विद्यालयमा चरा अभ्यास
नेपालको अवस्थिति र भौगोलिक विशिष्टताका कारण यहाँ लगभग ९०० प्रजातिका चरा पाइने विभिन्न समयको अभिलेखीकरणबाट देखिएको छ ।
नेपालमा चरा अनुसन्धानको इतिहास सन् १७९३ मा अंग्रेज कर्नेल कर्कप्याट्रिकबाट शुरू भएको हो । नेपालका चरा अनुसन्धानमा ब्रायन हफ्टन हड्सन्को योगदान उल्लेखनीय छ । यिनी लगभग २३ वर्ष बेलायत सरकारको आवासीय प्रतिनिधिका हैसियतमा काठमाडौं बसेका थिए । काठमाडौं र दार्जिलिङको करीब ३६ वर्ष लामो बसाइमा यिनले ७९ प्रजातिका चराहरू विश्वसामु नयाँ प्रजातिका रूपमा प्रस्तुत गरे ।
नेपालमा सन् १८०० को मध्यतिर अभिलेखीकरण गरिएका आठ प्रजातिका चरा आज लोप भइसकेको मानिन्छ, किनभने ती चरा प्रजाति १७० वर्षयता देखिएका छैनन् । सन् २०१६ र २०१७ मा गरिएका अनुसन्धानले नेपालमा रहेका चराहरूमध्ये २० प्रतिशत (पाँचमा एक) संकटमा परेको देखाएको छन् । क्षेत्रगत हिसाबले तराई र भित्री मधेसमा पाइने चरा प्रजाति बढी संकटमा छन् । त्यस क्षेत्रमा मान्छेको बस्ती बाक्लो भएका कारणले चरा संकटमा परेका हुन् । जनघनत्व कम भएका पहाडी र हिमाली क्षेत्रका चराहरू तुलनात्मक रूपमा कम संकटमा छन् । त्यस्तै, सिमसार र घाँसेमैदानजस्ता वासस्थानमा आश्रित चराहरू पनि संकटमा छन् । वनमा आश्रित चराहरू भने कम संकटमा छन् ।
गोमायु महाचीलः प्रत्येक वर्ष हिउँदको जाडो छल्न मंगोलियादेखि नेपालसम्म ६००० किमीको दुईतर्फी उडान गर्ने चील । यो विश्वभरी नै संकटापन्न अवस्थामा रहेको छ । तस्वीर सौजन्यः मनशान्त घिमिरे
चराका लागि महत्वपूर्ण हुने घाँसेमैदानहरू तराईका कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जहरूमा मात्र सीमित रहेका छन् र ती पनि समस्याग्रस्त हुँदै गएका छन् । आधाभन्दा बढी सिमसार, जो जलपन्छीका लागि उपयुक्त बासस्थान हुन्, ती सबै संरक्षित क्षेत्र बाहिर अवस्थित छन् ।
संकटमा परेका २० प्रतिशत चरा प्रजातिहरू मूलतः वन, सिमसार, घाँसेमैदान, कृषिजन्य भूमि तथा खुला क्षेत्रमा विचरण गर्ने वर्गका छन् । यस्ता केही चरा प्रजाति हाम्रा गाउँठाउँ तथा घर र विद्यालय वरपर पनि पाइन्छन् । भौगोलिक र क्षेत्रगत हिसाबले विद्यालय कस्तो ठाउँमा रहेको हुन्छ सोही अनुसारका चरा प्रजाति त्यहाँका बालबालिकाले देख्न सक्छन् । वन क्षेत्रमा चराको संख्या बढी हुन्छ किनभने नेपालमा पाइने चराको मुख्य वासस्थान वन क्षेत्र नै हो । गाउँ–बस्तीमा चराको संख्या अन्य वासस्थानभन्दा कम हुन्छ ।
चरा अवलोकन
