विद्यार्थी आउनै छाडे, आएका पनि छोड्न थाले !

प्राविधिक धारको कक्षा (९-१२) तर्फ एक शैक्षिक सत्रमा एउटा कक्षामा ४८ जना विद्यार्थीको कोटा भए पनि अधिकांश विद्यालयमा कोटा अनुसार विद्यार्थी भर्ना भएको पाइँदैन। विद्यालयले अनेक थरीका प्रोत्साहन दिंदा पनि ठूलो संख्याले बीचमै पढाइ छाड्दैछन्। कक्षा-९ मा भर्ना भएका विद्यार्थीमध्ये कतिले केही महीना पछि नै कक्षा छाड्ने गरेका छन् भने आधाजसोले एसईईपछि प्राविधिक धारको पढाइ छाड्ने गरेको पाइएको छ। 

गुल्मीको मालिका गाउँपालिकास्थित मालिका माविमा कक्षा ९-१२ मा चार वर्षअघि बाली विज्ञान विषय पढाउन शुरू भएको हो। कोटा तोकिएको आधारमा विद्यालयमा १९२ विद्यार्थी हुनुपर्ने हो। तर प्रधानाध्यापक हेमराज पौड्यालका अनुसार ९-१२ मा १०३ जना मात्र विद्यार्थी छन्। प्रअ पौड्याल भन्छन्, “बाली विज्ञान विषय शुरू भएको पहिलो वर्ष कक्षा-९ मा ४८ जना भर्ना भएका थिए। तीमध्ये यो वर्ष, कक्षा-१२ मा आइपुग्दा २३ जना मात्र बाँकी छन्।”

काठमाडौंको सिद्धिगणेश माविमा पनि यस्तै अवस्था छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित यो विद्यालयमा कक्षा–१२ मा अध्ययनरत छात्रा राधवी केसी भन्छिन्, “हामी २१ जनाले बाली विज्ञानमा एसईईको परीक्षा दिएका थियौं। तर अहिले कक्षा-१२ मा ९ जना मात्र छौं।” सो माविकी प्रशिक्षक दीक्षा अर्यालका अनुसार यो वर्ष कक्षा-९ मा ३० जना विद्यार्थी भर्ना भएर पढिरहेका छन्।

गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा माविमा सिभिल इन्जिनियरिङतर्फ यो वर्ष कक्षा-९ मा ३१ जना विद्यार्थी भर्ना भएको प्रअ प्रेम भण्डारीले बताए । कंकाली मावि, चन्द्रागिरि नपा, काठमाडौंका प्रधानाध्यापक विष्णु पनेरुका अनुसार २०७५ सालमा प्राविधिक धार शुरू गर्दा कम्प्युटर इन्जिनियरिङको कक्षा-९ मा ४८ जना नै विद्यार्थी भर्ना हुन्थे। तर अहिले विद्यार्थी घट्दै गएका छन्। यो वर्ष ४० जना मात्र भर्ना भएका छन्। कक्षा-१२ मा अहिले ३० जना विद्यार्थी छन्। प्रअ पनेरु भन्छन्, “हाम्रोमा कक्षा-९ मा भर्ना भएका विद्यार्थी कक्षा–१२ मा आइपुग्दा ४० प्रतिशत ड्रपआउट हुने गरेका छन्।” 

शिक्षा तथा मानव विकास स्रोत केन्द्रको शैक्षिक तथ्याङ्क फ्ल्यास-२०७९ अनुसार देशभरिका ५०७ सामुदायिक विद्यालयमा प्राविधिक धारका कक्षा सञ्चालन भइरहेका छन्। पशु विज्ञान, बाली विज्ञान, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा ती विद्यालयमा ४२ हजार ७९९ विद्यार्थी छन्। अघिल्लो (२०७८) वर्ष ४७ हजार ८०६ जना विद्यार्थी थिए। पाँच हजार विद्यार्थी घटेका छन्। 


फ्ल्यास–२०७९ अनुसार प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीमध्ये कक्षा–९ मा १३ हजार ६८३ र कक्षा-१० मा १२ हजार ५०५ विद्यार्थी थिए। यस्तै कक्षा-११ मा ८ हजार ९७ र कक्षा-१२ मा ८ हजार ५१४ विद्यार्थी थिए। यस अनुसार कक्षा-९ मा भन्दा कक्षा-२ मा ३८ प्रतिशत विद्यार्थी कम देखिन्छन्।

