जन्मथलो र कर्मथलोको खाँचो

स्थानीय सरोकारवालाको सहभागितामा स्थानीय आवश्यकताअनुसारका स्थानीय विषयवस्तु समावेश गरी निर्माण र कार्यान्वयन हुने नै स्थानीय पाठ्यक्रम हो । – प्राथमिक शिक्षा पाठ्यक्रम २०६५

शिक्षा ऐनको आठौं संशोधनसँगै नेपालको शिक्षा संरचनामा केही हेरफेर भएको छ । विद्यालय शिक्षाको तह अब पूर्व प्राथमिकदेखि शुरू भएर १२ कक्षामा टुङ्गिनेछ । यसलाई तीन खण्डमा विभाजन गरिएको छ । शुरूको एक वर्ष बाल विकास केन्द्र, आठ वर्षको आधारभूत तह (कक्षा १–८) र चार वर्षको माध्यमिक (९–१२) तह । सो अनुसार पाठ्यक्रम पनि समायोजन गरिन थालेका छन् ।

नेपालको विद्यालय तहको पाठ्यक्रमका सम्बन्धमा विभिन्न प्रकारका मञ्च, सञ्चारमाध्यम र कार्यक्रममा अनेक प्रतिक्रिया व्यक्त भएको पाइन्छ । सामान्य नागरिकदेखि विद्वत् वर्गसम्मले वर्तमान पाठ्यक्रम वैज्ञानिक छैन, व्यावहारिक छैन, यसले स्थानीय आवश्यकतालाई पूरा गर्न सकेन, यसले विदेश जाने जनशक्ति मात्र उत्पादन गरिरहेछ, अहिलेका पढेका विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप छैन, आफ्नो संस्कृति, परम्परा र स्थानीय ज्ञान, सीपबाट बञ्चित गराइरहेको छ जस्ता धारणा र विचारहरू व्यक्त गरेको सुनिन्छ । अर्कातर्फ अभिभावकहरूको चिन्ता सुनिन्छ, ‘के गर्नु हिजोआजका बच्चा खाली किताबका कीरा बनेका छन् । न आदर सम्मान गर्न जान्दछन् न आफ्नो वातावरण, संस्कृति र रीतिरिवाजलाई बुझदछन्, न हाम्रो काममा सहयोग गर्छन् । परम्परागत ज्ञान, सीपको बारेमा त अनभिज्ञ नै छन् । यिनले के पढेका के पढेका ?’

यस किसिमका विचारहरू शिक्षाको परिणाममा आधारित देखिन्छ । उहाँहरूले शिक्षाबाट जस्तो उत्पादन देख्न चाहनुभएको थियो त्यस्तो नदेखेपछि यस्ता धारणा आउनु स्वाभाविक नै हो । यस सन्दर्भमा केही घटना अध्ययन गरौं :

  • केही वर्षअघिको कुरा हो; विद्यालयमा म सहायक प्रधानाध्यापक थिएँ । त्यहाँ सिउल विश्वविद्यालय, कोरियाका विद्यार्थीको टोली भ्रमणमा आएको थियो । अन्तिम दिन एक सानो विदाइ समारोहको आयोजना गरिएको थियो । सो समारोहमा कोरियन भ्रमण दलका सबै (करीब २५–३० जना) विद्यार्थी र शिक्षक तथा प्रोफेसरहरूले आफ्नो लोक बाजा बजाएर देखाए । आफ्नो लोक नृत्य नाचे र लोक गीत गाए । उनीहरूले भने, ‘यस्ता लोक गीत, बाजा र नृृत्य हाम्रा सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा सिकाइन्छ ।’

हामी जिल्ल परेर हेरिरह्यौं । हाम्रोतर्फबाट शिक्षकले त केही गर्न सकेनौं, हाम्रा केही विद्यार्थीले टेलिभिजन हेरेर सिकेको भरमा लोक नाच देखाए र स्थानीय लोक गीत गाए । हाम्रा अधिकांश विद्यार्थीमा त्यही क्षमता पनि थिएन । त्यस दिन मलाई निकै अप्ठेरो महसूस भएको थियो ।