पृथ्वीका अनेक प्राणीमध्येका एक वर्ग चरा हुन् । चराको अध्ययन गर्न यिनको अवलोकन गर्नुपर्ने हुन्छ । चराको अवलोकन गर्नु भनेको हामी मानव समुदाय जस्तै अर्को एक प्राणी समुदायको बारेमा बुझ्नु हो । उनीहरूको चालचलन, रहनसहन, खानपानबारे बुझ्दा हामीमा रहेको प्रकृतिको बुझाइ फराकिलो हुन पुग्छ । चराको अध्ययनबाट यस पृथ्वीमा हाम्रो भूमिका र हाम्रो स्थान के रहेछ भन्ने बुझ्न पनि सहयोग मिल्छ ।
हामी सबै प्राणीको घर यो पृथ्वी दिनानुदिन क्षयीकरण भइरहेको र यो क्रम नरोकिए मानवलगायतका प्राणीको अस्तित्व नै संकटमा पर्ने दुःखद कुरा कलिलै उमेरमा विद्यार्थीलाई सकारात्मक ढंगले पढाउन र बुझाउन चरा अवलोकन एउटा प्रभावकारी माध्यम हो । र, यस्तो पढाइमा उनीहरूले झ्याउ मान्ने छैनन् ।
चराको अध्ययन गर्नुअघि हामीले केही तयारी गर्नुपर्ने हुन्छ । त्यसको लागि हामीलाई सर्वप्रथम चराबारे जानकारी दिने पुस्तक–पुस्तिका आवश्यक पर्छन् । साथै; नोटकापी, कलम पनि सँगै बोक्नुपर्छ । दूरबिन पनि चरा अवलोकनको लागि नभई नहुने कुरा हो । बजारमा सस्तो–महंगो जस्तो पनि दूरबिन पाइन्छ । हामीले मध्यमस्तरको चार/पाँच हजार रुपैयाँमा पाइने दूरबिनले पनि चरा अवलोकन गर्न सक्छौं । दूरबिनले टाढा–टाढाको दृश्य देखिने तथा चराको गतिविधि पनि प्रष्ट हुने हुँदा चरा अध्ययनमा यो विशेष उपयोगी मानिन्छ । दूरबिनबाट नियाल्दा चराको भित्रीरंग, यसको पखेटाको अवस्था, टाउकोका चिह्नहरू, आँखा, ठोंड र खुट्टा कस्ता छन् भन्ने पनि देखिन्छ । हाउभाउ पनि प्रष्ट हुन्छ ।
चरा अवलोकन गर्न जाँदा मधुरो रंगका कपडा लगाउनु पर्छ । बढी चम्किलो र गाढा रंगको आँखा बिझाउने लुगा लगाएर यताउति गर्दा चरा हामीसँग डराउन सक्छन् । हाम्रा कुनै पनि क्रियाकलापले चरालाई व्यवधान नपुगोस् भन्नेमा सचेत हुनुपर्छ । चराहरू ओथारो बस्ने समयमा निकै संवेदनशील हुन्छन् । त्यसबेला यिनको अवस्थाको अझ बढी ख्याल गर्नुपर्छ ।
चरा अवलोकनका लागि चरा पाइने ठाउँमा पुगेर होहल्ला नगरीकन शान्तसँग बस्नुपर्छ । हाम्रा क्रियाकलापले उनीहरूलाई कुनै हानी पुग्दैन भन्ने भएपछि चराहरूले हामीलाई देखे पनि नडराइकन आफ्नो दैनिक क्रियाकलापमा लाग्छन् र हामी निर्वाध रूपमा यिनको आनीबानी अवलोकन गर्न पाउँछौं ।
चरा अवलोकनको क्रममा चराको रंग, ठोंडको आकार–प्रकार र तिनको शरीरको बनावटलाई नियाल्नुपर्ने हुन्छ । यसले निकाल्ने आवाज पनि ध्यानपूर्वक सुन्नुपर्छ । प्रत्येक चराको आफ्नैखाले विशिष्ट आवाज हुन्छ । आवाजबाट नै पनि चराहरूको पहिचान गर्न सकिन्छ । आवाज सुनेको भरमा लगभग ७० प्रतिशत चरा चिन्नसक्ने व्यक्तिलाई चराको आवाजमा पारङ्गत भएको ठानिन्छ ।
