‘गरे शिक्षकले नै सक्छन् !’

नेपालको शैक्षिक इतिहास धेरै लामो छैन। तर पनि विज्ञान र प्रविधिले ल्याएको परिवर्तन, विश्वमा प्रस्फुटन भइरहेको नयाँ-नयाँ ज्ञानको प्रभावबाट नेपाल अछुतो रहन पनि सक्दैन। शिक्षा प्राप्ति मान्छेको नैसर्गिक अधिकार र सामाजिक आवश्यकता भइसकेको छ। शिक्षा जीवनोपयोगी र सीपसँग आधारित हुनुपर्ने माग झन् झन् बढेर गएको छ। शिक्षालाई ज्ञान, सीप, श्रम, उत्पादन, निकासी, आम्दानी र आत्मनिर्भर जीवनयापनको मेरुदण्ड बन्न नबनाई सुख छैन।

संस्कार, अनुशासन, लगनशीलता, नैतिकता सहितको शिक्षा आजको सामाजिक आवश्यकता हो। बढ्दो बौद्धिक पलायन, स्वदेशमा चरम बेरोजगारीको अवस्था, स्वावलम्बी बनाउने सीप विनाको शिक्षा अहिलेको शिक्षाप्रतिको चरम असन्तुष्टिको कारण हो। जसले गर्दा शिक्षा भन्दा वैदेशिक रोजगारप्रति झुकाव बढेको देखिन्छ, जो राट्रिय विकास पद्धतिको लागि घातक पक्ष हो। 

नेपालको सार्वजनिक शिक्षा र शिक्षण पेशाप्रति आकर्षण घट्दै जानुमा स्थानीय तहको अराजक रवैया पनि कम जिम्मेवार छैन। वर्षौं वर्षसम्म पाठ्यक्रम परिमार्जन नहुनु, निजी र सामुदायिक जस्ता दोहोरो शिक्षा नीति कार्यान्वयनमा रहनु, नेपालको शिक्षा शैक्षिक माफियाहरूको कब्जामा हुनु– नेपालको शिक्षाप्रति आम जनताको विकर्षणको अर्काे कारण हो। पाठ्यक्रममा समसामयिक परिवर्तन गरी शिक्षा जस्तो विषयमा तीनै तहको सरकार गम्भीर बन्न नसक्नु अर्को विडम्बना हो। 

संघीय संरचनाहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न नसक्दा अनुशासनहीनताको अवस्था सिर्जना भई शासकीय पद्धतिमा नै अस्थिरता पैदा हुन पुगेको देखिन्छ। खासगरी स्थानीय जनप्रतिनिधिहरू शिक्षकप्रति चरम नकारात्मक शासक बन्न खोजेको देखिन्छ। कुनै पनि तहका सरकार शिक्षा, शिक्षक र शिक्षण पेशालाई मर्यादित बनाउन सकारात्मक र गम्भीर देखिंदैनन्। 

नेपालको परिवेशलाई नियाल्दा वर्तमान परिस्थितिमा सार्वजनिक शिक्षा र उक्त क्षेत्रमा कार्यरत न्यून सुविधामा काम गर्ने विभिन्न खाले शिक्षकहरूमाथि निर्मम तरीकाले सबैतिरबाट आक्रमण भइरहेको देखिन्छ । जसरी शरीरमा रक्तसंचारको महत्व छ, त्यसरी नै समाज तथा मानव विकासमा शिक्षाको स्थान हुन्छ भन्ने भावना अहिले दुब्लाएको देखिन्छ। अहिले शिक्षकहरूमाथि नयाँ-नयाँ ज्ञान र सीपप्रति अद्यावधिक हुन नसकेको, अध्ययनशीलता घटेको जसले गर्दा विद्यार्थीको सिकाइमा समेत गिरावट आएको, विशेषगरी कोभिडपछिको प्रविधि विकासको रफ्तारमा शिक्षकहरू पछि परेको जुन आरोपहरू आइरहेको छ; यसमा केही हदसम्म सत्यता पनि देखिन्छ। यो शिक्षकहरूको आन्तरिक सुधारको पाटो हो र यसलाई शिक्षकहरूले नै कडाइका साथ सुधार्दै थप विश्वासको वातावरण विकास गर्दै लैजानुको विकल्प देखिंदैन। 

प्रविधिका साधनहरूको प्रयोगमा शिक्षकहरूभन्दा बालबालिका नै अगाडि देखिएको अहिलेको सन्दर्भमा प्रविधिका साधनलाई विद्यालयमा निषेध भन्दा शिक्षण सिकाइको आकर्षक साधन बनाउन नसके शिक्षकको शिक्षण क्रियाकलापप्रति बालबालिकाको आकर्षण घट्ने मात्र हैन केही वर्षपछि सामुदायिक विद्यालयका कक्षाकोठाहरू विद्यार्थीविहीन हुनेछन्। विभिन्न कटु आलोचना, अपमान, विभेदका बाबजूद पनि समाजलाई बदल्न निष्ठा र उच्च उत्साहका साथ अगाडि बढिरहेको अभियन्ताको रूपमा शिक्षकलाई स्थापित गर्दैै लैजाने गहन जिम्मेवारी पनि हामी शिक्षकहरूकै काँधमा छ । शिक्षकहरूको टिम मिलेको ठाउँमा अहिले पनि सामुदायिक विद्यालयहरू अब्बल अभ्यासमा अगाडि नै देखिएका छन्। 

शिक्षकहरूलाई आन्दोलन गर्नुपर्ने परिस्थितिबाट मुक्त पार्ने शिक्षा ऐन ल्याउन सरकार सकारात्मक हुनैपर्छ। समुदायलाई विद्यालयप्रति सकारात्मक बनाउन सुमधुर सम्बन्ध विकास गर्ने, विव्यस र शिक्षक–अभिभावक संघसँग नियमित छलफलबाट अगाडि बढ्ने र त्यसै अनुसारको योजना बनाई सुशासन, सकारात्मक सामाजिक चिन्तनको विकास गरी विद्यालयमा पनि शैक्षिक सुशासन कायम गर्दै सुयोग्य भावी पुस्ताको निर्माणमा अब्बल दर्ज हुने आत्मबलका साथ अगाडि बढौं, सामुदायिक विद्यालयको रूप फेर्ने प्रण गरौं।
‘गरे शिक्षकले नै सक्छन्’ भन्ने मूल सिद्धान्तमा अडिग रही सत्य सधैं सत्य नै हुन्छ भन्ने विश्वासका साथ अगाडि बढौं अवश्य सफल भइन्छ। जय शिक्षक। 

प्रधानाध्यापक, मावि, मरिन, हायुटार, घ्याङलेख गापा, सिन्धुली

commercial commercial commercial commercial