तीन विद्यालयका तीनथरी काम
बालज्योति मावि, चुलाचुली–४ इलाम
विद्यार्थीका नमूना काम
इलामको चुलाचुली–४ मा स्थित बालज्योति मावि गाउँपालिकाभित्रका धेरै विद्यार्थी पढाउने विद्यालयमध्येमा पर्छ । यहाँ ५०० विद्यार्थी छन् । ती विद्यार्थीले नियमित रूपमा गर्दै आएका तीन वटा नमूना काम चर्चा गर्न लायकका छन्:
शिक्षकको सम्मान
बालज्योति माविका विद्यार्थीले वर्षेनि गाउँभरिका शिक्षकहरूमध्ये उत्कृष्ट बालमैत्री शिक्षक छानेर सम्मान गर्छन् । उत्कृष्ट शिक्षक छान्ने आधार के त ? सो विद्यालयको बाल क्लबकी सचिव शर्मिला तुम्रोकले भनिन्, “अरू अरू स्कूलमा पढ्ने साथीहरूलाई पनि हामी तिम्रो स्कूलको सबैभन्दा राम्ररी पढाउने सर/म्याडम को हो भनेर सोध्छौं । यसमा हाम्रै स्कूलका सरहरूको सहयोग पनि लिन्छौं । जसको नाम धेरैले लिन्छन् उहाँलाई नै सम्मान गर्छौं ।”
सो बाल क्लबका संरक्षक–शिक्षक समेत रहेका सहायक प्रअ रुद्रप्रसाद गिरीका अनुसार उत्कृष्ट शिक्षक छान्न केही सूचक बनाइएका छन् । सम्बन्धित विषयको उत्तीर्ण दर, विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप, सम्बन्धित विद्यालयका प्रअ तथा सहकर्मीहरूको प्रतिक्रिया लगायतका सूचक हेरेर ‘बालमैत्री वर्ष शिक्षक’ छनोट गरिन्छ । तर सबैभन्दा ठूलो आधार भनेको विद्यार्थीको मत नै हो । “विद्यार्थीले शिक्षकलाई नजिकबाट चिन्ने र शिक्षकले पनि आफूप्रति विद्यार्थीको दृष्टिकोण थाहा पाउने हुँदा यो अभ्यासले शिक्षक र विद्यार्थी दुवैलाई फाइदा पुर्याएको छ”, शिक्षक गिरीले भने ।
साथीलाई सहयोग
यस विद्यालयको बाल क्लबले विभिन्न विद्यालयमा पढ्ने बालबालिकाको आवश्यकता हेरेर उनीहरूलाई सहयोग पनि गर्छ । गत वर्ष कक्षा–१ देखि ५ सम्मका २२५ बालबालिकालाई क्लबले आफ्नो कोषबाट ‘ट्राउजर’ किनेर वितरण गर्यो । साथी–साथी सहयोग नाम दिइएको यस कार्यक्रम अन्तर्गत यो वर्ष एसईई परीक्षामा गाउँपालिकाबाट उत्कृष्ट दुई विद्यार्थीलाई रु.१५ हजार र रु.१० हजार पुरस्कार सहित कक्षा–११ अध्ययनमा सहयोग पुग्ने गरी साथी साथी छात्रवृत्ति वितरण गर्ने योजना रहेको संरक्षक–शिक्षक गिरीले जानकारी दिए । यस्ता कार्यका लागि चाहिने रकम जुटाउन बाल क्लबका विद्यार्थीले तीन वर्षअघि देउसी खेलेर रु.१ लाख सङ्कलन गरेका छन् ।
अरू स्कूलमा पढ्ने साथीहरूलाई पनि तिम्रो स्कूलको राम्रो पढाउने सर÷म्याडम को हो भनेर सोध्छौं। जसको नाम धेरैले लिन्छन् उहाँलाई नै सम्मान गर्छौं।
त्यसअघि दातृसंस्थाले चेतनामूलक नाटक देखाउँदा खाजा खान दिएको पैसा समेत जोगाएर उनीहरूले कोषमा बचत गरेका थिए । त्यसरी सञ्चित रकमको ब्याजबाट क्लबले शिक्षक सम्मान, साथी–साथी सहयोग कार्यक्रम र विभिन्न अतिरिक्त क्रियाकलापहरू संचालन गर्दै आएको छ । विगतमा विद्यालयको स्टेज मर्मत, साउन्डसेट खरीद, पर्दा सिलाइ जस्ता काम बाल क्लबको स्रोतबाट गरिएको भए पनि आइन्दा चाहिं कोषको रकम विद्यार्थीको क्षमता विकासमा मात्र प्रयोग गरिने विद्यालयका प्रअ पदम केशर लिम्बूले बताए ।
