सामान्य तथा अनद्यतन भविष्यत्काल

अघिल्ला पाठमा भूतकालका तीनथरी भेदको उदाहरणसहित परिचय दिइयो । यस पाठमा भविष्यत्कालको परिचय दिइँदै छ । संस्कृतमा भविष्यत्कालका प्रयोगलाई दुई प्रकारमा विभाजित गरिएको छ— सामान्य भविष्यत्काल र अनद्यतन भविष्यत्काल ।

सामान्य भविष्यत्काल
संस्कृतमा सामान्य भविष्यत्काल बुझाउन लृट् लकारको क्रियापदको प्रयोग हुन्छ । जस्तै— भविष्यति, करिष्यति, खादिष्यति, खेलिष्यति, गमिष्यति इत्यादि । नेपालीमा चाहिं हुनेछ/हुन्छ/होला, गर्नेछ/गर्छ/गर्ला, खानेछ/खान्छ/खाला, खेल्नेछ/खेल्छ/खेल्ला, जानेछ/जान्छ/जाला इत्यादि क्रियापद भविष्यत्काल बुझाउन प्रयुक्त हुन्छन् । लृट् लकारका रूपहरू—

परस्मैपदी भू सत्तायाम् (भू, हुनु) धातुका रूप—

                       एकवचन      द्विवचन                बहुवचन
प्रथम पुरुष—    भविष्यति    भविष्यतः             भविष्यन्ति
मध्यम पुरुष—    भविष्यसि    भविष्यथः           भविष्यथ
उत्तम पुरुष—    भविष्यामि     भविष्यावः         भविष्यामः

क्रृ–धातुका परस्मैपदमा रूपहरू— करिष्यति करिष्यतः करिष्यन्ति, करिष्यसि करिष्यथः करिष्यथ, करिष्यामि करिष्यावः करिष्यामः । परस्मैपदी गम्–धातुका रूपहरू— गमिष्यति गमिष्यतः गमिष्यन्ति, गमिष्यसि गमिष्यथः गमिष्यथ, गमिष्यामि गमिष्यावः गमिष्यामः ।

लृट् लकारका रूपहरू कस्ता हुन्छन् भन्ने जानेपछि वाक्यमा सामान्य भविष्यत्कालका क्रियापदहरूको प्रयोग गर्न सकिन्छ । केही प्रतिनिधि धातुका रूपहरूको अभ्यास गरिसकेपछि अरू धातुका रूपहरू पनि जान्न सजिलो हुन्छ । वाक्यमा सामान्य भविष्यत्कालका क्रियापदको प्रयोग—

अद्य विद्यालये विशेषः कार्यक्रमः भविष्यति ।
(आज विद्यालयमा विशेष कार्यक्रम हुनेछ ।)
अद्य भ्राता पश्चात् विद्यालयम् गमिष्यति ।
(आज भाइ पछि विद्यालय जानेछ ।)
अद्य माता च पिता च नगरम् गमिष्यतः ।
(आज आमा र बा शहर जानुहोला ।)
इदम् कार्यम् कर्मकराः करिष्यन्ति । (यो काम कामदारले गर्लान् ।)
अद्य त्वम् कुत्र गमिष्यसि ? (आज तिमी कहाँ जान्छौ ?)
युवाम् कदा ग्रामम् गमिष्यथः ?
(तिमी दुई जना कहिले गाउँ जान्छौ ?)
अद्य अहम् विपणीम् गमिष्यामि । (आज म बजार जान्छु ।)
आवाम् अद्य एव सायङ्काले ग्रामम् गमिष्यावः ।
(हामी दुई जना आज नै साँझ् गाउँ जान्छौं ।)
अद्य (आज), पश्चात् (पछि), च (र, पनि), कुत्र (कहाँ), कदा (कहिले) एव (नै) इत्यादि पद अव्यय हुन् । अव्ययको रूप बदलिंदैन ।

