हाम्रो विषयगत मोह र एकीकृत पाठ्यक्रमको भविष्य

हामीलाई आफूले पढेको विधा वा विषय औधी मन पर्दछ। कतिपय अवस्थामा विद्यार्थीले पनि शिक्षकको नामले भन्दा गणित शिक्षक, नेपाली शिक्षक भनेर बोलाएको सुनिन्छ। यस्तो परिवेशमा एकीकृत पाठ्यक्रमको मर्म अनुसार शिक्षण सिकाइ गराउने कुरा सहज छैन।

हालसालै एउटा शिक्षक तालीममा प्रशिक्षक भएर पुगेको थिएँ । एक जना शिक्षकले सोध्नुभयो— ‘सर, पाठ्यक्रम विकास केन्द्रले कक्षा १–३ को लागि एकीकृत पाठ्यक्रम निर्माण गर्‍यो रे ! के छ त्यो पाठ्यक्रममा ? तपाईंलाई थाहा छ कि ?’ मैले बोल्न नपाउँदै अर्को शिक्षकले थप्नुभयो, ‘उही क्यास (निरन्तर विद्यार्थी मूल्याङ्कन) जस्तै त होला नि ! माथिबाट जे–जस्तो बनाए पनि कार्यान्वयन हुने त्यस्तै होला !’ फेरि अर्का शिक्षकले थप्नुभयो— ‘शिक्षा क्षेत्रका विज्ञहरूले मिलेर बनाएको चिज राम्रै त होला । तर जबसम्म शिक्षकहरूले त्यस्ता कुरालाई आत्मसात् गर्दैनन् वा गराउन सकिंदैन, माथिबाट जति परिवर्तन भए पनि केही होला जस्तो लाग्दैन मलाई त ।’ केही समय यसरी नै आ–आफ्ना मतहरू शिक्षक साथीहरूले राख्नुभयो । तालीमको विषयवस्तु अरू नै भएकाले मैले केही दिनमा पाठ्यक्रम सार्वजनिक भइहाल्छ, एक पटक पढ्नुहोला अनि छलफल गरौंला भनी आफ्नो विषयवस्तुमा प्रवेश गरें ।

त्यसदिन अधिकांश शिक्षकहरूले कार्यान्वयन पक्षमा ठूलो शंका गरिरहेका थिए । माथि एक जना शिक्षकले बताए झैं निरन्तर विद्यार्थी मूल्याङ्कन आफैंमा सही र वैज्ञानिक भए पनि कार्यान्वयन पक्ष फितलो भएकाले सोचे अनुरूप लागू हुन नसकेको हामी सबैले देखे–भोगेकै हो ।

पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ ले निर्दिष्ट गरेका सिद्धान्त तथा संरचनामा आधारित भई हाल सालै ‘आधारभूत तह कक्षा १–३) को पाठ्यक्रम २०७५’ परीक्षणको लागि सार्वजनिक गरेको छ । यो आलेख बहुविषयक ढाँचाको एकीकृत पाठ्यक्रम र यससँगै आएका अवसर एवं चुनौतीको बारेमा केन्द्रित रहनेछ ।

सर्वप्रथम त ‘पाठ्यक्रम सजाएर राखिने फर्निचर जस्तो वस्तु होइन, यो त बिरुवा जस्तो हो’ भन्ने गरिन्छ । यसको अर्थ पाठ्यक्रम गतिशील हुन्छ, समाजको परिवर्तन सँगै यसलाई अद्यावधिक गरिनुपर्दछ भन्ने लाग्छ । यसरी हेर्दा पाठ्यक्रम परिवर्तन हुनु या गरिनुलाई सामान्य प्रक्रियाको रूपमा लिन सकिन्छ । अर्को पक्षबाट नियाल्दा खास समयमा पाठ्यक्रमलाई फरक मूल्यमान्यता र आधारमा टेकी व्यापक हेरफेर गर्ने प्रयास गरिन्छ । अहिले प्रकाशित भएको कक्षा १–३ को एकीकृत पाठ्यक्रमले दोस्रो धार समात्न खोजेको देखिन्छ ।