उक्त समारोहपछि मैले हाम्रो प्राथमिक तहको पाठ्यक्रम पल्टाएर हेरें । त्यसमा सिर्जनात्मक कला भन्ने पाठमा कोरियालीहरूले गाएको, नाचेको र बजाएको जत्तिकै सिक्न पुग्ने विषयवस्तु समावेश भएको रहेछ । तर, विडम्बना हामीले त्यसको शिक्षण भने गरेका रहेनछौं । हामीले हाम्रा बालबालिकालाई मादलको परिचय र ताल सुन्न र लेख्न जान्ने त बनाएछौं; त्यसका बारेमा उत्तरपुस्तिकामा लेखेर प्रस्तुत गरेका भरमा उसलाई कक्षा उत्तीर्ण पनि गराएछौं तर मादल बजाउन चाहिं नजान्ने नागरिकको रूपमा पो विकास गरेका रहेछौं ।  

  • असार महीनाको एक दिन । चियापसलमा एक कृषक भुतभुताउँदै आए । ‘के गर्नु हिजोआजका बच्चा, पढे लेखेका, केही नजान्ने । खेतमा पानी लगाएर एकछिन हेर है भनेर छोरालाई छाडेर कोदाली लिन घर गएको थिएँ । खेतमा भ्वाङ परेछ । भ्वाङ देखेपछि कुदेर छोरो त मलाई बोलाउन घर पो पुगेछ । उता कुलो सुकेछ । यता खेतको पानी सबै भ्वाङबाट छिरेर अर्काको खेतमा गएछ । आठ कक्षा पढेको छोराको केही बुद्धि छैन । यसका बेलामा हामी खेतमा बाउसे गरेर हिंड्थ्यौं । भ्वाङको वरिपरि हिलो माटोको घेरा हालिदिने बुद्धि पनि न आ’को के पढ्या होला यिनले ?’
  • एकजना ज्येष्ठ नागरिक भन्दै हुनुहुन्थ्यो, “हामीले यो मन्दिरको संरक्षणका लागि बार लगायौं । के गर्नु केटाकेटीले फोहोर गरेर हैरान गर्छन् । ढुंगाले हानेर मूर्ति पनि फुटाएछन् ।” यो कुरा सुनेर मलाई चिन्ता लाग्यो, एकातर्फ बालबालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने कुरा कसरी सिक्ने होला ? अर्कातर्फ त्यस मन्दिरमा छिर्नै नपाएपछि बालबालिकाले त्यस सम्बन्धमा कहिले र कसरी सिक्ने होला ?

यी प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटना हाम्रो घर–समाजमा दैनिक रूपमा घटिरहेका हुन्छन् । हेर्दा यी घटना सामान्य लाग्छन् तर यिनले दिएको सन्देशले हाम्रो शिक्षा पद्धति र शिक्षणसिकाइ प्रक्रिया माथि प्रश्नचिह्न खडा गरिरहेका छन् । हाम्रा अभिभावक आफ्ना बालबालिकाको शिक्षाको लागि जे–जति लगानी गरिरहेका छन्, त्यसअनुसार प्रतिफल नपाएकोमा उनीहरू सन्तुष्ट छैनन् । राज्यले शिक्षामा जुन उद्देश्य लिएर लगानी गरिरहेको छ त्यो उद्देश्य पूरा हुन नसकेको आभास भइरहेको देखाउँछ । हाम्रो शिक्षा पद्धति वा शिक्षण सिकाइ प्रक्रियामा कहाँनेर कमी–कमजोरी छ त भन्ने जिज्ञासा यसले पैदा गरेको छ ।

के नेपालको वर्तमान पाठ्यक्रममा स्थानीय ज्ञान, सीप, संस्कृति, सभ्यता र स्थानीय आवश्यकता अनुरूपको आर्थिक, सामाजिक र व्यावहारिक गतिविधिको बारेमा सिकाउने प्लेटफर्म नभएकै हो त ? कि भएर पनि उपयोग नभएको हो ? यसलाई कसरी समेट्न सकिएला त ?

