विद्यालयमा जीव विज्ञान पढाउने केही शैली र विधि

नेपालको सन्दर्भमा विद्यालयमा जीव विज्ञान शिक्षण शैली प्रयोगात्मक भन्दा पनि बढी सैद्धान्तिक रहने गरेको छ । स्रोत–साधन र प्रविधिमैत्री शिक्षकको कमी, भौतिक पूर्वाधारको अपर्याप्तता आदि कारणले गर्दा सैद्धान्तिक कक्षा र त्यसमा पनि शिक्षक केन्द्रित व्याख्यान विधि अपनाइएको पाइन्छ । यसमा परिमार्जन गरी नयाँ र प्रभावकारी विधिहरूको अवलम्बन गर्नु अत्यावश्यक भइसकेको छ । अनि मात्र विद्यार्थीले विज्ञान तथा यसभित्रको जीव विज्ञान विषय सहर्ष र सहज ढंगबाट बुझ्न तथा स्वीकार्न थाल्लान् ।

विभिन्न राष्ट्र अनुसार शिक्षण–सिकाइ क्रियाकलाप फरक तवरबाट हुने गर्दछ । यसमा विशेषगरी बन्द पाठ्यक्रम वा खुला पाठ्यक्रम गरी दुई प्रकार देख्न सकिन्छ । फिनल्याण्डको स्कूले शिक्षा विश्वकै अग्रणी शिक्षा प्रणाली मानिन्छ । यहाँ कुनै पनि प्रकारको पूर्व निर्धारित पाठ्यक्रम छैन । त्यसैले त विद्यार्थीलाई कुनै पनि किसिमको पाठ्यपुस्तक बोक्नुपर्ने र यसैभित्र खुम्चिएर अध्ययन गर्नुपर्ने अवस्था यहाँ छैन । फलस्वरूप, सिकाइको शुरूवात विद्यार्थीले आफ्नै घर, करेसाबारी, खेल–मैदान, विद्यालय प्राङ्गण आदि स्थानमा अनपेक्षित रूपमै देखेका जन्तु तथा वनस्पतिको आफ्नो ट्याबलेट, फोन वा क्यामेरामा कैद गरी (शिक्षकको अनुपस्थिति भएको अवस्था भए) शिक्षकलाई देखाई सोध्ने र उक्त जीवको बारेमा गहिराइमा जानकारी हासिल गर्ने अभ्यास छ । शिक्षकको उपस्थिति भएको अवस्थामा भने प्रत्यक्ष रूपमै अन्तरक्रिया गरी विद्यार्थीलाई ज्ञान दिलाइन्छ । जस्तो कि; कुनै किराको जीवनचक्र अध्ययन गर्नुपर्‍यो भने उक्त अवधिसम्म निरन्तर अवलोकन गरी विद्यार्थीलाई जानकारी गराइन्छ । साथै; शिक्षकहरूले समय, अवस्था अनि आवश्यकता अनुसार स्वतन्त्र रूपमा पाठ्यक्रम डिजाइन गरी पढाउने अभ्यास पनि फिनल्याण्डमा छ ।


जीव–विज्ञान पढाउँदा शहरी र ग्रामीण भेगका विद्यार्थीबीचमा बोध क्षमताको फरकपनामा मेरो आफ्नै अनुभव छ । ग्रामीण भेगका विद्यार्थीले ‘प्राणी र वनस्पतिको वर्गीकरण’ पाठ आफूले पहिले नै देखेको वा बुझेको आधारमा शिक्षकले व्याख्या गर्दा सहजै बुझी क्षमता विकास गर्न सकेको पाइन्छ भने शहरीमूलका विद्यार्थीमा यो क्षमता बिरलै रूपमा मात्र विकास गर्न सकिन्छ ।

फिनल्याण्डका ‘मिडल स्कूल’ हरूमा जीव विज्ञान लगायत रसायनशास्त्र, भू–विज्ञान, भौतिक विज्ञान तथा स्वास्थ्य शिक्षालाई समेटिएको हुन्छ । यसमध्ये जीव विज्ञान प्रकृति, पारिस्थितिक पद्धति, जीवन र क्रम विकास आदिमा केन्द्रित रहेको छ । यसलाई अरू प्रक्रियात्मक (procedural) भन्दा पनि घटनासँग आधारित शिक्षण (phenomena based teaching) पद्दतिबाट पढाइन्छ । त्यसपछि १६–१८/१९ वर्ष बीचका विद्यार्थीलाई पूर्ण प्रयोगात्मक विधि तथा श्रव्य–दृश्य सामग्रीमार्फत अध्यापन गराइन्छ । यसलाई मजबुती दिनको लागि कार्ययोजानात्मक सिकाइ (Project based learning)  विधिको प्रयोग गरिन्छ ।

