१२ वर्षपछि फुल्ने बाँको

वर्षौंसम्म खाद्यपदार्थ संचय गरेपछि बाँकोको बोट फेरि फुल्ने तयारीमा लाग्छ र जमीन माथि शिवलिङ्ग झ्ैं लामो टुसा पलाउन थाल्छ । त्यो टुसाको बाहिरी पत्ता फुलदानको आकृतिमा फक्रन्छ र बीचमा एउटा शिवलिङ्ग झ्ैं खडा भएर १०/१२ फिट अग्लो धरहरा निर्माण हुन्छ ।

सुमात्रा टापुको घना वनभित्र एउटा अद्भुतको वनस्पति भेटिन्छ, जुन एकपल्ट फुलेपछि १०–१२ वर्षपछि मात्र फेरि फुल्छ । जब फुल्छ; त्यसबेला त्यो १०–१२ फुट लामो शिवलिङ्ग जस्तै ठाडो उभिएको हुन्छ । लिङ्गाकार लठौरोको फेदको भागमा अनगिन्ती फूल लटरम्म फुलेका हुन्छन् । यीमध्ये माथिल्लो भागमा भाले फूल हुन्छन् भने तल्लो भागमा पोथी फूल तैनाथ हुन्छन् । यो लिङ्गाकार अवयवलाई स्पाडिक्स (Spadix) भनिन्छ । त्यो एक कलात्मक पत्रमा बेरिएको हुन्छ । त्यो पत्रलाई ‘स्पेथ’ (spathe) भनिन्छ । वस्तुतः यो एक बडेमाको पात नै हो र त्यो वनस्पति हो बाँको । त्यही ठूलो पातभित्र बाँकोका फूल सुरक्षित रूपमा फक्रिन र बीउ उत्पादन गर्न सफल हुन्छन् । बाँकोको बीउ उत्पादन प्रक्रियामा सघाउन एक अर्को बोटका पराग बोकेर विभिन्न कीट–पतङ्गहरू यसका फूलमा झ्ुम्मिन पुग्दछन् । एउटै बोटका भाले र पोथीहरू बीच समागमन हुँदैन । आफ्नो फूलमा परागसेचन गर्ने कीट–पतङ्गलाई आकर्षण गर्न यो वनस्पतिले विशेष प्रकारको गन्ध छोड्छ । त्यो ज्यादै गन्हाउने हुन्छ । सडेको मासुको दुर्गन्धसँग मिल्ने त्यो गन्ध खपिनसक्नु नै हुन्छ । त्यसैले यसलाई ‘कर्पस् फ्लावर’ (Corpse Flower) अर्थात् ‘मूर्दा पुष्प’ पनि भनिन्छ ।

पुष्पप्रेमीहरू बाँकोको यस्तो दुर्लभ फूल हेर्न संसारका विभिन्न वनस्पति उद्यानमा ओइरिन्छन् तर नाक छोपेर । यस्तै एउटा अवसर यो पंक्तिकारलाई गत वर्ष (सन् २०१७ को अगष्ट) अमेरिकाको राजधानी वासिङ्टनस्थित वनस्पति उद्यानमा जुर्न गयो । त्यस दिन एकातिर करोडौं मानिसमा सूर्यग्रहणको खग्रास हेर्न कौतूहल थियो भने केही पुष्पप्रेमीहरू ‘मूर्दा पुष्प’ हेर्न लालायित थिए । मेरा लागि त त्यो साँच्चै नै दुर्लभ अवसर थियो, किनभने साधारण उद्यानमा त्यो वनस्पति हुर्काउन सम्भव हुँदैन । (हे बायाँ तस्वीर) र, त्यसको प्राकृतिक वासस्थान सुमात्रा, इण्डोनेशियाको वन चहार्न पनि सजिलो कुरा भएन । यो फूल दुई÷तीन दिन फुलेपछि फ्याट्टै ओइलाइदिन्छ । त्यसपछि वर्षौं फुल्दैन । यसको पिंडालु जस्तो गानोबाट थोरै पात पलाउँछन् । तिनले खाद्यवस्तु तयार गर्छन् र त्यस्तो खाद्य पदार्थ त्यही गानोमा जम्मा हुन थाल्छ । वर्षौंसम्म खाद्यपदार्थ संचय गरेपछि यो प्रजातिको बाँकोको बोट फेरि फुल्ने तयारीमा लाग्छ र जमीन माथि शिवलिङ्ग झ्ैं लामो टुसा पलाउन थाल्छ । (हे दायाँ तस्वीर) त्यो टुसाको बाहिरी पत्ता फुलदानको आकृतिमा फक्रन्छ र बीचमा एउटा शिवलिङ्ग झ्ैं खडा भएर १०÷१२ फिट अग्लो धरहरा निर्माण हुन्छ ।

