विद्यार्थीले छानेका शिक्षक

सामान्यतया विद्यालयमा शिक्षक छनोट गर्ने प्रक्रिया हो- विज्ञापन प्रकाशन, लिखित परीक्षा र अन्तर्वार्ता। तर शिक्षक मेघ विलाश भट्टले ती प्रक्रिया पूरा गर्नै परेन, कारण उनलाई विद्यार्थीले मन पराए। विद्यार्थीले रोजेकै कारण सार्वजनिक शैक्षिक गुठी अन्तर्गत चलेको प्रतिष्ठित बूढानीलकण्ठ स्कूलमा उनकै लागि नयाँ दरबन्दी सृजना गरियो र उनलाई सोझै नियुक्ति दिइयो।

१३ वर्ष अघिको कुरा हो, बूढानीलकण्ठ स्कूलका एक जना शिक्षक वर्ष दिनको बिदामा बस्ने भएपछि उनको सट्टामा सामाजिक अध्ययन विषय पढाउन भट्टलाई प्रस्ताव आयो। बूढानीलकण्ठ जस्तो कहलिएको विद्यालयमा पढाउन सकूँला र भन्ने अलिअलि डर थियो उनमा। उनले त्यतिखेरका प्रिन्सिपल नारायणप्रसाद शर्मालाई भेटे। शर्माले उनलाई समय कसरी दिन सक्नुहुन्छ भनेर सोधे। “म जुन विद्यालयमा पढाउँदैछु, त्यहाँ चटक्कै छोडेर पूरा समय दिन सक्दिनँ। त्यहाँ पनि मेरो जिम्मेवारी छ।” भट्टको जिम्मेवारी र प्रतिबद्धता सुनेर प्रिन्सिपल शर्मा प्रभावित भए र उनले बूढानीलकण्ठ स्कूलमा आंशिक शिक्षकको नियुक्ति पाए। 

बिदामा बसेका शिक्षक फर्किए पछि उनको पदावधि स्वतः सकिने थियो । तर विद्यार्थीले ‘हामीलाई यिनै शिक्षक चाहिन्छ’ भनेर माग गरे । सम्बन्धित विषय विभागका प्रमुख र सहकर्मीहरूले पनि उनको काम मन पराएका थिए । अनि भट्ट त्यहीं पूर्णकालीन शिक्षक भए। 

शिक्षक भट्टको कक्षाकोठाको एक दृश्य ।

गोरखाको एउटा सामान्य कृषक परिवारका, निरक्षर आमाबुबाका छोरा भट्टको सपना नै राम्रो पढेर शिक्षकको जागिर खाने थियो। गोरखाको जलकन्या माविबाट एसएलसी र गोरखा क्याम्पसबाट प्रमाणपत्र तह पास गरेपछि उनी काठमाडौं आए र काम गर्दै पढे। उनले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर, महेन्द्र रत्न क्याम्पस ताहाचलबाट अंग्रेजी भाषामा एमएड, नेपाल कानून क्याम्पसबाट एलएलबी र काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन्।

परियोजनामा आधारित सिकाइ 
शिक्षणलाई प्रभावकारी र अर्थपूर्ण बनाउनका लागि भट्ट विद्यार्थी केन्द्रित शिक्षण विधिलाई प्राथमिकता दिन्छन्। यस्तै एउटा हो परियोजनामा आधारित शिक्षण विधि । यो विद्यार्थीलाई कुनै काममा सक्रिय रूपमा सहभागी गराएर सिक्न सघाउने विधि हो। 

एक पटक दशैंको बिदाका बेला उनले कक्षा-८ का विद्यार्थीलाई आफैं रोजगारदाता खोजेर, उनीहरूसित काम मागेर तीन दिन काम गर्ने परियोजना कार्य दिए । त्यसका लागि उनले विद्यार्थीलाई सहयोग गरिदिन र काम गरेबापत उनीहरूलाई केही पारिश्रमिक उपलब्ध गराइदिन अनुरोध गर्दै रोजगारदातालाई चिठी लेखिदिए। 

