शिक्षा: राम्रो करिअरका निम्ति मात्रै होइन

उच्च मध्यम वर्गका जस्ता लाग्ने एक विद्यार्थीका बाबुआमाले कलेजमै आएर एक दिन गुनासो गरे— ‘पढाएको बुझिएन भन्दा बुझाउन छाडेर झन पावरप्वाइन्ट मात्रै देखाउँछन् रे शिक्षकले । यसरी पनि कहीं हुन्छ ?’

कक्षामा त्यस्तो कर्म गर्ने शिक्षक मै थिएँ, तर ती अभिभावकले आफ्नो गुनासो तृतीय पुरुषमा गरे । त्यसको कारण विद्यार्थीले मेरो नाम नभनेको भएर हो वा अभिभावकले मलाई लज्जित पार्न नचाहेर हो; थाहा भएन । स्नातकोत्तरपछि एकवर्षे शिक्षण करिअरमा मैले भोगेको अभिभावकको पहिलो र अन्तिम गुनासो त्यही थियो ।

त्यो प्रसंगको पृष्ठभूमि अर्थपूर्ण छ । प्रभावशाली ‘व्यक्तित्व’का लागि म कहिल्यै चिनिइनँ । पहिलोपल्ट एमबीबीएसको कक्षामा पढाउन जाँदा निकै कम विद्यार्थी उठेका थिए, त्यो पनि ढिलो गरी । कतिले त मलाई बेलाबेला फर्निचर मर्मत गर्न आउने सिकर्मी पनि सोचेछन् । जब पढाउन थालें, मेरो शैली अरूको भन्दा फरक थियो । १५० जना विद्यार्थीको कक्षामा पावरप्वाइन्टमा पढाउनु भनेको आधाभन्दा बढीलाई निदाउने निम्तो दिनु हो भन्ने मेरो मत थियो । बोर्ड र मार्कर मलाई धेरै सहज लाग्थ्यो । कक्षामा जतिसक्दो बढी प्रश्नोत्तर र अन्तरक्रिया गर्ने कोशिश गर्थें । प्रश्न सोध्दा पछि बस्ने विद्यार्थीलाई प्राथमिकता दिनु मलाई उचित लाग्थ्यो ।

यी त भए प्राविधिक कुरा । शिक्षण शैलीमा बाँकी शिक्षकहरूसँग मेरा सैद्धान्तिक मतभेद पनि थिए । पढाउनु भनेको के हो भन्नेमै हाम्रो एकमत थिएन । जुन शिक्षण विधि त्यतिबेला उक्त मेडिकल कलेजमा थियो र अहिले पनि झण्डै सबैतिर कायम छ, त्यसमा शिक्षकको भूमिका पाठ्यपुस्तकबाट खास अध्यायको नोट बनाउनु र विद्यार्थीलाई त्यो ‘बुझाउनु’ हुन्थ्यो । अर्थात्, शिक्षकले जति मिहिनेत गरेर विद्यार्थीलाई पढ्न सजिलो बनाइदियो, उति नै राम्रो ! पावरप्वाइन्टमा उतारिने तथ्य र सूचनाको चाङ जति अग्लो भयो, उति राम्रो !


पढाउनु भनेको बाटो देखाइदिनु हो, त्यसमा शिक्षक नै हिंडिदिनु हैन। जिज्ञासा जगाइदिनु हो, मेटाइदिनु हैन। समस्या समाधानको उपाय बताइदिनु हो, समाधान गरिदिनु हैन।

