केटाहरूलाई असल ‘मान्छे’ बन्न कसरी सिकाउने ?

यदि हामीले केटाहरूलाई सानैदेखि महिलाहरूप्रतिको सम्मानका कुराहरू सिकायौं भने त्यो ज्ञान उनीहरूले जीवनभर प्रयोग गर्छन्।

एक दिन मेरी साथी स्कूलबाट घर फर्कंदै गर्दा बाटोमा एउटा ट्र«क अचानक अगाडि आएर रोकिएछ । त्यसको ड्राइभरले बाहिर निस्केर मेरी साथीलाई ट्रकभित्र लान घिसार्न थालेछ । उनले न्वारानदेखिको बल लगाएर प्रतिवाद गरिछन् । सौभाग्यवश त्यसैबेला अर्को गाडी आएछ र त्यो बदमास ड्राइभर भागेछ ।

त्यो साँझ् मैले ती साथीलाई भेट्दा उनको ओठमा चोट थियो र कपाल लुछिएको थियो । त्यो ड्राइभरबाट जोगिन खोज्दा उनीमाथि निकै हातपात भएको रहेछ ।

त्यसदिन उनी सम्भाव्य बलात्कारबाट त जोगिइन्, तर भावनात्मक र मनोवैज्ञानिक हिसाबले भने उनमा त्यस घटनाको असर महीनौंसम्म रहिरह्यो । विद्यालयमा हिंड्दा होस् या बजारमा— उनको नजर झ्ुकेको हुन्थ्यो । आफूमाथि केटाहरूका आँखा नपरुन् भनेर उनी झ्ुत्रा लुगा लगाउँथिन् र नराम्री देखिन खोज्थिन् । उनी प्रायः असुरक्षित महसूस गर्थिन् ।

त्यो घटनापछि म समाजमा महिलाप्रति गरिने विभिन्न प्रकारका हिंसाप्रति बढी संवेदनशील भएँ । त्यस्ता हिंसाका कति घटना नजिकबाट अनुभव पनि गरें । असह्य भएपछि साथीले भोगेको हिंसाका बारेमा एक जना शिक्षकलाई सुनाएँ ।  तर उनले त ‘हैन होला, बनावटी कुरा पनि हुन सक्छ’ पो भनिदिए ! त्यो जवाफ मलाई नमीठो लाग्यो । रिस उठ्यो । त्यो रिस शान्त पार्न म हिंसा भोगेका महिलाहरूको आश्रममा स्वयंसेवी भएर काम गर्न थालें । त्यो आश्रममा रहेको एउटा पाँच वर्षे बालकले एक दिन एउटा बार्बी डलको टाउकोमा मुड्की बजार्दै र त्यसको कपाल लुछ्दै गरेको देखें । तर, तिनै केटाहरू आश्रमको सुरक्षित र मायालु वातावरणमा भिज्दै गएपछि त्यस्ता खेलौनालाई माया गर्दै कपाल कोरिदिन थाल्थे । केटाहरूको व्यवहारमा आएको त्यस्तो परिवर्तन मेरो निम्ति ठूलो पाठ भयो । मलाई विश्वास भयो, हामीले सानै उमेरमा बालबालिकालाई सही बाटो र व्यवहारमा लगाइदिन सक्यौं भने तिनीहरू जीवनभर नै त्यही बाटोमा हिंड्न सक्ने रहेछन् ।

एक दिन मैले केटाहरूलाई सहानुभूतिशील हुन कसरी सिकाउने भन्ने बारेमा बालमनोविज्ञ माइकल थम्सनका कुरा रेडियोमा सुनें । उनले भने, “मैले गरेर हुने भए केटाहरूलाई केही समयसम्म उनीहरूभन्दा साना बच्चा हेर्न लगाउने थिएँ । म उनीहरूलाई रुँदै गरेका, चित्त दुखाएका र सान्त्वना खोजिरहेका ससाना बालबच्चालाई फुल्याउने जिम्मा दिने थिएँ । साना कक्षाका भाइबहिनीहरूलाई चित्त दुखेका बेला, उनीहरूले एक्लोपन महसूस गरेर खिन्न भएका बेला अनि अभिभावक सम्झ्ेका बेला ठूला कक्षाका विद्यार्थीलाई जिम्मा लगाएर सान्त्वना दिन लगाउँथे । यसले ठूला केटाहरूमा पनि परिवर्तन ल्याएर असल मान्छे बनाउन मद्दत गर्छ ।”