विद्यार्थीले वर्कशपमा मोटरसाइकल धुने, बच्चा हेर्ने, घर सफाइ गर्ने जस्ता अनेक काम पाए र ती काम गरेबापत पारिश्रमिक पनि पाए । त्यो अनुभव सँगालेर उनीहरूले प्रतिवेदन तयार पारे। भट्ट भन्छन्, “त्यसबाट विद्यार्थीले श्रम र समाजका बारेमा धेरै कुरा सिके र आफूले कमाएको पैसा भेला पारेर कापी-कलम आदि किनेर सामुदायिक विद्यालयमा दिए ।” भट्टको लोकप्रियताको कारण बुझदै जाँदा थाहा भयो, उनी धेरै मिहिनेत गरेर राम्रोसित पढाउँदा रहेछन् र विद्यार्थीलाई आफ्ना कुरा राख्ने र प्रश्न र तर्क गर्ने अवसर दिंदा रहेछन् । उनी भन्छन्, “मलाई प्रश्न गर्ने विद्यार्थी मन पर्छन्। हरेक विद्यार्थीले प्रश्न गरेर चुनौती देओस् भन्ने लाग्छ। पास भएर गएका विद्यार्थी समेतले तपाईंको इतिहासको कक्षा अझै पनि मिस गर्छौं भनेको सुन्दा गर्व लाग्छ।” 

कहिले उनी शिक्षण सुधारका लागि प्रत्यक्ष रूपमा विद्यार्थीसँग कुराकानी गर्छन् भने कहिले लिखित रूपमा उनीहरूका प्रतिक्रिया लिन्छन्। लिखित प्रतिक्रिया दिंदा विद्यार्थीले आफ्नो नाम वा पहिचान खुलाउनु नपर्ने भएकाले गम्भीर कुरा पनि बाहिर आएको उनको अनुभव छ। 

बालबालिकाको मानसिक स्वास्थ्यप्रति चिन्तित 
धेरैजसो विद्यालय र अभिभावकको ध्यान बालबालिकाको शैक्षिक उपलब्धिमा मात्र केन्द्रित पाइन्छ र बालबालिकाको मानसिक स्वास्थ्य कम प्राथमिकतामा परेको देखिन्छ। बालबालिकमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गएको भट्टको ठम्याइ छ, “यो चिन्ताको विषय हो। पढाइको चाप र अभिभावकको अपेक्षाले बालबालिकालाई नराम्ररी पेलेको छ । कहिलेकाहीं त उनीहरू आमाबुवाको बिग्रिएको सम्बन्धका कारण पनि तनाव र असुरक्षा बोधले ग्रसित हुन्छन्।” 

सानैदेखि बाबुआमाले जे भन्यो त्यही पु¥याइदिने गरेका, उमेर अनुसारका काम गर्न नसिकाएका विद्यार्थीलाई पनि समस्या र तनाव भएको उनको अनुभव छ, “यहाँ छात्रावासमा बिहान छिट्टै उठ्नुपर्छ। आफ्नो काम आफैं गर्नुपर्छ। समयतालिका अनुसार चल्न सकेन भने खाजा पनि छुट्छ। घर छाडेको पीडा पनि हुन्छ। कतिका लागि समस्या थपिंदै जान्छन् र मानसिक स्वास्थ्यमा असर देखिन थाल्छ।”


भट्टको लोकप्रियताको कारण बुझ्दै जाँदा थाहा भयो, उनी धेरै मिहिनेत गरेर राम्रोसित पढाउँदा रहेछन् र विद्यार्थीलाई आफ्ना कुरा राख्ने, प्रश्न र तर्क गर्ने अवसर दिंदा रहेछन्। उनी भन्छन्, “मलाई प्रश्न गर्ने विद्यार्थी मन पर्छन्।”

बूढानीलकण्ठ स्कूलमा बालबालिकाको मानसिक स्वास्थ्यलाई निकै महत्व दिने गरिएको छ । विद्यालयमा बाल मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी तालिमहरू हुन्छन् । कसैमा मानसिक समस्या देखिए पहिले ट्युटरबाट सल्लाह परामर्श गर्ने, आवश्यकता अनुसार विद्यालयको विज्ञ समूहले हेर्ने र समस्या जटिल भएमा अभिभावकलाई जानकारी गराएर बाहिर अस्पतालमा पठाउने समेत गरिन्छ। 

तर कुनै घटना भट्ट जस्ता शिक्षकहरू आफैं भिडेर मात्र समाधान हुने खालका हुन्छन् ।

कमजोर छात्राको कथा 
केही वर्षअघिको कुरा हो, कक्षा ९ की एक जना छात्रा पढाइमा निकै कमजोर देखिइन् । उनी तल्लो कक्षादेखि नै सकभर विद्यार्थीलाई फेल नगराउने व्यवस्था अनुसार नै माथि उक्लिंदै आएकी थिइन्। कमजोर विद्यार्थीका लागि फोकस गर्ने विशेष व्यवस्था भए पनि सबै प्रयास असफल भइरहेका थिए । उनका अभिभावक भने जिम्मेवारी पूरा नगरेको भन्दै विद्यालय र शिक्षकसँग रिसाउँथे। 