मेरो मत बेग्लै थियोः पढाउनु भनेको बाटो देखाइदिनु हो, त्यसमा शिक्षक नै हिंडिदिनु हैन । जिज्ञासा जगाइदिनु हो, मेटाइदिनु हैन । समस्या समाधानको उपाय बताइदिनु हो, समाधान गरिदिनु हैन । पुस्तकबाट क्षयरोगका बारेमा नोट उतारेर ४० वटा स्लाइड देखाउनुभन्दा क्षयरोगबारे चर्को जिज्ञासा जगाइदिने एउटा प्रसंग वा उदाहरण विद्यार्थीका लागि धेरै उपयोगी हुन सक्छ; किनकि त्यो प्रसंगले उसलाई रोगको बारेमा जान्ने हुटहुटी जगाइदिन्छ र ऊ आफैं पुस्तकबाट पढ्न उत्प्रेरित हुन्छ । जस्तो; गलत वा ढिला निदान भएको वा उपचारमा हेलचेक्र्याइँ गरेका कारण एक व्यक्तिमा विकसित बहु–प्रतिरोधी क्षयरोग कसरी ऊसँगै बसमा यात्रारत ४० जनाका लागि घातक सावित हुन सक्छ ? कसरी क्षयरोग आजका दिनमा जनस्वास्थ्य माथिको एउटा ठूलो खतरा बनेको छ ? कसरी एन्टिबायोटिक युगभन्दा अगाडि आन्तोन चेखव र लु सुन जस्ता हस्तीहरू क्षयरोगका शिकार भए ? कसरी एचआइभी/एड्सको प्रकोपका कारण समेत बहुप्रतिरोधी क्षयरोगको कीटाणु विकास भइरहेको छ र त्यो युग फेरि फर्कन सम्भव छ भन्ने खालका प्रश्नले विद्यार्थीमा जिज्ञासाको भोक जगाइदिन सक्छ ।

मेडिकल विद्यार्थीहरूका लागि सयौं रोगका पट्यार लाग्दा विवरण वर्षभर पावरप्वाइन्ट र नोटमा दिनुभन्दा उनीहरूलाई त्यो ज्ञान मानिसको उपचारमा कसरी उपयोगी हुन्छ भनेर सम्झाउनु धेरै महत्वपूर्ण लाग्थ्यो मलाई । आफैं पुस्तक पढ्ने, खोजबिन गर्ने र विभिन्न रोगहरूको अन्तसम्बन्ध जानेर तुलनात्मक अध्ययन गर्ने गर्न सके मात्रै विद्यार्थीले आफूले पढेका सयौं अध्यायमध्ये कुनलाई कति प्राथमिकता सहित पढ्ने र कसरी याद गर्ने भन्ने क्षमता विकास गर्न सम्भव हुन्थ्यो ।

त्यसैले; कुनै कुनै कक्षामा मैले त्यस दिन पढाउनुपर्ने रोग बाँकीभन्दा किन फरक र विशिष्ट छ अनि त्यसका ‘क्लिनिकल’ आयाम के छन् भन्ने मात्रै बताएर बिताइदिन्थें र रोगको विस्तृत विवरण चाहिं पुस्तकमा पढ्नु भनिदिन्थें । विद्यार्थीले रोगशास्त्र (प्याथोलोजी, मैले पढाउने विषय) मा खास रोग बुझन जान्नुपर्ने अन्य विषय (सँगै पढाइने एनाटोमी र फिजियोलोजी)को आधारभूत ज्ञान जाँच्न ती विषयका प्रश्न सोधिदिन्थें र त्यता नबुझेका कुरा बुझाउन समय खर्चिन्थें । कहिलेकाहीं त प्रश्नको लहरो तन्केर दश जोड दुईको जीव विज्ञान र स्कूल तहको विज्ञानसम्म पुग्थ्यो । त्यस्तो आधार बलियो नबनाई प्याथोलोजी विषय घोटाउनु विना जगको घरमा फूलबुट्टा भर्नुजस्तो लाग्थ्यो मलाई ।

