जन मावि, सुर्खेत कर्णालीको शान बन्द
पाँच वर्षयताको एसएलसी वा एसईई परीक्षाको नतिजाले जन माविलाई कर्णाली प्रदेशका १० जिल्लाका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट देखाएको छ। २०७४ सालको एसईई परीक्षामा यहाँका दुई विद्यार्थी— प्रदीप राना क्षेत्री र गणेश भण्डारीले जीपीए ४ ल्याएर सामुदायिक विद्यालयतर्फ राष्ट्रिय कीर्तिमान नै कायम गरेका थिए।
वीरेन्द्रनगर–६, सुर्खेतको जन माविसँग आफूलाई गए/गुज्रेको अवस्थाबाट देशकै अग्रणी सामुदायिक विद्यालयको कोटिमा उकास्न अपनाएका उपायहरूको लामो शृंखला छ । एक दशक लामो अनुभवको यो कथाले प्रशासनिक पद्धति सुधार्न र शैक्षिक उपलब्धि बढाउन अरू विद्यालयलाई पनि बाटो देखाउन सक्छ ।
पाँच वर्षयताको एसएलसी वा एसईई परीक्षाको नतिजाले जन माविलाई कर्णाली प्रदेशका १० जिल्लाका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट देखाएको छ । २०७४ सालको एसईई परीक्षामा यहाँका दुई विद्यार्थी— प्रदीप राना क्षेत्री र गणेश भण्डारीले जीपीए ४ ल्याएर सामुदायिक विद्यालयतर्फ राष्ट्रिय कीर्तिमान बनाएका थिए । विद्यालयको दाबी अनुसार त्यस वर्ष देशभरका अरू कुनै पनि सामुदायिक विद्यालयका विद्यार्थीले जीपीए ४ ल्याएका थिएनन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७४ मा देशभरका ७५ विद्यार्थीले ४ जीपीए ल्याएकामा तीमध्ये सामुदायिक र संस्थागत विद्यालयको विद्यार्थी संख्या भने छुट्याइएको थिएन । गत असारमा नतिजा सार्वजनिक भएको २०७५ सालको एसईईमा पनि यो विद्यालय सामुदायिकतर्फ कर्णाली प्रदेशकै सर्वोत्कृष्ट बन्न सफल भयो । परिणामतः कर्णालीका साथै सुदूरपश्चिमका जिल्लाबाट समेत यस विद्यालयमा पढ्न गुन्टा कसेर आउने विद्यार्थी पढ्ने सिट नपाएर फर्कने गरेका घटना भेटिन्छन् ।
विद्यालयको वातावरण
यो संवाददाता जन मावि परिसरमा पुग्दा बिहान सवा नौ बजेको थियो । विद्यालयमा पस्ने गेट पनि बाहिरी र भित्री पर्खालमा गरी दुई वटा थिए । विस्तारै विद्यार्थी आउने क्रम शुरू भयो । उनीहरू भित्री गेटको अघिल्तिर उभिंदै गए । बन्द गेटको दायाँतर्फ छात्रा र बायाँतर्फ छात्रको लहर तन्किंदै गयो । छात्रछात्राको पंक्तिलाई व्यवस्थित र अनुशासित राख्न हातमा डण्डी बोकेका उनीहरूकै केही सहपाठीहरूले सघाइरहेका थिए । छात्राहरूले कपाल दुई चुल्ठो बाटेका थिए भने छात्रहरू सबैको शिरमा भादगाउँले टोपी देखिन्थ्यो । उनीहरू सबैले टाइ सहित आकाशे रङको सर्ट र नीलो पाइन्ट वा फ्रक लगाएका थिए । पौने दश बजे घण्टी बजेसँगै गेट खुल्यो । त्यसपछि पूर्ववत् पंक्तिबद्ध अवस्थामा नै भीडभाड नगरिकन उनीहरू पालैपालो भित्र छिरे । विद्यालयको चौडा खेल–मैदानमा भएको सामूहिक शारीरिक व्यायाम र प्रार्थना सभा हेर्दा कलिला सिपाहीहरूको फौजी परेड जस्तै देखिन्थ्यो ।