विद्यालयमा फूलखेती
बालज्योति माविमा एक वर्षअघिसम्म खानेपानीको हाहाकार थियो । तर गत साल विद्यालय हातामै डिप बोरिङ गरिएपछि पानीको छेलेखेलो छ । पानी भएपछि यहाँका साना बाबुनानीहरूले सिर्जनाको नयाँ संसार देखेछन् । बगेर जाने पानी सदुपयोग गरेर विद्यालयमा फूलबारी बनाउने सपना । फूलबारी बनाउन विद्यार्थीबीच प्रतिस्पर्धा चल्यो ।
मौसम अनुसारका फूल ढकमक्क फुल्न थालेपछि विद्यालयको खाली जमीन पूरै रङ्गीचङ्गी पुष्प बगैंचामा बदलियो । आफैं कोपिलाका रूपमा फुल्न आएका कलिला विद्यार्थीको कर्मबाट सिकेर विद्यालयले यस वर्ष व्यावसायिक उत्पादनका लागि १ कट्ठा जमीनमा सयपत्री फूल रोपेको छ । फूलबारीको रेखदेख र व्यवस्थापनको अगुवाइ र जिम्मा स्काउटका विद्यार्थीले लिएका छन् । यो परीक्षण सफल भयो भने आगामी वर्ष थप १० कट्ठा जमीनमा फूल रोपेर आयआर्जन गर्ने योजना विद्यालयले बनाएको छ ।
यादव सरले अभिभावकले अंग्रेजी चाहेकाले बोर्डिङ स्कूलसँग प्रतिस्पर्धा गर्न त्यसो गरिएको तर्क गरे । तर कारण जे भए पनि विद्यालयमा पोशाकको विभेद हटाउनु नै राम्रो हुने सल्लाह दिंदै म अर्को विद्यालयतिर लागें ।
नुनसरी आधारभूत विद्यालय, उर्लाबारी–१, मोरङ
सानो कामको ठूलो प्रभाव
मोरङको उर्लाबारी–१ स्थित नुनसरी आधारभूत विद्यालयमा भदौ महीनाको एक मध्याह्न यो संवाददाता पुग्दा केही छात्राहरू एउटा कोठाभित्र गोलो घेरामा बसेर सियो–धागोले बुन्ने–तुन्ने काम गर्दै थिए । उनीहरू महीनावारीका बेला चाहिने स्यानिटरी प्याड बनाउँदै रहेछन् । कोठामा प्याड बनाउन प्रयोग हुने कपडा, आराम गर्ने ओछ्यान र औषधिका बाकस पनि थिए । कक्षा–८ सम्म पढाइ हुने यस विद्यालयका कक्षा–६ देखि माथिका छात्राहरू खाली समयमा सोही कोठामा जम्मा भएर स्यानिटरी प्याड बनाउँदा रहेछन् । दुई वर्षअघि एक संस्थाले तालिमसँगै आवश्यक सामग्री पनि दिएपछि यहाँका छात्राले आफैं प्याड बनाउन जानेका हुन् ।
विद्यालयको सिर्जना बाल क्लबमा आबद्ध किशोरी समूहका यी छात्राहरूले यहाँ बनेका प्याड आफूलाई चाहिंदा प्रयोग गर्छन् र विद्यालय वरपरका गाउँघरमा बेच्छन् पनि । प्याड आवश्यक पर्नेहरूले खबर गर्ने र उनीहरूलाई घरमै पुर्याइदिने गरेको समूहकी अध्यक्ष खुशी कार्कीले बताइन् । उनीहरू पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड प्रतिगोटा रु.६० मा बेच्दा रहेछन् । त्यसरी आएको पैसामध्ये केहीले नयाँ प्याड बनाउने कपडा र धागो किन्छन् । समूहको कोषमा जम्मा हुने बचेको रकम बेलाबेला विद्यार्थीले नै आयोजना गर्ने खेलकुद, नाचगान, हाजिरीजवाफ लगायतका विभिन्न अतिरिक्त क्रियाकलापमा दिइने पुरस्कारका सामान किन्नमा खर्च हुन्छ ।