स्वभावतः धेरैजसो विद्यार्थीले मेरो शिक्षण विधि रुचाएनन् । उनीहरूको तर्फबाट पावरप्वाइन्टमै पढाउन अनेक आग्रहहरू आइरहे । शायद केही विद्यार्थीले प्रिन्सिपलसम्मै पुगेर गुनासो गरे वा के भयो मलाई ठ्याक्कै याद छैन । एक दिन मैले विद्यार्थीहरूलाई ‘पाठ पढाउने’ निर्णय गरें । त्यस दिनको विषयमा फूलबुट्टा भरिएको ४० जति स्लाइड भएको पावरप्वाइन्ट इन्टरनेटबाट तानें अनि कक्षामा लगेर शिरदेखि पुछारसम्म वाचन गरिदिएँ । त्यही प्रकरणको लगत्तै हो, ती बाबुआमाले मसम्म आएर गुनासो गरेको ।

मेडिकल विद्यार्थीलाई कसरी पढाउने भन्नेबारे स्पष्ट धारणा बन्नुका पछाडि मेरो आफ्नै अनुभव प्रमुख कारण थियो । मैले एमबीबीएस गर्दासम्म पढेको निजी मेडिकल कलेज त्यति अब्बल थिएन । त्यहाँ सबै विषयका सबल शिक्षक थिएनन् । अपवाद बाहेक, शिक्षकले कुनै पाठ पढ्न सजिलो बनाइदिएको मलाई याद छैन । तीमध्ये धेरैजसो ७० वर्ष उमेर काटेर भारतमा सेवा निवृत्त भएपछि नेपाल छिरेका थिए । तीमध्ये एक जनाको श्रवणशक्ति शून्य थियो, अर्का एक जना कक्षामा कहिल्यै विद्यार्थीसँग आँखा जुधाउँदैनथे । उनीहरूसँग दशौं वर्ष पहिले प्लास्टिकमा मार्करले लेखिएका स्लाइड हुन्थे जसलाई ओभर हेड प्रोजेक्टरले भित्तामा देखाइदिन्थ्यो । घण्टाभर कक्षामा बस्नु अनि निद्रा र आलस्यसँग जुध्नु विद्यार्थीका रूपमा हामीलाई यातना सरह हुन्थ्यो । लन्च पछाडिका कक्षामा त हामी अघिल्लो बेन्चमा समेत आँखा खोलेरै निदाएर बिताइदिन्थ्यौं भने पछि बस्नेले कति सक्रियतापूर्वक सुन्थे होलान् भनेर सहजै अनुमान गर्न सकिन्छ ।

योग्य शिक्षकको अभाव टार्न एमबीबीएस सबै विद्यार्थीका आआफ्नै तरिका हुन्थे । कतिले झण्डै नोट भन्न मिल्ने, हाम्रै जस्तो अंग्रेजीमा लेखिएका भारतीय लेखकका पाठ्यपुस्तक पढ्थे । कतिले भ्याई नभ्याई शिक्षकले उपलब्ध गराएका स्लाइडमा लेखिएका कुरा सार्थे । तर हामी केही विद्यार्थीका निम्ति आफैं अँगालेको अघोषित नियम अनुसार ती दुवै कुरा वर्जित थिए । हामी गाह्रो भए पनि पुस्तकका ठेली पश्चिमा लेखकहरूकै पढ्ने, नोट बनाउनु परे तिनबाट आफैं बनाउने गर्दथ्यौं । कोर्नुपरे तिनै किताब कोर्ने तर भारतीय लेखकका किताब नपढ्ने हाम्रो अडान हुन्थ्यो । कक्षामा नोट सारे पनि फर्केर ती कहिल्यै हेर्दैनथ्यौं । एउटा पश्चिमा लेखकको पाठ्यपुस्तक पढ्न गाह्रो लाग्यो भने अर्कोको खोज्ने, युरोपेलीको अंग्रेजी क्लिष्ट भयो भने अमेरिकीको खोज्ने तर भारतीयतिर नफर्कने हाम्रो नीति थियो । ती सबै पुस्तक किन्ने गच्छे नभएकाहरू दैनिक ६–८ घण्टा पुस्तकालयमा बिताउने गर्दथ्यौं ।