सो रिपोर्ट अनुसार अध्ययनरत विद्यार्थीमध्ये कक्षा-९ मा १३ हजार ६८३ र कक्षा-१० मा १२ हजार ५०५ विद्यार्थी थिए। यस्तै कक्षा-११ मा ८ हजार ९७ र कक्षा–१२ मा ८ हजार ५१४ विद्यार्थी थिए। २०७९ को यो तथ्याङ्क हेर्दा कक्षा-९ मा भन्दा कक्षा-१२ मा ३८ प्रतिशत विद्यार्थी कम देखिन्छन्।

किन छाड्छन् विद्यार्थी पढाइ !
काभ्रेपलाञ्चोकको एक विद्यालयमा बाली विज्ञान पढेकी एक छात्रा भन्छिन्, “कक्षा ९-१० सम्म त बाली विज्ञान पढ्न मन लाग्थ्यो। ११ मा पुगेपछि भने साह्रै गाह्रो लाग्यो । मलाई मात्र हैन, अरू साथीहरूलाई पनि गाह्रो लागेको थियो। हामी १८ जना कक्षा–११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी विषयमा फेल भयौं । मैले १२ कक्षाको परीक्षा दिइनँ। पास भए पो दिनु ! अहिले त साधारण धार पढेको भए पनि हुन्थ्यो जस्तो लाग्छ । दुई वर्ष त्यतिकै खेर गयो।’ 

सिद्धिगणेशकी विद्यार्थी राधवीका १२ जना साथीले कक्षा–१० पछि बाली विज्ञान छाडेर अरू नै विषय पढे । “कतिले गाह्रो लागेर छाडे। कतिलाई चाहिं यो विषय पढिसकेपछिको ‘स्कोप’ पनि थाहा नभएर हुनसक्छ”, उनले भनिन्।

विद्यार्थी मात्र होइन प्रशिक्षक तथा प्रधानाध्यापकहरू पनि प्राविधिक धारको कक्षा–११/१२ को कोर्स गाह्रो भएको बताउँछन्। यसैकारण पढाइ छाड्ने गरेको उनीहरूको निष्कर्ष छ । मालिका माविका प्रअ पौड्याल भन्छन्, “कक्षा–९ मा भर्ना भएपछि १० सम्म त बाध्यताले पनि पढ्दा रहेछन्। कतिले त अंग्रेजीमा पढ्न गाह्रो भयो भनेर कक्षा-९ मै छाडे । धेरैले ११ पछि छाडेका हुन्। ११ मा कोर्स गाह्रो भयो भने। पढ्न सकिंदैन भनेर छाडे ।”

कंकाली माविका प्रअ पनेरुका अनुसार धेरै विद्यार्थी फिजिक्स, केमेस्ट्री र म्याथमा फेल हुने गरेका छन्। उनी भन्छन्, “प्राविधिक शिक्षाको उद्देश्य कमजोर विद्यार्थीले गरिखान सीप सिकून् भन्ने राखियो। तर कोर्स गाह्रो छ। पाठ्यपुस्तक छैन। नोटको आधारमा पढाइ हुन्छ।”

रेसुंगा माविका प्रअ भण्डारीको अनुभवमा विद्यार्थीमा प्राविधिक विषयका साथै अन्य ‘कोर’ विषय गरी धेरै भार भएको छ। सिद्धिगणेश माविका पूर्व प्रशिक्षक विजय जिजाजु पनि कोर्स गाह्रो भएको ठान्छन्। बाली विज्ञानका प्रशिक्षक जिजाजु गत वर्षदेखि कृषि विकास बैंक दाङमा कार्यरत छन्। उनी भन्छन्, “दुई वर्षअघि पाठ्यक्रममा परिमार्जन गरी पाठ्य विषयवस्तु (कन्टेन्ट) घटाए पनि अझै गाह्रो छ। भौतिक शास्त्र, रसायन शास्त्र र गणितमा अझ् सरलीकृत गर्नुपर्छ । कमजोर विद्यार्थीलाई पढ्न गाह्रो छ । विषयले राम्रा विद्यार्थी खोज्छ । तर पढाइमा राम्रा विद्यार्थी डाक्टर, इन्जिनियर हुने भनेर कक्षा–११ मा साइन्समा भर्ना हुन्छन्।”

विद्यार्थी बढाउन र टिकाउन प्रोत्साहन
प्राविधिक धारतर्फ विद्यार्थीलाई आकर्षित र प्रोत्साहित गर्न अनि टिकाइराख्न विद्यालयले अनेक प्रयास गरेका छन्। कसैले साधारण धारबाट भन्दा यसमा राम्रो ग्रेड आउँछ भनेर मनाइरहेका छन् । कुनै विद्यालयले छात्रावासमा छुट दिएका छन्। कसैले प्राविधिक शिक्षा निःशुल्क गरेका छन् । सरकारले प्राविधिक शिक्षा निःशुल्क भने पनि विद्यालयमा केही न केही पैसा लिने गरिएको छ। 