यिनै प्रश्नहरूको जवाफ खोज्ने प्रयास यहाँ गरिंदैछ । ‘अहिलेका पढेका विद्यार्थीमा व्यावहारिक ज्ञान, सीपको कमी छ, आफ्नो संस्कृति, परम्परा र स्थानीय ज्ञान, सीपबाट बञ्चित गराइरहेको छ, स्थानीय आवश्यकता अनुसारको ज्ञान, सीप र धारणा दिन सकिएको छैन कि’ भन्ने भनाइमा केद्रित रहेर छलफल अघि बढाउन खोजिएको छ ।

हाम्रा औपचारिक केन्द्रीय पाठ्यक्रमले यी सबै कुरालाई समेट्न सक्दैनन् । यस्ता स्थानीय ज्ञान, सीप र धारणाअन्तर्गतका धेरैजसो कुरा बालबालिकाले परिवार र समुदायबाट सिक्नुपर्ने हो तर धेरै अभिभावक आफ्ना बालबालिकालाई आफ्नो पारिवारिक र सामाजिक कार्यमा अल्मल्याएर उसको पढाइ बिगार्न पनि चाहँदैनन् । यस्ता उपयोगी र व्यावहारिक ज्ञान, सीपलाई सिक्न सिकाउन विद्यालयभित्र नै शिक्षण सिकाइ क्रियाकलाप र सह तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसैले यसका लागि स्थानीय परिवेशमा, स्थानीयले बनाएको स्थानीय पाठ्यक्रम नै आवश्यक हुन्छ ।  

नेपालमा स्थानीय पाठ्यक्रम कार्यान्वयनको अवस्था
विद्यालयको वर्तमान पाठ्यक्रममा कक्षा १ देखि ८ सम्मका लागि १०० पूर्णाङ्कको स्थानीय विषय वा मातृ भाषाको छुट्टै पाठ्यक्रम बनाएर शिक्षण गर्नुपर्ने व्यवस्था रहेको छ । कक्षा ६ देखि ८ सम्मका लागि संस्कृत वा अन्य विषय पनि समावेश गर्न सकिने व्यवस्था छ । तर पनि यसले पहिलो प्राथमिकता स्थानीय विषयलाई नै दिएको देखिन्छ । त्यसैगरी कक्षा १ देखि ५ सम्मको सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षा विषयमा पनि स्थानीय विषयवस्तु समेटेर शिक्षण सिकाइ कार्यकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । कक्षामा यी दुवै प्रकारका विषयवस्तु शिक्षण सिकाइका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने हुन्छ जसमा स्थानीय सरोकारवालाहरूको पूर्ण सहयोग र समर्थनको जरूरत पर्दछ ।

एकातर्फ हामी बालबालिकाले आफ्नो धरातल, मूल्यमान्यता, मौलिकता भुले, आफ्नो संस्कृतिबाट टाढिए, स्थानीय ज्ञान, सीप लोप भएर जाने भो भनेर चिन्ता गरिरहेका छौं भने अर्कातर्फ यिनै कुराहरू सिकाउनको लागि व्यवस्था गरिएको स्थानीय पाठ्यक्रमप्रति हामी उदासीन भइरहेका छौं ।

हुन त सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षा विषयको पाठ्यक्रम र पाठ्यपुस्तकमा पनि स्थानीय विषयवस्तु जोडेर सिकाउन सकिने प्रशस्त ठाउँ छन् । तर औपचारिक रूपमा बनेका पाठ्यपुस्तक पढाउने बानी परेका हाम्रा विद्यालयहरूमा यसरी स्थानीय विषयवस्तु जोडेर सिकाउने अभ्यासको कमी छ । त्यसैले हामीले स्थानीय सरोकारवालाहरूको सहभागितामा स्थानीय विषयवस्तु, व्यवहार, ज्ञान, सीप, प्रविधि र भौगोलिक, आर्थिक तथा सामाजिक गतिविधि समेटेर छुट्टै स्थानीय पाठ्यक्रम बनाएर राख्न सकिन्छ । नियमित शिक्षण सिकाइमा यसभित्रका विषयवस्तु र क्रियाकलाप जोडेर शिक्षण सिकाइ कार्य सञ्चालन गर्नु उपयुक्त हुन्छ ।