केटाहरूमा समानुभूति विकास गर्न चाहने शिक्षकहरूका लागि यी तरिका उपयोगी हुन सक्छन् ।

केटाहरूलाई साना बालबालिकाको हेरचाह गर्न दिऊँ
मैले स्कूलमा कक्षा–१ र २ का केटाहरूलाई पूर्व–प्राथमिक तहका बालबच्चाको कापी÷किताब मिलाइदिने जिम्मा दिएँ । मेरै कक्षाकी एउटी नानीका १२ वर्षे दाजुले घरमा उनलाई ज्यादै नै हेप्दा रहेछन् । मैले तिनलाई हप्ताको एकपटक मेरो कक्षामा आएर केटाकेटीसँग काम गर्न प्रस्ताव गरें । त्यसपछिका केही दिनमै आफ्नी बहिनीलाई स्कूल र घर दुवै ठाउँमा माया गर्न थाले ।

धेरैजसो केटीहरूले सानै उमेरदेखि घरमा आफ्ना भाइबहिनीलाई हेरचाह गर्ने, खाना ख्वाउने र दिसा–पिसाब गराइदिने गर्छन् । आमा या दिदीबहिनीले घरको काम गर्र्दै गरेका बेला कतिपय केटाहरू खेलेर या टिभी हेरेर बसिरहेका हुन्छन् । हामी शिक्षकले घरको यो अवस्था प्रत्यक्षतः परिवर्तन गर्न सक्दैनौं । तर केटाहरूलाई स्कूलका साना–साना भाइबहिनीहरूको स्याहार र पढाइमा मद्दत गर्न लगाउन अवश्य सक्छौं ।

आदर, सबैलाई आदर
आफ्ना विद्यार्थीलाई के कुरा सिकाउने भन्ने बारेमा हामी शिक्षकहरूको महŒवपूर्ण भूमिका हुन्छ । पढाउने क्रममा हामी उनीहरूलाई कसरी राम्रा पाठक, लेखक, वैज्ञानिक, कलाकार, विचारक, गणितज्ञ बन्ने भन्ने कुरा मात्रै सिकाउँदैनौं, हामी उनीहरूलाई बलियो र दयालु व्यक्ति कसरी बन्ने भन्ने कुरा पनि सिकाउँछौं । त्यसरी नै महिला हुन् वा पुरुष, सबैलाई आफ्नो अधिकार, भावना र शरीर महŒवपूर्ण छ भन्ने कुरा हामीले अनेक किसिमले र सानै उमेरदेखि सिकाउनु जरूरी छ ।

यदि हामीले केटाहरूलाई सानैदेखि महिलाहरूप्रतिको सम्मानका कुराहरू सिकायौं भने त्यो ज्ञान उनीहरूले जीवनभर प्रयोग गर्छन् । हाम्रा व्यवहार र क्रियाकलापहरू हामीले जन्मजात लिएर आएका कुरा होइनन्, यी सबै हाम्रो सिकाइमा आधारित हुन् । विद्यार्थीलाई कुनै पनि किसिमको ‘हिंसा नगर्न’ र ‘अरूको अनादर नगर्न’ सिकायौं भने उनीहरूलाई हामीले स्वतः एक असल पुरुष (मान्छे) बन्नका लागि आवश्यक शिक्षा दिएका हुन्छौं ।

१ अक्टोवर २०१८ को www.edweek.org बाट

commercial commercial commercial commercial