दुई कमला माविको अन्तरकथा

सिन्धुलीको कमलामाई नगरपालिका-४, को ढुंग्रेबास बजारमै टाँसिएको छ, कमला माध्यमिक विद्यालय। दिउँसोको करीब अढाइ बजे, विद्यालयको मूल गेटमा ताला लागेको र सुनसान वातावरणले गर्दा विद्यालयमा शिक्षक-विद्यार्थी छन् कि छैनन् भन्ने प्रश्न उब्जिन्थ्यो।

यस विद्यालयको गेटमा पुग्ने जो-कोहीले सहज रूपमा प्रवेश नपाउने रहेछन्। कार्यालय सहयोगी शारदा पहाडीको सोधपुछपछि मात्र विद्यालय प्रवेश पाइन्छ। विद्यालयको गेट अगाडि एउटा पुरानो टिनले छाएको भवन छ। यही भवनमा लामो समयसम्म विद्यालयको कार्यालय सञ्चालन भयो। अहिले नजिकै दुई ठूला भवन बनेका छन्। ती भवनले विद्यालयको मुहार फेरेका छन्। 

यस विद्यालयमा कक्षा-१ देखि १० सम्म २९० जना र कक्षा ११-१२ मा १५९ जना विद्यार्थी रहेको प्रअ कमलेश चौधरी बताउँछन्। विद्यालयले कक्षा-१ देखि ३ सम्म र कक्षा-८, ९ र १० मा स्मार्ट बोर्डको माध्यमबाट पढाउने गरेको छ। सबैभन्दा धेरै विद्यार्थी कक्षा-७ मा ४३ जना छन् भने, कक्षा-१ मा १९ जना मात्र। विद्यालयमा २१ जना शिक्षक, २ जना कर्मचारी र ४ जना कार्यालय सहयोगी छन्। २००७ सालमा स्थापना भएको यो विद्यालय ५ ठाउँमा बसाइँ सर्दै २०२३ सालदेखि ढुंग्रेबासमा रहेको अंग्रेजी शिक्षक विश्वनाथ बराल बताउँछन्। 

कक्षा-१२ ले जिताएको राष्ट्रिय पुरस्कार
२०२२ सालमा यस विद्यालयका विद्यार्थी महेन्द्रनारायण शर्मा एसएलसीको ‘बोर्ड फस्र्ट’ भएको विद्यालयको दाबी छ। शर्माले एसएलसी दिंदा सिन्धुलीको परीक्षा केन्द्र काठमाडौंमा थियो। २०७९ सालमा विज्ञान समूहतर्फ यस विद्यालयको कक्षा-१२ का ७० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ६८ जनाले उच्च अंक प्राप्त गरे। यो नतिजा विद्यालयको लागि एउटा सफलताको अर्को कडी बन्यो। त्यसकै आधारमा २०८० सालको शिक्षा दिवसमा शिक्षा मन्त्रालयले ‘उत्कृष्ट सामुदायिक विद्यालय’ तर्फको दोस्रो पुरस्कार कमला माविलाई प्रदान गर्‍यो। प्रअ चौधरी भन्छन्, “चार दिन पहिला मात्र हामीलाई पुरस्कार लिन आउनु भनियो। हामीले पुरस्कार पाउने आधार भनेको कक्षा-१२ को रिजल्ट नै रहेछ। सामुदायिक विद्यालयतर्फ नेपालकै दोस्रो भएर रु.२ लाख नगद पुरस्कार प्राप्त गर्‍यौं।”

एकतर्फी चल्छ स्कूल बस
सामान्यतया कक्षा-११ र १२ का विद्यार्थीको लागि एउटा विषयमा हप्तामा ६ घण्टी मात्र पढाइ हुन्छ। तर कमला माविले हप्तामा ९ घण्टीसम्म पढाउने गरेको प्रअ चौधरी बताउँछन्। फिजिक्स, केमेष्ट्री, बायोलोजी र म्याथम्याटिक्सका विद्यार्थीको लागि हप्तामा ९ घण्टी पढाइ हुनु पनि राम्रो नतिजाको एउटा आधार भएको चौधरीको भनाइ छ। विज्ञान समूहमा पढ्नका लागि सर्लाही, महोत्तरी र सिन्धुलीमाडीसम्मका विद्यार्थी आउने गरेको बताइएको छ।  