अब विषयकेन्द्रित पाठ्यक्रम र एकीकृत पाठ्यक्रम के कस्ता मूल्य र मान्यतामा निर्मित भएका हुन्छन् भनी केही छलफल गरौं ।

विषयगत पाठ्यक्रम र एकीकृत पाठ्यक्रम

विद्यार्थीले सिक्नुपर्ने ज्ञान र सीपलाई विभिन्न विषय— (जस्तै नेपाली, गणित, सामाजिक) मा बाँडी विषयगत शिक्षकद्वारा शिक्षण गर्नको लागि बनाइएको पाठ्यक्रमलाई नै विषयगत पाठ्यक्रमको रूपमा बुझ्न्छि । यो धेरै पुरानो र व्यापक प्रचलनमा रहेको पाठ्यक्रमको ढाँचा हो । यसमा सम्बन्धित विषयमा विकास भएका ज्ञान र सीपहरूलाई बढी प्राथमिकतामा राखी शिक्षण गराइन्छ । समाज र शिक्षालाई हेर्ने दृष्टिकोणसँगै पाठ्यक्रमलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आयो । विषयगत पाठ्यक्रमका धेरै सकारात्मक पक्ष हुँदाहुँदै पनि यसले आफ्नै विषयभित्रका ज्ञान र सीपलाई बढी जोड दिने हुँदा सन्दर्भमा आधारित शिक्षण कम भएको भनी आलोचना हुन थाल्यो । पछिल्ला केही दशक यता सन्दर्भमा आधारित र समस्या केन्द्रित शिक्षण सिकाइ नै आजको आवश्यकता हो, जसका लागि अन्तरविषयक र बहुविषयक ज्ञान र सीप जरूरी हुन्छ भन्ने कुरा बलियो रूपमा स्थापित भयो । उदाहरणको लागि एक जना विद्यार्थीले बजारमा गएर केही सामानहरू किनेर ल्याउनु पर्दा उसलाई कुनै एउटा मात्र विषयसँग सम्बन्धित ज्ञान तथा सीप मात्र भएर पुग्दैन । यसको लागि भाषिक सीप (सुनाइ र बोलाइ) र गणितीय सीप (सिक्का तथा नोट चिन्न, जोड तथा घटाउ गर्न) का साथै अन्य व्यावहारिक सीपहरू (जस्तै संचार, सहकार्य, समय व्यवस्थापन) आवश्यक पर्दछन् । यसका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको विषयगत पाठ्यक्रम त्यति उपयोगी हुँदैन ।

बालबालिकाको सर्वाङ्गीण विकासको अवधारणालाई मध्यनजर गरी सन्दर्भमा आधारित शिक्षण सिकाइ गराउन विभिन्न विषयगत र व्यवहारकुशल ज्ञान र सीपलाई अन्तरसम्बन्धित गराई निर्माण गरिने पाठ्यक्रमलाई नै एकीकृत पाठ्यक्रमको रूपमा लिइन्छ । एकीकृत पाठ्यक्रमका विभिन्न ढाँचाहरू हुन्छन् । विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग, कला र गणितका कतिपय पक्षहरूलाई संयोजन गरी स्टिम (STEAM) पाठ्यक्रमको निर्माण गर्ने गरेको पनि पाइन्छ ।

कक्षा १–३ को एकीकृत पाठ्यक्रममा के छ ?