स्थानीय पाठ्यक्रममा के कस्ता विषयवस्तु समेट्न सकिन्छ भनी प्राथमिक शिक्षा पाठ्यक्रममा निम्नानुसारको सूची दिइएको छ :
१.    सांस्कृतिक क्षेत्र ः चाडपर्व, भेषभूषा, रहनसहन, कलाकौशल, गीत–संगीत, मेलापर्व, जात्रा, उत्सव, महोत्सव आदि ।
२.    ऐतिहासिक क्षेत्र ः स्थानीयस्तरका ऐतिहासिक वस्तु, व्यक्तित्व, प्राचीन स्मारक, पुराताŒिवक वस्तु आदि ।
३.    भौगोलिक क्षेत्र ः भौगोलिक स्वरूप, हावापानी, मौसम आदि ।
४.    प्राकृतिक क्षेत्र ः वनजङ्गल, नदीनाला, खोला, ताल, पोखरी, डाँडा, पहाड, हिमाल, वनस्पति, जडीबुटी, जीवजन्तु आदि ।
५.    धार्मिक क्षेत्र ः धार्मिक स्थल, धार्मिक क्रियाकलाप आदि ।
६.    आर्थिक क्षेत्र ः कृषि, व्यापार, उद्योग, पशुपालन, अन्य साना तथा ठूला उद्योग, रोजगारका क्षेत्र, आर्थिक उपार्जनसम्बन्धी गतिविधि आदि ।
७.    जातजाति÷भाषाभाषी क्षेत्र ः विभिन्न जाति, जनजाति, आदिवासीले बोल्ने भाषा÷भाषिका आदि ।
८.    पर्यटन क्षेत्र ः पर्यटन स्थलहरू, पर्यटनसम्बन्धी कार्यक्रम, गतिविधि आदि ।
९.    व्यावसायिक क्षेत्रः स्थानीयस्तरका विशेष प्रकारका व्यवसायीहरू (खुकुरी उद्योग, ढाका उद्योग आदि) ।
१०.    स्वास्थ्य क्षेत्रः फोहोरमैला व्यवस्थापन, खानेपानी, सामुदायिक स्वास्थ्य, प्राथमिक उपचार आदि ।
११.    वातावरण क्षेत्रः वृक्षरोपण, प्राकृतिक प्रकोप, वनजङ्गल संरक्षण आदि ।
१२.    शैक्षिक क्षेत्रः साहित्य, साक्षरता, चेतना आदि ।

माथि उल्लेख गरिएका क्षेत्र बाहेक पनि स्थानीय क्षेत्र भित्र वा स्थानीय आवश्यकता अनुरूपका यस्तै अनेकौं विषयवस्तु हुन सक्छन् जसलाई समेटेर पाठ्यक्रम बनाउन सकिने व्यवस्था रहेको छ ।