चरा अवलोकनको लागि उपयुक्त समय बिहान र अपराह्न हो । झिसमिसेपछिको उज्यालोमा चराको गतिविधि उच्च हुन्छ । मध्यदिनमा यिनीहरू प्रायःजसो विश्राम गर्छन् । त्यसपछि अपराह्नमा फेरि चराको गतिविधि बढ्छ । साँझको समय चराको गुँड पस्ने बेला हो । त्यो बेला हामीले सकेसम्म कुनै व्यवधान पुर्याउनु हुँदैन ।
बास बस्ने क्रममा र अघिपछि पनि चराले आफ्नो क्षेत्र निर्धारण गर्न कराउने/चिच्याउने गर्छन् । आफ्नो क्षेत्रमा आउने अरू चरालाई धपाउन खोज्छन् । त्यो क्रममा आक्रमण पनि गर्छन् ।
विरुत तथा गितारु चरा
चरालाई उसको कराउने वा गाउने क्षमताको आधारमा दुई वर्गमा वर्गीकरण गरिएको छ– विरुत प्रजाति र गितारु । विरुत प्रजातिका चराको बोली कम विकसित भएको हुन्छ भने गितारु प्रजातिका चराहरू विभिन्न बोली र गीतझैं लय हालेर कराउने गर्छन् । कतिपय गितारु चरा अन्य प्रजातिका चराको आवाज पनि नक्कल गर्न सक्छन् ।
नेपालमा गितारु र विरुत दुवैथरीका चरा बराबरी नै पाइएका छन् ।
विरुत प्रजातिमा कालिज, डाँफे, जलपन्छीहरू, शिकारी चराहरू, माटीकोरे, काठफोर, ढुकुर, परेवा, कोइली आदि पर्छन् । गितारु प्रजातिमा धोबिनी चरा, चाँचर, तितु, बगेडी, काग, मैना, भँगेरा, फिस्टालगायतका पर्छन् । चरा अवलोकनको क्रममा चराका यी विशेषतालाई ख्याल गनुपर्छ ।
जुरे कोइलीः ग्रीष्म ऋतुमा नेपाल भित्रिने कोइली र अन्य चरा प्रजातिमध्येको एक । तस्वीर सौजन्यः प्रसन्न श्रेष्ठ
हाम्रो घर वरपर भेटिने परेवा विरुत प्रजातिमा पर्छ । परेवाको आवाजमा विविधता कम हुन्छ तर पनि उसको आवाजलाई ध्यान दिने हो भने केही विविधता पाइन्छ । सुगा अर्को विरुत सदस्य हो । विरुतमा पर्ने भए पनि यसलाई पिंजडामा राखेर मानिसका विभिन्न बोली बोल्न सिकाउने चलन हामीले देखेकै छौं । पिंजडाको सुगाको सन्दर्भ आउँदा; चरालाई पिंजडामा राख्ने चलनले संरक्षणमा केही सहयोग पुगे पनि वन्यजन्तुलाई भरसक यिनको प्राकृतिक वासस्थानमै बाँच्न दिनुपर्छ ।
हाम्रो घर–गाउँ वरपरका गितारु चरामा काग, भँगेरा, धोबिनी चरा, मैना आदि पर्छन् । प्रायःजसो सुनिने कागको आवाज उसले आफ्नो साथीसँग सम्पर्क बनाइराख्नका लागि निकाल्ने गरेको हुन्छ । कहिलेकाहीँ ऊ खाना मागिरहेको हुन्छ । हामीले खेद्ने वा झटारो हान्नेजस्ता कार्य गर्यौं भने उसले पनि कराएर हामीलाई हकारिरहेको हुन्छ । समूह बनाएर छटपटीका साथ काग कराउनुको अर्थ त्यहाँ कुनै खालको मांसाहारी या शिकारी जनावर आएको जनाउ दिनु हो । नौलो मान्छे घर वरपर आउँदा पनि कागले कराएर संकेत दिने गर्छन् ।