वैज्ञानिकहरूले यो वनस्पतिलाई ‘एमर्फोफालस टिटानम’ (Amorphophallus titanum) नाम दिएका छन् । यो बिरुवा हाम्रो कर्कलो–पिंडालु, बाँको, ओल आदि वनस्पतिको परिवार भित्र पर्दछ । तिनलाई अंग्रेजीमा (Arum) भनिन्छ । बेलायती संरक्षणविद् डेभिड एटेनवरो (David Attenborough) ले चाहिं यो वनस्पतिलाई ‘टिटान अरुम’ (Titan Arum) भन्ने नामले लोकप्रिय बनाए । एउटा प्राकृतिक वनस्पतिको फूललाई सडेको मासुको गन्धयुक्त पुष्प भन्नु राम्रो पनि हैन । ‘एमोर्फोस’ ले आकृति नभएको र ‘फालस’ ले पुरुष लिङ्ग भन्ने अर्थ दिन्छ । तसर्थ सुमात्राको यो बाँकोलाई एटिनवरोले ‘विशाल बाँको’ भन्ने संज्ञा प्रदान गरे ।

हाम्रा नेपाली बाँको भने असार र साउनको झ्रीसँगै प्रत्येक वर्ष फुल्छन् र फल्छन् । नेपालका हिमाली कन्दरामा ४००० मिटरको उँचाइदेखि चुरेको ३०० मिटर भन्दा होचो औले घाँचसम्म १५ देखि २० विभिन्न प्रजातिका बाँको पाइन्छन् । ‘एमर्फोफालस बल्विफर’ (Amorphophallus bulbifer) नामक बाँको आलो रातो मासुको रंगमा फुल्छ तर यसको गन्ध ‘टिटान अरुम’ जस्तो सडेको मासुको जस्तो भने हुँदैन । यो सानो कदको, एक–दुई फुटसम्म मात्र अग्लो हुन्छ ।

असार–साउनको झ्रीसँगै नेपालका पर्वतीय वन–पाखामा पलाउन र फुल्न थाल्ने बाँको पिंडालु–कर्कलो परिवारका सदस्य हुन् । झ्ट्ट हेर्दा, जमीन माथि टाउको उठाएर फणी फुकाई सतर्कता साथ ठडिएको सर्प जस्तै हुन्छ बाँकोको बोट । नेपालमा पाइने विभिन्न प्रजातिका बाँकोमध्ये गोमन सर्प जस्तै चौडा फण फिजिएको प्रजातिलाई ‘एरिसिमा गृफिथियाई’ (Arisalma griffithii) भनिन्छ । यसको प्याजी फणमा विभिन्न धर्का धर्की हुन्छन् । फण–चौडा र घुम्रिएर तलतिर निहुरिएको हुन्छ ।

फणको भित्र शिवलिङ्गको आकारमा रहेको अवयवको फेदतिर पुष्पपुञ्ज हुन्छ । बाँकोका भाले र पोथी छुट्टाछुट्टै रूपमा पलाउँछन् । तसर्थ; वनका कीट–पतङ्गहरू विना यिनको प्रजनन् प्रक्रिया पूर्ण हुँदैन । कीराफट्याङ्ग्राले यसको फूलमा परागसेचन पछि पोथी बिरुवामा बीउ लाग्न थाल्छ । यसको बीउ अर्थात् फलको घोगा झ्ट्ट हेर्दा मकैको घोगा जस्तै हुन्छ । त्यसैले बाँकोको अर्को नाम ‘सर्पको मकै’ रहन गएको हो । तर, सर्पले भने यो खाँदैन । चराले चाहिं खान्छन् । तिनै चराले विभिन्न ठाउँमा गएर बिस्ट्याउँदा बाँकोका बीउ फैलिन्छन् ।  