विद्यालय समयमा महीनावारी भएका छात्राहरूलाई त्यसबेला पेट दुखेमा चाहिने औषधि, स्यानिटरी प्याड र आराम कोठाको व्यवस्थाले ढुक्क बनाएको छ।
विद्यालय समयमा महीनावारी भएका छात्राहरूलाई त्यसबेला पेट दुखेमा चाहिने औषधि, स्यानिटरी प्याड र आराम कोठाको व्यवस्थाले ढुक्क बनाएको छ । विद्यालयमा महीनावारी हुँदा छात्राहरूलाई पढाइ छाडेर घर जानुपर्ने या विद्यालयमै झेक्रिएर बस्नुपर्ने दुई वर्षअघिको बाध्यता अन्त्य भएको शिक्षक गीता विकले बताइन् । “पहिले महीनावारीका विषयमा बोल्नै संकोच मान्ने यस विद्यालयका किशोरीहरू अहिले शिक्षक र अभिभावकसँग आफ्नो समस्या खुलेर राख्न सक्ने भएका छन्”, बालक्लबको व्यवस्थापन गर्दै आएका शिक्षक लोकनाथ रिजालले भने । छात्राहरूमा आएको परिवर्तनबाट सानो कामले पनि ठूलो प्रभाव पार्न सक्छ भन्ने प्रमाणित भएको विद्यालयका प्रअ भोलानाथ निरौलाले बताए ।
उक्त हल भाडामा दिई विद्यालयले अतिरिक्त आम्दानी गर्ने गरेको छ ।
गुहेश्वरी आधारभूत विद्यालय, कमल–५, झापा
सरसफाइबाट दैनिकी शुरू
भदौ दोस्रो साताको एक बिहान ९ः३० बजेतिर कमल–५ स्थित गुहेश्वरी आधारभूत विद्यालयका विद्यार्थी सरासर कक्षाकोठामा पसे । भुइँमा झरेका कागज र प्लाष्टिकका टुक्रा बटुले । त्यसलाई बाहिर ढोका नजिकै राखिएका बाल्टीमा जम्मा गरे । त्यसपछि कोही झाडु समातेर कक्षाकोठा बढार्नतिर लागे । कोही वरपरका फोहोर टिपटाप पार्न थाले । प्रार्थना सभामा सामेल हुने घण्टी बज्नुअघि नै सबै कक्षाकोठा चिटिक्क सफा पारे । यहाँ बालकक्षा बाहेक सबै कक्षाकोठामा विद्यार्थीको दैनिकी यसरी नै शुरू हुँदोरहेछ । कुन दिन कसले के काम गर्ने हो त्यसको तालिका बनाएर विद्यार्थीहरू स्वयंले स्वस्फूर्त रूपमा यसरी सरसफाइ गर्दै आएको विद्यालयका प्रअ ऋषिराज भण्डारीले बताए ।
प्रार्थना सभामा गरिने शारीरिक व्यायामपछि विद्यार्थीको एउटा पंक्तिले सबैको अगाडि उभिएर सरस्वती वन्दना पाठ गर्यो । बाँकी सबैले उनीहरूको स्वरलाई पछ्याए । त्यसपछि प्रार्थना सभा सञ्चालन गरिरहेका शिक्षक टङ्कप्रसाद गजुरेल अगाडि सरेर विज्ञान, संस्कृति तथा इतिहाससँग सम्बन्धित पाँच प्रश्न राखे । सबैले एकैसाथ स्वरमा स्वर मिलाएर ती प्रश्नको जवाफ दिए ।
सामूहिक प्रार्थना सकिएपछि केही विद्यार्थी विद्यालयको फूलबारीतिर पसे । बाँकीले खेलमैदानमा देखिएको टापनटिपन फोहोर बटुल्दै कक्षाकोठा अगाडि राखिएको बाल्टिनमा राखे । कक्षाकोठामा पस्नुअघि उनीहरूलाई शिक्षक सुशीला शर्माले हात धुन धारामा पठाइन् । त्यतिञ्जेलमा फूलबारी पसेकाहरूले पनि बारीको झर सफा गरिसकेका थिए । विद्यार्थीको समूह–समूह बनाएर उनीहरूलाई पालैपालो दैनिक १० मिनेट फूल गोडमेल गर्ने जिम्मेवारी दिइँदोरहेछ । उनीहरूले हरेक दिन दिने थोरै थोरै समयको मिहिनेतले विद्यालयको फूलबारीमा बिरुवाको हरियाली र फूलको रङ्गीचङ्गी देख्न पाइन्छ ।
शिक्षक मासिक, २०७६ असोज अंकमा प्रकाशित ।