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७५ ले आधारभूत शिक्षा (कक्षा १–३) को एकीकृत पाठ्यक्रम क्षेत्रगत उपागम (Thematic approach) मा आधारित हुने स्पष्ट पारेको छ । त्यसमा फरक विषय क्षेत्रका सिकाइ उपलब्धिहरू समेट्ने गरी एकीकृत विषय क्षेत्रहरू रहने र एकीकृत विषय क्षेत्रहरूले समेट्न नसकेका सिकाइ उपलब्धिहरूलाई समेट्न विषयगत सिकाइ क्षेत्रहरू समेत रहन सक्ने व्यवस्था गरिएको छ । कक्षा १–३ को पाठ्यक्रम संरचनामा विभिन्न ६ वटा ‘विषय सम्बन्धी क्रियाकलाप’ उल्लेख गरी प्रत्येक कक्षालाई वार्षिक ८३२ कार्यघण्टा तोकिएको छ । त्यसमध्ये १६० वार्षिक कार्यघण्टा मातृ भाषिक सीप र स्थानीय विषयवस्तु सम्बन्धी क्रियाकलापलाई छुट्याइएको छ । परम्परागत विषयकै झ्ल्को दिने गरी पाठ्यक्रमको संरचना प्रस्तुत गरे तापनि विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, चारित्रिक विकास तथा सिर्जनात्मक कला सम्बन्धी क्रियाकलापलाई मेरो सेरोफेरो विषय क्षेत्रमा समावेश गरी अन्तरविषयक ढाँचाको पाठ्यक्रमको रूपमा प्रस्तुत गरिएको छ । नेपाली भाषा, अंग्रेजी भाषा, गणित र मेरो सेरोफेरो गरी जम्मा चार वटा विषय क्षेत्रहरू निर्माण गरी यसलाई बहुविषयक ढाँचाको एकीकृत पाठ्यक्रमको रूप दिन खोजिएको छ । यसरी हेर्दा यो पाठ्यक्रमलाई अन्तरविषयक तथा बहुविषयक अवधारणा (थिम) मा आधारित रहेर निर्माण गरिएको एकीकृत पाठ्यक्रम भन्न सकिन्छ ।

माथिका चार वटै विषय क्षेत्रका विषयवस्तुहरूलाई जम्मा १९ वटा थिम अन्तर्गत समावेश गरिएको छ । जस अन्तर्गत हाम्रो सेरोफेरो का विषयवस्तुलाई १० वटा थिम, गणितका विषयवस्तुलाई १० वटा थिम, नेपालीका विषयवस्तुलाई ११ वटा थिम र अंग्रेजीका विषयवस्तुलाई १० वटा थिममा विभाजन गरिएको छ ।

यस पाठ्यक्रमको अर्को महत्वपूर्ण पाटो भनेको पाँच वटा मुख्य व्यवहारकुशल सीप— सोचाइ सीप, वैयक्तिक सीप, अन्तरवैयक्तिक सीप, सूचनाप्रविधि तथा बहुसाक्षरता सीप र नागरिक सीपको पहिचान र व्याख्या गरी प्रत्येक कक्षा र विषय क्षेत्रका थिममा एकीकृत गरिनु हो । विषयगत सिकाइ उपलब्धिहरू सँगै यी व्यवहारकुशल सीप पनि विद्यार्थीमा विकास हुँदा दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधान गर्न उनीहरू सक्षम हुन्छन् । विद्यार्थीमा विभिन्न विषयगत ज्ञान र सीप सँगै व्यवहारकुशल सीपलाई पनि राम्ररी विकास गर्न सकेको अवस्थामा उनीहरूको सर्वाङ्गीण विकासमा ठूलो टेवा पुग्ने कुरामा सुनिश्चित हुन सकिन्छ । विगतमा गरिएका कतिपय शैक्षिक सुधारका प्रयासहरू कक्षाकोठासम्म सही तवरले नपुगेको हुँदा यस एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा पनि शंका गर्ने प्रशस्त ठाउँ भने छन् ।