विद्यार्थी संख्याको आधारमा विद्यालयले प्रदेश सरकारबाट बस पाएको भए पनि तेल हाल्ने पैसा नभएर बस राम्ररी चल्न सकेको छैन। प्रदेश सरकारले २०७८ सालमा उपलब्ध गराएको सो बस अहिले विद्यालयको लागि सेतो हात्ती सरह भएको छ। करीब पाँच किलोमिटर टाढाका विद्यार्थीलाई घर पुर्‍याउन बस चल्ने गरेको भए पनि विद्यार्थी लिन भने जाँदैन। यथार्थमा, कमला माविमा समायोजन भएको सिद्धबाबा आधारभूत विद्यालय र निमावि देउरालीका समेत विद्यार्थी ओसार्न बागमती प्रदेश सरकारले दिएको रु.२५ लाखबाट सो बस खरीद गरिएको थियो। “पहिला लिन र पुर्‍याउन जान्थ्यो, अहिले पुर्‍याउन मात्र जान्छ” प्रअ चौधरीले भने, “लिन र पु र्‍याउन जाँदा मासिक रु.७५ हजारभन्दा बढी इन्धन खर्च लाग्छ, विद्यालयसँग रकमको स्रोत छैन ।” 

विद्यालय भएको स्थानमा एक बिघा ६ कट्ठा जग्गा छ तर प्रयोगमा छैन। धुराबजारमा पनि विद्यालयको १२ कट्ठा जग्गा छ। त्यसबाट विद्यालयले वार्षिक रु.८७ हजार भाडा लिन्छ । विद्यालयको जग्गामा रहेको सिन्धुली बहुमुखी क्याम्पसले वार्षिक रु.७० हजार तिर्ने गरेको छ। तर, सिन्धुलीको २ नम्बर बजारमा रहेको ४ कट्ठा जग्गाको भाडा भने विद्यालयले पाउन सकेको छैन । महिनाको रु.७० हजारको दरले करिब रु.३० लाख विद्यालयले पाउनुपर्ने देखिएको प्रअ चौधरी बताउँछन्। 

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल नै यस विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन्। उनले विद्यालयको बक्यौता उठाउन अब समयसीमा तोकेर अघि बढ्ने बताए। देशकै सामुदायिक विद्यालयतर्फ दोस्रो हुन सफल भएको र आफैं अध्यक्ष रहेको विद्यालय भएको हुँदा पनि उनले आफू थप सुधारको काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “विद्यालयको शैक्षिक उन्नयनसँगै सम्पत्ति सुरक्षाको काममा शिक्षा समितिको संयोजकको नाताले मेरो पनि भूमिका हुन्छ” उनले भने, “म विद्यालयको समस्यालाई हेरेर काम गर्नमा तत्पर छु।” 

भद्रगोल भौतिक अवस्था; विद्यालयको उत्कृष्ट सफलता
सिन्धुलीकै दुधौली नगरपालिका-११ स्थित अर्को कमला माविले पनि शिक्षा दिवस २०८० मा सर्वोत्कृष्ट विद्यालयको पुरस्कार पाएको छ । तावाखोला र कमलाको संगमस्थल त्रिवेणीको मैनीमा अवस्थित यो विद्यालयमा आदिवासी समुदायका बालबालिकाको बाहुल्य छ। ठूलो खुला चौरमा रहेको विद्यालयमा न घेराबारा छ, न विद्यार्थीका लागि पर्याप्त कक्षाकोठा नै छन्। नयाँ भवन निर्माण गर्नका लागि भनेर दुई वर्ष अगाडि पुरानो टिनको संरचना भत्काइँदा बालबालिका टहरामुनि पढ्न बाध्य भएका हुन् । कक्षा ४, ५, ६, ७ र ९ का विद्यार्थी अस्थायी संरचनामा पढ्न थालेको पनि दुई वर्ष बित्यो । एशियाली विकास बैंकको ऋण रु.७ करोड ५५ लाखमा निर्माण शुरू भएको नयाँ भवनको काममा ढिलासुस्ती भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर सुनुवार बताउँछन्। “भएको संरचना भत्काएर एडीबीले १२–१२ कोठे दुई वटा भवन निर्माण शुरू गरेको दुई वर्ष बित्यो, अझै सकिएको छैन”, अध्यक्ष सुनुवारले भने। 

