बढ्दो तनावमा बालबालिका !

बालबालिकालाई तनाव हुन्छ भनियो भने धेरैलाई पत्याउन गाह्रो हुन्छ। चिन्ता, तनाव त ठूलालाई पो हुन्छ भन्ने गरिन्छ। तर काठमाडौं उपत्यकाका का कक्षा-३ मा पढ्ने ८ वर्ष उमेर समूहका ५०० विद्यार्थीमाझ गरिएको एक अनुसन्धानमा ६४ प्रतिशत बालबालिकामा लामो अवधिको तनाव ‘लंग टर्म स्ट्रेस’ (Long term stress) पाइएको छ।

यस्तो अनुसन्धान काठमाडौं विश्वविद्यालयका बलराम खड्काले गरेका हुन्। आफ्नो अनुसन्धानबारे अनुसन्धाता खड्का भन्छन्, “संस्थागत र सामुदायिक गरी २५ वटा विद्यालयका विद्यार्थीमाझ् गरिएको सो अनुसन्धानमा ३४ प्रतिशतमा सामान्य तनाव देखियो। ६४ प्रतिशत बालबालिकामा दीर्घकालीन प्रकृतिको तनाव (लंग टर्म स्ट्रेस) पाइयो। यो चिन्ताको विषय हो ।” उनका अनुसार चाहेको र पाएको वातावरणमा फरक पर्ने बित्तिकै बालबालिकामा तनाव पैदा हुन थाल्छ। लामो समयसम्म यो रहिरह्यो भने मेडिकल टर्ममा यसलाई ‘क्रोनिक स्ट्रेस’ वा ‘लंग टर्म स्ट्रेस’ भनिन्छ। छोटो अवधिको तनाव चिन्ताजनक मानिंदैन। यसले बालबालिकालाई कतिपय अवस्थामा प्रगतिको बाटोमा पनि लैजान्छ। “जस्तो दुई समूह बनाएर खेल खेलाउँदा उनीहरूमा जित्नुपर्छ भन्ने भावना आउँछ। र स्ट्रेस पैदा हुन्छ। खेल सकिएपछि यो स्वतः घट्छ” खड्का भन्छन्, “तर यही स्ट्रेस एक महीना, दुई महीना रहिरह्यो भने हर्मोनमा गडबडी शुरू हुन्छ र नकारात्मक असर पर्छ। र व्यवहारमा परिवर्तन देखिन थाल्छ । जस्तो चिडचिडे हुने, रोइरहने, झोक्राइरहने, नयाँ कुरामा चासो नराख्ने आदि।” 

बालबालिका तथा किशोर–किशोरीमा परिवार, विद्यालय, शिक्षक लगायत धेरैको दबाब परिरहेको हुनसक्छ। कतिपय अभिभावकले तिमी हाम्रो परिवारको आशा र भविष्य हो राम्रो पढ्नुपर्छ भनिरहेका हुन्छन्। शिक्षकले पनि विद्यालयको प्रतिष्ठा राख्नुपर्छ भनेर बालबालिकामाथि दबाब दिइरहेका हुन्छन्। अर्कोतिर साथी वा अन्यबाट हेपाहा व्यवहार (बुलिंग) भइरहेको हुनसक्छ। घरको वातावरण पनि प्रतिकूल हुनसक्छ।

मनोविद् विजया बिजुक्छे भन्छिन्, “यसरी एकभन्दा बढी कारण थपिंदै जाँदा शरीरमा उथलपुथल हुन्छ। तनाव बढाउने रसायन बढ्न थाल्छ । खुशी हुने हर्मोन उत्पादनमा कमि आउँछ। यसले बालबालिकामा धेरै डर लाग्ने, छटपटी बढ्ने, उदास हुने, निद्रामा गडबडी हुने हुन्छ। र मानसिक समस्या शुरू हुन्छ।”

बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धमा गम्भीर हुनुपर्ने अवस्था कान्ति बाल अस्पताल, काठमाडौंको तथ्यांकले पनि देखाउँछ। पछिल्लो ९ वर्षको अवधिमा बालबालिकामा यो समस्या १५ गुणाले बढेको छ। मानसिक रोग विशेषज्ञ डा. अरुणराज कुँवर भन्छन्, “सन् २०१५ मा ६०० जनालाई हेरेका थियौं । गएको वर्ष ९ हजारलाई सेवा दियौं । बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढेको देखिन्छ।”