विद्यार्थीले भरिभराउ २६ वटा कक्षाकोठामा अध्यापनका लागि शिक्षकहरू पसेसँगै विद्यालयको पूरै वातावरण कुनै ध्यान केन्द्र झैं शान्त देखियो । विद्यालयका धेरै भवनमध्ये एउटाको माथिल्लो तलामा थियो विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ (शिअस) का अध्यक्षको कार्यकक्ष । विद्यालयले बनाएका नीति–नियम र योजनाहरू माथि निरन्तर निगरानी गर्ने त्यो थलो विद्यालयले पाएका विभिन्न शिल्ड, ट्रफी एवं प्रमाणपत्रले सजिसजाउ थियो । विव्यसका अध्यक्ष गोविन्द कोइराला आइसकेका थिए भने शिअ संघका अध्यक्ष विमल नेपाली आउँदै थिए । विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठ पनि त्यहीं आए ।
पहिलेदेखि नै ‘नमूना’ रहँदै आएको जन माविलाई संघीय सरकारले आफ्नो नमूना विद्यालय कार्यक्रममा पनि छनोट गरेको छ। त्यो कार्यक्रमका निम्ति विद्यालयले रु. ४५ करोड बजेटको महत्तवाकांक्षी विकास योजना बनाएको छ।
कक्षा–१० सम्म १३३५ र कक्षा ११–१२ मा १४६८ गरी जम्मा २८०३ जना विद्यार्थी रहेको जन माविमा उच्च मावितर्फ सरकारी अनुदानका तीन र निजी स्रोतका एक मात्र पूर्णकालीन शिक्षक छन् भने आंशिक करारमा अरू ५६ जना । मावि तहका १२ जना शिक्षक सबै सरकारी दरबन्दीका हुन् । निमावि तहमा दरबन्दीका ११ र निजी स्रोतका तीन समेत १४ शिक्षक छन् । २०७४ सालसम्म कक्षा ६ देखि माथि मात्र पढाइ हुने गरेको र त्यसभन्दा तलका कक्षा दुई वर्षयता वीरेन्द्रनगर–१४, तल्लो रानीमत्ताको महाकाली प्राविलाई समायोजन गरेर त्यहाँको अनुमति यहाँ सारिएपछि मात्र चलाइएकाले यस विद्यालयमा हालसम्म प्राथमिक तहको भने शिक्षक दरबन्दी नै छैन ।
यो वर्ष प्राथमिक तहका प्रत्येक कक्षामा २५ जना भर्ना लिइएको छ । कक्षा–१ मा भर्ना हुन आवेदन फर्म भर्ने बालबालिकाको संख्या १३५ थियो, जसमध्ये ११० जनाले यहाँ पढ्ने अवसर पाएनन् ।
जन माविमा बालबालिका पढाउनु– कर्णाली प्रदेश सरकारका मन्त्रीहरूदेखि सांसद र उच्च ओहोदाका पदाधिकारीहरूको समेत सपना हुन थालेको छ । यहाँ भर्ना हुन सजिलो छैन । सबै कक्षामा सिट संख्या तोकिएको र यहाँ प्रवेश गरेका विद्यार्थी सामान्यतः पढाइ पूरा गरेर मात्र निस्कने भएकाले कक्षा–१, ६, ८ र ९ बाहेकका कक्षामा नयाँ भर्ना बन्द जस्तै छ । भर्ना लिइने कक्षामा पनि प्रवेश परीक्षाको कडाइले ठूलो संख्याका आवेदकहरू बाहिरै रहन पुग्छन् ।