K. M. Katukula का अनुसार आजको दिनमा जीव विज्ञान शिक्षणमा विश्वमा प्रयोगमा रहेका विविध मुख्य विधिहरू निम्नानुसार समेट्न सकिन्छ ।

विधि (Methods)

तरिका (Techniques)

प्रयोगात्मक विधि

प्रयोगशाला कार्य, समूह कार्य, शिक्षकद्वारा प्रदर्शन

सुक्ष्म समूह कार्य विधि

छलफल, वादविवाद

स्रोतमा आधारित सिकाइ विधि

व्यक्तिगत सिकाइ/लेखन कार्य *

अध्ययनपश्चात् कक्षा वा सामूहिक छलफल

समस्याको सिर्जनात्मक समाधान विधि

**अवधारणा नक्शा, बौद्धिक विमर्श (Brainstorming)

अनौपचारिक सिकाई विधि

स्थलगत अध्ययन/कार्य

व्याख्यान विधि

विषयवस्तुको बृहत् व्याख्या, कथन तथा अन्त्यमा प्रश्नोत्तर

* व्यक्तिगत सिकाइ/लेखन कार्य अन्तर्गत स्रोत पुस्तक, कक्षागत सारांश, पुस्तकालय, प्रकाशित कृतिहरू, श्रव्य–दृश्य सामग्री, इन्टरनेट, प्रत्यक्ष वार्तालाप, टेलिफोन वार्ता आदि पर्दछन् ।

** अवधारणा नक्शा, बौद्धिक विमर्श अन्तर्गत सारांश लेख्ने वा भन्ने, विश्लेषण गर्ने, निष्कर्ष निकाल्ने, आदि पर्दछन् ।

नेपालको सन्दर्भमा भने विद्यार्थीलाई बन्द पाठ्यक्रमभित्र राखेर शिक्षक केन्द्रित तथा सैद्धान्तिक शिक्षण क्रियाकलाप एक प्रमुख अभ्यास रहेको कुरा हामी नकार्न सक्दैनौं । तर विश्वको सन्दर्भमा भने ठिक विपरीत अभ्यास भेटिन्छ । क्रियाकलापमा आधारित शिक्षणलाई परियोजनात्मक कार्यसँग जोडी विद्यार्थीलाई नै बढी क्रियाशील बनाइ शिक्षण गर्ने प्रचलन संयुक्त राज्य अमेरिकामा व्यापक देख्न सकिन्छ ।

समग्रमा, जीव  विज्ञान सहित समग्र शिक्षण सफल पार्न हामीले आजको दिनमा निम्न पक्षलाई अवलम्बन गर्न सकिन्छ ।

क) एनिमेसनयुक्त चलदृश्यको प्रयोग (Use of animated videos): सिकारुको बोध क्षमतालाई श्रव्य–दृश्यसँग सम्बन्धित इन्द्रियहरूको संलग्नता गराइ बुझाइने वा सिकाइने पद्दतिको निम्ति एनिमेसनयुक्त चलदृश्य बढी प्रभावकारी हुन्छ । यस प्रक्रियामा कक्षा शिक्षण शिक्षकको प्रभुत्वमा रहेको हुन्छ । तथापि, यही विधिमार्फत नै कक्षलाई अझ बढी अन्तरक्रियाशील र चाखलाग्दो बनाउन सकिन्छ ।

ख) शक्ति विन्दुको प्रयोग (Use of power-point slides): विषयवस्तुको प्रस्तुतिको लागि शक्ति विन्दुको प्रयोग गरी बनाइएका सामग्रीमा समेत ग्राफिक्स लगायत ध्वनि, श्रव्य–दृश्य सामग्री तथा एनिमेसन गरी निर्माण गरिएका शैक्षिक सामग्रीमा विद्यार्थीको विशेष ध्यान खिच्न सकिन्छ । नियमित कक्षाभन्दा फरक स्वाद पस्कन यसको प्रयोग गर्न सकिन्छ । साथै, गुगल स्लाइड, लिब्रे अफिस, स्लाइड डग, प्रेजी, एप्पल किनोट आदि प्रयोग गर्न सकिन्छ ।

ग) नमूनाको प्रयोग (Use of models): विविध नमूनाहरू आफैं निर्माण गरी शिक्षण सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ । केही जटिल नमूनाहरू भने व्यावसायिक रूपमा बजारमा उपलब्ध सामग्री प्रयोग गर्दा धेरै प्रभावकारी हुन्छ ।