नेपाली बाँकोको फल झ्ट्ट हेर्दा मकैको घोगा जस्तै हुन्छ । त्यसैले बाँकोको अर्को नाम ‘सर्पको मकै’ रहन गएको हो । तर, सर्पले भने यो खाँदैन । चराले चाहिं खान्छन् । तिनै चराले विभिन्न ठाउँमा गएर बिस्ट्याउँदा बाँकोका बीउ फैलिन्छन् ।

बाँकोको फण— कुनै प्रजातिमा ढुंग्रो जस्तो; कुनैमा फुलदान जस्तो, कुनैमा गोमन जस्तो र कुनैमा सुराइ जस्तो हुन्छ । त्यसको मुख्य काम एकातिर शत्रु भगाउनु हो भने अर्कातिर भित्रका फूललाई सुरक्षित राख्नु ।

बाँकोका पात र गाना ज्यादै कोक्याउने खालका हुन्छन् । बाँकोको गाना खाने चलन त छ तर विशेष रूपले प्रशोधन गरेर मात्र । जस्तो बाँकोको गाना कोरेसोमा कोरी सुकाएर; सिन्की पारेर; खरानी मिसाएर उसिनेर वा पीठो बनाएर खाने चलन छ । भालु तथा वनेलले बाँको खनेर गानो खाने गर्छन् भन्ने गाउँले भनाइ पनि छ । बाँकोको ओइलाएको साग या पात खरानीसँग पकाएर सुँगुरलाई खुवाउने चलन छ । नेपालको हिमाली क्षेत्रमा पाइने बाँको खन्दा त्यहाँ स–सानो मेला नै लाग्छ र तिब्बतबाट समेत मानिसहरू पाहुना लाग्न आइपुग्छन् । परम्परागत औषधोपचारमा पनि बाँकोको प्रयोग हुन्छ । आम्ची, वैद्य, धामीहरूले बाँकोको कोक्याउने र टट्टाउने स्वभावलाई समन वा दमन गरेर आमबात, बिग्रेको मासिक धर्म, पेटको जुका फाल्ने आदि काममा प्रयोग गर्ने गर्छन् । समग्रमा बाँकोको गानोको पीठो र पातको साग धेरै पर्वतीय समुदायमा प्रचलित छ । तर परम्परागत विधि र प्रविधि अनुसार प्रशोधन नगरी खाएमा बाँकोको कोक्याई घातक पनि हुनसक्छ ।

बाँको प्रजातिमध्ये सन् १८२१ ताका काठमाडौं; शिवपुरीको वनमा डा. बालिच (Wallich) ले भेट्टाएको ‘एरिसिमा कोस्टाटम’ (Arisaema Costatum) नामक बाँको नेपाल बाहिर अन्यत्र पाइँदैन । नेपालमै पनि काठमाडौं भन्दा पश्चिम यो भेट्टाइएको छैन । यसलाई स्थानीय भाषामा ‘ढोकायो’ पनि भनिन्छ । भाषा र संस्कृति अनुसार विभिन्न ठाउँमा बाँकोका नाम विभिन्न छन् । बिरुवा पनि विभिन्न छन् । तथापि; हाम्रा बाँकोहरू प्रत्येक वर्ष फुल्दछन्, फल्छन् र मानिसहरू तिनको उचित प्रयोग पनि गर्दछन् । तर बाँकोलाई बगैंचामा हुर्काउने वा खेतीबाली गर्ने हाम्रो चलन छैन । सम्भाव्यता भने टड्कारो छ ।

commercial commercial commercial commercial