विद्यालयले कक्षा–१ देखि नै सबै अभिभावकबाट वार्षिक रूपमा ‘आर्थिक सहयोग’ का नाउँमा एकमुष्ट शुल्क उठाउँछ । प्रधानाध्यापक यामबहादुर श्रेष्ठका अनुसार त्यस्तो ‘सहयोग’ कक्षा १–५ मा रु.१९०० देखि २३०० सम्म र कक्षा ६–१० मा रु.२६०० देखि ३९०० सम्म छ । कक्षा ६–१० मा २१ वटा सेक्सनमध्ये १८ वटामा अंग्रेजी र तीन वटामा नेपाली माध्यमबाट पढाइ हुन्छ । अभिभावकहरूबाट संकलित सहयोग र विद्यालयको जग्गामा बनेका ७४ वटा पसल कबलहरूको भाडाबापत प्राप्त आम्दानीबाट निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई पनि सरकारी स्केल सरहको पारिश्रमिक दिइएको प्रअ श्रेष्ठले बताए । भाडाबाट वार्षिक रु.४५ लाख उठ्छ । उच्च मावितर्फ, शिक्षामा रु.५००, व्यवस्थापनमा रु.६००, विज्ञानमा रु.१४०० र शिक्षा–विज्ञानमा रु.९५० मासिक शुल्क लिइन्छ । त्यसबाहेक भर्ना शुल्क वापत रु.३२०० देखि रु.१४ हजारसम्म वार्षिक एकमुष्ट रूपमा उठाइन्छ ।
यो विद्यालयको वार्षिक आयव्यय अहिले साढे चार करोडको हाराहारीमा छ । त्यसमध्ये संघीय सरकारले पठाउने करीब एक करोड बराबरको तलबभत्ता र केही सानातिना अनुदान बाहेक अन्य सबै खर्च विद्यालयले आन्तरिक स्रोतबाटै धानिरहेको छ । धेरैका निम्ति पहिलेदेखि नै ‘नमूना’ रहँदै आएको जन माविलाई संघीय सरकारले आफ्नो नमूना विद्यालय कार्यक्रममा पनि छनोट गरेको छ । त्यो कार्यक्रमका निम्ति विद्यालयले रु.४५ करोड बजेटको महत्वाकांक्षी विकास योजना बनाएको छ । त्यस अन्तर्गत चालु वर्षमा ८ कोठे भवन निर्माण लगायतका कामको लागि सरकारले जम्मा डेढ करोड दिने भनेको छ । तर बजेट विनियोजनको सरकारी चाला हेर्दा जन माविले रु.४५ करोड पाउने सम्भावना भने खासै बलियो देखिंदैन ।
गुमेको साख फर्काउने संघर्ष
सात वर्ष अघिसम्म यस विद्यालयको अवस्था कहालीलाग्दो थियो । २०६२ देखि २०६९ सालसम्म विद्यालयले अभिभावक र स्थानीय समुदायबाट चरम निन्दा बेहोर्यो । जतिवेला जो पनि प्रवेश गर्ने; विद्यालय हातामा दिनहुँजसो लडाइँझ्गडा हुने गर्दथ्यो । एक पटक अपरिचित व्यक्तिले शिक्षककै अगाडि; कक्षाकोठाबाट छात्रालाई तानेर अपहरण गरेको घटना सबैभन्दा अप्रिय बन्यो । त्यसताका शिक्षकहरू समेत हुलदंगाकारी समूहको आक्रमणमा पर्थे । परिणामस्वरूप विद्यार्थी पढ्न आउनै डराउने भए । अभिभावकले आफ्ना छोराछोरीलाई निकालेर अन्यत्र सार्न थाले ।
त्यस्ता घटनाहरूको परिणामस्वरूप २०६५ सालमा विद्यार्थी संख्या घटेर ५०० भन्दा तल झ्रेको थियो । त्यसवेला मावि र निमावि तहका एक/एक वटा शिक्षक दरबन्दी पनि काटिए । त्यसपछिका दिनमा विद्यालय सुधार्ने प्रतिबद्धता सहित विद्यार्थी खोज्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रअ र शिक्षकहरू घरघरमा पुगे । विद्यालय सुध्रिने कुरामा धेरै अभिभावकले विश्वास नगर्दा घरदैलो अभियानबाट २०६६ मा पुगनपुग १५० विद्यार्थी मात्र थपिए ।
