नाच्दै, गाउँदै पढाउँछु !
१२ वर्षअघिको कुरा हो। प्रावि तहको दरबन्दीमा मेरो नाम अस्थायीमा निस्कियो । बीएड पास गरेको भए पनि ‘म पढाउन सकूँला र ?’ भन्ने डर मभित्र मडारियो । मलाई अझै पनि याद छ, त्यतिखेरकी प्रधानाध्यापक महेन्द्रदेवी पराजुलीलाई सोधेको– “मलाई त पढाउनै आउँदैन। कसरी पढाउनुपर्छ म्याम ?”
गुरुआमाले शायद मेरो अबोध प्रश्न सुनेर होला– “तिमीलाई जे जे गर्न आउँछ, त्यसरी नै पढाऊ” भनेर जवाफ दिनुभएको थियो।
बच्चैदेखि म नाचगान, नाटक, कविता, कला भनेपछि हुरुक्क हुन्थें। गीत गाउन र नाच्न खुब सिपालु थिएँ । त्यसैले किताबी ज्ञानको कुरालाई मैले खेलको, नाचको, कथाको, नाटकको माध्यमबाट पढाउन थालें । विद्यार्थी हुँदाको यो कला शिक्षण पेशामा पनि काम आउला भनेर सोचेकी नै थिइनँ। तर अब आफैंले बाल गीत रच्दै, खेल खेलाउँदै पढाउन थालें। पछि पढाउँदै गएपछि थाहा भयो, मेरो बाल्यकालमा जुन रुचि थियो, शिक्षण पेशा भनेको त आखिर त्यही कला नै त रहेछ। किताब लिएर, रटान मारेर, डराएर, प्रेसर लिएर कक्षाकोठा छिर्ने नै होइन रहेछ। तालीम नै नलिइकन मलाई यो ज्ञानबोध भएको थियो। पहिलो वर्षमा नै एलकेजीका विद्यार्थीको राम्रो विकास भएको पाएपछि सबै विद्यार्थीलाई कक्षा फड्काएर माथिल्लो कक्षामा पठाइयो। मलाई पहिलो वर्ष नै कसैले इनाम दिए जस्तै भयो।
हाल म कक्षा–१ का लागि ग्रेड शिक्षकको रूपमा कार्यरत छु । अर्थात्, बिहानको १०ः२० देखि बेलुका ३ः२० सम्म म कक्षा-१ मै हुन्छु । शुरूमा त मलाई अचम्म लागेको थियो, एउटै कक्षालाई बिहानदेखि बेलुकासम्म एकपछि अर्को विषय पढाउँदा ! तर यस विद्यालयमा वर्षौंदेखि यही अभ्यास सफल हुँदै आएको रहेछ । झपाका अधिकांश विद्यालयमा यो अभ्यास छ। हाम्रो विद्यालयमा चाहिं कक्षा–३ सम्म ग्रेड शिक्षण प्रणाली छ। यसले गर्दा बालबालिकाका सबै आनीबानी थाहा पाउन, घुलमिल हुन सजिलो हुनेरहेछ । विद्यार्थीको निरन्तर निगरानी पनि हुँदोरहेछ। विद्यार्थीका विभिन्न किसिमका कमजोरी र क्षमता पनि थाहा हुने । पहिले पहिले विद्यालयबाट विद्यार्थी भाग्ने समस्या व्यापक थियो रे, ग्रेडशिक्षण लागू गरेपछि यो समस्या चटक्कै निर्मूल भएछ।
यसो भन्दै गर्दा, ग्रेडशिक्षणका बेफाइदा नै छैनन् त ? यो चाहिं बहसयोग्य कुरा हो । सबै शिक्षक सबै विषयमा सक्षम नहुन पनि सक्छन्। त्यस्ता आवश्यकता महसूस भएको कक्षामा गणित र अंग्रेजी जस्ता विषय पढाउन हप्तामा तीन दिन सापट-शिक्षक पठाउने पनि गरिन्छ।
मलाई पढाउन भनेपछि कहिल्यै थकाइ लाग्दैन। घरी आफू नै केटाकेटी जस्तो हुन्छु, घरी उनीहरूको आमा भएर पढाइरहेकी हुन्छु, घरी म छोराछोरी भएको अभिनय गर्छु।
