हेडसर, तपाईंको स्कूलमा सफा चर्पी छ ?

चर्पी सम्बन्धी अर्को मान्यता के हो भने आफूले सफा चर्पी प्रयोग गर्न पाइयो भने आफूपछि प्रयोग गर्नेले पनि त्यस्तै सफा चर्पी प्रयोग गर्न पाउनुपर्छ । त्यसैले आफूले प्रयोग गरेपछि अनिवार्य रूपमा चर्पी सफा गरेर छाड्नुपर्छ ।

दृश्य १
साविकको नवलपरासी जिल्लामा अवस्थित एउटा उच्च माध्यमिक विद्यालय । १६०० जना विद्यार्थीलाई पठन–पाठन गराउन ३० जना शिक्षक–कर्मचारी कार्यरत छन् । भारतीय दूतावासको रु.५ करोड सहयोगमा तीनतले भव्य भवनमा अध्यापन हुन्छ । पूर्वपश्चिम लमतन्न तन्किएको भवनको गेटबाट छिर्ने बित्तिकै देब्रेतिरको कुनामा पुरुष शौचालय छ भने पश्चिमतर्फको कुनामा महिला शौचालय । तीनै तलामा यसरी व्यवस्थित चर्पी बनाइएका छन् । तर हालको अवस्था ?

भवन अझ्ै हस्तान्तरण हुन पाएको छैन । चर्पी भने सखाप भइसकेका छन् । पुरुष शौचालयमा छिर्दा सेरामिक्सका प्यानका टुक्रा खुट्टामा ठेस्सिन आइपुग्छन् । १२ वर्षको पिनास निको बनाउला जस्तो दुर्गन्ध छ । दिसाका ढिस्का छल्दै अलिक भित्र पस्दा दिसा र पिसाबको झ्न् ठूलो आहाल देखिन्छ । चर्पीमा जोडिएका धारा पनि उखेलिएका छन् र पानीको आपूर्ति बन्द छ ।
त्यस्तै हालत छ छात्रा शौचालयको पनि । दिसा–पिसाब गर्न अलिक ओभानो ठाउँ खोज्दाखोज्दै ढोकासम्मै आइपुगेको छ । अब त्यो शौचालयभित्र छिरेर दिसा–पिसाब गर्न सक्ने अवस्था नै छैन । धारा छन्, पानी यहाँ पनि काटिएको छ ।

दृश्य २
महेन्द्र राजमार्गबाट चार किलोमिटर उत्तरतर्फको एउटा गाउँमा अवस्थित आधारभूत विद्यालय । त्यहाँ ३०० जना विद्यार्थी अध्ययनरत छन्, आठ महिला सहित १२ जना शिक्षक कर्मचारी । चर्पी जम्मा एउटा छ । विद्यार्थीसँग ढेसिइँदै जान अप्ठ्यारो लागेर शिक्षकहरू छिमेकीकहाँ चर्पी प्रयोग गर्न जान्छन् ।

‘रुम टु रिड’ भन्ने दाताले बनाइदिएको थप चर्पी भने दुई वर्ष अगाडिदेखि प्रयोगविहीन छ । कारणः त्यसको भित्री भाग प्लास्टर र फिनिसिङ गर्न बजेट छैन । करीब रु.३० हजारको अभावमा यो चर्पी पूरा हुनबाट रोकिएको छ, शिक्षक विद्यार्थी सबै कहर काट्न बाध्य छन् । नगरपालिकाका मेयरलाई ल्याएर हेडसरले देखाइ पनि सकेका छन् । रु.३० हजार कतैबाट जोहो हुनसकेको छैन वा भनौं प्राथमिकतामा परेको छैन ।

माथिका दुई दृश्यले हाम्रा विद्यालयहरूमा चर्पीलाई गरिने उपेक्षा देखाउँछन् । र, यी दृश्य कुनै ती स्कूलविशेषका मात्र पनि होइनन् । देशभरका प्रायः सार्वजनिक विद्यालयको शौचालयको व्यवस्थापन कमबेसी यस्तै यस्तै पाइन्छ ।

चर्पी सम्बन्धी धारणा
मानिसले खाना खान्छ भने त्यसलाई विसर्जन पनि गर्नुपर्छ । त्यसैले खानाको जोहोलाई जति महŒव दिइन्छ त्यत्तिकै महŒव शौचालयलाई पनि दिनुपर्छ । र, जसरी खाना खाने थाल सफा हुनुपर्छ, त्यसैगरी चर्पी पनि सफा हुनुपर्छ । सफा चर्पी प्रयोग गर्न पाउनु मान्छेको मर्यादाको कुरा हो । तर माथिका उदाहरणबाट हामीले देख्यौं हामीले विद्यार्थीको मर्यादित जीवनको अपेक्षालाई बाल्यकालदेखि नै निमोठ्दै लगेका छौं ।

चर्पीको सरसफाइ सम्बन्धी मान्यता के हो भने त्यो सधैं प्रयोग गर्न मिल्ने गरी सफा रहनुपर्छ । विकसित देशहरूमा कोही कति व्यवस्थित वा सभ्य छ भन्ने कुरा उसको घर वा सार्वजनिक स्थलको चर्पी हेरेर आँक्ने गरिन्छ । र, विद्यालयमा राम्रो र सफा चर्पी नराख्दा हामीले फोहोरी पुस्ता उत्पादन गर्छाैं, जसको नकारात्मक असरबाट पार पाउन धेरै वर्ष र लगानी लाग्ने छ ।

चर्पी सम्बन्धी अर्को मान्यता के हो भने आफूले सफा चर्पी प्रयोग गर्न पाइयो भने आफूपछि प्रयोग गर्नेले पनि त्यस्तै सफा चर्पी प्रयोग गर्न पाउनुपर्छ । त्यसैले आफूले प्रयोग गरेपछि अनिवार्य रूपमा चर्पी सफा गरेर छाड्नुपर्छ । अब विद्यालयले नै चर्पी सफा राख्नेतर्फ पहल गरेन वा हजारौं विद्यार्थीले प्रयोग गर्ने चर्पी दिनको एकपटक पनि सफा गर्ने व्यवस्था मिलाउन सकेन भने विद्यार्थीले सफा गर्दैनन् किनभने त्यो सम्भव नै हुँदैन । त्यस्तो अवस्थामा पानीको पाइप भाँचेर फाले भनेर विद्यार्थीलाई कसरी दोष लगाउन पाइन्छ ?