अनद्यतन भविष्यत्काल
संस्कृतमा क्रियापदका अनद्यतन भूतकाल र अनद्यतन भविष्यत्काल हुन्छन् । अद्यको अर्थ आज हो, अद्यतन भनेको आज हुने भनेको हो । आज नहुनेलाई अनद्यतन (न+अद्य+तन) भन्दछन् । आज नभएर भोलि वा त्योभन्दा पनि पछि हुने कुरालाई समय तोकेर वा नतोकीकन पनि भन्दा संस्कृतमा अनद्यतन भविष्यत्कालको प्रयोग गरिन्छ । अनद्यतन भविष्यत्काल बुझाउन पाणिनीय व्याकरणअनुसार लुट् लकारको प्रयोग हुन्छ । सामान्य भविष्यत्काल वा अनद्यतन भविष्यत्काल बुझउन नेपालीमा उस्तै क्रियापद हुनेछ/हुन्छ/होला, गर्नेछ/गर्छ/गर्ला इत्यादिको प्रयोग हुन्छ भने संस्कृतमा अनद्यतन भविष्यत्काललाई बुझाउन सामान्य भविष्यत्कालका क्रियापदभन्दा फरक भविता, कर्ता, खादिता, खेलिता, गन्ता इत्यादि लुट् लकारका क्रियापदको प्रयोग हुन्छ । अर्थात् आज वा भोलि–पर्सि हुने क्रिया बुझाउन नेपालीमा उस्तै क्रियापद प्रयुक्त हुन्छन् भने संस्कृतमा आजै हुने र भोलि–पर्सि हुने भविष्यत्कालको क्रिया बुझाउन अलग–अलग क्रियापदको प्रयोग गर्नुपर्ने नियम छ । लुट् लकारका क्रियापदका रूपहरू यस्ता हुन्छन्—
परस्मैपदी भू सत्तायाम् (भू, हुनु) धातुका रूप—

                        एकवचन             द्विवचन         बहुवचन
प्रथम पुरुष—       भविता               भवितारौ        भवितारः
मध्यम पुरुष—       भवितासि          भवितास्थः      भवितास्थ
उत्तम पुरुष—         भवितास्मि         भवितास्वः     भवितास्मः ।

क्रृ–धातुका परस्मैपदमा रूपहरू— कर्ता कर्तारौ कर्तारः, कर्तासि कर्तास्थः कर्तास्थ, कर्तास्मि कर्तास्वः कर्तास्मः । परस्मैपदी गम्–धातुका रूपहरू— गन्ता गन्तारौ गन्तारः, गन्तासि गन्तास्थः गन्तास्थ, गन्तास्मि गन्तास्वः गन्तास्मः ।

अनद्यतन भविष्यत्कालका क्रियापदको वाक्यमा प्रयोग—
अनुजः श्वः विद्यालये न भविता । (भाइ भोलि विद्यालयमा हुनेछैन ।)
अनुजे श्वः विद्यालयम् न गन्तारौ ।
(दुई बहिनी भोलि विद्यालय जाँदैनन् ।)
कर्मकराः श्वः तव कर्म कर्तारः ।
(कामदारले भोलि तिम्रो काम गर्लान् ।)
श्वः त्वम् किम् कर्तासि ? (भोलि तिमी के गर्छौ ?)
युवाम् श्वः कुत्र भवितास्थः ?
(तिमीहरू दुई जना भोलि कता हुन्छौ ?)
परश्वः यूयम् कुत्र गन्तास्थ ? (पर्सि तिमीहरू कहाँ जान्छौ ?)
अहम् भ्रमणार्थम् श्वः पोखरानगरम् गन्तास्मि ?
(म घुम्न भोलि पोखरा जान्छु ।)
आवाम् श्वः विद्यालयस्य प्राङ्गणे भवितास्वः ।
(हामी दुई जना भोलि विद्यालयको प्राङ्गणमा हुनेछौं ।)
परश्वः वयम् विपणीम् गन्तास्मः । (पर्सि हामी बजार जान्छौं ।)

commercial commercial commercial commercial