बासी तथ्यांक नपढाऔं !
सन् १९९८ यता नेपालको जैविक विविधता सम्बन्धी तथ्याङ्क कैयन् पटक परिमार्जित भइसकेको छ, नयाँ–नयाँ तथ्याङ्कहरू आइसकेका छन्। विद्यार्थीका निम्ति पाठ्यपुस्तक लेख्दा लेखकले कामै नलाग्ने; सडिसकेका तथ्याङ्क समावेश गर्नु हदैसम्मको गैरजिम्मेवारी हो ।
कक्षा–११ को बायोलोजीको पाठ्यक्रम हेर्ने अवसर २०५८ सालपछि हालै मात्र जुर्यो । शुभरत्न शाक्य, मुक्तिराम अर्याल, प्रभा चित्रकार, दिनेशचन्द्र अधिकारी र इन्दिरा मानन्धर लिखित ‘बायोलोजीः अ टेष्टबूक फर ग्रेड ११’ (२०७६ साल, चौथो संस्करण) सरसर्ती हेर्दा गएका १८ वर्षमा बायोलोजीको पाठ्यक्रम निकै बदलिएको रहेछ । पहिले वनस्पति विज्ञानतर्फ नेपालको जैविक विविधता (Floral Diversity of Nepal) सम्बन्धी तथ्याङ्क पढाउनु पर्थेन । हिजोआजको पाठ्यक्रममा ‘फ्लोरल डाइभर्सिटी अफ नेपाल’ पनि समावेश गरिएको रहेछ ।
माथि उल्लिखित शुभरत्न शाक्य र अरूहरूद्वारा लिखित पुस्तकमा नेपालको जैविक विविधता दर्शाउन प्रस्तुत गरिएको एक तालिका उपर केही बेर ध्यान केन्द्रित गरें, अचम्म लाग्यो ! तालिकामा समावेश गरिएका तथ्याङ्क त दुई दशकभन्दा पुराना पो छन् ! सबै तथ्याङ्क सन् १९९८ मा प्रकाशित एक पुस्तकबाट साभार गरिएको रहेछ । त्यसपछि मैले आफूलाई सम्हाल्न सकिनँ र लेखक गणलाई धिक्कारे । किनकि, सन् १९९८ यता नेपालको जैविक विविधता सम्बन्धी तथ्याङ्क कैयन् पटक परिमार्जित भइसकेको छ, नयाँ–नयाँ तथ्याङ्कहरू आइसकेका छन् ।
विद्यार्थीका निम्ति पाठ्यपुस्तक लेख्दा लेखकले कामै नलाग्ने; सडिसकेका तथ्याङ्क समावेश गर्नु हदैसम्मको गैरजिम्मेवारी हो । शुभरत्न शाक्य र अरूहरूद्वारा लिखित उक्त पुस्तक हेरिसकेपछि कक्षा ११ र १२ का निम्ति अन्य लेखकद्वारा लेखिएका बायोलोजीका पुस्तकहरूमा नेपालको जैविक विविधता सम्बन्धी के कस्ता तथ्याङ्क प्रस्तुत गरिएको रहेछ भन्ने थाहा पाउने उत्सुकता जाग्यो । त्यसनिम्ति काठमाडौं उपत्यकाका केही प्रमुख पुस्तक पसलहरू चहारें । त्यहाँ भेटिएका बायोलोजीका अधिकांश पाठ्यपुस्तकमा नेपालको जैविक विविधता सम्बन्धी दुई दशक पुरानै तथ्याङ्क सारिएको रहेछ ।
यस लेखमा कक्षा ११ र १२ का बायोलोजीका पुस्तकमा राखिएका जैविक विविधता सम्बन्धी पुराना तथ्याङ्क तथा ती तथ्याङ्कको अद्यावधिक अवस्था बारे चर्चा गरिंदैछ ।
शुभरत्न शाक्य र अरूहरूद्वारा लिखित ‘बायोलोजीः अ टेष्टबूक फर ग्रेड ११’ पुस्तकले नेपालमा झयाउ, ढुसी, लेउ, मोस र काई, उन्यू, सल्लो र फूल फुल्ने वनस्पतिका क्रमशः ४६५, १,६६६, ६८७, ८५३, ३८०, २७ र ५,१६० वटा प्रजाति पाइन्छन् भनेको छ । यो तथ्याङ्क रामप्रसाद चौधरीको ‘बायोडाइभर्सिटी इन नेपाल’ (सन् १९९८) पुस्तकबाट साभार गरिएको हो । चौधरीद्वारा लिखित उक्त पुस्तक दुई दशकअघि स्नातक, स्नातकोत्तर तहका विद्यार्थी तथा वन, वातावरण अध्ययन–अनुसन्धान गर्नेका निम्ति अत्यन्तै उपयोगी मानिन्थ्यो । तर हिजोआज उक्त पुस्तक ‘म्याद सकिएको औषधि’ जस्तै भइसकेको छ । सो पुस्तकमा परेका तथ्य, तथ्याङ्कहरू यताका दिनमा अनेकन् पटक थपघट भइसकेका छन् ।