घ) चार्टको प्रयोग (use of charts): कक्षाकोठामा शिक्षक निर्मित वा निश्चित पाठको अध्यापन हुनुभन्दा अघि विशेषगरी फरक–फरक विधामा विद्यार्थीलाई चार्ट बनाउने प्रतिस्पर्धा गराई तयार गराइएका चार्टहरू प्रयोग गरी कक्षाकोठा सिंगार्न सकिन्छ । यसरी फरक–फरक समयमा फरक–फरक चार्टहरू पाठसँगै शिक्षण कार्यमा प्रयोग गर्दै तथा कक्षाकोठा सिंगार्दै विशेष माहौल निर्माण गरी प्रभावकारी शिक्षण गर्न सकिन्छ ।

ङ) डिजिटल राइटिङ प्याडको प्रयोग (Use of digital writing pads): प्रविधियुक्त पठनको निम्ति डिजिटल राइटिङ प्याडको प्रयोग अत्यधिक भएको पाइन्छ । यसबाट तस्वीर, भिडिओ तथा डकुमेन्ट निर्माण गर्न सकिन्छ । लाइभ (प्रत्यक्ष) शिक्षणको निम्ति पनि यसलाई प्रयोग गर्न सकिन्छ । सामान्य अर्थमा भन्नुपर्दा यो एक सानो ट्याबलेट आकारको डिस्प्लेरहित डिजिटल कलमको साथमा आउने इन्टरयाक्टिभ प्याड हो ।

च) अनलाइन सामग्रीको प्रयोग (Use of online materials): इन्टरनेटमा आज असंख्य रूपमा लर्निङ सेन्टरहरू छन् । यीमध्ये धेरै निःशुल्क रूपमा शिक्षा प्रदान गर्ने वेबसाइट पनि छन् । यस्ता अनलाइनका पाठ्यसामग्रीमा पाठको साथसाथै तस्वीर, भिडियो जस्ता एनिमेसनयुक्त सामग्री समेत प्रयोग गरिएको हुन्छ । नेपालको लागि www.kullabs.com, www.olenepal.org जस्ता लर्निङ सेन्टरहरू छन् । जसबाट विशेष उपयोगी सामग्री शिक्षण सामग्री निर्माणको लागि स्रोत उल्लेख गरी प्रयोग गर्न सकिन्छ । साथै, उपयोगी भिडियो समेत युट्युबबाट प्रयोग गर्न सकिन्छ ।

छ) स्थलगत अध्ययन (Field Study): विशेषगरी जीव–विज्ञान पढाउँदा शहरी र ग्रामीण भेगका विद्यार्थीबीचमा बोध क्षमताको फरकपनामा मेरो आफ्नै अनुभव छ । ग्रामीण भेगका विद्यार्थीले ‘प्राणी र वनस्पतिको वर्गीकरण’ पाठ आफूले पहिले नै देखेको वा बुझेको आधारमा शिक्षकले व्याख्या गर्दा सहजै बिरुवा र जन्तुहरूको गुण बुझी उक्त ज्ञानलाई प्रयोग गरी वर्गीकरण गर्ने तहसम्मको क्षमता विकास गर्न सकेको पाइन्छ भने शहरीमूलका विद्यार्थीमा यो क्षमता बिरलै रूपमा मात्र विकास गर्न सकिन्छ । तसर्थ, शहरी भेगका विद्यार्थीलाई सम्भव हुँदासम्म चिडियाखाना, बोटानिकल गार्डेन वा नजिकैको सामुदायिक वन आदिको भ्रमण गराउनु उपयुक्त हुन्छ । यसले गर्दा विद्यार्थीहरू उत्साहित हुन्छन् र शिक्षण–सिकाइ क्रियाकलाप सहज हुन पुग्दछ ।

ज) प्रयोगात्मक कक्षा (Practical lessons): आजको दिनमा धेरैजसो सामुदायिक तथा संस्थागत दुवै प्रकृतिका विद्यालयमा माध्यमिक तहसम्म पुग्नेगरी विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको हुन्छ । स्थान, स्रोत र साधनको उपलब्धताको आधारमा कक्षा शिक्षकबाट प्रयोगात्मक प्रदर्शन गरेर वा विद्यार्थीलाई समूहमा विभाजन गरेर समेत गर्न सकिन्छ । यी दुवै प्रक्रियामा विद्यार्थीहरू अति नै उत्साहप्रद रहन्छन् र सिकाइ प्रभावकारी हुन पुग्छ ।