हालका प्रअ यामबहादुर श्रेष्ठले २०६९ सालमा पद सम्हाले । लज्जित हुनुपर्ने अवस्थाबाट विद्यालयलाई उकास्न विद्यालयको अशान्त वातावरण अन्त्य गर्नु अत्यावश्यक ठान्दै उनले त्यो समस्या हल गर्ने योजना व्यवस्थापन समितिमा राखे । त्यस योजनामा कुनै ठूलो सपना र अवास्तविक महत्वाकांक्षा थिएन । विद्यालय प्रशासनमा काम परेको बहाना बनाएर आउने बाहिरका अनावश्यक र अवाञ्छित व्यक्तिको प्रवेश रोक्न प्रशासनिक भवन शिक्षण भवनहरू भन्दा बाहिर पर्ने गरी नयाँ प्रवेशद्वार र पर्खाल बनाउनुपर्ने योजना थियो । नभन्दै योजना बनाएको तीन महीनामै विद्यालय परिसरमा भित्री पर्खाल, भित्री गेट र नयाँ प्रशासनिक भवन समेत तयार भए । यो सफलताले प्रअ श्रेष्ठलाई थप हौसला प्रदान गर्यो ।
त्यसवेलाको विव्यसको कार्यकाल २०६९ सालमै सकिए पनि अर्को डेढ वर्षसम्म नयाँ समिति गठन हुन सकेन । २०७१ सालमा अभिभावकहरूको भेलाबाट विधिसम्मत निर्वाचन भई नयाँ व्यवस्थापन समिति गठन भयो । गोविन्द कोइरालाको अध्यक्षतामा निर्वाचित सोही समितिले विद्यालयको भौतिक विकाससँगै शैक्षिक उन्नतिका योजना बनाएर काम थालेपछि विद्यालयको प्रतिष्ठा आर्जनले थप उँचाइ लिंदै गयो । हाल शिक्षा ऐनको संशोधित व्यवस्था अनुसार २०७३ माघमा कोइरालाकै अध्यक्षतामा पुनर्गठन भएको समिति क्रियाशील छ । त्यस क्रममा आएका जिम्मेवारी पूरा गर्न विव्यस र शिअ संघसँगै प्रशासनिक नेतृत्व लिइरहेका प्रअ निरन्तर सक्रिय छन् ।
विदाको दिन परीक्षा सञ्चालन गर्न समय दिए बापत शिक्षकले दिनको रु. ३५० का दरले भत्ताा पाउँछन्। त्यस्तै उत्तारपुस्तिका परीक्षणको प्रति पुस्तिका रु. ८ का दरले पारिश्रमिक दिने गरिएको छ।
२०७१ सालदेखि नै शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी सबैका छोराछोरीलाई निजी विद्यालयबाट छुटाएर यहीं पढाउन थालियो । विव्यसका अध्यक्ष गोविन्द कोइरालाले दुई छोराहरू प्राञ्जल र गीर्वाणलाई सुर्खेतकै एक निजी विद्यालयबाट निकालेर क्रमशः ८ र ६ कक्षामा ल्याए । प्रअ यामबहादुर श्रेष्ठका छोरा रोहन पनि त्यसरी नै पुरानो विद्यालय छाडेर यता सात कक्षामा भर्ना हुन आए । शिक्षक होमप्रसाद पौडेलले छोरा भुवनलाई त्यसरी नै कक्षा–९ मा भर्ना गराए । शिक्षक अभिभावक संघका अध्यक्ष विमल नेपालीले त छोरी प्रतिष्ठालाई आफ्नै लगानीमा संचालित र आफैं प्राचार्य रहेको सुर्खेत होराइजन एकेडेमीबाट छुटाएर कक्षा–८ देखि यहाँ सारेका थिए । उनी भन्छन्, “सरकारी लगानी पाएर पनि सामुदायिक विद्यालयहरू पछि परेको देख्दा निराश लाग्थ्यो । तर सामूहिक प्रयास, राजनीतिक हस्तक्षेपमुक्त व्यवस्थापन र शिक्षामा सुधार ल्याउने साझ सपनालाई मात्र लक्ष्य बनाएमा सामुदायिक विद्यालय बदल्न सकिंदोरहेछ ।”
