जुम्राले बताउँछन् हाम्रा लुगाको इतिहास

जुम्रा मार्ने विषयमा विवाद हुँदा यही साउन (२०७६) को दोस्रो साता, ललितपुरको नक्खु कारागारमा एकजना कैदी मारिए। तर, जुम्राहरू स्वयं चाहिं आपसमा त्यसरी झगडा र मारामार गर्दैनन्। बरु, यिनीहरू कति ज्ञानी छन् भने, मान्छेले कहिलेदेखि लुगा लगाउन थाले भनेर इतिहास बताइदिन सक्छन्, जुन कुरा मान्छे स्वयंलाई पनि थाहा छैन ।

हामी मानिस मात्रै पृथ्वीका त्यस्ता प्रजाति हौं, जसले लुगा लगाउँछ । र, यसमा पनि कुनै संशय छैन, हामी लुगाका उन्मादी भइसकेका छौंः तिनको डिजाइन, निर्माण, लुगा बनाउन प्रयोग गरिने सामग्री, स्टाइल र त्यस्ता लुगा प्राप्त गर्ने घिडघिडो—हरेक मामिलामा । ‘फेशन’ का पछाडि जति पागल छौं, ‘कसैसँग नभएको’ जस्तो (एक्सक्लुसिभ) देखाउन शायद त्योभन्दा बढी । कसले के लगाउँछ र के लगाउँदैन भन्ने कुराले हामीलाई उत्पातै आकर्षित गर्छः कुनै पनि चल्तीको अखबारका स्टाइल पेजदेखि लिएर टेलिभिजनका फेशन–आधारित शोहरू यसका साक्षी छन् ।

तर, लुगामा हामी कसरी यहाँसम्म आइपुग्यौं ? यसतर्फका प्रारम्भिक पाइला कस्ता थिए ? हामीले ‘लुगा’ लगाउन कहिले शुरू गर्‍यौं ?
यसखाले प्रश्नको खोजतलाश र छानबीनको समस्या के हुन्छ भने, ‘ठोस प्रमाण’ फेला पार्नु मरुभूमिमा बरफ भेट्नु जस्तै हुन्छ । हड्डीको झैं लुगाको जीवाश्म (फोसिल) बन्दैन । ढुंगा र धातुको विपरीत, कपडा चाँडै गलेर नष्ट भइसक्छन् । पर्यावरणका विशिष्ट परिस्थितिहरूमा बाहेक (जस्तै, हिमाच्छादित क्षेत्रमा तीन हजार वर्षसम्म सुरक्षित मानव शव/ममी) प्रागैतिहासिक कपडाका प्रत्यक्ष प्रमाण पाउन दुर्लभ हुन्छ । त्यसैले लुगाको उत्पत्ति (र विकास) को कुरा समयको गाढा तुवाँलोमा कुइराको काग हुन पुगेको छ । यति हुँदाहुँदै पनि, जस्तो कि सधैं हुने गर्छ, कतै न कतै केही न केही प्रमाण त हुन्छ नै— त्यसलाई पर्गेलेर हेर्न र देख्न सक्नु मात्र जरूरी हुन्छ । लुगाका सन्दर्भमा यो प्रमाण हाम्रो चिर–सँगाती कीटका रूपमा उपस्थित छ र त्यो हो— जुम्रो ।


के हो आणविक घडी ?

