सारसको रोमाञ्चक ‘नेस्टिङ’ (फोटो फिचर)

अग्लो सारस । सानो बचेरा । गजबको मनमोहक गतिविधि । सारसको रोमाञ्चक चहलपहल रूपन्देहीको लुम्बिनी र कपिलवस्तुको तौलिहवा आसपास देख्न सकिन्छ । त्यहाँ पुग्ने जो–कोही पनि उनीहरूको वात्सल्य प्रेम देखेर आनन्दित हुने गर्छन् । फुरुङ्ग पर्छन् ।

अग्लो सारस लुम्बिनीको शिवगढिया गाउँ नजिक धापमा होचो बचेरालाई लिएर ठोंडले भुईंमा खोस्रन्छन् । तिखो ठोंडले खेत, सिमसार र पोखरी छेउ उनीहरूले कीरा, फटयांग्रा, गड्यौला र माछा समात्दै बेचेरालाई दिन्छन् । बचेराले सकी नसकी खान्छन् । खान सिकाउँदैछन् । जोखिम र खतरा आभास गर्नासाथ जोडले कराउँछन् । उफ्रन्छन् । जोडी मिलेर लखेट्छन् । दिनभरि बेचराकै हेरचाहमा बस्छन् । राति सुरक्षित बस्छन् । सुरक्षामा उत्तिकै चनाखो हुन्छन् । यसरी अहिले लुम्बिनीको खुनगाई, पर्सा, विश्व शान्ति स्तूप, भियतनाम विहार छेउ र भगवानपुर गाउँमा सारस बचेरा हुर्काइरहेका छन् । त्यस्तै कपिलवस्तुको तौलिहवा, गोटिहवा, जहदी, रामनगर, बर्दहवा गाउँ आसपास पनि सारसको यस्तै व्यस्तता देख्न सकिन्छ ।

यी ठाउँमा अहिले विश्वकै दुर्लभ पक्षी सारसको रोमान्टिक नेस्टिङ देखेर जो–कोही पनि मोहित हुन्छन् । उनीहरूको दुर्लभ चहलपहल देख्दा सबै आनन्दित बन्छन् । सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुने यो चरालाई अंग्रेजीमा ‘सारस क्रेन’ (Sarus Crane) भनिन्छ । संसारकै ठूलो चरामा गणना हुने यो उड्न सक्नेमध्ये सबैभन्दा अग्लो पन्छी हो । ओथारो बसेर बचेरा हुर्काउन गरेको संघर्ष, वात्सल्य प्रेम र ममताले उस्तै आल्हादित बनाइरहेको लुम्बिनी ग्रीन युथ क्लब अध्यक्ष अर्जुन कुर्मीले बताए । “त्यही भएर आफू दैनिक जसो माउ चराको अद्वितीय प्रेम हेर्न जान्छु” उनले भने, “त्यहाँबाट पाउने प्रेरणा र ऊर्जा सृजनात्मक काममा लगाउँछु ।”

बचेरा दुईदेखि तीन महीनाका भइसके । पहिलो उडान गर्न तयार बनेका छन् । अब दुई चार सातामा उडाएर लिएर जान्छन् । चारैतिर पानी जमेको ठाउँको बीचमा झारपात र घाँस राखेर अग्लो बनाएर अण्डा पारेको स्थान आसपास बच्चा हुर्काउँदै छन् । सुरक्षाका लागि बचेरा हुर्काउन उनीहरूले ताल, पोखरी, जंगली धान हुने सिमसार र धाप क्षेत्र रोज्छन् ।

बचेरा हुर्काउन सुरक्षा सतर्कता अपनाउँछन् । सँगसँगै लिएर हिंड्छन् । तर पनि सर्प, गोही, विरालो र स्यालबाट सबै जोडीले बचेरा जोगाउन नसकेको सारसको रेखदेख गरिरहेका लुम्बिनीका तिलकराम कोहरले बताए । कमै जोडीले दुईवटा बचेरा हुर्काएका छन् । अहिले नजिक मान्छे देख्नासाथ टाढाटाढा भाग्न थालेका छन् । अग्लो माउसँग सानो बचेरा देख्दा सबै रोमाञ्चित हुन्छन् ।