केही फरक अभ्यास
यस विद्यालयमा कक्षा ६–१० का सबै विद्यार्थीलाई साँझ् दुई घण्टाको अतिरिक्त कक्षा अनिवार्य गरिएको छ । यस्तो कक्षा वर्षमा कम्तीमा तीन महीना चल्छ । त्यसरी पढेबापत विद्यार्थीले थप शुल्क तिर्नु पर्दैन । तर पढाउने शिक्षकलाई विद्यालयले अतिरिक्त सुविधा बापत प्रतिकक्षा रु.८ हजारका दरले भत्ता दिने गरेको छ ।
अतिरिक्त कक्षामा पढाइने विषय विद्यालय प्रशासन वा शिक्षकको रुचिमा नभई विद्यार्थीले ठहर्याएको आवश्यकताका आधारमा तय गरिन्छ । पढ्ने विषय निक्र्योल गर्न कक्षा–६ माथिका सबै विद्यार्थीलाई प्रत्येक महीना फारम भरेर विषयको प्राथमिकता तोक्न लगाइन्छ । त्यस्तो फारममा अभिव्यक्त रोजाइका आधारमा सर्वाधिक संख्याका विद्यार्थीको माग सम्बोधन हुने गरी हरेक महीना विषय परिवर्तन गरिन्छ । पहिले पढिरहेकै विषयलाई निरन्तरता दिनुपर्ने मत प्राप्त भएमा पुरानै विषयलाई पनि निरन्तरता दिइन्छ । विद्यार्थीले आवश्यक नठानेमा कक्षा बन्द गरिन्छ । केवल पढाउनकै लागि उनीहरूमाथि बोझ् थोपर्ने गरी कक्षा चलाइँदैन । त्यसरी पढ्ने सबै विद्यार्थीले प्रत्येक १५ दिनमा सुधारात्मक परीक्षा दिनुपर्छ । त्यस्तो परीक्षा विभिन्न कक्षालाई पालैपालो गरी प्रत्येक साताको शनिवार लिइन्छ । शुल्क तिर्नु नपर्ने त्यस किसिमको परीक्षामा सहभागी हुन सबै कक्षाका सम्पूर्ण विद्यार्थीलाई अनिवार्य गरिएको छ । अनुपस्थित विद्यार्थीले जरिवाना तिर्नुपर्छ । त्यति कडाइका साथ लिइने परीक्षाका आधारमा विद्यार्थीको स्तर निर्धारण भने गरिंदैन किनभने यो निर्णयात्मक नभई सुधारात्मक परीक्षा हो ।
परीक्षापछि विद्यार्थीका उत्तरपुस्तिका शिक्षकले राम्ररी पढ्छन् र सुधार गर्नुपर्ने विषयमा आवश्यक सुझव लेखेर एक साताभित्र सम्बन्धित विद्यार्थीलाई नै फिर्ता दिन्छन् । विदाको दिन त्यस्तो परीक्षा सञ्चालन गर्न समय दिए बापत शिक्षकले विद्यालयको आन्तरिक स्रोतबाट दिनको रु.३५० का दरले भत्ता पाउँछन् । त्यस्तै परीक्षाको उत्तरपुस्तिका जाँच्ने शिक्षकलाई प्रत्येक उत्तरपुस्तिकाको रु.८ का दरले पारिश्रमिक दिने गरिएको छ । वार्षिक परीक्षाको कापी जाँच्दा पनि शिक्षकले यसरी नै पारिश्रमिक पाउँछन् । त्यस्तो पारिश्रमिकले शिक्षकहरूलाई थप जिम्मेवार र संवेदनशील बनाउने गरेको विद्यालयको अनुभव छ । विद्यार्थीको उत्तरपुस्तिका जाँच्नुअघि शिक्षकले पनि प्रश्नपत्रको पूरै जवाफ लेख्नुपर्छ, जुन पछि विद्यार्थीलाई पढ्न दिइन्छ । विद्यार्थीले उत्तरपुस्तिका पाएपछि प्रत्येक प्रश्नको जवाफमा आफ्नो र शिक्षकको उत्तर तुलना गरेर पढ्न र कमी–कमजोरी पत्ता लगाउन पाउँछन् ।