एकीकृत पाठ्यक्रमका चुनौती

पाठ्यक्रम सजाउनका लागि निर्माण गरिएको लिखित दस्तावेज मात्र होइन । यो कार्यान्वयनका लागि बनाइएको गतिशील दस्तावेज हो । पाठ्यक्रमको पूर्ण सफलता यसको कार्यान्वयन पश्चात मात्र हुन्छ । यसको लागि हाम्रो शैक्षिक अनुभव, शिक्षण सिकाइको अभ्यास, शिक्षक तयारी, समकालीन समाज, विद्यार्थीको रुचि र प्राथमिकता लगायतका पक्षहरूलाई विश्लेषण गर्नु जरूरी हुन्छ । सबैभन्दा ठूलो चुनौती भनेको हामीभित्रै गढेर रहेको विषयगत मोहलाई चिर्नु नै हो । हामी सबै विषयगत पाठ्यक्रमको विरासतमा हुक्र्यौं, पढ्यौं र आ–आफ्नो पेशा व्यवसायमा छौं । हामीलाई आफूले पढेको विधा वा विषय औधी मन पर्दछ । कतिपय अवस्थामा विद्यार्थीले पनि शिक्षकको नामले भन्दा गणित शिक्षक, नेपाली शिक्षक भनेर बोलाएको सुनिन्छ । यस्तो परिवेशमा हामी सबैले मन, वचन र कर्म लगाएर एकीकृत पाठ्यक्रमलाई आत्मसात् गर्ने र त्यसको मर्म अनुसार शिक्षण सिकाइ गराउने कुरा त्यति सहज छैन ।

मलाई एउटा घटनाले सधैं झकझकाइरहन्छ । सन् २०१२ को घटना हो, त्यो । एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनको लागि दक्षिण कोरियामा थिएँ । परिचयको क्रममा एक जना अष्ट्रेलियन प्राध्यापकले सोध्नुभयो— ‘तपाईं के गर्नुहुन्छ ?’ मैले बडो गर्वका साथ भने, ‘म नेपालमा विद्यालय तहमा गणित पढाउँछु ।’ उहाँले भन्नुभयो, 'Stop teaching mathematics, teach children' (गणित पढाउन छाडिदिनुहोस्, बच्चाहरू पढाउनुहोस् ।)’ हामी दुवै हाँस्यौं । यो कुराको मर्म बुझन मलाई धेरै समय लाग्यो । हो, हामीले पाठ्यक्रम निर्माण गर्दा, पाठ्यपुस्तक र अन्य सन्दर्भ सामग्रीहरू बनाउँदा र शिक्षण गर्दा विद्यार्थीलाई भन्दा बढी माया हाम्रो विषयलाई गर्‍यौं, विद्यार्थीले जाने पनि या नजाने पनि विषयवस्तुलाई एक पछि अर्को गर्दै पस्कन भने छाडेनौं । यस प्रवृत्तिलाई कतिपय विद्वान्हरूले विधागत आत्मकेन्द्रितवाद (Disciplinary Egocentrism)  भनेका छन् । जबसम्म परिवेशमा आधारित भै वास्तविक घटना या समस्याहरू मार्फत बहुविषयक ज्ञान र सीपहरूलाई शिक्षण गराउने परिपाटी बस्दैन, तबसम्म एकीकृत पाठ्यक्रमको सही रूपमा कार्यान्वयन हुन सक्दैन ।

अर्को चुनौती भनेको शिक्षकको तयारी हो । शिक्षकहरूलाई पर्याप्त सामग्री र सीपद्वारा एकीकृत पाठ्यक्रम अनुरूप शिक्षण सिकाइ गराउन तयार गराइनुपर्दछ । यसको लागि छुट्टै विशेष प्याकेज बनाई सबै स्थानीय निकायमा यथाशक्य चाडो पुग्नु राम्रो हुन्छ । यस वर्षको परीक्षण पश्चात पक्कै पनि पाठ्यक्रममा सुधार होला । एकीकृत पाठ्यक्रमको सफल कार्यान्वयनको लागि पाठ्यक्रमका ज्ञाता, विज्ञ समूह, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाले आफूमा भएका विषयगत मोहलाई छाडी समस्या केन्द्रित शिक्षण मार्फत विद्यार्थीमा एकीकृत सिकाइ उपलब्धि र व्यवहारकुशल सीपहरू विकास गर्नेतर्फ सोच्नु नै आजको आवश्यकता हो ।

उप–प्राध्यापक, काठमाडौं विश्वविद्यालय, स्कूल अफ एडुकेशन

commercial commercial commercial commercial