स्थानीय ज्ञान, सीप र धारणा सिकाउनको लागि हाम्रो पाठ्यक्रममा व्यवस्था नै नभएको भने होइन भन्ने तथ्य माथिको विवरणले पुष्टि गर्छ । हाम्रा अभिभावक, शिक्षाविद्, समाज र राज्यले पनि आफ्नो परिवेश बुझने, समाजमा समायोजन हुनसक्ने, परम्परागत राम्रा र उपयोगी ज्ञान, सीपलाई अपनाउने र स्थानीय आर्थिक गतिविधिमा सहभागी भई स्वरोजगार सिर्जना गर्न सक्ने नागरिकको रूपमा आजका बालबालिकालाई हेरेको देखिन्छ । यसका लागि केन्द्रीय र स्थानीय दुवै पाठ्यक्रमको संयुक्त कार्यान्वयन हुनु जरूरी हुन्छ । तर सबैको ध्यान केन्द्रीय पाठ्यक्रमतर्फ नै केन्द्रित भएको देखिन्छ । प्रत्येक शैक्षिक वर्ष शुरू हुनेवित्तिकै विद्यालयमा पाठ्यपुस्तक नपुगेको विषयले प्राथमिकता पाउँछ तर आधारभूत विद्यालयमा १०० देखि १४० पूर्णाङ्कको पढाइ भएको छ या छैन भन्नेमा ध्यान पुगेको देखिंदैन । केन्द्रीय पाठ्यक्रमले समेट्न नसक्ने यस्ता विषयवस्तुलाई समेट्न स्थानीय पाठ्यक्रमको व्यवस्था भए पनि यसले प्राथमिकता पाउन सकेको देखिंदैन । विद्यालयभित्र स्थानीय पाठ्यक्रम प्रवेश गराउने कार्यका लागि पाठ्यक्रम विकास केन्द्रले स्थानीय पाठ्यक्रम कार्यान्वयन निर्देशिका र स्थानीय पाठ्यक्रम प्रारूप तयार गरी प्रकाशन गरे पनि त्यसको कार्यान्वयनमा उत्साहजनक प्रगति भएको देखिंदैन । पाठ्यक्रम बनाएर कार्यान्वयन गराउने पक्षमध्येको कतिपय विद्यालयले पनि स्थानीय पाठ्यक्रमको सट्टा अंग्रेजी, गणित र नेपाली विषयका थप विषय शिक्षण गरेर यसतर्फ बेवास्ता गरेको देखिन्छ ।

अहिलेका बालबालिका परिवार र समुदायबाट टाढा हुँदै गएको अवस्था छ भन्ने गुनासा यत्रतत्र सुनिन्छन् । शहरी क्षेत्रमा बालबालिकाले अर्को विकल्प पनि भेटेका छन् । इन्टरनेट र टेलिभिजनले उनीहरूलाई स्थानीय परिवेशबाट टाढा बनाउँदै लगेको अवस्था देखिन्छ । यस्तो अवस्थामा विद्यालयमा नै स्थानीय विषयवस्तु समावेश गरेर पढाइकै रूपमा स्थानीय परिवेश, संस्कृति, परम्परा, आर्थिक तथा सामाजिक गतिविधिका बारेमा विद्यालयमा नै सिकाउनुपर्ने अवस्था सिर्जना भएको छ । यदि त्यसो गरिएन भने केही वर्षपछि आधुनिकताको नाममा हाम्रा संस्कृति र सभ्यता लोप हुने अवस्था आउन सक्छ भने स्थानीय ज्ञान, सीप र प्रविधि लोप भएर जान सक्छन् । अर्कातर्फ हाम्रा बालबालिका आफ्नो समुदाय, संस्कृति, भौगोलिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा सिक्ने अवसरबाट समेत वञ्चित हुन पुग्नेछन् । उनीहरू हामीबाट अझ्ै टाढिंदै जान सक्नेछन् ।

एकातर्फ हामी हाम्रा बालबालिकाले आफ्नो धरातल भुले, मूल्यमान्यताहरू भुले, मौलिकता भुले, हाम्रो संस्कृतिबाट टाढिए, स्थानीय ज्ञान, सीपको लोप भएर जाने भो भनेर चिन्ता गरिरहेका छौं भने अर्कातर्फ यिनै कुराहरू सिकाउनको लागि व्यवस्था गरिएको स्थानीय पाठ्यक्रमप्रति हामी किन उदासीन भइरहेका छौं, यो बहसको विषय बन्नु आवश्यक छ । हामी आफैंले विद्यार्थीलाई त्यस सम्बन्धमा सिक्ने अवसर नै दिएका रहेनछौं भने उनीहरू हामीबाट टाढिनु स्वाभाविकै हो । हाम्रो विद्यमान पाठ्यक्रम र कक्षामा सिकाइने विषयहरू बीचमा खाडल पो छ कि ? अभिभावक र शिक्षासँग सरोकार राख्ने वर्गको बुझइ र पाठ्यक्रममा भएको व्यवस्था बीचमा पो खाडल छ कि ? यी र यस्तै सवालहरूको समाधान खोज्ने प्रयास गर्दै जानुपर्छ ।