चर्पीलाई हेर्ने दृष्टिकोण
नेपाल सरकार शिक्षा मन्त्रालयको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशिका २०७४ ले छात्र र छात्राका लागि चुकुल सहितका अलगअलग शौचालय हुनैपर्ने न्यूनतम मापदण्ड तोकेको छ । अझ् उत्कृष्टको मापदण्डमा सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरणमैत्री ४० छात्रा (माध्यमिक तहमा २५ छात्रा) र ४० छात्रहरूको अनुपातमा एक शौचालयको सुविधा हुनुपर्ने कल्पना गरेको छ । अर्थात् ३०० जना विद्यार्थी भएको विद्यालयमा कम्तीमा ६ वटा चर्पी हुनुपर्छ ।

विद्यालयमा छात्राहरूको शौचालयमा स्यानिटरी प्याड डिस्पोज गर्ने सुविधा पनि अनिवार्य हुनुपर्छ । उक्त निर्देशिकाले नै महीनावारी स्वच्छता व्यवस्थापनका लागि स्यानिटरी प्याड व्यवस्थापन गर्न छात्रा शौचालयहरूमा ढक्कन सहितको डस्टबिन राखिएको हुनुपर्ने न्यूनतम व्यवस्था गरेको छ । यसको अभावमा धेरै छात्राहरूले महीनावारीका बेला विद्यालयमा गयल हुनुपर्दछ । धेरै प्रअहरूले भोगेकै हुनुपर्छ, सानोमा उत्कृष्ट छात्राहरू किशोरावस्थामा प्रवेश गरेपछि एक्कासी कमजोर हुन थाल्छन् । अब, कक्षा ८ सम्म पढ्ने छात्राहरू र आठ जना शिक्षक भएको विद्यालयमा एउटा मात्र शौचालय हुनु कति दयनीय अवस्था होला ?

विद्यालयमा चर्पी नहुनु जनस्वास्थ्य समस्या पनि हो । चर्पी नै भएन अथवा सफा भएन भने बालबालिकाहरू खेत, खलियान वा खोल्साखाल्सीतिर जान्छन्, जसले वातावरण र पानी प्रदूषित गर्छ । कतिपयले दिसापिसाब च्यापेर बस्छन्, जसले उनीहरूमा विभिन्न स्वास्थ्य समस्या आउन सक्छन् । दिसापिसाब च्याप्दा बालबालिका र प्रौढमा पनि कब्जियत हुने, मांसपेशीमा गडबड हुने, अनियमित दिसापिसाब, मूत्रनलीमा संक्रमण जस्ता समस्या हुने अध्ययनले देखाएका छन् ।

व्यवस्थापकीय समस्या
कुनै विद्यालयमा चर्पी छैन भने त्यो विद्यालय व्यवस्थापन समितिको समस्या हो, नालायकी हो । अहिले विद्यालय शिक्षाको अधिकार पनि स्थानीय सरकारमा गएकोले त्यो तिनको पनि नालायकी ठहर्छ । न्यूनतम लागतमा शौचालय सुचारु गर्न सकिने अवस्थामा पनि स्थानीय निकायले आनाकानी गर्नु अत्याचार नै हो । पाखापखेरा डोजर कुदाउने पैसाबाट अलिकति काटेर भए पनि विद्यालयमा चर्पी बनाउनु पर्दैन भनेर अभिभावकहरूले स्थानीय तहहरूलाई सोध्नैपर्ने भएको छ ।

कुनै विद्यालयमा चर्पी छैन भने अब त्यो स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको समस्या हो । तर भएका शौचालय पनि सफा छैनन् भने यो चाहिं विशुद्ध रूपमा प्रधानाध्यापकको असफलता ठहर्छ । चर्पी सफा राख्ने व्यवस्था मिलाउन नसक्ने प्रअले विद्यालय पनि राम्रोसँग चलाउन सक्दैनन् ।

तर भएको चर्पी सफा छैन भने यो चाहिं विशुद्ध रूपमा विद्यालयको दैनन्दिन व्यवस्थापन हेर्ने प्रधानाध्यापकको असफलता ठहर्छ । चर्पी सफा राख्ने व्यवस्था मिलाउन नसक्ने प्रधानाध्यापकले विद्यालय पनि राम्रोसँग चलाउन सक्दैनन् । चर्पी भनेको विद्यालयमा चाहिने चक–डस्टर वा मार्कर जत्तिकै आवश्यक हो । बरू पढाइ प्रवचन विधिद्वारा गर्न सकिएला, चर्पीको विकल्प छैन ।

हेडसरहरू ! के तपाईंको स्कूलमा सफा चर्पी छ ? यो प्रश्न मैले हेड–म्याडमहरूलाई सोधेको छैन किनकि मलाई आशा छ उहाँहरू यो समस्याप्रति स्वतः संवेदनशील हुनुहुन्छ र आफ्नो विद्यालयमा सफा चर्पी राख्ने व्यवस्था मिलाउनुभएको छ ।

सञ्चार अनुसन्धानकर्मी, चितवन

commercial commercial commercial commercial