ती छात्रामा किन कुनै प्रयासले पनि काम गरिरहेको छैन भनेर शिक्षक भट्टले अध्ययन शुरू गरे । छात्रासँग धेरै पटक कुरा गरेर विश्वासको वातावरण बनाएपछि उनको समस्याको रेखाचित्र प्रकट हुन थाल्यो । यस क्रममा उनी ती छात्राको पुरानो विद्यालय समेत पुगे। उनी त्यहाँ पनि औसतभन्दा कमजोर विद्यार्थी रहिछन्। उनले बूढानीलकण्ठमा कसरी नाम निकालिन् भनेर बुझदै जाँदा उनलाई घरमा शिक्षकको व्यवस्था गरेर तयारी गर्न लगाइएको रहेछ र पहिलो वर्ष असफल भएपछि दोस्रो वर्षमा नाम निकालेकी रहिछन् । 
उनले ती छात्राका आमाबुबासँग पनि पटक–पटक भेटेर कुराकानी गरे र उनको पढाइ बिग्रनुको मुख्य कारण उत्कृष्ट नतिजा हासिल गर्नका लागि उनीमाथि आमाको अनावश्यक दबाव रहेको निष्कर्ष निकाले।

ती छात्राकी आमा आठ कक्षा फेल भएपछि बाबुआमाले उनको बिहे गरिदिएका रहेछन्। आफूले पढ्न नसके पनि छोरीले उत्कृष्ट ग्रेड ल्याएर धेरै पढोस् भन्ने आफ्नो चाहना पूरा गराउन उनी छोरीलाई धेरै दबाव दिन थालिछन् । अनि आमासँग उनको सम्बन्ध बिग्रिएछ।

सबै कुरा पत्ता लागिसकेपछि भट्टले छात्राका आमाबुबालाई सबै कुरा बताए। आमाले आफ्नो गल्ती महसूस गरिन्। आमाको अनावश्यक दबाव खप्न नपरेपछि र सहयोग पाएपछि छात्रा सामान्य र सहज बन्दै गइन्। ती छात्रा, उनका अभिभावक र विद्यालय सबै खुशी भए । ती छात्राले १० कक्षा पास गरिन् । भट्ट भन्छन्, “त्यो समस्या त समाधान भयो, तर अभिभावककै कारण बच्चाको शैक्षिक प्रगतिमा बाधा पुगेका यस्ता अरू घटना धेरै छन्।” 

भट्टका अनुसार उनले अध्यापन गर्ने सामाजिक अध्ययन विषयमा ७० प्रतिशतभन्दा माथिको औसत अंक सहित शतप्रतिशत उत्तीर्ण नतिजा छ। उनलाई विद्यालयले ‘प्रेरणादायी शिक्षक पुरस्कार-२०१५’ र ‘उत्कृष्ट शिक्षण कार्यसम्पादन पुरस्कार-२०१९’ बाट सम्मानित गरेको छ। उनलाई इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेशन र सोसाइटी फर पर्पेचुएसन अफ आर्ट कल्चर एण्ड एजुकेशन भारतले पनि ‘उत्कृष्ट शिक्षक’ सम्मान प्रदान गरेको छ। 

४६ वर्षीय भट्टले शिक्षण पेशामा दुई दशकभन्दा बढी बिताइसकेका छन् । उनलाई विद्यार्थीमा केही न केही प्रभाव पारेको छु, पेशामा न्याय गरेको छु भनेर खुशी लाग्छ । उनी भन्छन्, “शिक्षण पेशा समाजका अन्य सबै पेशाको जननी हो। शिक्षकसँग समाजलाई सही बाटोमा हिंडाउने र रूपान्तरण गर्ने जिम्मेवारी हुन्छ । समाजमा शिक्षकका कुरा सुनिन्छ । सचेत र सभ्य समाजमा शिक्षकलाई उच्च सम्मान र फरक दृष्टिकोणबाट हेरिन्छ । शिक्षक हुनु भनेको भोलिको देशको कर्णधार तयार पार्नु हो।” 

प्रस्तुति: रोश्ना सुब्बा

(शिक्षक मासिक, २०८० कात्तिक अंकमा प्रकाशित।)

commercial commercial commercial commercial