स्थानीय पाठ्यक्रमका विशेषता
स्थानीय पाठ्यक्रम निर्माण गर्दा मुख्य रूपमा दुई वटा कुरामा ध्यान दिनुपर्छ । एउटा, स्थानीय परम्परागत ज्ञान, सीप, प्रविधि र मौलिकतालाई जोगाउने, अर्को स्थानीय आवश्यकतालाई पूरा गर्ने । स्थानीय परम्परागत ज्ञान, सीप, प्रविधि र मौलिकतालाई जोगाउँदा स्थानीय आवश्यकता र आधुनिकता पछि पर्न सक्छ । अनि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा नआउन सक्छ । जस्तै हाम्रा परम्परागत ज्ञान, सीप, प्रविधि र मौलिकतासँग सम्बन्धित कुराहरू ढिकी, जाँतो, सुकुल जस्ता कुराको बारेमा सिकाउन थाल्यो भने हाम्रो परम्परागत प्रविधिको बारेमा विद्यार्थीलाई सिकाउन त सक्छौं तर त्यसबाट मात्र अब स्थानीय आवश्यकता पूरा हुँदैन । त्यसैले यो व्यावहारिक हुँदैन । त्यसैले स्थानीय पाठ्यक्रम बनाउँदा हाम्रा परम्परागत ज्ञान, सीप, प्रविधि र मौलिकतालाई अभिलेखको रूपमा जानकारी गराउने । तर त्यहाँको आधुनिक प्रविधिको उपयोगबाट कसरी स्थानीय आवश्यकता पूरा गर्ने र कसरी आर्थिक विकास गर्ने अनि बजारमा प्रतिस्पर्धा गर्ने भन्नेमा जोड दिनुपर्छ । परम्परा मर्न पनि नदिने अनि आवश्यकता पूरा पनि हुने विषयवस्तु छनोट गर्नुपर्छ । खासगरी स्थानीय पाठ्यक्रममा निम्न विशेषता हुनुपर्छ ः
– स्थानीय आवश्यकतामा आधारित हुने
– स्थानीय विषयवस्तु समावेश हुने
– स्थानीय सहभागितामा आधारित हुने
– स्थानीय तहबाटै पाठ्यक्रमको विकास हुने
– स्थानीय सामग्रीको प्रयोग हुने
– स्थानीय ज्ञान, सीपमा आधारित हुने

स्थानीय पाठ्यक्रम कार्यान्वयन हुन नसक्नाका कारण
यति जरूरी विषय भएर पनि स्थानीय पाठ्यक्रम हाम्रो प्राथमिकतामा नपर्नुका कारणलाई निम्नानुसार औंल्याउन सकिन्छ ः

  • स्थानीय पाठ्यक्रमका बारेमा आम नागरिकमा जानकारी नहुनु  
  • स्थानीय पाठ्यक्रमको व्यवस्था भएको स्थानीय निकाय र सरोकारवालाहरूमा अनभिज्ञता हुनु
  • स्थानीय पाठ्यक्रम निर्माण गर्नु झ्ञ्झ्टिलो र खर्चिलो कार्य हो भन्ने धारणा हुनु
  • पाठ्यपुस्तक शिक्षण गर्ने बानी परेको हुनाले पाठ्यपुस्तक विनाको स्थानीय पाठ्यक्रमका आधारमा शिक्षण गर्न आवश्यक सीपको अभाव हुनु
  • संस्थागत विद्यालयले परीक्षा केन्द्रित पढाइ सञ्चालन गर्नु र सामुदायिक विद्यालयले उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहनु  
  • अंग्रेजी र गणित विषय कठिन भएको हुनाले त्यसका लागि थप पढाइ आवश्यक हुन्छ भन्ने धारणा कायम रहनु
  • स्थानीय पाठ्यक्रमको महŒव र उपयोगिता बारेमा अनभिज्ञता रहनु    
  • स्थानीय पाठ्यक्रम शिक्षण गर्न थप शिक्षक वा शिक्षक दरबन्दी आवश्यक हुन्छ भन्ने धारणा कायम रहनु
  • शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र स्रोत केन्द्रले यसको कार्यान्वयनमा कम चासो दिनु ।
  • प्रस्तुत कारणहरूका अतिरिक्त अन्य कारण पनि जिम्मेवार हुन सक्छन् । ती पहिल्याएर त्यस्ता सबै कारणको विश्लेषण गरी उचित उपायको खोजी गर्नु हाम्रो दायित्व हो ।