मानसिक समस्याले पार्ने असर
पूर्ण छात्रवृत्ति पाएर स्नातक तहमा अध्ययनरत एक विद्यार्थी मनोविद् विजया बिजुक्छेसँग हाल परामर्शमा छन्। ती विद्यार्थी घरीघरी पढाइ बीचमै छाड्छन्। उनी उदास छन्। रुन्छन्। जीवनबाट दिक्क मानेर उनमा आत्महत्या गर्ने सोच पनि आउने गरेको छ । उनी किन यसरी डिप्रेसनमा गए भनेर खोतल्दै जाँदा बाल्यकालको उनको भोगाइ पाइयो । उनका आमाबुबाले सानैदेखि तिमी काम लाग्दैनौ भनेर सधैं गाली गर्ने गर्थे। यसो गर्‍यो भने छोराले राम्रो गर्छ भन्ने विश्वास उनीहरूको थियो । इखले पढ्नमा उनले मिहिनेत त गरे तर यसबाट उनको मनमा चोट पुगिरहेको थियो। उनी बिस्तारै डिप्रेसनमा गए। उनी अहिले न त आमाबुवासँग खुशी छन् न आफ्नो जिन्दगीसँग। नमीठो वचनले बालबालिकामा कसरी चोट पुर्‍याउँछ र हुर्कंदै जाँदा त्यसले कसरी मानसिक विकार ल्याउन सक्छ भनेर मनोविद् बिजुक्छेले एक युवा विद्यार्थीको यो कथा सुनाइन्। 

कसैलाई नमीठो वचन त कसैलाई नराम्रो व्यवहारले वा कुनै कुराले बालबालिकालाई पीडा भइरहेको हुनसक्छ। केही कुरामा चित्त नबुझेका हुनसक्छ। कुनै कुराले लामो समयदेखि सताइरहेको र छटपटी भइरहेको हुनसक्छ। उनीहरूले व्यक्त गर्न नसकेका वा नजानेका हुनसक्छन्। अभिव्यक्त गर्ने वातावरण नपाएको वा कसैलाई भने पनि बेवास्ता गरिएको र सहयोग नपाएको अवस्था पनि हुनसक्छ। समयमा सहयोग पाएनन् भने बाल्यकालको नकारात्मक भोगाइले मानसिक विकार त पैदा गर्छ नै, भविष्यमा व्यक्तिगत र व्यावसायिक रूपमा पनि समस्या आउन सक्छ। 

मनोविद् बिजुक्छे भन्छिन्, “अहिले केही मेडिकल डाक्टरहरू पनि एंग्जाइटी भएर परामर्शमा छन्। केलाउँदै जाँदा बाल्यकालको हुर्काइ र भोगाइ नै मुख्य कारण पाइन्छ । अभिभावकको डाक्टर बन्नुपर्छ भन्ने सानैदेखिको अत्यधिक प्रेसर, चाहिनेभन्दा बढी संरक्षण गर्न खोज्ने परिवार र घरेलु हिंसा देखे-भोगेर हुर्केका कारण उनीहरूमा समस्या भएको हो।”

यस्तो समस्या डाक्टरी पढुञ्जेलचाहिं किन देखिएन होला त ? भन्ने प्रश्नमा उनको जवाफ छ, “यस्ता भोगाइबाट ध्यान मोड्न पढाइमा मिहिनेत त गर्छन् तर वयस्क भएपछि त्यो भोगाइ मानसिक विकारका रूपमा देखिन थाल्छ । यसको असर उनीहरूको पेशा, अभिभावकसँगको सम्बन्धका साथै दाम्पत्य सम्बन्धमा पर्छ।”

सानो बेलामा साथीबाट भएको बुलिंगले पनि बालबालिकालाई धेरै ठूलो क्षति पुर्‍याइरहेको हुन्छ। दुब्लो वा मोटो शरीर, उचाइ वा छालाका रंगका कारण दिइने विभिन्न नाम होस् वा कुट्ने, धकेल्ने जस्तो शारीरिक हिंसाले बालबालिकामा डर–त्रास उत्पन्न भइरहेको हुन्छ। बिजुक्छे भन्छिन्, “कोही सहेर बस्छन्। आफूलाई निरीह ठान्छन् । कसैले आफ्नो सामान लगे पनि डरले गर्दा भन्न नसक्ने हुन्छन् । कोही भने आक्रमणमा उत्रन्छन्। बढी नै आक्रामक हुन्छन्। यी दुवै व्यवहार बढ्दै गए, वयस्क हुँदै जाँदा सही निर्णय गर्न सक्दैनन्।”