तर, त्यसो गर्नु सजिलो काम थिएन । पढेर बुझनु मात्रै पनि पर्याप्त थिएन । पहिलो र दोस्रो वर्ष ६ वटा विषयको एकै दिन हुने (इन्टिग्रेटेड) परीक्षामा चार घण्टा बसेर १६० अंकको परीक्षा दिनु र ५० प्रतिशत कटाएर उत्तीर्ण हुनु निकै चुनौतीपूर्ण काम थिए । नोट शैलीका भारतीय लेखकका पाठ्यपुस्तक त्यस्तो परीक्षाको तयारीका लागि धेरै अनुकूल थिए । तर एक चोटि गतिलो पाठ्यपुस्तक पढ्ने रस बसेपछि हामीले कहिल्यै पछि फर्केर हेर्नु परेन । कुनै शिक्षकमाथि भर पर्नु पनि परेन । त्यो पठन शैलीले हामीलाई एमबीबीएस पास गर्नदेखि, काउन्सिलको लाइसेन्स निकाल्न, स्नातकोत्तरको प्रवेश परीक्षा दिन र त्यो तह उत्तीर्ण हुनसम्म हरेक सिंढीमा सघायो ।

कारणः एमबीबीएसको शुरूताकाका ती अत्यासलाग्दा वर्षमा हामीले मानव शरीर र त्यसमा लाग्ने रोगबारे जति पढ्यौं, त्योसँगै यी कुरा झ्न् धेरै सिक्यौंः पाठ्यपुस्तक र पठन सामग्रीहरू कसरी पढ्ने, अध्यायहरू कसरी छिचोल्ने, अन्तहीन जस्ता लाग्ने अध्याय र रोगहरूमध्ये कुनलाई कुन प्राथमिकतामा राख्ने, तिनको अन्तसम्बन्ध पहिल्याएर कसरी एउटा तथ्यको आडमा त्योसँग सम्बन्धित अर्को तथ्य याद गर्ने, दोहोर्‍याएर पुस्तक पढ्दा खोजेको कुरा कहाँ कसरी भेट्टाउने, नियमित पुस्तकमा चित्त नबुझेका विषयका लागि थप सामग्री कसरी जुटाउने ? फिजियोलोजी जस्ता संरचना भन्दा पनि मानव शरीरका जटिल प्रक्रियाहरू बुझानुपर्ने विषयमा अध्याय पिच्छे फरक फरक पाठ्यपुस्तक खोजेर पढ्ने गरेको मलाई याद छ । सिनियरहरूमध्ये जसको पकड जुन विषय वा अध्यायमा राम्रो छ, उसले जुनियर जम्मा पारेर त्यसबारेमा सिकाउनु पनि सिकाइका लागि एकदमै प्रभावकारी हुन्थ्यो ।

यसरी सक्षम शिक्षक नहुनुको प्रतिकूलतालाई हामीले अनुकूलतामा बदल्यौं ।

हामीले एमबीबीएस दोस्रो वर्ष पढ्दाताका त्रिवि र केयूका बोर्ड परीक्षामा सोधिएका प्रश्नहरूको उत्तर सँगालो वा गाइड भर्खर आइपुगेको थियो । तर ती गाइड पढ्ने साथीहरूलाई हामी मनमनै शैक्षिक अछूतको जस्तो व्यवहार गथ्र्यौं, किनकि गाइड पढेर डाक्टर बन्नुले यो पेशाकै अवमूल्यन गर्छ भन्ने हाम्रो मान्यता थियो । पश्चिमा लेखकका पुस्तकहरूमा अक्सर एउटै अध्याय सयौं विज्ञहरूका जर्नल आलेखका प्राप्तिहरू संश्लेषण गरेर स्तरीय अंग्रेजीमा लेखिएको हुन्थ्यो भने ती गाइड अक्सर औसतभन्दा कमजोर विद्यार्थीले भारतीय लेखकका लगायत केही किताबबाट तानतुन र चोरचार गरेर तयार पारिएका हुन्थे ।


