अंग्रेजीमा कमजोर नतिजाः १५ कारण, ११ उपाय

अघिल्लो महीना प्रकाशित कक्षा-१२ को नतिजामा अंग्रेजी विषयमा ‘एन जी’ अर्थात् अनुत्तीर्ण हुने परीक्षार्थी संख्या १ लाख ९ हजार ५२७ देखि पछि त्यो विषय केही समयका लागि राष्ट्रिय चर्चा र ‘चिन्ताको विषय’ बन्यो। यो संख्या ‘एन जी’ आउने विद्यार्थीको ५९.८७ प्रतिशत र कुल परीक्षार्थीको २४.०४ प्रतिशत हुन आउँछ। त्यसपछिका दिनमा विशेषगरी अंग्रेजी अध्यापन गराउने शिक्षकहरूप्रति तीक्ष्ण बाण तेस्र्याएर रमाइलो गरिंदैछ। ‘वर्षभरि पढाएर जम्मा ३५ प्रतिशत अंक पनि ल्याउन नसक्ने विद्यार्थी उत्पादन गर्ने, ‘हेल्मेट टिचर’, राजनीति गर्ने, झोले, पुच्छर, चम्चे, पाखण्डी आदि उपनाम जोडिएका छन् शिक्षकहरूका नाममा। अर्थात् सबैको तारो बनेका छन् अंग्रेजी अध्यापन गर्ने शिक्षकहरू अहिले। कति त डर, धम्की, त्रास, अपमान, बेइज्जती आदिको शिकार पनि बनिरहेका छन्। अरू बाँकी सबै रमिते !

आखिर किन बिग्रेको हो त अंग्रेजीको नतिजा ?

अंग्रेजीको नतिजा बिग्रनुमा धेरै पक्ष जिम्मेवार छन्। केही हदसम्म शिक्षकहरू पनि यसको जिम्मेवार पक्ष निश्चय नै हुन्। नेपाल सरकारले विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह हटाएर २०४९ देखि साविक उच्च माध्यमिक तह सञ्चालन गर्दै आयो । त्यस अवधिमा सरकारले उच्च मावि तह अर्थात् कक्षा ११ र १२ मा पढाउनका लागि सबै विषयका गरी देशभर २ हजार अस्थायी र ४ हजार अनुदान कोटा गरी जम्मा ६ हजार जना मात्रै शिक्षकको दरबन्दी प्रदान गरेको छ। यस तहका निम्ति देशमा एक जना पनि स्थायी शिक्षक छैनन्। तर पनि; कक्षा ११-१२ का विद्यार्थीको पठन-पाठनमा कुन-कुन पक्षबाट के-के कमी-कमजोरीहरू रहे भन्ने विषयमा कहीं कतै ठोस चर्चा हुँदैन र कसैले आफ्नो जिम्मेवारी पनि लिन चाहँदैन ।

मेरो अनुभवमा कक्षा १२ को अंग्रेजी विषयको नतिजा निराशाजनक रहनुमा निम्न कारण जिम्मेवार छन्– १. सरकारले शिक्षकको दरबन्दी व्यवस्था नगर्नु। २. विद्यालयले स्थानीय स्रोतबाट समयमा उचित पारिश्रमिक दिन नसक्नु। ३. आकर्षक तलब सुविधा नभएकोले दक्ष जनशक्तिको आकर्षण घट्नु। ४. शिक्षक भर्नामा अनावश्यक राजनीति, नातावाद, कृपावाद, आर्थिक चलखेल आदि हुनु र दक्ष शिक्षकले प्रवेश नपाउनु। ५. पढाइरहेका शिक्षकलाई समयसापेक्ष तालीम, गोष्ठी, प्रबोधीकरण नहुनु। ६. आधारभूत शिक्षाको शुरूका कक्षाहरूमा कागजी योग्यता भएका तर अनुभव, परिपक्वता, तालीम, अतिरिक्त सीप, कला, क्षमता, प्राविधिक ज्ञान नभएका कमजोर जनशक्तिलाई जिम्मा दिइनु । ७. आधारभूत तहमा उदार कक्षोन्नति (कक्षा उद्धार) नीतिले पढाउनै नपर्ने हुनु; त्यसै कक्षा चढाउँदै ल्याउनु; कक्षा-८ मा धकेल्नु, कक्षा ९ मा बेवास्ता गर्नु, कक्षा-१० मा वाक्क लाग्ने गरी पढाउनु र बुझाउनु भन्दा घोकाउनु, थोपर्नु, कक्षा-११ मा फेरि ‘उद्धार’ गर्नु, अनि कक्षा १२ मा जम्मा एउटा विषय शिक्षकमा भर पर्नु।

यसैगरी, अंग्रेजीको नतिजा बर्बाद देखिनुका थप कारण हुन्– ८. विश्वविद्यालय तहको अध्ययन र नेपालको सरकारी सेवाको प्रवेशद्वारका रूपमा रहेको कक्षा १२ अथवा एसएलसीसम्मको शिक्षा स्तरीकृत गर्न सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षकका संघसंस्था, विद्यार्थी, सरकारी तथा गैरसरकारी संघ–संस्था आदि कसैसँग पनि कुनै चिन्तन, योजना, लगानी, सहयोग, प्रोत्साहनका कार्यक्रम नहुनु। ९. शिक्षण सिकाइ क्रियाकलापका नवीनतम प्रविधि, सिद्धान्त, कला, तरिका, अध्ययन–भ्रमण, सहकार्य, खोज, अनुसन्धान आदिका अवसर नपाउँदा स्वयं शिक्षक पनि प्रभावकारी शिक्षण गर्न अक्षम हुनु । प्रविधि र शैक्षिक सामग्रीको उपयोग न्यून हुनु। १०. विद्यार्थी वर्ग पनि अध्ययन भन्दा अन्य क्रियाकलापमा लिप्त भई शिक्षण कार्यमा पर्याप्त सहभागी नहुनु। ११. शिक्षकको तलब अति कम हुनु; अतिरिक्त आम्दानी नहुनु, समाजमा मानसम्मन घट्दै जानु, शिक्षकहरू सबै क्षेत्रबाट हेपिनु; शैक्षिक योग्यता पूरा नभएका, अनुभव नभएका शिक्षकहरूको बिगबिगी हुनु अनि योग्यता-अनुभव, राम्रो भएका र दक्ष शिक्षक र कमजोर शिक्षकको तलब सुविधा बराबर हुनु र स्वयं शिक्षकले पनि पेशाप्रति नैरश्यता देखाउनु। १२. अंग्रेजी दोस्रो भाषा हुनु, यसको प्रयोग कम हुनु, नेपाली माध्यममा एउटा मात्रै अंग्रेजी विषय पढाइ हुनु। १३. स्थानीय स्रोतबाट थोरै तलबभत्तामा अडिएका शिक्षकहरू बरु प्राथमिक तहमै भए तापनि स्थायी भएर जानु। १४. शिक्षकहरूलाई नतिजाको आधारमा उचित पुरस्कार र दण्ड–सजायको व्यवस्था नहुनु। १५. भविष्यमा पेन्सन, उपदान, स्वास्थ्य, आर्थिक लाभ नहुनुले अन्य सुरक्षित क्षेत्रमा प्रवेश नगर्दासम्म मात्रै आंशिक र अल्पकालीन शिक्षक भई बस्ने र अन्य क्षेत्रमा स्थानान्तरण हुने बित्तिकै लामो समय पढाइ नहुने भएमा फेरि कामचलाउ शिक्षकले नियुक्ति पाउनु आदि।

समाधानका उपाय के हुन् त ?

शैक्षिक क्षेत्रमा थुप्रै कुरा सित्तैमा र थोरै खर्च अनि दीर्घकालीन लगानी गरी सुधार गर्न सकिन्छ, जुन निम्नानुसार छन्: १. संविधानतः कक्षा १२ सम्म निःशुल्क शिक्षाको पूर्ण पालना गर्न÷गराउन सरकारले कक्षा ११/१२ मा प्रशस्त मात्रामा स्थायी शिक्षकको व्यस्वस्था मिलाउने। २. स्थानीय स्रोतमा स्थानीय सरकारको जिम्मेवारीमा आकर्षक तलब सुविधा प्रदान गरी दक्ष शिक्षकलाई आकर्षित गर्ने र टिकाउने। ३. शिक्षक भर्ना खुला र निष्पक्ष प्रक्रियाबाट गर्ने। ४. समयसापेक्ष शिक्षक तालिम, गोष्ठी, भ्रमण आदि गराउने। ५. विद्यालयको आधारभूत तहका कक्षाहरूमा उच्च शैक्षिक योग्यता, अनुभव, तालिमप्राप्त दक्ष शिक्षकको व्यवस्था मिलाउने । ६. स्कूलका आधारभूत कक्षालाई वास्तविक शैक्षिक आधार तयार गर्ने तहको रूपमा कार्यान्वयन गराउने । ७. कक्षा ११ र १२ को अध्ययनलाई प्रयास, अभ्यास र प्रस्तुतिको आधारमा सम्पन्न गराउन सरोकारवाला सबैले जिम्मेवारी लिने। ८. शिक्षकलाई अन्य क्षेत्रमा भन्दा अतिरिक्त आर्थिक सुविधा सहित सामाजिक मानसम्मान दिई आकर्षण वृद्धि गरी आफ्नो पेशामा रमाउने, काम गरी कमाउने वातावरण सिर्जना गर्ने । ९. अंग्रेजी भाषाको पाठ्यभार बढाउने, थप दैनिक उपयोगी विषय अंग्रेजीमा अध्यापन गराउने र प्रशस्त शैक्षिक सामग्रीको उपयोग गर्ने। १०. काम र नतिजाको आधारमा शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गर्ने। ११. अरूको भन्दा शिक्षकको निवृत्त जीवन सुरक्षित, सन्तोषजनक र सुखमय हुने व्यवस्था मिलाउने।

निष्कर्ष

अंग्रेजीको नतिजा अति कमजोर देखिनुमा कक्षा १२ को अंग्रेजी विषयको शिक्षक मात्रै जिम्मेवार नभई सम्पूर्ण सरोकारवाला पक्षहरू जिम्मेवार छन्। यसमा सैद्धान्तिक, आर्थिक, कानूनी, सामाजिक, राजनैतिक पक्षहरूले निर्वाह गर्नुपर्ने जति भूमिका निर्वाह नगरेका कारणले अंग्रेजी विषयको नतिजा सन्तोषजनक नभएको हो। यसमा स्वयं शिक्षक पनि अछुतो भने होइन। सम्बन्धित सबै पक्षबाट न्यायोचित कर्म पूरा गरेमा अवश्य नतिजामा सुधार आउनेछ। अरूको मात्रै आलोचना गर्नुभन्दा आत्मालोचना गरी सुझाव, हौसला र सही तरिका अपनाएमा नतिजाले सबैको मुहारमा खुशी छाउनेछ। 

शिक्षक, ज्योति माध्यमिक विद्यालय, सुनवल–७, अस्नैया, नवलपरासी

(शिक्षक  मासिक, २०८० असोज अंकमा प्रकाशित ।)

commercial commercial commercial commercial