किन हुन्छ मानसिक समस्या ?
वंशाणुगत र वातावरणीय कारणले मानसिक समस्या हुने गर्छ। डा. कुँवरका अनुसार परिवारमा कसैलाई मानसिक समस्या छ भने वंशाणुगत रूपमा बालबालिकामा पनि हुनसक्छ । यसबाहेक घर, स्कूल र छरछिमेकमा वातावरण एकदमै नकारात्मक भयो भने उनीहरूमा समस्या हुन्छ। 
डा. कुँवर भन्छन्, “अहिलेको मुख्य कारण स्कूलको वातावरण देखिन्छ । कतिपय शिक्षकले धम्क्याउने, थर्काउने, उस्तै परे पिट्ने गर्दा बालबालिकामा मानसिक समस्या भएको छ। त्यस्तै विद्यालयमा पढाइको एकदमै प्रेसर र साथीभाइको हेपाहा व्यवहार (बुलिंग) ले पनि उनीहरूमा समस्या पैदा भएको पाइन्छ।” उनीहरूमा मानसिक समस्या हुने अर्को कारण घरको नकारात्मक वातावरण हो । “आमाबुबाले राम्ररी हेरचाह नगर्ने र बारम्बार झ्गडा गरिरहँदा उनीहरूमा तनाव पैदा भइरहेको हुन्छ”, डा. कुँवरले भने। 

यस्तै अर्को कारण सामाजिक सञ्जालको प्रयोग पनि पाइएको छ। “कतिपय बालबालिकालाई फकाउने, लोभ्याउने अनलाइन बुलिंग भएको छ” डा. कुँवर भन्छन्, “सामाजिक सञ्जालका कन्टेन्ट उनीहरूको उमेर सुहाउँदो हुँदैन। जस्तो त्यहाँ अनेक तरिका प्रयोग गरेर गोरो मुहार र पातलो शरीर भएका फोटो पोष्ट भइरहेको हुन्छ । उनीहरू म पनि यस्तै हुनुपर्छ भन्ने दृष्टिकोण बनाउँछन्।” 

अनुसन्धाता खड्काले अनुसन्धानका क्रममा आफन्तको मृत्यु, आमाबुबाको डिभोर्स वा पारिवारिक बेमेल, कमजोर आर्थिक अवस्था र विद्यालयको वातावरणका कारण बालबालिकामा लामो समयदेखिको तनाव रहेको पाए। खड्का भन्छन्, “गृहकार्य गरेन भने सजाय दिने जस्तै थर्काउने, साथीहरूबाट छुट्याएर कक्षाकोठा बाहिर राख्ने गर्दा लामो अवधिको तनाव पाइयो। त्यस्तै पढाइ–लेखाइको बोझ् पनि एउटा कारण देखिएको छ।” यसका साथै घर वा विद्यालयमा गरिने लिंगीय विभेदले पनि उनीहरूमा असर पारेको हुन्छ। “विद्यालयमा कसलाई कस्तो खेलौना दिइन्छ, घरमा दाइलाई एकथरीको थाल कचौरामा खानेकुरा दिइन्छ र बहिनीलाई अर्कोमा दिंदा फरक व्यवहार गर्दा बालबालिकाले नमीठो अनुभव पाल्ने रहेछन्”, उनले भने। 

पहिचान र सहयोग 
शरीरमा केही भए, जस्तो ज्वरो आए वा कतै दुखेमा, शारीरिक स्वास्थ्यमा केही समस्या भयो कि भनी सजग रहने वा चासो राख्ने गरिन्छ। यस्ता लक्षणका बारेमा बालबालिकाले अभिभावक वा शिक्षकसँग भन्न पनि सक्छन्। तर मानसिक स्वास्थ्य सम्बन्धी समस्या पहिचान गर्न थुप्रै अभिभावक र शिक्षकलाई गाह्रो हुन्छ । केही शिक्षक तथा अभिभावक यसप्रति सचेत छन्। केही किशोरकिशोरी त मलाई समस्या भयो हस्पिटल जाउँ समेत भन्छन्। तर भावना र व्यवहारसँग जोडिने यो समस्याबारे धेरै बालबालिका अनभिज्ञ हुन्छन्। उनीहरू आफैं व्यक्त गर्न सकिरहेका हुँदैनन्। व्यक्त गरे पनि गम्भीर भएर ध्यान नदिने वा कम प्राथमिकतामा राख्ने गरिन्छ। यसले गर्दा उनीहरूले समयमा सहयोग पाउँदैनन्। अनि आफैंले आफैंलाई चोट पुर्‍याउनेदेखि आत्महत्यासम्म गर्न पुग्छन्। 