सारस साढे पाँच फिट अग्लो, करीब १० किलोसम्म तौल हुन्छ । दुवैतिरका पखेटा फिजायो भने १० फिट लामो हुन्छ । सबैभन्दा बढी पखेटा फिजाउन सक्ने चरा सारस र हिमाली गिद्ध हो । “लुम्बिनी कपिलवस्तु आसपास एकै ठाउँमा धेरै सारस ओथारो बस्न थालेका छन्,” चराविद् सोम जिसीले भने, “यसले त्यस क्षेत्रको जैविक विविधता संरक्षण भएको मानिन्छ ।” जलवायु परिवर्तनले विश्वव्यापी रूपमा चरालाई असर गरिरहेको देखाएको छ । यहाँ भने पारिस्थितिकीय प्रणाली राम्रो रहेको देखाउँछ उनले थपे । राम्रो वातावरण हुँदा अन्यत्रबाट पनि सारस प्रजननका लागि यहाँ आउँदा बढेका हुन् । त्यसैले यस्तो ठाउँलाई संरक्षित क्षेत्र बनाउनुपर्छ उनले भने । त्यसो हुँदा यो ठाउँलाई सबै मिलेर चरामैत्री बनाउनुपर्छ । विषादी, सिमसार क्षेत्रको अतिक्रमण र विद्युतको नाङ्गो तारले समस्या पारेका छन् । त्यसलाई व्यवस्थित गरिएन भने गाह्रो हुन्छ । नेपालमै सारस हेर्न यो क्षेत्र उत्कृष्ट मानिंदै आएको छ । सारसको अण्डा, मासु र प्वाखका लागि यसको अवैध शिकार हुने गरेको स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाले जनाएको छ । कोलाहल, प्रदूषण र बासस्थान विनाशका कारण यिनको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ ।

“जेठ असारमा ओथारो बस्न ठाउँ खोज्छन्,” वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, “साउन दोस्रो तेस्रो सातातिर भाले लागेर अण्डा पार्छन् ।” भदौ तेस्रो चौथो साता बच्चा जन्माउँछन् । “अण्डा निश्चित तापक्रममा राख्नुपर्छ,” उनले भने, “त्यही भएर एउटा गुँडमै बस्छ ।” पालैपालो चर्न जान्छन् । ओथारो बसेको ३१ देखि ३५ दिनभित्र बच्चा जन्माउने गर्छन् । बच्चा जन्मेको दुई–चार दिनमा सारसले ओथारो बसेको ठाउँ छाड्ने गर्छ । सुरक्षा सतर्कता अपनाउँदै ठाउँ फेरी–फेरी बस्छन् ।

चनाखो भएर उनीहरू अण्डा स्याहार गर्छन् । अण्डा नजिक कुकुर, स्याल, गोही र मुसा गए जोडी सारस मिलेर लखेट्ने गर्दछन् । ठुँडले ठुंग्न दगुर्छन् ।

ठूलो पन्छी भएका कारण ४०/५० फिटभन्दा माथि उड्न सक्दैनन् । यो कृषकको गतिलो साथी हो । बालीनालीलाई नोक्सानी पुर्‍याउने शंखेकीरालगायत कीराफट्यांग्रालाई आहार बनाउँछ । सारस बस्ने ठाउँ वरिपरि सर्पको डर हुँदैन । सजिलै आहार बनाउँछन् । नेपालमा करीब ६०० को संख्यामा सारस रहेको अनुमान गरिएकोमा रूपन्देही र कपिलवस्तुमा ३०० बढी रहेका छन् । अग्लो र चित्ताकर्षक चरा हुँदा सारस ओथारो बसेको र बच्चा हुर्काएको हेर्न पाउँदा गजबको आनन्दानुभूति हुने चराविद्हरू बताउँछन् ।

राजकुमार सिद्धार्थले घाइते सारसका विषयमा भएको विवादमा प्राण लिनेभन्दा जीवन बचाउनेको हक लाग्ने भनेर न्याय दिएका थिए । त्यसैले बौद्ध धर्मावलम्बी सारसलाई आस्थाका रूपमा हेर्छन् । त्यस्तै वाल्मीकिकृत रामायणको आरम्भ पनि प्रणयरत सारस जोडी वर्णनबाट शुरू भएको छ । प्रेम र समर्पणको प्रतीक मानिने हुँदा लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई २०७५ मा नगर पक्षी घोषणा गरेको थियो ।

कम देखिन थालेपछि सन् २००० मा सारस दुर्लभ पन्छीमा सूचीकृत भएको थियो । साइटिसले अनुसूची २ र आईयूसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ । नेपाल भन्दा पहिले भारतले महत्व बुझेर त्यहाँको उत्तरप्रदेश सरकारले राज्य पक्षी घोषणा गरेको थियो । नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित सूचीमा राखेका ९ पक्षी प्रजातिमध्ये सारस एक हो ।

commercial commercial commercial commercial