दृष्टान्तको रूपमा यहाँ केही वनस्पतिको पुरानो र नयाँ तथ्याङ्कको विवरण उल्लेख गरिन्छ:
पुरानो र नयाँ तथ्याङ्क
झयाउ (Lichens)
झयाउ ढुसी र लेउ मिलेर बनेको वनस्पति हो । झयाउमा ढुसी बाहिर र लेउ भित्रपट्टि रहेको हुन्छ । लेउले आहारा बनाउँछ । ढुसीले लेउलाई सुक्खाबाट बचाउँछ । त्यसबापत ढुसीले लेउले बनाएको आहारा बाँडचुँड गरेर भोजनका रूपमा ग्रहण गर्छ । रामप्रसाद चौधरीले सन् १९९८ मा नेपालमा झयाउका ४६५ प्रजाति पाइन्छन् भनेर लेखेका थिए । चौधरीले उक्त तथ्याङ्क एल.आर. शर्माको सन् १९९५ मा प्रकाशित ‘इनुमेरेसन अफ द लाइकेन्स नेपाल’ शीर्षक लेखबाट साभार गरेको जनाएका छन् ।
नेपालमा झयाउ अर्थात् ‘लाइकेन्स’ अध्ययन–अनुसन्धान गर्ने एक मात्र अध्येता एल.आर. शर्मा हुन् । उनको पछिल्लो अनुसन्धानात्मक लेख सन् २०१३ मा एल. ओले (L. Olley) सँग संयुक्त रूपमा प्रकाशित भएको थियो । जसअनुसार नेपालमा झयाउका ८५० प्रजाति पाइएका छन् । शिव देवकोटा, रामप्रसाद चौधरी, सिल्क वेर्थ र क्रिष्टोफ स्केईडेगरद्वारा लिखित ‘इन्डिजिनस नलेज एण्ड युज अफ लाइकेन्स बाई द लाइकेनोफिलिक कम्युनिटिज अफ द नेपाल हिमालय’ (सन् २०१७) शीर्षकको लेख अनुसार नेपालका केही जातजातिले ६ वटा भिन्न प्रयोजनका निम्ति झयाउ प्रयोग गर्छन् ।
ढुसी (Fungi)
ओसिएको वा सडेगलेको ठाउँमा उम्रिने सेतो भुवा वा झुस जस्तो वनस्पति ढुसी हो । ढुसीमा अन्य वनस्पतिमा जस्तो हरियोपना अर्थात् हरितकण (Chlorophyll) हुँदैन । हरितकण नभएकै कारण यसले आफ्नो भोजन बनाउन सक्दैन । यो परजीवी (Parasite) वा मृत्योपजीवी (Saprophyte) प्रकृतिको हुन्छ । ढुसीभित्र च्याउ (Mushroom) पनि पर्दछ । च्याउ मृत्योपजीवी वनस्पति हो । वनस्पति विभागका सेवा निवृत्त महेशकुमार अधिकारी नेपालका एक जना च्याउ विज्ञ हुन् । अधिकारीद्वारा लिखित ‘मसरूम अफ नेपाल’ (सन् २०१८) पुस्तक अनुसार नेपालमा च्याउ सहित ढुसीका २,४६७ वटा प्रजाति पाइएका छन् । तर, ‘बायोलोजीः अ टेष्टबूक फर ग्रेड ११’ मा नेपालमा ढुसीका १,६६६ प्रजाति मात्र छन् भन्ने लेखिएको छ ।
लेउ (Algae)
लेउ हरितकण भएको सूक्ष्मदेखि आँखाले देख्न सकिने वनस्पति हो । यो पानीमा वा ओसिलो ठाउँमा रहन्छ । केही लेउ सूक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिने हुन्छ भने लेउका अन्य प्रजाति आँखाले सजिलै देख्न सकिने मात्र होइन कैयन् मिटर लामा पनि हुन्छन् । तर, पनि यसको वास्तविक जरा, काण्ड हुँदैन । कक्षा ११–१२ का अधिकांश पाठ्यपुस्तकमा नेपालमा ६८७ प्रजातिका लेउ पाइन्छन् भन्ने लेखिएको छ ।