एक चोटि गतिलो पाठ्यपुस्तक पढ्ने रस बसेपछि हामीले कहिल्यै पछि फर्केर हेर्नु परेन। कुनै शिक्षकमाथि भर पर्नु पनि परेन। त्यो पठन शैलीले हामीलाई एमबीबीएसदेखि हरेक परीक्षा उत्ताीर्ण हुँदासम्म सघायो।

हाम्रा लागि बिरामीको उपचार साध्य थियो भने एमबीबीएसको परीक्षा एउटा साधन मात्रै थियो । गाइडको पढाइले चाहिं परीक्षालाई नै साध्य सम्झ्न्थ्यिो किनकि गाइडबाट रोगका बहु आयामहरूबारे जान्न र उपचारका लागि आवश्यक ज्ञान–सीप लिन सम्भव थिएन । चिनी खान पल्केको बच्चाले भात–तरकारी नखाए जस्तै गाइडमा परीक्षामा सोधिने सबै प्रश्नको उत्तर पाएपछि विद्यार्थीले पाठ्यपुस्तकका ठेली नपढ्नु स्वाभाविक हुन पुग्थ्यो किनकि पुल भएको ठाउँमा पानीमा हेलिएर खोला तर्ने मानिस कम हुन्छन् । तर जो पानीमा हेलिंदैन, उसले पौडिन पनि सिक्दैन ।

अहिले पनि क्लिष्ट अंग्रेजी हुने पश्चिमा पाठ्यपुस्तकका अध्यायहरूमा हेलिएर सार्थक सिकाइ गर्ने मेडिकल विद्यार्थीहरू होलान्, तर आफूले एमबीबीएस पास गरेको पाँच वर्षपछि त्यही तहलाई पढाउन मेडिकल कलेज पस्दा गाइड पढ्ने चलन वनमाराझैं फैलिइसकेको थियो । गाइडलाई परीक्षा पास गर्ने मुख्य आधार बनाउने विद्यार्थीको संख्या ठूलो थियो । हाम्रो पालामा कायम ‘तीन भारतीय बराबर एक नेपाली विद्यार्थी’को अनुपात ठ्याक्कै उल्टिएको थियो । धेरै मेडिकल कलेज खुलेसँगै घर पायकको कलेजमा घरबाटै गएर पढ्ने विद्यार्थीको संख्या ह्वात्तै बढेको थियो । हामीहरू झैं होस्टल बसेर राति १–२ बजेसम्म पुस्तकालयका पुस्तक चहार्ने चलन पनि शायद बिरानो भइसकेको थियो । विद्यार्थीको धेरै समय स्मार्ट फोन र सामाजिक सञ्जालहरूले लिन थालेका थिए ।

माथि प्रारम्भमा उल्लिखित प्रसंग जस्ता अपवाद रहे पनि विद्यार्थीहरू मसँग राम्रै झयाम्मिन्थे । खासगरी ४० भन्दा कम विद्यार्थी रहने प्राक्टिकल कक्षामा अन्तरक्रियात्मक र प्रभावकारी सिकाइ हुन्थ्यो । त्यहाँ जीवन र जगतबारे पनि धेरै चर्चा हुन्थ्यो । कलेजबाट निस्केपछि कस्ता बिरामी जाँच्ने मात्रै नभई कस्तो व्यावसायिक वातावरण र स्वास्थ्य प्रणालीको हिस्सा हुने भन्नेबारे पनि उनीहरू जानकार होउन् भन्ने मेरो ध्याउन्न रहन्थ्यो । गाइड किन नपढ्ने र अप्ठेरै भए पनि किन पश्चिमा लेखकका पाठ्यपुस्तकहरू पढ्ने भन्ने कुरा त वर्षभर स्मरण गराइरहन्थें ।