‘आणविक घडी’ त्यो तरीका हो, जसको सहायताले एउटै साझ पूर्वजबाट दुई अलग प्रजाति/अनुक्रम (सिक्वेन्स) कहिले छुट्टिएका थिए भन्ने पत्ता लगाइन्छ । यो विधि, समय बित्दै जाँदा प्रतिलिपीकरण (रेप्लिकेशन) का क्रममा डीएनएमा भद्रगोल पाराका त्रुटि/परतिस्थापना (सब्स्टिच्युशन) हुन्छन् र ती पुस्ता–दर–पुस्ता संचारित भइरहन्छन् भन्ने सिद्धान्तमा आधारित छ । दुई अनुक्रम छुट्टिएको समय जति धेरै बितेको हुन्छ, उनीहरू बीचका अन्तर उति धेरै हुन्छन् । निश्चित समयावधिमा कति ‘प्रतिस्थापन’ भए भन्ने थाहा भएपछि कुनै दुई प्रजाति/अनुक्रम आफ्नो साझ पूर्वजबाट कति वर्ष अघि छुट्टिएका थिए भनेर हिसाब निकाल्न सकिन्छ । अनुक्रमहरू छुट्टिएको समय जीवाश्म अभिलेख जस्ता अन्य तरीकाले स्थापित भइसकेको छ भने तिनमा यस अवधिमा संग्रहीत प्रतिस्थापनहरूको संख्याका आधारमा यो दरको गणना गर्न सकिन्छ । समयसँगै, विभिन्न प्रजातिहरूका बीच प्रतिस्थापनको दर स्थिर हुन्छ भन्ने मानेर यस विधिको सहायताले अज्ञात अन्तरालको गणना गर्ने गरिएको छ ।


लुगा–निवासी कीट
पक्षी र स्तनधारी प्राणीका लगभग सबै प्रजाति जुम्राका आतिथेय (घर) हुन् । तर, मानिस ती एक्कादुक्का प्रजातिमध्ये पर्छ, जो एउटा होइन तीन–तीनवटा जुम्रा प्रजाति/उप प्रजातिको आतिथेय (वासस्थान) हो । टाउकाको जुम्रा (Pediculus humanus capitis) जीउको जुम्रा (Pediculus humanus corporis)  र काप (जंघन/प्युबिक) को जुम्रा (Pthirus Pubis) मनुष्य शरीरमा रहने ‘अविकल्पी’ बाह्य परजीवी हुन् (हे. तस्वीर बायाँ) । यी तीनथरी जुम्रा मानिस बाहेक कुनै अन्य प्रजातिका जीवमा (मानिसले आफूसँगै राख्ने घरपालुवा पशु वा पक्षीमा समेत) जीवित रहन सक्तैनन् । टाउकाको जुम्रा आकारमा जीउको जुम्राभन्दा सेख सानो हुन्छ र त्यसको रङ पनि सेख गाढा हुन्छ । दुवैको शरीरको लम्बाइ, ‘स्पर्शक’ र अगाडिका खुट्टाको मोटाइमा मसिनो अन्तर हुन्छ । जे होस्, शरीर–संरचनाको दृष्टिले यी दुवैमा पर्याप्त समानता हुन्छ, जो स्वाभाविकै हो । यिनीहरूबीचको सबैभन्दा मुख्य फरक चाहिं वासस्थान (ह्याबिटेट) नै हो ।

टाउकाको जुम्रा रगत चुस्ने एकप्रकारको कीट हो, जो मान्छेको टाउकोमा बस्छ र टाउकाकै कपालमा मात्र फुल पार्छ । अर्कातर्फ, जीउको जुम्रा टाउकातिर बिर्सेर पनि पाइला चाल्दैन । यसले मान्छेको जीउको छालाबाट आफ्नो भोजन प्राप्त गर्छ । सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा के हो भने, जीउको जुम्रा मानिसले लगाउने लुगामा बस्छ र त्यहींका कुना–कन्दरा र चेपमा फुल पार्छ । टाउकाको जुम्रा र जीउको जुम्रा आआफ्नो प्राकृत वासस्थानका बारेमा निकै ‘कट्टरपन्थी’ हुन्छन् । दुवैले एकअर्काको इलाकामा अतिक्रमण गर्दैनन् (वास्तवमा, टाउकाको जुम्रा लुगामा बाँच्नै सक्तैन) । यति मात्र पनि होइन, यी दुवैमध्ये कुनै पनि प्रजाति मान्छेबाट छुट्टिएर लामो समय जीवित रहन सक्तैनन् । मान्छेको शरीरबाट टाढिएपछि टाउकाको जुम्रा २४ घण्टाभित्र मर्छ भने जीउको जुम्राले बढीमा एक हप्ता जति मात्र प्राण धान्न सक्छ ।

