लोककथाः नारद बुद्धिले बाँचे
एकचोटि ज्येष्ठा र लक्ष्मी नाम गरेका दिदी-बहिनीको विवाद परेछ रे ! दिदी ज्येष्ठाले भनिछिन्, ‘बहिनी तँभन्दा म सुन्दरी छु। तैंले मसँग सेखी गर्न मिलेन।’
लक्ष्मीले भनिछिन्, ‘होइन दिदी, तपाइँभन्दा त म नै राम्री छ। तपाईं सुन्दरी भए पनि म जतिको सुन्दरी चाहिं ठ्याम्मै होइन।’ ज्येष्ठालाई बहिनीको कुराले रिस उठ्यो। उनी बहिनीलाई जगल्ट्याउन पुगिन्।
लक्ष्मीले प्रतिवाद गर्दै भनिछिन्– ‘यसरी आफैं आफूलाई सुन्दरी भनेर मसँग फूर्ति नदेखाउनुहोस्। तपाईंलाई मभन्दा सुन्दरी भनेर कसले भनेको छ र ?’
ज्येष्ठाले भनिन्, ‘त्यसो त कसैले भनेको छैन। तर साँच्चै राम्री छु; त्यो मलाई थाहा छ।’
त्यसपछि बहिनी लक्ष्मीले प्रस्ताव राखिछन्– ‘जब कुनै कुरामा मतभेद हुन्छ, त्यतिबेला कुनै तेस्रो निष्पक्ष व्यक्तिले दिएको निर्णयलाई मान्नुपर्छ।’
‘ल उसो भए कुनै एक जनालाई निर्णायक बनाएर सोधौं’ भनेर ज्येष्ठाले स्वीकृति दिइन्।
नारद ‘नारायण ! नारायण !’ भन्दै कतै जाँदै गरेको देखेर दुवै दिदी–बहिनीले उनलाई बोलाए । नारद छेउमा आएर प्रणामपूर्वक सोधे– ‘के आज्ञा गर्नुहुन्छ समुद्र पुत्रीद्वय, आज्ञा होस् !’
ज्येष्ठाले भनिन्, ‘हेर नारद; मलाई, बहिनीभन्दा म राम्री छु भन्ने लाग्छ । तर यिनी मान्दिनन् । अब तिमीले भनिदिनुपर्यो– हामी दुईमध्ये को बढी सुन्दर छौं? निष्पक्ष भएर भन ।’ लक्ष्मीले पनि थपिन्– ‘ल हामीमध्ये को बढी सुन्दरी हो, त्यसको निर्णय दिनुपर्यो।’
नारदलाई बडो समस्या पर्यो– ‘लक्ष्मीलाई राम्री भनौं भने ज्येष्ठाले घाँटी समाउने डर। ज्येष्ठा भनेकी अनिकालकी देवी, दरिद्रताकी मालिक। ज्येष्ठाले समातिन् भने म एकाएक दरिद्र हुन्छु। अब ज्येष्ठालाई सुन्दरी भनौं भने लक्ष्मी रिसाउने डर ! लक्ष्मी रिसाइन् भने आफ्नो केही रहँदैन; सधैं कंगाल !’
अब कसो गरौं भनेर हैरान भएको बेला नारदलाई एउटा जुक्ति फुरेछ– उनले दरिद्रताकी देवी ज्येष्ठा र सम्पन्नताकी देवी लक्ष्मीलाई भनेछन्– ‘हेर देवी हो ! यसरी उभिएको उभिएकै त म कसरी निर्णय दिनु ? तिमीहरू दुवै दिदी–बहिनी उत्तिकै सुन्दरी देख्छु। तर यहाँ कुरा छ– को चाहिं साह्रै राम्री । त्यसकारण एउटा काम गर देवी– त्यो परको पीपलको रूखसम्म पुगेर आओ; त्यसपछि म निर्णय दिन्छु ।’
नारदले यसो भनेपछि दुवै देवीहरू पीपलको फेदसम्म पुगेर आए। त्यसपछि नारदलाई चाँडो निर्णय गर्न दबाब दिन पनि थाले । अन्ततः नारदले निर्णय दिने समय आयो। उनले पहिला ज्येष्ठालाई हेर्दै भनेछन्– “हेर ज्येष्ठा, तिमी यहाँबाट उता जाँदा लक्ष्मी भन्दा कता हो कता धेरै राम्री देखियौ, तिम्रो सौन्दर्यले संसारै चम्किएको जस्तो देखियो । हेरौं हेरौं लाग्ने, अहा ! तिम्रो गमन, हिंडाइको लचक, खै के भनौं ! लक्ष्मी त जाँदा यति भद्दा देखिन्थिन्, ज्येष्ठाका छेउमा त प्रतियोगिता नै नहुने। ‘तर तिमी फर्केर आउँदा त फेरि के भयो त्यस्तो ? एकदम दिक्कलाग्दो, संसारभरिमै कतै नभएकी नराम्री पो देखें ।”
त्यसपछि नारदले लक्ष्मीलाई हेरेर भने– “लक्ष्मी तिमी जाँदाखेरि कति नराम्री, भद्दा, हिंड्न पनि नजाने जस्तो छिः भन्ने खालकी थियौ, तर आउँदा भने अहा ! कति राम्री; चारैतिर उज्यालो छरे जस्तो चम्किलो अनुहार । आउँदै गर्दाको त्यो सुन्दर लचक अहो ! कति राम्रो !”
यसकारण मेरो निर्णयमा सुन “ज्येष्ठा तिमी जाँदा नै सर्वसुन्दरी देखिंदी रहिछौ । लक्ष्मी, तिमी चाहिं आउँदा मात्रै सुन्दरी; अति सुन्दरी हुँदिरहेछौ !”
भन्नेलाई फूलको माला
सुन्नेलाई सुनको माला
यो कथा वैकुण्ठ जाला
भन्ने बेलामा फेरि आउँला ।
(रुद्र पौड्यालद्वारा संकलित लोककथा संग्रह; गान्तोक, सिक्किमबाट साभार)