अस्थायी संरचनाका कारण गर्मीमा तात्ने, धुलैधुलो आउने, सामान्य हावा आउँदा पनि जस्तापाता उडाउने समस्या रहेको विद्यालयका नेपाली शिक्षक लेखनाथ बराल बताउँछन्। बरालले भने, “अस्थायी संरचनाको असर विद्यार्थीको पढाइमा मात्र परेको छैन, समग्र पठनपाठनमा नै परेको छ, कहिलेकाहीं त धुलोका कारण पढाउँदा पढाउँदै हिंड्नुपर्ने अवस्था पनि आउने गरेको छ।” 

शिक्षक बरालको भनाइमा अर्को गाउँको लदाभिर माविले गाडी खरीद गरेर मैनी हुँदै धनसरीसम्मका विद्यार्थीलाई सेवा दिने प्रयास गरे पनि सफल भएको छैन । शैक्षिक वातावरण राम्रो भएको हुँदा दुई घण्टा हिंडेर पनि विद्यार्थीहरू कमला माविमा नै आउने गरेका छन्। 

२०१८ सालमा स्थापित यो कमला मावि (मैनी) मा हाल ५०२ विद्यार्थी छन्। कक्षा-११ मा ७० र कक्षा १२ मा ६२ जनाका साथै कक्षा १ देखि १० सम्म ३७० जना विद्यार्थी रहेका छन् । संघीय शिक्षा मन्त्रालयबाट २०८० सालमा यसले उत्कृष्ट विद्यालयको रूपमा प्रथम पुरस्कार पाएको थियो। रु.३ लाख नगद सहित पुरस्कृत यो विद्यालय पुरस्कृत हुनुमा कक्षा १२ मा ५० जना भन्दा बढी विद्यार्थी हुनु, उत्तीर्ण दर र जीपीए राम्रो हुनु प्रमुख आधार रहेको विद्यालयले जनाएको छ।

सामुदायिक विद्यालयतर्फ नेपाल प्रथम भएर पुरस्कार पाउनुमा कक्षा १२ को रिजल्टकै योगदान रहेको प्रधानाध्यापक राजेश्वर यादवले बताए । यसअघि, यो विद्यालयले निमाविको सिन्धुली जिल्लास्तरीय उत्कृष्ट पुरस्कार प्राप्त गरिसकेको छ। माविमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल तथा पालिकास्तरीय कक्षा १२ को परीक्षामा छात्रातर्फ प्रथम भएको दाबी विद्यालयको छ। 

शिक्षक दरबन्दी अभावको छैन बहाना
प्रअ यादव ३० वर्षदेखि यही विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रहेका छन्। तर उनी प्रावि दरबन्दीका शिक्षक हुन्। विद्यालयमा स्थायी दरबन्दी जम्मा ५ वटा मात्र छन्। त्यसमा माविको निम्ति एउटा र प्रावि तहका ४ वटा स्थायी दरबन्दी छन्। यहाँ अहिले कक्षा-९ देखि १२ सम्म ६ जना, निमाविमा ४ जना र प्रावि तहका ६ जना गरी १६ जना शिक्षकले पठनपाठन गराइरहेका छन् । विद्यालयको आफ्नै आन्तरिक आर्थिक स्रोत भने केही पनि छैन। विद्यालयको नाममा रहेको फलफूल बगैंचाबाट वार्षिक रु.५७ हजार प्राप्त हुने गरेको यादवले बताए । प्रदेश सरकारको सहयोगमा अहिले विद्यालयमा २२ वटा कम्प्युटर ल्याब बनाइएको भए पनि कम्प्युटर शिक्षक छैनन्। 

विज्ञान प्रयोगशाला, पुस्तकालय रहेको भए पनि विद्यालयको पढाइलाई रोजगारी सिर्जनासँग जोडेर लैजानुपर्ने माग अभिभावकको छ। विद्यालयका संस्थापक विद्यार्थी तथा हालका अभिभावक गुमानसिंह माझीले अबको पढाइलाई आम्दानी तथा रोजगारीसँग जोडेर लैजानुपर्ने बताए। अप्ठेरो अवस्थामा पनि विद्यालय उत्कृष्ट भएर पुरस्कृत भएकोमा खुशी भएका माझीले अब विद्यालय पढ्ने बच्चाहरू पढाइ सकेर निस्कँदा रोजगारी गर्ने अवस्थामा पुग्नुपर्ने गरी सरकारको नीति हुनुपर्नेमा जोड दिए। 

commercial commercial commercial commercial