स्नातकोत्तर क्याम्पस विराटनगरका शिवकुमार राईले पूर्वाञ्चलमा पाइने लेउ पहिचानमा सन् २००७ मा विद्यावारिधि गरे । यसैगरी, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जका भि. प्रसाद पनि लेउ अध्येता हुन् । प्रसादले सन् २०११ मा नेपालमा पाइने ९९५ प्रजातिका लेउको चेकलिष्ट प्रकाशन गरेका छन् । राईका अनुसार नेपालमा २७ प्रजातिका लेउ रैथाने (Endemic species) प्रकृतिका छन् । रसबिहारी महतोद्वारा लिखित र एकता बूक्सले प्रकाशन गरेको ‘अ टेष्टबूक अफ बायोलोजी’ (संस्करण २०१९) पुस्तकमा नेपालमा पाइने वनस्पतिमध्ये लेउको तथ्याङ्क नयाँ छ ।
मोस र काई (Bryophytes)
अक्सर ओसिलो ठाउँमा उम्रिने, साना हरियो अपुष्पक वनस्पति मोस र काई हुन् । यसको जरा, पात, काण्ड र फल जस्तो आकृति हुन्छ । तर नफुल्ने भएकाले फल जस्तो भागलाई फल मानिन्न । यो वनस्पति ०.६६ मिलिमिटरदेखि १६६ मिलिमिटरसम्म लामो पाइएको छ । समुद्री सतहबाट ६ हजार ५०० मिटर भू–उँचाइसम्म पाइएको यो वनस्पति सामान्यतः २००० देखि ३००० मिटर उँचाइमा अत्यधिक मात्रामा पाइन्छ ।
मोस र काईको वैज्ञानिक अध्ययन–अनुसन्धानका निम्ति नेपालमा यसको नमूना बेलायतका बुखानन् ह्यामिल्टनले सन् १८०२/३ ताका संकलन गरेको जानकारी पाइन्छ । निर्मला प्रधानले सन् २००० यता मोस र काई अध्ययन–अनुसन्धानमा आधारित दुई दर्जनभन्दा बढी लेख विभिन्न जर्नल तथा पुस्तकमा प्रकाशन गरिसकेकी छिन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभाग, कीर्तिपुरले सन् २०१६ मा ‘फ्रन्टियर्स अफ बोटानी’ पुस्तक प्रकाशन गरेको छ । सोही पुस्तकमा प्रकाशित प्रधानको ‘ब्रायोफाइट्स् अफ नेपाल’ शीर्षकको लेख अनुसार नेपालमा मोस र काईका १ हजार २१३ प्रजाति पाइएका छन् । जबकि कक्षा ११ र १२ मा पढाइने सबै पाठ्यपुस्तकमा नेपालमा मात्र ८५३ प्रजातिका मोस र काई पाइने लेखिएको छ । नेपालमा प्राप्त मोस र काईमध्ये ३० वटा प्रजाति रैथाने छन् ।
उन्यू (Pteridophytes)
जरा, काण्ड र पात भएको अपुष्पक वनस्पति उन्यू हो । जमीनमा हुने उन्यूको काण्ड जमीनमुनि हुन्छ । उन्यूको काण्डलाई (Rhizome) भनिन्छ । काण्डको वरिपरि जरा पलाएका हुन्छन् । नेपालमा उन्यूको वैज्ञानिक अध्ययन–अनुसन्धानका निम्ति यसको नमूना संकलन गर्ने पहिलो अध्येता बुखानन ह्यामिल्टन नै थिए । उन्यू अध्ययन अनुसन्धान गर्ने पहिलो नेपाली भने विद्यालक्ष्मी गुरुङ हुन् । नरेश थापाले सन् २००२ मा लेखेको ‘टेरिडोफाइट्स अफ नेपाल’ पुस्तकमा ५३४ प्रजातिका उन्यूको वृत्तान्त समावेश छ ।