स्थानीय पाठ्यक्रमका चुनौती

  • स्थानीय पाठ्यक्रम कार्यान्वयन हुनै नसक्ने भने होइन तर यसका लागि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । जस्तै,
  • पाठ्यपुस्तक शिक्षण गर्ने बानीमा सुधार गरेर पाठ्यक्रममा आधारित शिक्षण सिकाइ कार्य सञ्चालन गर्नु
  • परीक्षामा आधारित शिक्षण सिकाइ कायम रहनु
  • सबै सरोकारवालाहरूमा स्थानीय पाठ्यक्रमको बारेमा जनचेतना जगाउनु
  • स्थानीय पाठ्यक्रमलाई स्थानीय निकायको प्राथमिकतामा पार्नु
  • स्थानीय पाठ्यक्रम निर्माण गर्नु
  • कक्षामा स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नु
  • संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम प्रवेश गराउनु

प्रत्येक शैक्षिक वर्ष शुरू हुनेवित्तिकै विद्यालयमा पाठ्यपुस्तक नपुगेको विषयले प्राथमिकता पाउँछ तर आधारभूत विद्यालयमा १०० देखि १४० पूर्णाङ्कको पढाइ भइनरहेको तथ्यप्रति भने हामी कसैको ध्यान पुगेको देखिंदैन ।

समाधानका उपाय

  • प्रस्तुत चुनौतीको सामना गर्दै स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि निम्नानुसारका उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ः
  • नवगठित स्थानीय निकायहरूले आफ्नो शिक्षा योजना र कार्यक्रममा स्थानीय पाठ्यक्रमलाई प्राथमिकतामा राखी निर्माणमा सहयोग गर्नुपर्छ ।
  • शिक्षा विभाग र सम्बद्ध निकायबाट विद्यालय तहको पूर्ण पाठ्यक्रम कार्यान्वयन गर्न आवश्यक तदारुकता, निर्देशन र अनुगमन गर्नुपर्दछ ।
  • विद्यालयका सम्बद्ध शिक्षक र प्रधानाध्यापक एवम् व्यवस्थापन समितिका पदाधिकारीहरूलाई स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन सम्बन्धमा क्षमता विकास गर्नुपर्छ ।
  • स्थानीय पाठ्यक्रमको महŒव र आवश्यकता सम्बन्धमा सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्छ ।
  • अधुरो पाठ्यक्रम शिक्षण गर्ने विद्यालयलाई शुरूमा स्थानीय पाठ्यक्रम कार्यान्वयन गरेर पूर्णता दिन दबाब दिने र नगरेमा कारबाहीको दायरामा ल्याउने कानूनी व्यवस्था गर्नुपर्छ ।
  • संस्थागत विद्यालयले पनि अनिवार्य रूपमा स्थानीय पाठ्यक्रम बनाई कार्यान्वयन गर्नुपर्ने व्यवस्था हुनुपर्छ ।

स्थानीय पाठ्यक्रम समसामयिक आवश्यकता हो । स्थानीय अभिभावक र समुदायको सरोकारको विषय हो । यसको कार्यान्वयनबाट भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकालाई आफ्नो स्थानीय र धार्मिक, सांस्कृतिक, आर्थिक अवस्थाको बोध हुने र त्यसको संरक्षण र विकासमा मद्दत पुग्ने देखिन्छ । राष्ट्रिय पाठ्यक्रमले स्थानीय विषयवस्तुको आवश्यकता भएकै कारणले स्थानीय विषयका लागि स्थान छुट्याएको छ । त्यसैले स्थानीय सबै सरोकारवालाको प्रयासबाट स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न आजैबाट प्रयास थाल्नुपर्ने देखिन्छ ।

commercial commercial commercial commercial