मास्टरजी, असल हुन सिकाइदेऊ न!

मास्टरजी,
हामीलाई सबैले ठूलो हुन सिकाए । प्रथम हुन सिकाए । अरूलाई जित्न सिकाए । छिटो कुद्न सिकाए । धेरै सम्पत्ति जम्मा गर्न सिकाए । घरमा, स्कूलमा, समाजमा । तर, हामीलाई असल हुन सिकाइदेऊ न !

तिमीले पढाएका विद्यार्थी हेर त, असल भन्न मिल्ने एकदम कम छन् । उनीहरू भ्रष्टाचार गर्छन् । सकेसम्म अरूलाई ठग्न खोज्छन् । जहाँ पायो त्यहीं फोहोर फाल्छन् । बूढा बाउआमालाई घरबाट गलहत्याएर निकाल्छन् । आफ्नो फाइदाको लागि गलत कामको पनि समर्थन गर्छन् । अरूको चाकरी गर्छन् । कसैमाथि अन्याय भएको देख्दा पनि आँखा चिम्लेर बस्छन् ।

हामीले पढ्यौं । मुकेश अम्बानी र बिल गेट्सबारे । मार्क जुकरबर्ग र स्टिभ जब्सबारे । तिमीले हामीलाई उनीहरू जस्तै ठूलो हुन सिकायौ । नाम र दाम कमाउने उपदेश दियौ । अनि त हामीलाई यस्तो लाग्न थाल्यो— ठूलो हुन मिडियामा देखिनुपर्छ ।

नाम र दाम कमाउनुपर्छ । मिडियामा नदेखिने सबै काम नलाग्ने मान्छे हुन् । उनीहरूको कुनै औकात हुँदैन । समाजमा उनीहरूको कुनै मूल्य हुँदैन ।

अनि त हामी आफ्ना आमा–बुबालाई हेप्न थाल्यौं । किनकि, उनीहरूले ‘मुनामदन’ र ‘हेमलेट’ लेखेनन् । कम्प्युटर र रेडियो आविष्कार गरेनन् । टीभी र पत्र–पत्रिकामा उनीहरूको फोटो आएन । उनीहरू कहिल्यै हवाईजहाज चढेनन् । उनीहरूलाई अंग्रेजी बोल्न आएन । उनीहरूलाई शब्दकोशमा भएका ठूला–ठूला शब्द राखेर मन्तव्य दिन आएन । उनीहरूले पाइथागोरस र सुकरातबारे सुनेनन् । उनीहरूलाई ‘पूँजीवाद’ र ‘समाजवाद’ को परिभाषा आएन । हाम्रो नजरमा उनीहरूले फजुल काम गरे– जमीन जोतेर अन्न उब्जाउने, सन्तान र गाईवस्तु पाल्ने ।

आज कुनै विद्यार्थीले कक्षामा किसान बन्छु भन्यो भने तिमीले उसलाई हपार्छौ । ‘आफ्ना पूर्वज जस्तै खेतबारीमा सडेर जीवन जाला’ भन्दै गाली गर्छौ । तिमीले छोराछोरीलाई बाउआमाबाट टाढा बनायौ । कक्षाकोठा र विद्यालयलाई घरभन्दा फरक बनायौ ।

तिमीले युरोप र अमेरिकामा भएको धन देखायौ, तर आफ्नी आमाको फराकिलो मन कहिल्यै देखाएनौ । चीनको ‘ग्रेट वाल’ बारे पढायौ, तर गाउँको लटरम्म सुन्तला फल्ने पाखोलाई बेवास्ता ग¥यौ । तिमीले आइन्स्टाइन र न्यूटनका सिद्धान्त पढायौ । तर, हाम्रो घरमा तुलसीको मोठ हुनुको कारण खोज्न लाएनौ । पीपल र कुशका फाइदाहरू देखाएनौ । नमाज र कीर्तनको अर्थ खोज्न लाएनौ ।

तिमीले हामीलाई सधैं प्रथम हुने विद्यार्थीसँग दाँज्यौ र तथानाम गाली ग¥यौ । परीक्षामा कम अंक ल्याउँदा जीवनमा गरी खाँदैन भनेर अपमान ग¥यौ । बाँसको सिर्कनाले पिटेर लज्जित बनायौ । हामीलाई आफू जन्मिनुमा हीनताबोध गरायौ ।
तर, तिमीले असल मानिसको कथा कमै सुनायौ । तिमी आफैं पनि त्यो असल मानिस बनेनौ । उपदेश त दियौ तर प्रायः आफ्नो कर्ममा उतारेनौ ।

मन, ज्ञान, वचन र कर्ममा स्वच्छता आवश्यक छ भनेर सिकाएनौ । आज असल मान्छेको खडेरी छ । मानिसहरूले डिग्री त गरेका छन् तर सबै असल छैनन् । सिपालु छन् तर भ्रष्टाचार नगर्ने कमै छन् ।

मास्टरजी, आज मनको शुद्धता भएको मान्छे चाहिएको छ । अरूको भावनाको कदर गर्ने मान्छे चाहिएको छ । अरूको कुरा राम्रोसँग सुन्ने र बुझने मान्छे चाहिएको छ ।

मास्टरजी ! हामीलाई सिकाइदेऊ न–मेरो बोली र कर्मले अरूलाई असर गर्छ । मैले आज गरेको कर्म भोलि फर्केर आउँछ । मैले गरेको कर्मले मेरो परिवार र समाजलाई नै असर गर्छ ।

आज टेबल कुर्सीमा बसेर तलब खानुलाई ठूलो मानिन्छ । माटो छुने कर्म गर्न कमै मानिस चाहन्छन् । मास्टरजी, मलाई पनि माटो छुन प्रोत्साहन गरिदेऊ न ।

मास्टरजी, मलाई प्रश्न गर न– म को हुँ ? मेरो मुटु के ले चलाउँछ ?

म जन्मिंदा जस्तो निर्मल थिएँ, त्यस्तै बनाउने शिक्षा देऊ न । मेरो बच्चा बेलाको जस्तो खुशी कसरी ल्याउने; तरिका सिकाइदेऊ न ।

कालो र सेतो प्रकृतिका कुरा हुन् । यी दुवैलाई सौन्दर्यसँग जोड्न सिकाइदेऊ न ।

तिमी नै हाम्रो आदर्श बनिदेऊ न । हाम्रो सपना बनिदेऊ न । इमानदारीको नमूना बनिदेऊ न । असल मान्छे बनिदेऊ न !
आफू असल बनेर हामीलाई नि असल हुन सिकाइदेऊ न !

(लेखकद्वय ‘टिच फर नेपाल’ सँग आबद्ध छन् ।)

commercial commercial commercial commercial