मेरो विचारमा चिकित्सा संकायको प्रभावकारी शिक्षणबारे मैले ‘परेर’ जेजति सिकें, त्यो बाँकी संकाय र विषयहरूका लागि पनि उत्तिकै सार्थक छ । एउटा चिकित्सकको हातमा हजारौं बिरामीको स्वास्थ्य भएजस्तै मानविकी र शिक्षा जस्ता संकायका विद्यार्थीको एउटा पुस्तामाथि हाम्रो सभ्यताको भविष्यको एक कालखण्ड अडिएको हुन्छ । स्कूल वा कलेजका विद्यार्थीले परीक्षालाई नै साध्य मान्न थाले अनि आफूले लिएको शिक्षा र आफूले बाँचेको जीवन, भोगेको समयबीच तादात्म्य देख्न छाडे भने हाम्रो शिक्षा खोक्रो र बनावटी मात्रै हुनेछ ।

आफैंलाई आनन्द दिइरहेको त्यस्तो करिअर एक वर्ष नबित्दै चटक्क छाड्नुपर्‍यो, त्यो पनि भरपर्दो वैकल्पिक जागिर विना ।

त्यति बेलासम्म नेपालमा एमबीबीएस कार्यक्रमको शुल्क आकाशिएर एक करोड हाराहारी पुगिसकेको थियो, धेरैजसो कलेजले प्रतिब्याच १५० विद्यार्थी पढाउँथे । विज्ञहरूको (माथेमा) कार्यदलले शुल्क रु.३५ लाखमा र सिट १०० मा झार्ने सिफारिश गरेको थियो, जुन गर्दा निजी मेडिकल कलेजहरूको आम्दानी आधाभन्दा बढीले घट्थ्यो । सँगै; विद्यार्थीको खर्च पनि निकै घट्थ्यो र धेरै जेहेनदार विद्यार्थीले डाक्टरी विषय पढ्न पाउँथे । त्यो प्रतिवेदन कार्यान्वयन गराउन अभियन्ता डा. गोविन्द केसी सत्याग्रहमा बस्ने भएपछि मेरो जागिर र सामाजिक उत्तरदायित्वका बाटाहरू छुट्टिए । एकातिर सुरक्षित करिअर थियो, अर्कोतिर सामाजिक उत्तरदायित्व । एकातिर एउटा कलेजका विद्यार्थीलाई वर्षौं पढाएर आफूले सकेको ज्ञान–सीप दिने अवसर, अर्कोतिर मध्यम वर्गले समेत मेडिकल शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रोकेर धेरै जेहेनदार विद्यार्थी डाक्टर बन्न सक्ने अवसर कायम राख्ने आन्दोलनमा लाग्ने अवसर ।

बुवाको आपत्तिका बाबजुद खास द्विविधामा नपरी मैले राजीनामा बुझाएँ र अभियानका लागि काठमाडौं गएँ । भोलिपल्ट सडकमै रहेको बेला राजीनामा स्वीकृत भएको सूचना आयो । स्वभावतः कलेजमा बिदाइको ‘कर्मकाण्ड’ पनि हुन पाएन । तर मलाई विश्वास छ केही विद्यार्थीले भए पनि मैले उनीहरूलाई पढाएको अन्तिम पाठबाट केही सिक्नेछन्ः शिक्षा आर्जन गर्नुको लक्ष्य राम्रो करिअर मात्र हैन, आवश्यक पर्दा निजी स्वार्थ त्याग्न, उचित र आवश्यक जोखिम मोल्न र समाजका लागि सकेको योगदान गर्न चाहिने मूल्य–मान्यताहरू विकास गर्नु पनि हो ।

प्याथोलोजिस्ट तथा चिकित्सा शिक्षा सुधार अभियन्ता, चितवन

शिक्षक  मासिक, २०७६ जेठ अंकमा प्रकाशित



 

commercial commercial commercial commercial