बेलायतका सि.आर. फ्रेजर–जेन्किन्स सन् १९८९ मा नेपाल आएर २०१८ सम्म बसे (उनी गत साल श्रीमती र छोरासहित पर्चुगल बसाइँ गए) । फ्रेजर–जेन्किन्स विश्वकै महान् उन्यू विज्ञ हुन् । राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला; गोदावरीमा कार्यरत धनराज कँडेल फ्रेजर–जेन्किन्सका चेला तथा नेपालका एक मात्र स्थानीय उन्यू विज्ञ हुन् । फ्रेजर–जेन्किन्स, डि.आर. कँडेल र एस. परियार लिखित ‘फन्र्स एण्ड फन्र्स–एल्लिस अफ नेपाल’ भोलम–१; सन् २०१५ मा प्रकाशित भयो । उक्त पुस्तकमा नेपालमा ५८० प्रजातिको उन्यू पाइएको जानकारी समावेश छ । तर कक्षा ११ का पछिल्ला पाठ्यपुस्तकमा समेत नेपालमा ३८० प्रजातिका उन्यू पाइन्छन् भन्ने लेखेर विद्यार्थीलाई त्यही नै पढाइँदैछ ।
सल्लो (Gymnosperms)
सल्लो वर्गको वनस्पतिलाई ‘जिम्नोस्पर्मस्’ भनिन्छ । यसको फल पाक्दा बीउ (Seed) बाहिर नै देखिन्छ । यसलाई पहिले फूल फुल्ने वनस्पति (Flowering Plants) मानिन्थ्यो । तर, हिजोआज सल्लो वर्गको वनस्पतिलाई फूल फुल्ने वनस्पति मानिंदैन ।
राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला; गोदावरीले प्रकाशन गरेको क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस् खण्ड एक र यसैको सप्लिमेन्ट भोलम–१ (सन् २०१० र २०१५) अनुसार नेपालमा ३२ प्रजातिका सल्लोे प्राकृतिक रूपमा पाइन्छन् । सल्लाका आयातित प्रजाति पनि एकदर्जन भन्दा बढी छन् । भर्खरै आयातित प्रजातिलाई नेपालको जैविक विविधताको सूचीमा राखिन्न । उता कक्षा–११ को पाठ्यपुस्तकमा चाहिं नेपालमा २७ प्रजातिका सल्लो पाइन्छन् भनिएको छ ।
फूल फुल्ने वनस्पति (Angiosperms)
फूल फुल्ने वनस्पतिलाई ‘एन्जियोस्पर्मस्’ भनिन्छ । यस्ता वनस्पतिका फलभित्र बीउ रहन्छ । फलभित्र रहेका बीउ आँखाले सोझै देखिन्न । बीउ एकदलीय (Mono-cotyledon) वा दुईदलीय (Di-cotyledons) हुन्छन् । फूल फुल्ने वनस्पति बीउका आधारमा एकदलीय वा दुईदलीय वनस्पतिमा समूहकृत छन् । धान, गहु, जौ, मकै, उखु आदि एकदलीय र दाल, भटमास, आँप, तोरी, साल, सिसौ आदि दुईदलीय हुन् ।
जे.आर. प्रेस, के.के. श्रेष्ठ र डि.ए. सुटनद्वारा लिखित ‘एन एनोटेडेट चेकलिष्ट अफ फ्लावरिङ प्लान्टस् अफ नेपाल’ (सन् २०००) पुस्तकमा नेपालमा सल्लो सहित फूल फुल्ने वनस्पतिका जम्मा ५ हजार ३४५ प्रजाति र १६३ उप–प्रजाति पाइएको उल्लेख छ । यसबाट त्यसवेलासम्म नेपालमा फूल फुल्ने वनस्पति प्रजाति र उप–प्रजाति जम्मा ५ हजार ५०८ सूचीकृत भएको प्रष्ट हुन्छ । तर, उक्त पुस्तकमा वनस्पतिका ती नमूना क–कहाँ संग्रहित छन् भन्ने जानकारी छैन । संग्रहित नमूना अथवा प्राकृतिक रूपमा ती वनस्पति कहाँ उपलब्ध छन् भन्ने थाहा नभएपछि त्यस्ता तथ्याङ्कलाई भरपर्दो मानिन्न ।
केशवराज राजभण्डारी र संजीवकुमार राई, गंगादत्त भट्ट, सुवास खत्री र रिता क्षेत्री लिखित तथा संघीय सरकारको वन मन्त्रालय अन्तर्गत रहेको वनस्पति विभागले सन् २०१७ मा प्रकाशित गरेको ‘फ्लावरिङ प्लान्टस् अफ नेपालः एन इन्ट्रोडक्सन’ पुस्तकमा नेपालमा ५ हजार ३०९ प्रजातिका वनस्पति पाइन्छन् भन्ने उल्लेख छ । सन् २०१७ मा केशवराज राजभण्डारी र संजीवकुमार राई लिखित ‘अ ह्याण्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल’ (खण्ड १) पुस्तकमा नेपालबाट संकलन भएका फूल फुल्ने वनस्पतिका नमूना नेपाल लगायत विश्वका ४० वटा संग्रहालयमा संग्रहित छन् भन्ने जनाइएको छ । उक्त पुस्तक प्रकाशित सामग्रीका आधारमा लेखिएको बताइएको छ ।