यहाँ विद्यालय शुरू हुने वेला गेटमा बसेका विद्यार्थीले नै आचारसंहिता पालना नगरेका सहपाठीलाई रोकेर सल्लाह दिने चलन छ । संहिता पालना भए÷नभएको अनुगमन गर्न बसेका विद्यार्थी नियम तोड्नेलाई परामर्श दिन्छन्, जरिवाना गर्छन् र उल्लंघनको मात्रा गम्भीर प्रकृतिको भएमा आफ्ना साथीहरूलाई गेटबाटै फिर्ता पनि पठाउँछन् । उनीहरूलाई आफूबाट हुनसक्ने कमी–कमजोरीहरू के कस्ता हुँदारहेछन् भन्ने महसूस गराई भित्रैदेखि जिम्मेवार बनाउन त्यसरी अनुगमनमा परिचालन गर्ने गरिएको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।
विद्यालयमा कुनै शिक्षकको अनुपस्थितिमा कक्षा खाली हुँदा पढाउनका लागि गणित र विज्ञान विषयका दुई जना शिक्षक करारमा राखिएका छन् । विद्यार्थीका विभिन्न समस्याको समाधानका साथै परामर्श र खेलकुद गतिविधि संचालनका लागि छुट्टै कर्मचारीको व्यवस्था छ । यहाँ भैपरी विदा र पर्व विदा नलिने शिक्षकलाई शैक्षिक सत्रको अन्त्यमा सञ्चित विदा सरह जोडेर पारिश्रमिक दिने गरिएको छ । सबै कक्षा शिक्षकले मासिक रु.५०० भत्ता पाउँछन् ।
शिक्षकलाई प्रतिस्पर्धी बनाउन विद्यालयले हरेक वर्षको मूल्यांकनबाट आदर्श शिक्षक घोषणा गरी रु.२२ हजार २२२ नगद पुरस्कार सहित सम्मान गर्ने परम्परा बसालेको छ । यस वर्षदेखि निश्चित मापदण्डका आधारमा आदर्श विद्यार्थी र आदर्श अभिभावक पुरस्कार पनि दिइने विद्यालयका प्रअ श्रेष्ठले बताए ।
आर्थिक क्रियाकलापलाई विवादरहित र पारदर्शी बनाउन विद्यालयको सम्पूर्ण आम्दानी सीधै बैंकमा जम्मा गर्ने प्रणाली छ । विद्यार्थी वा अभिभावकले विद्यालयलाई कुनै पनि प्रयोजनको शुल्क बुझाउँदा बैंकमा रकम जम्मा गरेको भौचर पेश गरेपछि मात्र आम्दानी रसिद काटेर सेवा दिने गरिएको छ । बैंकिङ सेवाका लागि टाढा जानु नपरोस् भनी विद्यालयको प्रशासनिक भवनमै एउटा निजी बैंकलाई विस्तारित सेवा काउन्टर संचालन गर्न दिइएको छ ।
विद्यालयका प्रत्येक कक्षाकोठामा विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता, फोहोरको डष्टबिन, भित्तेघडी, शैक्षिक क्यालेन्डर र डिस्पेन्सर सहित पिउनेपानीको जार राखिएको छ । प्रत्येक कोठामा स्मार्ट बोर्डबाट पढाउने कामको थालनी तल्लो तहका कक्षाबाट गरिएको छ । विद्यार्थीलाई फरक–फरक स्तरमा वर्गीकरण गरिएको अनुभूति नहोस् भनेर कक्षाका सेक्सनको नाम ए, बी, सी जस्ता वर्ग जनाउने अक्षरको सट्टा लालीगुराँस, मखमली, सयपत्री जस्ता फूलबाट राखिएको छ । यहाँ पढ्ने छात्राहरूलाई रजस्वला हुँदा चाहिने स्यानिटरी प्याड २०६९ सालदेखि नै निःशुल्क रूपमा उपलब्ध हुँदै आएको छ । यसका लागि सुर्खेत नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले सहयोग गर्दै आएका छन् । विद्यालयले वेलावेलामा कार्यशाला आयोजना गरी छात्राहरूलाई कपडाको पुनः प्रयोग हुने स्यानिटरी प्याड बनाउन सिकाउने पनि गरेको छ ।