मालिका माविले प्राविधिक धारतर्फ विद्यार्थी प्रोत्साहित गर्न विद्यार्थीबाट शुल्क लिंदैन। प्रअ पौड्याल भन्छन्, “हामीले व्यवस्थापन र शिक्षा संकायमा कक्षा–११ र १२ मा अलिअलि शुल्क लिन्छौं । तर बाली विज्ञान पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्न शुल्क लिंदैनौं । अरू पनि सहुलियत दिएका दिएका छौं, जस्तै विद्यार्थीलाई पोशाक दिन्छौं। निःशुल्क शैक्षिक भ्रमणमा लैजाने गरेका छौं।”

कंकाली माविले छात्रावासमा निःशुल्क बस्ने व्यवस्था मिलाएको छ । “प्राविधिक विषय पढ्न चाहने विद्यार्थी छात्रावासमा बस्न सक्छन्। उनीहरूबाट बसाइ, बिजुली, इन्टरनेट लगायत खर्च लिंदैनौं हामी । खाना खर्च मात्र तिरे पुग्छ”, कंकाली माविका प्रअ पनेरुले भने।  

लगानी बालुवामा पानी 
प्राविधिक धारको प्रयोजनका लागि विद्यालयमा विषय संख्या हेरेर रु.२५ देखि ५० लाखसम्म अनुदान जान्छ। यस्तै ८ जनासम्मको प्रशिक्षकको तलब, प्रति विद्यार्थी वार्षिक रु.१५ हजारका दरले अनुदान पाइने हुँदा पनि यो कार्यक्रमप्रति कतिपय विद्यालय आकर्षित भएको देखिन्छ । २०७० सालमा साविकको शिक्षा विभागले शुरू गरेको यो कार्यक्रम २०७६ पछि स्थानीय तह मार्फत चलेको छ। 

२०७३ बाट सिभिल इन्जिनियरिङ शुरू भएको रेसुंगा माविका प्रअ प्रेम भण्डारी संघीय सरकारबाट रु.५० लाख र प्रदेश सरकारबाट पनि रु.२० लाख पाएको बताउँछन्। भण्डारी भन्छन्, “लगानी त भएको छ तर उपलब्धि न्यून छ। विद्यार्थी नै कम हुन थाले। गत वर्ष कक्षा–१२ को परीक्षा दिने विद्यार्थी २४ जना मात्र थिए।”

प्राविधिक शिक्षाका लागि दक्ष जनशक्ति नपाइने हुँदा विद्यार्थीले सीप सिक्न नसकेको उनको अनुभव छ । प्रअ भण्डारी भन्छन्, “पढाउने दक्ष जनशक्ति पाउन सकिएको छैन । विद्यार्थीले पर्याप्त सीप सिक्न सकेका छैनन्। सिभिल इन्जिनियरिङ जस्तो विषय घोकेर पढ्नु परेको, पढाइएको अवस्था छ।”


काभ्रेको विद्यालयमा बाली विज्ञान पढेकी एक छात्रा भन्छिन्, “कक्षा ९–१० सम्म त बाली विज्ञान पढ्न मन लाग्थ्यो। ११ मा पुगेपछि भने साह्रै गाह्रो लाग्यो। मलाई मात्र हैन, अरू साथीहरूलाई पनि। हामी १८ जना कक्षा–११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी विषयमा फेल भयौं। मैले १२ कक्षाको परीक्षा नै दिइनँ।

ज्ञानोदय मावि, कामनपा, काठमाडौंमा पनि २०७३ सालदेखि नै सिभिल इन्जिनियरिङ पढाइ शुरू भएको हो। यो विद्यालयमा पनि कक्षा ९ मा कोटा अनुसार पूरै विद्यार्थी भर्ना भएका छैनन् । यो वर्ष ४० जना विद्यार्थी भर्ना भएका छन्। प्रअ नातिकाजी महर्जन भन्छन्, “प्राविधिक धारमा गरिएको लगानी बालुवामा पानी हालेसरह भएको छ । अबको केही वर्षमा विद्यालयहरूमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या शून्यमा झ्र्नेछ । यो कार्यक्रम र पाठ्यक्रम बनाउनेको दूरदृष्टि नहुँदा नै आकर्षण घटेको हो । शिक्षाका माथिल्लो निकायका अधिकारीहरू प्राविधिक शिक्षा केका लागि र कसका लागि भन्नेमा आफैं स्पष्ट देखिंदैनन् ।”

प्राविधिक शिक्षामा विद्यार्थीले ‘गरेर सिक्नुपर्ने’ हुँदा प्रयोगात्मक पक्षको धेरै महत्व हुन्छ । यसमा सैद्धान्तिक र प्रयोगात्मक ५०र५० प्रतिशत हुने विषय हुन्छन् । तर प्रयोगात्मकबाट धेरै अंक आउँछ र विद्यालयको नतिजा राम्रो देखिन्छ भनेर मात्रै कतिपय विद्यालय प्राविधिक धारतर्फ आकर्षित भएको पाइन्छ। विद्यालय आफैंले प्रयोगात्मक अंक दिने हुँदा सैद्धान्तिकमा भन्दा प्रयोगात्मकमा उच्चतम ग्रेड आएको देखिन्छ । प्रअ महर्जन भन्छन्, “औसतमा हेर्ने हो भने विद्यालयहरूमा प्रयोगात्मक अभ्यास त्यति गराएको पाइँदैन। यसले गर्दा विद्यार्थी सीप सिक्न सक्दैनन्। र, उत्पादन गतिलो निस्कँदैन । उत्पादन राम्रो नभएपछि लगानी खेर गयो। प्रशिक्षक सैद्धान्तिक पक्षमा बढी जोड दिन्छन् । सरकारले दिने सेवाऔसुविधाबाट उनीहरू सन्तुष्ट छैनन् । विद्यालयमा टिक्दैनन्।”

सिद्धिगणेश माविकी छात्रा च्याउ तौलिंदै ।

समयमा ट्रान्सक्रिप्ट नपाउँदा पनि विद्यार्थीको आकर्षण घटेको पाइन्छ। कक्षा–१२ को विज्ञान लगायत अन्य संकायका विद्यार्थीले रिजल्ट भएपछि केही समयमै ट्रान्सक्रिप्ट पाउँछन्। तर प्राविधिकतर्फका विद्यार्थीले कार्यस्थल अभ्यासको रिपोर्ट बुझएपछि मात्र ट्रान्सक्रिप्ट पाउने हुँदा स्नातक तह भर्ना हुन नपाएको अवस्था समेत छ। ‘पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ छात्रवृत्तिमा पढ्न नाम निकालेका चार जना विद्यार्थीले पढ्न नपाउने अवस्था आएको थियो। यस्तो कुरा विद्यार्थीमाझ् प्रचार हुन्छ। र विद्यार्थी प्राविधिक धार पढ्न खोज्दैनन्।”

कार्यस्थल अभ्यास अर्थात् ‘अन द जब ट्रेनिङ’ (ओजेटी) प्रभावकारी हुन नसकेको पनि धेरै प्रअहरूको स्वीकारोक्ति छ। स्थानीय तहमा ‘ओजेटी’ गर्ने नीतिगत व्यवस्था हुनुपर्ने पनि उनीहरूको माग छ। 
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा भन्छन्, “पूर्वाधार छ । प्रशिक्षक छन्। तर विद्यार्थी कम छन्। कोर्स गाह्रो भन्ने कुरा आएको छ। कतिले रहरमा कार्यक्रम चलाएको पनि पाइएको छ। म्यापिंग गरी यो कार्यक्रममा पुनर्संरचना गर्नुपर्ने अवस्था देखिएको छ। हामी गर्छौं ।” 

कक्षा ९-१२ मा प्राविधिक शिक्षा शुरू भएको एक दशक भएको छ तर विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ। विद्यार्थी किन घटे ? अहिलेसम्म कस्तो गुणस्तरको विद्यार्थी उत्पादन भए ? ती कहाँ के गर्दैछन् ? कोर्स गाह्रो भयो भएर लक्षित विद्यार्थीले पढ्न सकेनन् वा उच्च ग्रेड ल्याउने विद्यार्थी प्राविधिक शिक्षामा आएनन् ? दक्ष प्रशिक्षक किन व्यवस्थापन हुन सकिरहेको छैन ? यी विविध प्रश्नबारे शिक्षा मन्त्रालयले अध्ययन गर्न आवश्यक छ; ताकि प्राविधिक शिक्षाको नाममा विद्यार्थीमाथि थप परीक्षण नहोस् ! 

(शिक्षक मासिक, २०८० मंसीर अंकमा प्रकाशित।)

commercial commercial commercial commercial