सामान्यतः म एउटै पाठ तीन वटा विधिबाट पढाउँछु । कसैले खेलाएर मात्रै बुझछन्, कसैले गीत गाएर त कसैले कथा, नाटकको विधिबाट चाँडै सिक्ने गर्छन्। म सबै विधि अपनाउँछु। जस्तैः म अहिले घरपालुवा र जंगली जनावर पढाउँदैछु । सबै विद्यार्थीलाई एउटा एउटा जनावरको नाम राखिदिन्छु। एकातिरको झयालमा घरपालुवाको सेरोफेरो बनाउँछु, अर्कोतिर जंगल बनाउँछु। जनावरलाई आ–आफ्नो स्वभाव अनुसार घर जाने कि जंगल भनेर सोध्छु र जान लगाउँछु । उनीहरू रमाइलो मानेर खेल्छन्। खेलपछि गीत गाएर सुनाउँछु । मलाई तत्काल गीत पनि फुरिहाल्छ। त्यसपछि अन्तिममा जंगलको कथा भनेर म मेलमिलापको कथा पढाउँछु । चाहे त्यो नेपाली विषय होस् या गणित, म लय हालेर नाच्दै, गाउँदै, खेलाउँदै पढाउँछु । यसो गर्दा विद्यार्थीले सिक्न अल्छी गर्दैनन्। म बरु केही कुरामा अल्मलिएर, कापी जाँच्दै बसें भने उनीहरू पनि अल्छी मान्न थाल्छन्। पढ्यौं भन्ने नै महसूस नभइकन पढ्नु पो हो रहेछ, सिकाइ।
रमाइलो विद्यार्थीलाई मात्रै होइन, शिक्षकहरूलाई पनि लाग्दोरहेछ क्यारे ! यो विद्यालयमा पढाउन थालेको तीन वर्ष पनि पुगेको थिएन । म उसरी नै एलकेजीमा पढाउँदै थिएँ । एकजना कक्षा–१ मा पढाउने सहकर्मी शिक्षक तीन महिनादेखि निजी स्कूलमा पठाइरहेको आफ्नो नातिनीलाई लिएर मेरो कक्षामा आउनुभयो। ‘यति रमाइलो गरेर पढ्ने र सिक्ने त मैले कहीं पनि देखेको थिइनँ। मेरो नातिनी पनि तपाईंलाई जिम्मा लगाएँ’, भनेर उहाँ जानुभयो। म छक्क परें । धमाधम अरू सर–म्यामहरूले पनि त्यसै गर्न थाल्नुभयो। विद्यालय कतिसम्म रमाइलो लाग्न थालेको रहेछ भने कतिपय विद्यार्थी बिरामी हुँदा पनि विद्यालय आउन थाले। अनि, अभिभावकहरू औषधि बोकेर कक्षाकोठामै आइपुग्थे।
तर मैले रमाइलो कला मात्रैलाई सर्वस्व भने ठान्दिनँ। पछि शिक्षण तालीम लिएपछि थाहा भयो, शैक्षिक सामग्री के–कसरी प्रयोग गर्नुपर्छ, कक्षाभित्र पुगेपछि के-कस्ता सामग्री, चित्र, चार्ट, साजसज्जा चाहिन्छ भन्ने कुरालाई पनि उत्तिकै ध्यानमा राख्नुपर्दोरहेछ। अहिले हेर्दा लाग्छ मेरो कक्षाकोठा भित्र ब्रह्माण्ड नै अटाएको छ।
हुन त मेरो १५ वर्षको छोरा पनि छ, जो यही स्कूलको विद्यार्थी हो । तर मलाई कहिलेकाहीं लाग्छ म कक्षामा भएका ३२ जनाकै आमा हुँ । वास्तवमा शिक्षक हुनु भनेको आमा, साथी, गुरुआमा सबै हुनु रहेछ । मैले शिक्षण पेशा मार्फत बच्चाहरूबाट माया र ममता सिकें। उनीहरू खुशी हुँदा साह्रै आनन्द लाग्छ, उनीहरूले कुनै पाठ बुझन नसक्दा भने पीर हुन्छ । शिक्षण पेशाले दिएको यो आत्मसन्तुष्टिलाई केहीसँग तुलना गरे पनि अपुग हुन्छ । मैले अभिभावक, शिक्षक र विद्यालयबाट माया र सम्मान दुवै कमाएकी छु । शुभचिन्तक कमाएकी छु। धेरै अभिभावकले बोर्डिङबाट झ्किेर नानीहरूलाई हामीकहाँ ल्याउनुभएको छ। विद्यालयले दश वर्षअघि र तीन वर्षअघि गरी दुईपटक उत्कृष्ट शिक्षकको रूपमा पुरस्कृत गरिसकेको छ, मलाई। उत्कृष्ट शिक्षक भनेर हालै पनि पुरस्कृत भएकी छु। मेरो कक्षाकोठा अवलोकन गर्न पोखरा, बाग्लुङसम्मबाट पनि मानिसहरू आउँदा म दंग पर्छु।
आफू नै सिस्टममा बस्ने हो भने स्कूललाई सिस्टममा लैजान सकिन्छ भन्ने महसूस गरेकी छु।
प्रस्तुतिः सविना देवकोटा
(शिक्षक मासिक, २०८० कात्तिक अंकमा प्रकाशित।)