माइटोकन्ड्रियल ‘हौवा’ (Mitochondrial Eve) को अध्ययनबाट ठूलो ख्याति कमाएका प्रतिष्ठित जीव–वैज्ञानिक मार्क स्टोनकिङ (हे. तस्वीर तल) लाई एक दिन यी ‘अविकल्पी’ परजीवीहरूको वासस्थानबारे अध्ययन र खोज गर्ने रुचि जाग्यो । र, उनी निर्लिप्त भएर जुम्राका पछि लागे । स्टोनकिङको हाइपोथेसिस अनुसार— टाउकाको जुम्रा सबैभन्दा जेठो जुम्रा–प्रजाति हो । जीउको जुम्रा (प्रजाति) टाउकाको जुम्राबाट त्यसवेला विकसित भयो, जब नयाँ वासस्थान उपलब्ध भयो । त्यो नयाँ वासस्थान थियो, मानिसका लुगाको अन्तरकुन्तर र कुनाकाप्चा । यस्तो कहिले भयो त ? जब मानिसले नियमित रूपमा लुगा लगाउन थाल्यो ।

यसप्रकार, जीउको जुम्राको उत्पत्तिको समय पत्ता लाग्दा मानिसले व्यापक र नियमित रूपमा लुगा लगाउन कहिले श्रीगणेश गर्‍यो भन्ने अनुमान लगाउन सकिने रोचक सम्भावना देखा पर्छ । यहींनेर प्रश्न उभिन्छ, त्यसोभए जीउको जुम्राको उत्पत्ति चाहिं कहिले भयो त ? यसको उत्तर निकै मिहीन तवरले, आणविक घडीको उपयोग गरेर खोज्ने प्रयास गरियो ।

मार्क स्टोनकिङ । म्याक्स प्लांक इन्ष्टिच्यूट फर इभोल्युशनरी एन्थ्रोपोलोजी (जर्मनी) का प्राध्यापक ।

जुम्राको वंशाणुगत (जेनेटिक) इतिवृत्त

जुम्राको विकासको समय निर्धारण गर्न आणविक घडीको निर्माण माइटोकन्ड्रियाका दुईवटा डीएनए खण्ड तथा केन्द्रक (न्युक्लियस) का दुईवटा डीएनए खण्डका आधारमा गरिएको थियो । आफ्नो अनुसन्धान एकाङ्गी अथवा पूर्वाग्रही नहोस् भनेर स्टोनकिङको टोलीले दुनियाँका १२ बेग्लाबेग्लै भौगोलिक क्षेत्रका जुम्रा भेला गरेर तिनको माइटोकन्ड्रिया र केन्द्रकबाट डीएनए निकालेका थिए । ती १२ भौगोलिक क्षेत्र थिए— इथियोपिया, पनामा, जर्मनी, फिलिपिन्स, इरान, इक्वेडर, लाओस, पपुवा न्यू गिनी, फ्लोरिडा (अमेरिका), ताइवान, बेलायत र नेपाल । यही मेसोमा वैज्ञानिकहरूले चिम्पान्जीको टाउकाको जुम्राको डीएनए पनि लिएका थिए । आतिथेय (Host) प्राणी र तिनका परजीवी (Parasite  सँगसँगै विकसित हुन्छन् भन्ने त सर्वमान्य नै छ । त्यसैले के मानियो भने, चिम्पान्जी–जुम्रा (Pediculus Schaeffi) र मानव–जुम्रा (Pediculus humanus) आ–आफ्ना आतिथेयका साथ विशिष्ट प्रजातिका रूपमा विकसित भएका हुन् र यो घटना लगभग ५५ लाख वर्ष पहिले भयो होला (एउटै साझ पूर्वजका सन्तान— मानिस र चिम्पान्जीको हाँगो ५५ लाख वर्ष अघि छुट्टिन थालेको थियो भन्ने वैज्ञानिक रूपमा स्थापित भइसकेको छ) । यसको अर्थ हो— मानव–जुम्रा र चिम्पान्जी–जुम्राका डीएनए अनुक्रम (सिक्वेन्स) को अन्तर पनि ५५ लाख वर्षदेखि नै संग्रहीत हुँदै आएको हो । यो विशिष्ट समयावधिलाई आणविक घडीको अंशाङ्कन निम्ति उपयोग गरेर टाउकाका जुम्रा र जीउका जुम्रा कहिले छुट्टिएका हुन् भन्ने निश्चित गर्न सकिन्छ ।