हाम्रो घर छेउमा आउने भँगेराको आवाजमा पनि विविधता हुन्छ । तिनले विभिन्न क्रिलाकपालमा संलग्न हुँदा भिन्न–भिन्न आवाज निकाल्ने गर्छन् । जस्तैः आफ्ना साथीहरूसँग सम्पर्कमा रहन च्यार्रच्यार्र गर्छन् भने संकटमा परेका बेला छिटोछिटो गरी चर्को आवाजमा कराउँछन् । धोबिनी चरोले पनि आफ्नो गीतको आधारमा आफ्नो क्षेत्रको बचाउ गर्ने गर्छ र अन्य धोबिनी चरालाई उसको क्षेत्रभन्दा टाढा रहन संकेत गर्छ । गोडमेल गरिरहेका ठाउँमा आएर उसले मसिनो स्वरमा आवाज निकालेर बोलिरहेको हुन्छ, मानौं ऊ हामीसँग आफ्ना आहाराको बारे कुरा गरिरहेको छ । अथवा, जमिन खोस्रेर कीराफट्याङ्ग्रा खोज्न सजिलो बनाइदिएकोमा धन्यवाद भन्न खाजिरहेको छ । संकटका बेला चाहिं धोबिनी चराहरू भद्दाखाले आवाज निकालेर कराउन थाल्छन् ।
चरालाई धेरै किसिमले वर्गीकरण गर्ने गरिएको छ । त्यसमध्येको एउटा वर्गीकरण हो— नाङ्गै जन्मिने निडिकुलस (Nidicolous) र पखेटासँगै जन्मिने निडिफुगस (Nidifugous) । नाङ्गै जन्मिने निडिकुलस प्रजातिका चरामा सुगा, ढुकुर, परेवा, शिकारी चराहरू पर्छन् भने जन्मदा भुवा/भुत्लासँगै जन्मिने चरामा धेरै जलपन्छी र बटाई, तित्रा, कालिज आदि पर्छन् । धेरै चराका प्रजाति निडिकुलस वर्गमा पर्छन् भने केही मात्र निडिफुगस हुन्छन् । सबै गितारु चराहरू निडिकुलस हुन्छन् भने केही विरुत प्रजातिका चराहरू मात्र निडिफुगस हुने गर्छन् । निडिफुगसहरूको गुँड प्रायःजसो जमिन वा पानीको सतहमा हुने गर्छ । यिनीहरू अरूको शिकारबाट बच्न कोरलिएलगत्तै हिँड्डुल गर्न सक्षम र शत्रुले आक्रमण गरेमा त्यसबाट बच्न सक्ने खालका हुन्छन् ।
बच्चा कोरल्ने बेलामा चरालाई धेरै चाराको आवश्यकता हुन्छ । चराहरूको आहारा पचाउने र त्यसलाई शक्तिमा बदल्ने क्षमता (Metabolism) धेरै उच्च हुन्छ । अमेरिकामा गरिएको एक अध्ययनअनुसार एउटा फिस्टो प्रजातिको चराले एक दिनमा आफ्नो तौलको दोब्बर मात्रामा किराहरू खाने गर्छ । यसरी चराहरूले कीराफट्याङ्ग्रा नखाइदिने हो भने संसारमा कति कीरा हुन्थे होलान् ! चराहरूले मानिसलाई पुर्याउने फाइदामा यो पनि एक हो । यिनले यस्तै–यस्तै थुप्रै अमूल्य गुन मानिसलाई लगाइरहेका हुन्छन् तर हामीले त्यसप्रति गहिरिएर बुझ्न भने खासै सकेका छैनौं ।
चरामा बसाइँ–सराइ