विद्यार्थी र अभिभावकलाई सम्पर्क गरी उनीहरूको शैक्षिक गतिविधिबारे संवाद गर्न विद्यालयमा छुट्टै ‘हेल्प डेस्क’ को व्यवस्था छ । त्यसबाहेक, स्थानीय समुदायलाई आवश्यक पर्ने जुनसुकै जानकारी उपलब्ध गराउन सामुदायिक सूचना केन्द्र पनि सञ्चालन गरिएको छ । सूचना केन्द्रमा सबै खालका पत्रपत्रिका पढ्न पाइन्छ । आफ्नो गाउँटोलमा कुनै सरकारी वा गैरसरकारी संस्थाले दिने सेवा र त्यसका लागि पूरा गर्नुपर्ने प्रक्रिया जस्ता विषयमा जो कसैले गएर सोधेमा पनि सोधखोज गरी सूचना प्रवाह गर्नु केन्द्रको उद्देश्य रहेको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले बताए ।
यहाँ पाठ्यक्रमले समावेश गरेका विषयमा कम ग्रेड ल्याएका विद्यार्थीलाई लक्षित गरी १० कक्षा उत्तीर्ण भएपछि पढ्न पाइने १८ महिने सिभिल सवओभरसियर कार्यक्रम पनि संचालन गरिएको छ । ४० विद्यार्थीको सिट रहेको यस कार्यक्रममा हाल २८ जना अध्ययनरत छन् । ग्रेडका आधारमा गरिने मूल्यांकनमा सबै विद्यार्थी अब्बल नदेखिने भएकाले प्राविधिक शिक्षा दिई उनीहरूलाई समेत आत्मनिर्भर र सक्षम बनाउन यो कार्यक्रम उपयोगी भएको प्रअ श्रेष्ठ बताउँछन् ।
भवन होइन, भविष्य निर्माणलाई प्राथमिकता दिएका छौं
सामुदायिक विद्यालय भए पनि पहिले यस विद्यालयसँग समुदायको सम्बन्ध टुटेको थियो । वरपरकै अभिभावकले पनि आफ्ना बालबालिकालाई टाढाका निजी विद्यालयमा लगेर पढाउन थालेका थिए । विद्यालय प्रशासन र व्यवस्थापन समिति भौतिक विकासमा क्रियाशील नै थिए । तर विद्यार्थीको सिकाइ उपलब्धि बढाउने काममा योजना बनाएर लगानी गर्न सकिरहेको अवस्था थिएन । हामीले चाहिं स्थानीय समुदायसँगको सद्भाव वृद्धि र विद्यार्थीको सिकाइ स्तर सुधारको कामलाई सँगसँगै अघि बढायौं । सद्भाव वृद्धिका लागि २०७१ भदौमा हामीले पहिले यही स्कूल पढेर देश/विदेशका विभिन्न क्षेत्रमा पद र प्रतिष्ठा सहित परिचय बनाइसकेका ४०० भन्दा बढी व्यक्तिलाई समेटेर सल्लाहकार परिषद् बनायौं । त्यसभित्रका व्यक्तिहरूलाई पनि वरिष्ठ सल्लाहकार, सल्लाहकार र परामर्शदाता गरी तीन वटा जिम्मेवारी समूहमा मनोनीत गरियो । उहाँहरूको व्यक्तित्वलाई विद्यालयको सद्भावदूतका रूपमा उपयोग गर्नु समितिको उद्देश्य थियो । हामीले राखेको अपेक्षा अनुसार नै सल्लाहकार परिषद्ले विद्यालयको सम्मानलाई माथि उठाउन उल्लेखनीय रूपले सघायो ।