अनुक्रम विश्लेषणका लागि स्टोनकिङको टोलीले सर्वप्रथम जुम्राको माइटोकन्ड्रियामा पाइने दुईवटा जीन ND4 र CYTB का खण्डहरूको विश्लेषण गर्‍यो । त्यसपछि उनीहरूले केन्द्रकको डीएनएका दुई खण्डको तुलनात्मक अनुक्रम विश्लेषण गरे । यी जीन लम्बाइका कारक EF-la र आरएनए पोलिमरेज–II को उप–एकाइ PR II का खण्ड थिए । यी खण्डहरूको आकार ४०० देखि ६०० क्षार–जोडीहरूको बीचमा थियो । विश्लेषणबाट निस्केका परिणाम रोचक थिए ।

प्रथम परिणामबाट के थाहा पाइयो भने, अफ्रिकी जुम्रा (इथियोपियाबाट संकलन गरिएको) मा पाइने विविधता गैर–अफ्रिकी जुम्राका दुनियाँभरिका नमूनामा पाइने विविधताभन्दा निकै बढी थियो । यो परिणामले अन्य महाद्वीपका मानिसको तुलनामा अफ्रिकाका मानिसमा पाइने अत्यधिक जेनेटिक विविधतालाई प्रतिबिम्बित गथ्र्यो । जेनेटिक विविधता प्रायः सधैं स्रोतमै बढी हुन्छ । त्यसैले, यो अनुसन्धान परिणामले के देखाउँछ भने, मानिस जस्तै मानव–जुम्राको उत्पत्ति पनि अफ्रिकामै भएको हो । यसैगरी, द्वितीय परिणामबाट थाहा पाइयो— मानिसको जीउका जुम्राको तुलनामा टाउकाका जुम्रामा निकै बढी विविधता छ । यसबाट प्रमाणित हुन्छ— टाउकाको जुम्रा अपेक्षाकृत प्राचीन प्रजाति हो ।

वंशवृक्षमा फिंगरप्रिन्ट
यसपछि उनीहरूले मानव–जुम्राको माइटोकन्ड्रियाका अनुक्रमहरूको उपयोग गर्दै एउटा वंशवृक्षको रचना गरे (हे. तलको ग्राफ) । वंशवृक्षबाट स्पष्ट भयो, त्यसमा कैयौं ‘क्लेड’ रहेका छन् । सबैभन्दा पुरानो क्लेडमा टाउकाको जुम्राका अनुक्रम मात्र पाइए । यसबाट सबैखाले जुम्राहरू टाउकाको जुम्राबाटै विकसित भएका हुन् भन्ने पुष्टि भयो । एउटा खास क्लेडमा भने, जसमा दुनियाँभरिबाट ल्याइएका नमूना शामेल थिए, जीउको जुम्राका जम्मै र टाउकाको जुम्राका १६ वटा अनुक्रम पाइए । चिम्पान्जी–जुम्रालाई ‘आउटग्रुप’ मानेर विकसित गरिएको आणविक घडीबाट थाहा पाइयो, यो क्लेड ७२ हजार वर्ष (४२ हजार वर्ष तलमाथि पर्न सक्ने) पुरानो हो । यसमा जीउको जुम्राका सम्पूर्ण अनुक्रम पाइएकाले के निष्कर्ष निस्कियो भने, यस क्लेडको अनुमानित समय नै जीउको जुम्राको उत्पत्तिको सबैभन्दा माथिल्लो सीमा हो । र, जीउको जुम्रा केवल मानिसको लुगामा मात्र बस्ने/बाँच्ने भएकाले आधुनिक मानवले नियमित रूपमा लुगा लगाउन थालेको समय पनि यही हुनुपर्छ ।