झ) परियोजना कार्यको प्रयोग (Use of project works): विद्यार्थीको ज्ञान, बोध तथा तर्क गर्ने क्षमतालाई वृद्धि गर्ने फरक–फरक परियोजना कार्य भिन्न–भिन्न समयमा दिन सकिन्छ । यस्ता कार्यबाट अनपेक्षित रूपमा विद्यार्थीले विषयवस्तुको गहन अध्ययन गर्न पुगेको हुन्छ । स्वभावैले बालक तथा किशोरहरू जिज्ञासु हुन्छन् । तसर्थ, परियोजना कार्य उनीहरूमा ज्ञान अन्वेषण गर्ने एक मध्यम बन्न सक्छ ।

ञ) समूह कार्य (Group works): micro or mini विद्यार्थीलाई कक्षाकोठामै स–साना (सुक्ष्म वा लघु) समूहमा विभाजन गरेर आपसी अन्तरक्रिया तथा प्रस्तुतीकरणको अभ्यास गर्न सकिन्छ । यसबाट उनीहरूको सिकाइ अभिवृद्धि हुन्छ । साथै, आपसी सद्भाव वृद्धि गराइ सिकाइ प्रक्रियालाई वृद्धि गर्न मद्दत गर्दछ । यस विधिलाई परियोजना कार्य लगायत अन्य क्रियाकलापमा समेत अवलम्बन गरी विद्यार्थीलाई सिकाइमा अझ उत्प्रेरित गर्न सकिन्छ ।

ट) गायन कक्षको प्रयोग (use of singing classroom): संगीत हरेक मानिसको जीवनको अभिन्न अंग हो । संगीतले मानिसलाई आनन्द प्रदान गर्दछ । तसर्थ, कतिपय प्रक्रियालाई शिक्षकले नै गीतमा लयबद्ध गराइ सिकाउन सकिन्छ । यसलाई विशेषगरी प्रक्रियाहरूमा (जस्तैः कोष विभाजन), क्रमहरूमा (जस्तैः पृथ्वीको इतिहास) तथा अन्य विविध अवस्थामा समायोजन गरी शिक्षकले कक्षाको मिठास थप्दै विद्यार्थीको सिकाइलाई गुणस्तर प्रदान गर्न सक्दछन् ।

समग्रमा भन्नुपर्दा; सिकाइलाई प्रभाव पार्ने अनेकन् प्रत्यक्ष–परोक्ष पक्षहरूको बीचमा रहेर शिक्षकले आफ्नो कार्यकुशलता प्रमाणित गर्नु एक चुनौतीपूर्ण कार्य हो । तसर्थ, समग्र वातावरणलाई असर गर्ने पक्षमध्ये शिक्षकले विद्यार्थीको मनोभावना बुझ्न सक्ने क्षमता र उसको शिक्षण शैलीले मुख्य भूमिका खेल्दछ भन्ने कुरामा दुई मत नहोला । तसर्थ, एड्गर डेलका अनुसार शिक्षण क्रियाकलापमा निम्न कुरालाई ध्यानमा राख्न सक्यौं भने हाम्रो परिश्रम कदापि खेर जादैन ।

एड्गर डेलले २ हप्ताको अन्तरमा विद्यार्थीको बुझ्ने तथा स्मरण शक्तिको विभिन्न तत्त्वसँग सम्बन्ध दर्शाउने प्रयत्न गरेका थिए । उनले यसलाई सिकाइ उपलब्धि सोली (the learning cone) को रूपमा प्रस्ट्याएका छन् ।

यसबाट पनि के प्रस्ट हुन्छ भने शिक्षकले आफू क्रियाशील हुनुभन्दा पनि जति बढी विद्यार्थीलाई क्रियाशील बनाउने काममा सफल रहन्छ, उति नै बढी विद्यार्थीले नयाँ कुरा सिकिरहेको हुन्छ र उसको स्मरणमा दिगो भएर रहन्छ । तसर्थ, जीव–विज्ञान शिक्षणमा समेत आमूल परिवर्तनको लागि हामीले क्रियाकलापमा आधारित शिक्षण शैली अपनाइ विद्यार्थीलाई थप क्रियाशील राख्न सकेमा आजका हाम्रा विद्यार्थीको जीव–विज्ञानप्रतिको सोचको अवस्थालाई सकारात्मक रूपमा आमूल परिवर्तन गर्न अवश्य सकिन्छ । अर्कोतर्फ; मानव जाति स्वभावैले परिवर्तन चाहने हुनाले शिक्षण शैली फेरिरह्यौं भने विद्यार्थीलाई एकोहोरो शिक्षण विधि महसुस नभई हरेक कक्षामा ताजगी ल्याउन सकिन्छ ।

विज्ञान शिक्षक, बूढानीलकण्ठ स्कूल, काठमाडौं

 

commercial commercial commercial commercial