विद्यालयको शैक्षिक उन्नति हुन नसक्नुका कारण पहिल्याउन मसिनोसँग आत्मसमीक्षा गर्यौं । विद्यार्थीको सिकाइ उपलब्धि बढाउने काममा ध्यान नपुग्दा पछि परेको निष्कर्षमा हामी पुग्यौं । विद्यालय व्यवस्थापनको उपयुक्त विधि सिक्न हामीले फरक प्रकृतिले चलेका देशका विभिन्न पाँच विद्यालयको अवलोकन भ्रमण गरेका थियौं । ती विद्यालयहरूमा दरबार हाईस्कूल काठमाडौं, वागेश्वरी मावि भक्तपुर, रातो बंगला स्कूल ललितपुर, अमरसिंह मावि पोखरा र ६० प्रतिशत भन्दा बढी थारू विद्यार्थी पढाएर ख्यातिप्राप्त नतिजा ल्याइरहेको बंगलामुखी मावि; बर्दिया थिए । भ्रमणबाट पाएका जानकारीको आधारमा विभिन्न सूचक बनाएर तिनको विश्लेषण गरी हाम्रो विद्यालयलाई उपयुक्त हुने सुधारको योजना बनाएर कार्यान्वयनमा लागिपर्यौं ।
हाम्रो प्रयत्न भवन भन्दा विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित छ। त्यसकारण हामीले कक्षाकोठा होइन, त्यसभित्र बसेर भविष्य निर्माण गर्दै गरेका बालबालिकाको शैक्षिक जग मजबूत बनाउने काममा विद्यालयको स्रोत लगानी गरिरहेका छौं।
शैक्षिक गुणस्तर सुधारका लागि वर्षमा रु.१५ लाखसम्म खर्च गरिरहेका छौं । त्यस अन्तर्गतका कतिपय कामहरू बाहिरबाट हेर्दा उपलब्धि केही नदेखिने तर नगरी नहुने खालका थिए । त्यस अन्तर्गत विद्यालयको शान्तिसुरक्षा मजबूत बनाई विद्यार्थीको अनुशासनमा सुधार ल्यायौं । उनीहरूको सिकाइ स्तर बढाउन अतिरिक्त कक्षा र विशेष हेरचाहको थालनी गर्यौं । कर्तव्य, जिम्मेवारी र प्रतिफलको समेत स्पष्ट किटान गरी शिक्षकहरूलाई पढाउने काममा प्रोत्साहन मिल्ने वातावरण बनायौं । अभिभावकहरूमा पनि सिकाइको प्रतिफल सुनिश्चित गरिदिएर आफ्ना बालबालिकाको शिक्षामा लगानी गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्यौं । उहाँहरूको विश्वास जित्न विद्यालयका शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीहरूका छोराछोरीलाई निजी विद्यालयबाट धमाधम यहाँ ल्यायौं । सामूहिक रूपमा हामीले गरेका यी प्रयत्नहरूकै कारण विद्यालयले क्रमशः काँचुली फेर्दै गयो ।
अहिले बालबच्चाको शैक्षिक अवस्था, आफ्ना समस्या र विद्यालयसँगका अपेक्षाबारे अभिभावकसँग नियमित अन्तरक्रिया गर्छौं । बेलाबेला विद्यार्थीका घरदैलोमै जाने र उनीहरूले केकस्तो पढिरहेका छन् बुझने गर्छौं । हाम्रो प्रयत्न भवन भन्दा विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित छ । विद्यालयलाई खाँचो भएको कक्षा कोठाहरू थपेर प्रगति देखाउनतिर लागेको भए आर्थिक स्रोत परिचालनका कारण निष्ठा जोगाउन हामीलाई नै गाह्रो हुन सक्थ्यो र आलोचकहरूले आर्थिक प्रलोभनमा समितिको नेतृत्व सम्हाल्न गएको भनेर विवादमा ल्याउन सक्थे । त्यसकारण हामीले कक्षाकोठा होइन, त्यसभित्र बसेर सुदूर भविष्य निर्माण गर्दै गरेका बालबालिकाको शैक्षिक जग मजबूत बनाउने काममा आफ्नो सोच र समय तथा विद्यालयको स्रोत लगानी गरिरहेका छौं ।