लगभग यस्तै निष्कर्ष केन्द्रका डीएनएका अनुक्रमबाट पनि प्राप्त भयो, यद्यपि माइटोकन्ड्रियाका डीएनएको तुलनामा यिनको विश्लेषण निकै कठिन थियो । अन्तिम प्रमाणका रूपमा स्टोनकिङको टोलीले साइटोक्रोम अक्सिडेज (Cox) का जीनका केही भागको पनि परीक्षण गर्‍यो । यो जीन पनि माइटोकन्ड्रियाका डीएनएमा पाइन्छ । यसबाट प्राप्त परिणाम समेत यसअघिका विश्लेषणबाट प्राप्त परिणामसँग मिलेको पाइयो । यसरी, अध्ययन, अनुसन्धान र परीक्षण पश्चात् स्टोनकिङ र उनका साथीहरूले निष्कर्ष निकाले— आधुनिक मानवहरूले, जो अफ्रिकाका निवासी थिए, आजभन्दा लगभग ७० हजार वर्ष अघि लुगा लगाउन थालेका थिए ।
अलिक पछि फ्लोरिडा विश्वविद्यालय (अमेरिका) का डेभिड रीडको टोलीले यसबारे अझ् गहन विश्लेषण गर्‍यो । यसका लागि उनीहरूले बेग्लै पद्धति (Multilocus Bayesian Isolation-with-Migration Coalescent Mathod) को उपयोग गरेका थिए । उनीहरूको निष्कर्ष थियो— मानिसको जीउको जुम्रा टाउकाको जुम्राबाट बढीमा एक लाख ७० हजारदेखि कम्तीमा ८३ हजार वर्ष अघिको कुनै समयमा छुट्टिएको थियो ।

यी दुई तथ्यांकमा जुन अन्तर छ, त्यसमा अचम्म मान्नुपर्ने कुनै कारण छैन, किनभने दुवै टोलीले बेग्लाबेग्लै पद्धतिको प्रयोग गरेका थिए । त्यसमाथि, मोटामोटी ७०–८० हजार वर्ष अघि जीउका जुम्राको उत्पत्ति भएको कुरा दुवैले सामान्यतः स्वीकारेका छन् । मुख्य र महत्वपूर्ण कुरा चाहिं के भने, दुवैको निष्कर्ष ठ्याक्कै एउटै छः जीउको जुम्राको उत्पत्ति अफ्रिकामा आधुनिक मानवले लुगा लगाउन थालेपछि भएको हो, जहाँ तिनका लागि लुगाका रूपमा नयाँ वासस्थान उपलब्ध भएको थियो ।


करीब ७० हजार वर्ष अघि आधुनिक मानवले लुगा बुन्न, सिउन र लगाउन थाल्यो। जुम्रालाई नयाँ वासस्थान प्राप्त भयो। लुगाले मानिसलाई पर्यावरणको उतार–चढावबाट सुरक्षा प्रदान गर्‍यो र ५० हजार वर्ष अघि मानिससँगै जुम्रा पनि अफ्रिकाबाट निस्किएर संसारभर फैलिन पुगे।