वनस्पति विभागले नै जुलाई २०१९ मा केशवराज राजभण्डारी र संजीवकुमार राईद्वारा लेखिएको ‘अ ह्याण्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल’ (खण्ड २) एक अर्को पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तकमा नेपालबाट संकलन भएका फूल फुल्ने वनस्पतिका नमूना नेपाल लगायत विश्वका ६० वटा संग्रहालयमा संग्रहित छन् भन्ने जनाइएको छ । नेपालबाट संकलन भएका वनस्पतिका नमूना संग्रह गरिएको जानकारी सहित प्रकाशित तथ्याङ्कलाई आधिकारिक मान्नुपर्छ । यस आधारमा नेपालमा फूल फुल्ने वनस्पति प्रजाति संख्या कम्तीमा ५ हजार ३०९ उल्लेख गर्नु उपयुक्त हुन्छ । ती पुस्तक अनुसार नेपालमा फूल फुल्ने वनस्पतिका ३१२ प्रजाति रैथाने छन् । नेपालमा सन् २०१८ मा १ र सन् २०१९ मा २ वटा विश्वकै निम्ति नयाँ प्रजाति फेला परेका (डिस्कोभर्ड) थिए । यस आधारमा नेपालमा फूल फुल्ने वनस्पतिका ५ हजार ३११ प्रजाति सूचीकृत हुन पुगेका छन् र तिनका नमूना नेपाल लगायत विश्वका विभिन्न संग्रहालयमा संग्रहित छन् भन्न सकिने अवस्था छ ।
तर, कक्षा ११–१२ को बायोलोजीतर्फ अरविन्द के. केसरी, खगराज अधिकारी, विजयशंकर मिश्र र कमल के अधिकारीद्वारा लेखिएको र विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित ‘अ टेष्टबूक अफ बायोलोजी’ (संस्करण २०७६) मा फूल फुल्ने वनस्पतिका प्रजातिको संख्या ६ हजार ३९१ उल्लेख गरिएको छ । यो भनेको वास्तविक तथ्याङ्क भन्दा २० प्रतिशत बढी हो, जुन आफैंमा हास्यास्पद लाग्छ ।
माथिको विवरणबाट कक्षा–११ को पाठ्यपुस्तकका लेखकहरू नेपालमा पाइने वनस्पतिको विविधता सम्बन्धी परिमार्जित तथ्याङ्कबारे जानकार छैनन् भन्ने स्पष्ट हुन्छ । उनीहरूको पुस्तकमा सबैजसो बासी तथ्याङ्क छन् । यस्ता त्रुटिपूर्ण तथ्याङ्क समावेश गरिएको पुस्तकलाई नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले विद्यालयमा अध्यापन गर्न अनुमति दिइरहेको छ । यसबाट पुस्तक लेखक र पाठ्यक्रम विकास केन्द्र दुवै नेपालको जैविक विविधता सम्बन्धी सही जानकारी राख्दैनन् भन्ने बुझ्न्छि । जबकि कामै नलाग्ने तथ्याङ्क समेटिएका पुस्तक अध्यापन गर्न रोक लगाउनु राज्यका निकायको दायित्व हो । हाम्रा विद्यालयमा यस्ता कमसल गुणस्तरका पाठ्यपुस्तकको अध्यापनका निम्ति हाम्रा शैक्षिक संस्था र पाठ्यक्रम विकास केन्द्र दुवै दोषी छन् । ती संस्थामा पढाउने शिक्षकहरूलाई त पाठ्यपुस्तकमा के सही छ; के गलत भन्ने हेक्का राख्ने फुर्सद नै नभएको जस्तो विडम्बनाको अवस्था देखिन्छ ।
शिक्षक मासिक, २०७६ मंसीर अंकमा प्रकाशित ।