बसाइँ–सराइ चराहरूको जीवनचक्रको एक अभिन्न क्रियाकलाप हो । नेपालमा पाइने सबै प्रजातिका चराहरू उड्न सक्ने क्षमता राख्छन् । चराको उडान स्वच्छन्दताको प्रतीक मानिन्छ । सबै प्रजातिका चराले केही न केही रूपमा एक ठाउँबाट अर्को ठाउँ विचरण गरेकै हुन्छन् । त्यो खाना खोज्नका लागि होस् वा प्रणयका लागि, जाडो छल्नका लागि होस् वा शत्रुको चाप कम गर्नलाई होस्, चराहरू गतिशील रहन्छन् । धेरै कम चरा मात्र यस्ता छन् जुन एकदम कम चहार्ने गर्छन् । करीब २०० प्रजातिका चराहरू निकै लामो दूरी तय गरी नेपाल आउने गर्छन् । यिनमा हिउँदे र ग्रीष्मकालका आगन्तुक चराहरू पर्छन् ।
खोया हाँसः चीनमा बच्चा कोरल्ने र प्रत्येक वर्ष बसाइँ–सराइका क्रममा हिमालयभन्दा माथि उड्दै हजारौं किमीको दूरी तय गरेर नेपाल र भारतका ठूला जलाशय र नदीमा हिउँद बिताउने चरा । तस्वीर सौजन्यः मनशान्त घिमिरे
हिउँदमा चरा अवलोकन गर्दा उसले खानाको लागि गर्ने क्रियाकलाप देख्न सक्छौं । यो बेला कतिपय चराको आराम गर्ने समय हो । नेपालका सालाखाला ९० प्रतिशत चराको बच्चा कोरल्ने समय वसन्त र ग्रीष्म ऋतु हो । वसन्त ऋतुमा धेरै चराले बच्चा कोरल्ने गर्छन् । यो बेला पोथीलाई आकर्षित गर्न भालेले गीत गाउँछन् । गीत गाएर आफ्नो उपस्थिति जनाउन तथा कुनै निश्चित क्षेत्रमा एकाधिकार स्थापित गर्न कैयौं चरा प्रजातिहरू यो समयमा तल्लीन रहन्छन् ।
वसन्त ऋतु अर्थात् चैत–वैशाख हिउँदे आगन्तुक चराहरूको चरणबद्ध तरिकाले आ–आफ्ना बच्चा कोरल्ने स्थानतिर लाग्ने समय हो । हिउँदे आगन्तुक चराहरू उत्तरी भेगबाट नेपाल आउने गर्छन् र नेपाल बसुन्जेल खानपानमै दिनचर्या बिताउँछन् । यो ऋतु बच्चा कोरल्न दक्षिणतिरबाट नेपाल पस्ने चराका लागि पनि शुरू समय हो । कटुसटाउके मुरलीचरा फागुनको मध्यमै नेपाल भित्रिइसकेको हुन्छ । अरू प्रजातिहरू पनि बिस्तारै आउन थाल्छन् ।
गृष्म ऋतुमा थप केही आगन्तुक चरा नेपाल प्रवेश गर्ने गर्छन् । जुरे कोइली यहीबेला नेपाल आइपुग्छ । ग्रीष्म ऋतुमा आउने चराको नेपाल बसाइँ–सराइ मनसुनपूर्वको अवस्थासँग गाँसिएको हुन्छ । कतिपय चराको प्रणयको समय पनि गृष्म ऋतु नै हो । यो समयमा कतिपय प्रजातिका चराको नयाँ प्वाँख आउँछ । यो समयमा चरा अवलोकन निकै रमाइलो हुन्छ ।
वर्षातको समयमा भने माउले बच्चालाई सँगै लिएर हिँड्ने बेला हो । वर्षातको समयमा बट्टाइ, लुइँचे, मजुर, कालिज लगायतका चरा प्रजातिको माउले बच्चालाई हिंडाउन, डुलाउन थाल्छन् । साना शरीर भएका चराले कहिलेकाहीँ दोस्रो बेतका बच्चा कोरलेर खुवाउने समय पनि यही हो । जुरेलीजस्ता साना चराले दुई बेतसम्म बच्चा कोरल्न भ्याउँछन् ।
शरद् ऋतु लाग्दासम्म; ढिलागरी बच्चा कोरल्ने चराले पनि बच्चा कोरलिसकेका हुन्छन् । वर्षातको समयमा बच्चा कोरल्ने चरा प्रजातिका नयाँ प्वाँख पलाउँछन् । यो समयमा चराको लागि खानेकुरा पनि प्रशस्त उपलब्ध हुन्छ । धेरैजसो चराको मुख्य आहारा कीराफट्याङ्ग्रा तथा फलफूल यही समयमा धेरै पाइन्छन् । सिमसारमा आश्रित जलपक्षीले बर्खाको बेलामा बच्चा कोरल्छन् । शरद् ऋतुमा पुग्दा तिनका बच्चा हुर्किसकेका हुन्छन् ।
चरा अवलोकनको लागि उपयुक्त स्थान
चराको अवलोकनको लागि चरा खेल्ने चउर, खेत, बारी वा अन्य खुला ठाउँ रोज्नुपर्छ । त्यस्तो ठाउँमा चरालाई प्रष्ट रूपमा देख्न सकिन्छ । वनमा आश्रित चरा हेर्न शुरूका दिनमा रुख भएका ठाउँ, धार्मिक वन, खोल्साका झाडी उपयुक्त हुन्छन् ।
हिउँदको बेलामा विद्यालय वा समुदायमा भएको पोखरी, ताल–तलैयामा पनि चरा अवलोकनको लागि जान सकिन्छ । लामो समयका लागि चराहरू त्यस्तो ठाउँमा खेल्न आउने हुँदा अवलोकन सहज हुन्छ । धान काटिसकिएको खेतमा चराहरू खेल्न, आहारा खान आउँछन् । त्यसैले चरा अवलोकनको लागि धान काटिसकिएको खेत पनि उपयुक्त स्थान हुनसक्छ ।
चरा अवलोकनको लागि विद्यालयमा इको क्लब, प्रकृति समूह, अतिरिक्त क्रियाकलाप इकाइ गठन गर्न सकिन्छ । कतिपय गाउँ–ठाउँमा चरा अवलोकन समूह— बर्ड वाचिङ ग्रुप पनि बनेका हुन्छन् । त्यस्ता समूहसँग पनि सहकार्य गर्न सकिन्छ । त्यस्तै, चराको क्षेत्रमा काम गर्ने स्थानीय संघ/संस्थासँग पनि सहकार्य गर्न सकिन्छ । यस्ता केही निकायहरू नरहेको खण्डमा क्लब, समूह वा संस्था आफैं निर्माण गरेरै पनि चराप्रेमीहरूलाई एकीकृत गर्न सकिन्छ ।
चरालाई उसको कराउने वा गाउने क्षमताको आधारमा दुई वर्गमा वर्गीकरण गरिएको छ– विरुत र गितारु प्रजाति । विरुत प्रजातिमा कालिज, डाँफे, जलपन्छीहरू, शिकारी चराहरू, माटीकोरे, काठफोर, ढुकुर, परेवा, कोइली आदि पर्छन् भने गितारु प्रजातिमा धोबिनी चरा, चाँचर, तितु, बगेडी, काग, मैना, भँगेरा, फिस्टालगायतका पर्छन् ।
चरा अवलोकनको लागि नेपालमा थुप्रै संस्थाहरूबाट सहयोग पाउन सकिन्छ । उदाहरणका लागि प्रदेश–१ मा कोशी बर्ड सोसाइटी, प्रदेश–२ मा मिथिला वाइल्डलाइफ ट्रष्ट, बागमती प्रदेशमा नेपाल पन्छी संरक्षण संघ, बर्ड एजुकेसन सोसाइटी, प्रकृतिका साथीहरू, फ्रेण्ड्स अफ बर्डस्, नेपाल पन्छीविद् संघ, गण्डकी प्रदेशमा पोखरा पन्छी समाज, प्रदेश–५ मा बर्दिया नेचर कन्जर्भेसन क्लब र सुदूरपश्चिम प्रदेशमा बर्ड कन्जर्भेसन नेटवर्कमा सम्पर्क गर्न सकिन्छ ।
जब विद्यार्थीलाई चरामा रुचि जाग्छ तब ऊ आफैंले चराको बारेमा सोधखोज गर्न थाल्छ । यसरी विद्यार्थीले चराको बारेमा सोधखोज गर्नु भनेको संरक्षणको पहिलो र प्रभावकारी पाइला हो । चराप्रति विद्यार्थीको रुचि जगाउन चरा विषयमा वादविवाद, हाजिरीजवाफ, निबन्ध, कथा, कविता लेखनको काम गराउन सकिन्छ । त्यस्तै, चरासम्बन्धी चित्रकला कोर्ने प्रतियोगिता पनि अर्को प्रभावकारी उपाय हो ।
चरा अवलोकनको महत्व
जैविक विविधताको एक महत्वपूर्ण पक्ष चरा हो । यस पृथ्वीमा बसोबास गर्ने धेरै प्राणीमध्ये चराको एक विशिष्ट स्थान छ । मेरुदण्ड भएका विश्वका प्राणीमा प्रजाति संख्याको हिसाबमा चरा दोस्रोमा पर्छन् । हाल उपलब्ध तथ्याङ्क हेर्दा माछाको विविधता चराको भन्दा दोब्बर देखिन्छ । बर्डलाइफ इन्टरनेशनल र आईयूसीएनजस्ता संस्थाको तथ्याङ्कअनुसार विश्वमा ११,१४७ प्रजातिका चरा छन् तीमध्ये १,४६९ प्रजाति संकटग्रस्त छन् । विश्व चरा वैज्ञानिकहरूको अर्को समूह, इन्टरनेशनल अर्निथोलोजिकल यूनियनबाट जारी सूचनामा भने विश्वमा १०,९२८ प्रजातिका चराहरू रहेको उल्लेख छ । यो संख्यात्मक भिन्नताको एउटा मुख्य कारण चराहरूको प्रजाति छुट्याउँदाको फरक बुझाइ हो । कसैले कुनै दुई खालका चरालाई दुई अलग प्रजातिमा गणना गरेका हुन सक्छन् भने कसैले एउटै प्रजातिभित्र राखेर हेरेका हुन सक्छन् । सन् २०१६ मा एक वैज्ञानिक जर्नलमा प्रकाशित लेखले यस विषयमा थप तरङ्ग उत्पन्न गरेको छ । चारजना अमेरिकी वैज्ञानिकले लेखेको उक्त लेखमा विश्वमा १८,०४३ प्रजातिका चरा रहेको दावी गरिएको छ ।
चरा अवलोकनबाट विद्यार्थीले जैविक विविधताको महत्व बुझ्दै पृथ्वीका अनेक प्राणीमध्ये मानव पनि एक प्राणी मात्र भएको कुरा सजिलैसँग बुझ्छन् । चरा अवलोकनको क्रममा संलग्न भएर उनीहरूले पर्यावरण र प्रकृतिको महत्व बुझ्छन् । प्रकृतिको महत्व बुझ्दा प्रकृति संरक्षणको लागि उनीहरू सचेत बन्छन् । रुख, पात, जंगलको महत्व छ भनेर पढाइने सैद्धान्तिक पाठ चरा अवलोकनको एक, दुई घण्टाको अभ्यासका क्रममा नै विद्यार्थीहरूले चीरकालसम्म दिमागमा राख्छन् ।
हामी सबै प्राणीको घर यो पृथ्वी दिनानुदिन क्षयीकरण भइरहेको र यो क्रम नरोकिए मानवलगायतका प्राणीको अस्तित्व नै संकटमा पर्ने दुःखद कुरा कलिलै उमेरमा विद्यार्थीलाई सकारात्मक ढंगले पढाउन र बुझाउन चरा अवलोकन एउटा प्रभावकारी माध्यम हो । र, यस्तो पढाइमा उनीहरूले झ्याउ मान्ने छैनन् बरु आफ्नो किशोरवयको जिज्ञासुपनलाई उजिल्याउने छन् र हुनसक्छ भविष्यमा संरक्षणको नवीन उपाय खोजी गर्न समर्थ हुनेछन् । तसर्थ, चरा अवलोकन विद्यार्थीलक्षित संरक्षणको पहिलो र प्रभावकारी पाइला हो ।
चरा संरक्षण किन ?
चराहरू नभएको संसारको परिकल्पना नै गर्न सकिंदैन । सगरमाथा भन्दा माथिको उचाइमा, समुद्रको गहिराइमा, दुवै ध्रुवमा, पूर्व–पश्चिम, हिमाल, पहाड, तराई, मरुभूमि, सिमसार जहाँ पनि यिनको बास छ । लाग्छ, मानौं सम्पूर्ण ब्रम्हाण्ड नै यिनको कब्जामा छ । हाम्रो धर्म, संस्कृति, परम्परागत मूल्य र मान्यतामा पनि यिनको पहिचान र विशिष्टताको वर्णन पाइन्छ । केही प्रजातिहरूमा देवत्वको झल्को पाउँछौं र पूजा पनि गर्छौं । प्रकृतिका पुजारीले हृदयदेखि नै यिनको संरक्षणबारे सोच्ने र स्वतःस्फूर्त रूपमा संरक्षणका नियमलाई पालना गर्ने गर्छन् ।
तर एक शताब्दीभन्दा बढी भइसक्यो; बढ्दो जनसंख्याले मानिस र चराले प्रयोग गर्ने वासस्थानमा द्वन्द्वको स्थिति सिर्जना भएको छ । वातावरण प्रदूषित भएको छ, चराका वासस्थान घटेका छन् । फलस्वरुप, चराहरू ठूलो संकटमा परिरहेका छन् । मानिस नभए चरालाई खासै असर पर्नेवाला छैन तर मानिसलाई बाँच्नका लागि चरा चाहिन्छन् । यसकारण पनि यिनको संरक्षण जरुरी छ ।
सिमतित्राः विश्वको सबैभन्दा ठूलो र संवेदनशील सूचीमा रहेको तित्रा प्रजाति । पहिले तराईमा व्यापक पाइने हाल कोशीटप्पु र शुक्लाफाँटामा मात्र पाइने । भारत र नेपालमा मात्र पाइने । तस्वीर सौजन्यः मनशान्त घिमिरे
चराहरू प्रकृतिका अभिन्न अङ्ग र पारिस्थितिकीय प्रणालीको सुचारु सञ्चालनका लागि नभई नहुने प्रजाति हुन् । यिनीहरूको संख्या घटेमा वा मासिएर गएमा प्राकृतिक प्रणाली नै संकटमा पर्नेछ, जसलाई कुनै पनि वैज्ञानिक वा विकसित मुलुकले व्यवस्थापन गर्न सक्ने छैनन् । कोरोना भाइरस (कोभिड–१९) जस्ता र अझ शक्तिशाली प्रकोपले मानिसलाई पटक–पटक पिरोलिरहने छन् । परागसेचन, वनका वनस्पतिहरूको बीउ वितरण र एक पारिस्थितिकीय प्रणालीबाट दोस्रो प्रणालीमा शक्तिको उत्सर्जन र वितरण गर्न चराहरूले पुर्याएको जस्तो योगदान अरू कसैले पनि पुर्याउन सक्ने छैन ।
मानिसका लागि चराहरू मनोरञ्जनका साधन, रोगव्याधि र खतराबाट बचाउने, समाचार आदान–प्रदानका संवाहक, औषधिमूलोका प्रकार, उद्योगका लागि कच्चा पदार्थ, थालमा सजिने सस्तो प्रोटिन, पहिरन र गहनाका साधन, प्राङ्गारिक मल उत्पादन गरिदिने जनावरका रूपमा शताब्दिऔँदेखि प्रयोगमा रहे । यिनीहरूले कीराफट्याङ्ग्रा खाएर किसानलाई साथ दिने र मानिसलाई हवाइजहाज र रकेटको सपना देख्न र बनाउन प्रेरणा दिलाउने अनि अन्त्यमा विश्व–सवार गराउने पक्षीजगतको रहस्य वास्तवमा अझसम्म पनि राम्ररी बुझ्न र खुल्न सकेको छैन, त्यो लुकेकै अवस्थामा छ ।