त्यसो त, के पनि हुन सक्छ भने, मानिसले लुगा लगाउन धेरै अघि थालेका होउन् र जीउको जुम्राले यो नयाँ प्राकृत वासस्थान निकै पछि अपनाएको होस् । यो निकै रोचक सम्भावना हो र यसलाई पूरै नकार्न सकिंदैन । स्टोनकिङ र उनका साथीहरूको भनाइ चाहिं के छ भने, कुनै पनि पारिस्थितिक वासस्थानलाई प्राणीहरूले एकदम छिटो अपनाउने भएकाले जीउको जुम्राले मान्छेका लुगामा गुँड लगाउन हजारौं वर्ष कुर्‍यो होला भन्ने कल्पना कसैगरी पनि सम्भव लाग्दैन । र, उनीहरूले आणविक घडी मार्फत निकालेको निष्कर्ष (मानिसले लुगा लगाउन थालेको समय) को तालमेल लुगासँग सम्बन्धित एक मात्र प्रागैतिहासिक औजार अर्थात् धागो छिराउने प्वाल भएको लुगा सिउने सियोको पुरातात्वक प्रमाणसँग मिलेको देखिन्छ । पुरातत्व अनुसन्धाताहरूले करीब ४० हजार वर्ष पुरानो यस्तो सियो फेला पारेका छन् । यस्ता सियाहरू आधुनिक मानवका वासस्थानमा मात्र भेटिएका छन्, निएन्डरथल जस्ता अति प्राचीन मानव बस्तीहरूमा होइन ।

निष्कर्ष
हालसम्म उपलब्ध जेनेटिक र पुरातत्वक जानकारीबाट निस्कने निष्कर्ष के हो भने, चिम्पान्जीमा पाइने जुम्रा र मानिसको टाउकाका जुम्रा निकट सम्बन्धी हुन्, जो एउटै साझ पूर्वजबाट विकसित भए होलान् । १२ लाख वर्ष अघि जब मान्छेको जीउबाट झयापुल्ले रौं हराउन थाले, अहिले मानिसको टाउकामा सीमित रहेका प्रजातिका जुम्रा सानो प्राकृत–वासस्थान अर्थात् मान्छेको टाउकाको छालामा खुम्चिन पुगे । जे होस्, आजभन्दा ७० हजारदेखि १ लाख ७० हजार वर्ष अघिको बीचमा कुनै वेला आधुनिक मानवले लुगा बुन्न, सिउन र लगाउन थाल्यो, र यो सँगसँगै जुम्रालाई घरजम गर्न नयाँ वासस्थान प्राप्त भयो । लुगाले मानिसलाई पर्यावरणको उतार–चढावबाट सुरक्षा प्रदान गर्‍यो र आजभन्दा ५० देखि ८० हजार वर्ष अघि अफ्रिका बाहिरको दुनियाँमा रासोबासो बढाउन उसलाई सजिलो पार्‍यो । यसरी मानिस र उनीहरूका लुगा सँगसँगै जुम्राहरू पनि संसारभर फैलिन पुगे ।

दुनियाँमा ‘जुम्रा–अनुसन्धान’ जारी छ । एक हजार वर्ष पुरानो ‘पे डिग्री’ को ‘ममी’ मा भेटिएको जुम्राले मानिस ‘नयाँ दुनियाँ’ मा कहिले र कसरी आइपुग्यो भन्ने बुझन निकै सघाएको छ । हामीकहाँ भने जुम्रा–अनुसन्धान भएकै छैन भन्दा पनि हुन्छ । यसो कल्पना गर्नोस् त, हामीले दक्षिण एशियामा पाइने जुम्राको जेनेटिक अध्ययन गर्न सक्यौं भने कस्तो खजाना हात पर्ला ?

(जीव विज्ञानका अध्यापक डा. मित्र जैविक विकास र विज्ञानको इतिहासमा विशेष रुचि राख्छन् ।)
साभारः सन्दर्भ, अंक ११५
भाषान्तर/सम्पादन: शरच्चन्द्र वस्ती

शिक्षक मासिक, २०७६ भदौ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial