गाईले दूध दिंदैन !

एक जना मिहिनेती किसानका ११, ९ र ७ वर्षका तीन जना छोराछोरी थिए। एक दिन कुरैकुरामा उनले छोराछोरीलाई भने, “तिमीहरू १२ वर्ष पुगेपछि मैले तिमीहरूलाई एउटा महत्वपूर्ण पाठ सिकाउने विचार गरेको छु । त्यतिबेला मलाई सम्झाउनु है !”

जेठो छोराले सोधिहाल्यो, “त्यो पाठ अहिल्यै सिकाए हुँदैन बुवा ?”

“हुँदैन। किनभने त्यो पाठ १२ वर्षभन्दा कम उमेरकाले बुझान सक्दैनन्।” बुवाले कुराको बिट मारिदिए।

१२औं जन्मोत्सवको दिन टीका-प्रसाद लाएर चकलेट खाइसकेपछि जेठो छोराले सोध्यो, “बुवा ल; अब पोहोर सिकाउँछु भनेको पाठ भन्नुस् !”

“ए, तैंले त्यो कुरा बिर्सिएको रहेनछस्। मलाई खुशी लाग्यो। यसो गर; भरे साँझ्पख भाइबहिनी अन्यत्र लागेको बेला तँ एक्लै गोठमा आउनू”, बाबुले भने।

कतिबेला साँझ् पर्ला भनेर पर्खेको जेठो छोरो भाइबहिनी होमवर्क गर्न बस्नासाथ गोठतिर लाग्यो। बाबु गाई दुहुने तरखरमा थिए। उनले बाच्छो फुकाइदिए। बाच्छो माउको फाँचोमा मुख गाडेर धम्का हान्दै दूध चुस्न थाल्यो। एकछिनपछि बाबुले बाच्छालाई माउबाट अलग गरेर बाँधे र गाई दुहुन बसे।

छोरो हेरिरह्यो। दुई थुन दूध निखारेर दुहेपछि बाबुले बाच्छो छोडिदिए।

छोराले बाबुको मुखतिर हेर्‍यो र भन्यो, “बा, पाठ !”

बाबुले भने “अहिले यहाँ जे देखिस्, यही हो पाठ। के देखिस्, भन् त ?”
छोराले भन्यो, “गाईले दूध दिएको देखें।”

“ठीक छ ! अब भोलि बिहान पनि गाई दुहुनु अघि आइज है !”

भोलिपल्ट बिहान पनि छोरो गोठमा गयो र हिजोकै प्रक्रिया देख्यो । बाबुले “के देखिस् ?” भनेर सोध्दा उसले हिजोकै जवाफ दियो, “गाईले दूध दिएको देखें।”
यो क्रम तीन–चार दिनसम्म त्यसरी नै दोहोरिंदै गयो । छोराको प्रश्न र बाबुको उत्तर उस्तै रह्यो।

अन्ततः छोरालाई दिक्क लाग्न थाल्यो। बाबुले आफूलाई अनाहकमा दुःख दिइरहेको भनेर उसलाई रिस पनि उठ्यो। उसले पाठ पढाउँछु भनेर बाबुले आफूलाई झुलाइरहेको भनेर आमासित आफ्नो असन्तुष्टि र गुनासो पोख्यो।

बाबु–छोराका कुरा र व्यवहार नजिकबाट बुझ्रिहेकी आमाले भनिन्, “गाईको दूध हामीले पाउँछौं भनेर बाले त पढाइ नै रहनु भएको रहेछ त तिमीलाई ! तिमी आफैं विचार गर त ! बाले त्यति काम नगर्ने हो भने गाईले दूध दिन्छ होला त ?”

आमाको यो प्रतिप्रश्नले छोरोलाई घोत्लिएर विचार गर्न बाध्य पार्‍यो । उसले दूध दुहुनका लागि बाबुले गर्ने गरेका सबै काम सम्झियो । बाबुप्रतिको उसको रोष र गुनासो विस्तारै मत्थर हुँदैगयो। अन्त्यमा ऊ निद्राबाट बिउँझे झैं गरी झस्स भयो। 

त्यसदिन पनि बाबुले दूध दुहिसकेपछि सोधे, “छोरा, के देखिस्, भन् त ?”

छोराले पहिलो पटक फरक जवाफ दियो । “तपाईंले गाईको दूध निकालेको देखें बा !”
बाबुले सोधे, “कसरी ?”

छोराले भन्यो, “गाईले आफैं दूध दिने होइन रहेछ । दिने भए त उसको फाँचो मुनि दुधेरो थाप्ने बित्तिकै दूध झ्रिहाल्थ्यो नि ! तपाईंले गाईलाई घाँस-पानी खुवाउनुभयो । स्याहार गर्नुभयो, बाच्छो लगाउनुभयो। गाई पग्रिएपछि बाच्छो छुटाएर माउले देख्ने र चाट्न मिल्ने गरी गाईकै अगाडितिर बाँध्नुभयो। अनि गाई दुहुन बस्नुभयो। त्यसैले गाईले दूध दिएको होइन, तपाईंले गाईलाई खुशी पारेर दुहुनुभएको रहेछ बा !”

बाबु खुशी भएर भने, “स्याब्बास् ! पाठ भनेको यही हो । पाठ पढ्नु भनेको गमेर हेर्न जान्नु पनि हो । काम र त्यसको पृष्ठभूमि, प्रक्रिया र परिणाम बीचको सम्बन्ध ठीकसँग 
खुट्याउन सक्ने हुनु पढ्नु हो, जान्ने हुनु हो । यसमा तँ सफल भएको छस्, एउटामहत्वपूर्ण पाठ सिकेको छस्। यसलाई सधैं हेक्का राख्नू ।” 

छोरो दङ्ग पर्‍यो। बाबुले उसलाई छेउमा बोलाएर विस्तारै भने, “तर यो सबै कुरा भाइबहिनीलाई चाहिं नसुना है फेरि!”

छोराले प्रसन्न मुद्रामा जवाफ फर्कायो, “भन्दिनँ बा, उनीहरूले यो बुझने बेला भएकै छैन !” 

commercial commercial commercial commercial