क्त्वा र तुमुन् प्रत्यय लागेर बनेका पदहरू

अघिल्ला १५ वटा पाठमा प्रातिपदिकका सातै विभक्तिको र क्रियापदका विभिन्न रूपहरूको उदाहरणसहित परिचय दिइयो । यो यस प्रारम्भिक शृङ्खलाको अन्तिम पाठ हो । यस पाठमा सरल वाक्य बनाउन अत्यावश्यक पर्ने क्त्वा र तुमुन् प्रत्ययको जानकारी दिइँदै छ ।

प्रत्ययहरू मुख्य रूपमा दुई प्रकारका हुन्छन्— कृत् र तद्धित । धातुबाट लाग्ने प्रत्ययलाई कृत् र प्रातिपदिकबाट लाग्ने प्रत्ययलाई तद्धित भन्दछन् । यहाँ धातुबाट लाग्ने क्त्वा र तुमुन् प्रत्ययको तथा ती प्रत्यय लागेर बनेका कृदन्त पदहरूको उदाहरणसहित परिचय दिइन्छ ।

क्त्वा प्रत्यय
एउटै कर्ता भएका पूर्वकालिक क्रियाबाट क्त्वा प्रत्यय लाग्छ । अर्थात् कसैले पहिला एउटा क्रिया गरेर अर्को क्रिया गर्छ भने पहिलाको क्रिया बुझउने धातुबाट क्त्वा प्रत्यय लाग्छ । जस्तै— पिता नगरम् गत्वा पुस्तकानि क्रीत्वा गृहम् आगमत् (बा शहर गएर पुस्तकहरू किनेर घर आउनुभयो) । यहाँ तीन वाक्य जोडेर एउटै बनाइएको छ— पिता नगरम् अगमत् (बा शहर जानुभयोे) । तत्र पिता पुस्तकानि अक्रैषीत् (त्यहाँ बाले पुस्तकरू किन्नुभयो) । ततः पिता गृहम् आगमत् (त्यसपछि बा घर आउनुभयो) । कुनै धातुबाट क्त्वा प्रत्यय लाग्दा बीचमा इट् (इ) आगम हुन्छ भने कुनै धातुबाट क्त्वा प्रत्यय लाग्दा बीचमा इट् आगम हुँदैन । खादित्वा (खाद्+इ+क्त्वा, खाएर), खेलित्वा (खेल्+इ+क्त्वा, खेलेर), पठित्वा (पठ्+इ+क्त्वा, पढेर), मिलित्वा (मिल्+इ+क्त्वा, मिलेर) इत्यादिमा इट् आगम हुन्छ । गत्वा (गम्+क्त्वा, गएर), कृत्वा (कृ+क्त्वा, गरेर), ज्ञात्वा (ज्ञा+क्त्वा, जानेर बुझेर) इत्यादिमा इट् आगम हुँदैन । क्त्वा प्रत्ययमा ककारको लोप भएर त्वा मात्र बाँकी रहन्छ । क्त्वा–प्रत्ययान्त पदहरू अव्यय हुन् । क्त्वा–प्रत्ययान्त पदहरूको वाक्यमा प्रयोग—
विद्यार्थी भक्तम् खादित्वा विद्यालयम् गच्छति ।
(विद्यार्थी भात खाएर विद्यालय जान्छ ।)

छात्राः विद्यालयम् गत्वा पठन्ति । (विद्यार्थी विद्यालय गएर पढ्छन् ।)
बालिकाः खेलित्वा गृहम् अगमन् । (बालिकाहरू खेलेर घर गए ।)
त्वम् पठित्वा विद्वान् भविष्यसि । (तिमी पढेर विद्वान् हुनेछौ ।)
यूयम् स्नात्वा सन्ध्योपासनम् कुरुत ।
(तिमीहरू नुहाएर सन्ध्यावन्दन गर ।)
अहम् ज्ञात्वा पठामि । (म बुझेर पढ्छु ।)
वयम् कार्यम् कृत्वा गृहम् गमिष्यामः ।
(हामीहरू काम गरेर घर जानेछौं ।)