बालबालिकामा मानसिक समस्या छ भनेर कसरी पहिचान गर्न सकिन्छ त ? डा. कुँवर भन्छन्, “उनीहरूको व्यवहारमा धेरै नै परिवर्तन आयो भने जस्तो साथीसँग एकदम घुलमिल हुने बच्चा चुपचाप बस्न थाल्छ, वा कोही बालबालिका धेरै रिसाउने, रोइरहने, डराउने गर्छन्। अनि कुनै अवस्थामा अब किन बाँच्ने मरे हुन्छ वा आत्महत्याको कुरा गर्न थालेमा मानसिक समस्या छ भनेर बुझनुपर्छ। र विज्ञको सहयोग लिनुपर्छ।” बालबालिकाहरू घर र विद्यालयमा धेरै समय बिताउँछन्। अभिभावक र शिक्षकसँग नै उनीहरू सबभन्दा बढी सम्पर्कमा रहन्छन्। घर र विद्यालयको नकारात्मक वातावरणका कारणले उनीहरूमा डर, उदासी, निराशा उत्पन्न भएको छ कि ? यसैकारण उनीहरूको व्यवहारमा उतारचढाव आएको छ कि भनेर अभिभावक र शिक्षकले ख्याल गर्दा बालबालिका मानसिक रूपमा स्वस्थ हुनसक्छन्।

कतिपय बालबालिकाले अभिभावक र शिक्षकलाई भन्न नसकेका र नचाहेका कुरा परामर्शका क्रममा चिकित्सक वा मनोविद्लाई भन्ने गर्छन्। तर आमाबुबा र शिक्षक भन्दा धेरै पछि चिनेकासँग किन भन्छन् होला भनेर अचम्म लाग्न सक्छ कतिलाई। कतिले यसरी सोच्न पनि सोच्दैनन्। डा. कुँवर भन्छन्, “केही विधि हुन्छन्। हामी उनीहरूलाई सम्मान दिएर उनीहरूका कुरा सुन्छौं। किन स्कूल गएनौ ? किन यसो ग¥यौ ? किन उसो ग¥यौ ? किन यस्तो भयौ भनेर हामी जजमेन्टल व्यवहार गर्दैनौं। तटस्थ भएर कुरा सुन्छौं। अनि उपचार शुरू गर्छौं।”

समयमा सहयोग पाउँदा र नपाउँदाको फरकबारे डा. कुँवर यसरी प्रष्ट पार्छन्ः “कुनै बालबालिकालाई डरको रोग एंग्जाइटी छ भने ऊ स्कूल जान छोड्छ। मान्छे देखेर आत्तिन्छ, डराउँछ। घरमै कोठामा बसिरहन्छ। समाजसँग अन्तरक्रिया गर्न छोड्छ। उसको पढाइ–लेखाइ छुट्छ। जिन्दगी कोठामा बिताउन थाल्छ। तर समयमा उपचार गर्‍यौं भने ऊ स्कूल जान्छ। पढ्छ, लेख्न सक्छ। भोलि कलेज जान्छ। डाक्टर बन्न सक्छ। पत्रकार बन्न सक्छ। असल नागरिक बन्न सक्छ । उसले आफ्नो जिन्दगी बनाउने मात्र होइन, देश विकासमा भूमिका खेल्न सक्छ।” 

तथ्यांक र अनुसन्धानहरूले नेपाली बालबालिकामा मानसिक समस्या चिन्ताजनक रूपमा रहेको देखाइरहेको छ। अबको ५/१० वर्षमा स्थिति के होला ? पहिचान हुन नसकेको र सहयोग नपाई हुर्केका बालबालिकाको मानसिक स्वास्थ्य भोलिका दिनमा कस्तो होला ? यी प्रश्नका बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला भइसकेको छ। बेलैमा उनीहरूलाई सहयोग भएन भने उनीहरूको भविष्य मात्रै होइन देशको भविष्यमा नै क्षति पुग्ने निश्चित छ। 

शिक्षक  मासिक, २०८० फागुन अंकमा प्रकाशित। 

 

 

commercial commercial commercial commercial