा प्रवेश नगरी अनावश्यक, अव्यावहारिक र कम प्रायोगिक विषयवस्तुको संकलन मात्र गरेर सामाजिक अध्ययन विषयको यो पाठ्यक्रम र पाठ्यपुस्तक अन्तिमतक दगुर्छ, जुन अहिलेको समयमा अभिशाप बनेको छ। 

(फिक्कल माध्यमिक विद्यालय, सूर्योदय नगरपालिका, इलाम)

शिक्षक मासिक, २०८० फागुन अंकमा प्रकाशित । 

commercial commercial commercial commercial