ल्यप् आदेश
धातुमा उपसर्ग (प्र परा अप सम् अनु अव निस् निर् दुस् दुर् वि आङ् नि अधि अपि अति सु उत् अभि प्रति परि उप) लागेका अवस्थामा चाहिं क्त्वा प्रत्यय भएपछि त्यसका ठाउँमा ल्यप् आदेश हुन्छ । प्रयोगका अवस्थामा ल्यप्मा रहेका लकार र पकारको लोप हुन्छ र य मात्र बाँकी रहन्छ । क्त्वा प्रत्यय र ल्यप् आदेश भएका केही पदहरू हेरौं— भूत्वा (भएर), अनुभूय (अनुभव गरेर), जित्वा विजित्य (जितेर), गत्वा (गएर), आगम्य (आएर), नीत्वा (लगेर), आनीय (ल्याएर), नत्वा प्रणम्य (नमस्कार गरेर), क्रीत्वा (किनेर), विक्रीय (बेचेर) इत्यादि । ल्यप् आदेश भएका पदहरूको वाक्यमा प्रयोग—
मेधावी छात्रः सर्वान् विजित्य प्रथमः भवति ।
(प्रतिभाशाली विद्यार्थी सबैलाई जितेर प्रथम हुन्छ ।)
त्वम् गृहम् आगम्य पठ । (तिमी घर आएर पढ ।)
वयम् महानसे पीठकेषु उपविश्य भक्तम् खादामः ।
(हामी भान्सामा पिर्काहरूमा बसेर भात खान्छौं ।)

तुमुन् प्रत्यय
एउटा क्रिया अर्को क्रियाका निम्ति गरिने भएमा अर्को क्रियावाचक धातुबाट तुमुन् प्रत्यय हुन्छ । जस्तै— ऋषयः स्नातुम् नदीम् गच्छन्ति (ऋषिहरू नुहाउन नदी जान्छन्) । यहाँ जाने क्रिया नुहाउने क्रियाका निम्ति भएको छ । त्यसैले जाने क्रियाभन्दा अर्को क्रियावाचक स्ना (नुहाउ) धातुबाट तुमुन् प्रत्यय भएको हो । यहाँ दुई वाक्यलाई जोडेर एउटै वाक्य बनाइएको छ— ऋषयः नदीम् गच्छन्ति (ऋषिहरू नदी जान्छन्) । तत्र ऋषयः स्नान्ति (त्यहाँ ऋषिहरू नुहाउँछन्) । कुनै धातुबाट तुमुन् प्रत्यय हुँदा बीचमा इट् (इ) आगम हुन्छ भने कुनै धातुबाट तुमुन् प्रत्यय हुँदा बीचमा इट् आगम हुँदैन । खादितुम् (खाद्+इ+तुमुन्, खान), खेलितुम् (खेल्+इ+तुमुन्, खेल्न) पठितुम् (पठ्+इ+तुमुुन्, पढ्न) इत्यादिमा इट् आगम हुन्छ । गन्तुम् (गम्+तुमुन्, जान), कर्तुम् (कृ+तुमुन्, गर्न), ज्ञातुम् (ज्ञा+तुमुन्, जान्न बुझन) इत्यादिमा इट् आगम हुँदैन । तुमुन् प्रत्ययमा उन्–को लोप भएर तुम् मात्र बाँकी रहन्छ । तुमुन्–प्रत्ययान्त पदहरू अव्यय हुन् । तुमुन्–प्रत्ययान्त पदहरूको वाक्यमा प्रयोग—
बालकः भक्तम् खादितुम् गृहम् आगच्छति ।
(बालक भात खान घर आउँछ ।)
छात्राः पठितुम् विद्यालयम् गमिष्यन्ति ।
(विद्यार्थीहरू पढ्न विद्यालय जानेछन् ।)
त्वम् विद्वान् भवितुम् पठ । (तिमी विद्वान् हुन पढ ।)
युवाम् मया सह खेलितुुम् आगच्छतम् ।
(तिमीहरू दुई जना मसित खेल्न आओ ।)
अहम् सर्वान् विषयान् ज्ञातुम् न शक्नोमि ।
(म सबै विषय जान्न–बुझन सक्दिन ।)
वयम् कार्यम् कर्तुम् नगरम् गच्छामः ।
(हामीहरू काम गर्न नगर जान्छौं ।)

(शृंखला समाप्त)

Email : amoda67@hotmail.com; Twitter : @amoda67

 

 

commercial commercial commercial commercial