परीक्षाका लागि पढाइ !

विद्यालयमा संस्थागत हुँदै गएको यस्तो परीक्षामुखी प्रचलनले तल्ला कक्षामा शिक्षण सिकाइमा बेवास्ता भइरहेको तथा माथिल्ला कक्षामा पनि शिक्षण सिकाइका गतिविधि यिनै परीक्षा वरिपरि केन्द्रित हुन पुगेको सहजै देख्न सकिन्छ ।

योविश्लेषण मार्टिन चौतारीले वि.सं. २०७३ फागुन–चैतमा आठ जिल्लाका ७४ वटा सामुदायिक माध्यमिक विद्यालयमा गरेको सर्वेक्षणमा आधारित छ । उक्त सर्वेक्षण परीक्षा र कक्षाकोठामा हुने शिक्षण–सिकाइबीचको अन्तर सम्बन्धमा केन्द्रित थियो । यस लेखमा सर्वेक्षणका केही पक्षलाई मात्र समेटिएको छ ।

शिक्षण सिकाइको दैनिकी
विभिन्न अध्ययन अनुसार समृद्ध सिकाइका लागि शैक्षिक पूर्वाधार तथा शैक्षणिक प्रक्रियाको भूमिका प्रबल हुन्छ । हामीले सर्वेक्षण गरेका विद्यालयमा पनि यी बारेका प्रश्न समेटेका थियौं । शैक्षिक पूर्वाधार अन्तर्गत पुस्तकालय तथा (विशेषगरी माथिल्ला कक्षाहरूको हकमा) विज्ञान प्रयोगशालालाई सिकाइको आधारभूत अवयवका रूपमा लिइन्छ । सर्वेक्षण गरेका विद्यालयमध्ये सबैमा पुस्तकालय त थिएन नै, भएकामा पनि सबै विद्यार्थीले तिनको पर्याप्त उपभोग गरिरहेका थिएनन् । पुस्तकालयको उपलब्धतामा तहगत विभेद पनि देखिन्थ्यो; तल्ला कक्षामा भन्दा माथिल्ला कक्षामा पुस्तकालयको उपलब्धता केही राम्रो थियो ।

तर पुस्तकालय उपलब्ध हुँदैमा सबै विद्यार्थीले त्यसको प्रयोग गर्छन् भन्ने छैन । समग्रमा, सर्वेक्षणमा सहभागी कुल विद्यार्थीमध्ये ४७.६ प्रतिशतले मात्र पुस्तकालय प्रयोग गरेको पाइयो, यद्यपि प्रयोग गर्ने मध्ये ९१ प्रतिशतले कम्तीमा महीनामा एक पटक प्रयोग गर्दा रहेछन् ।

करीब ४५ प्रतिशत विद्यालयमा मात्र विज्ञान प्रयोगशाला थियो । तर सर्वेक्षणमा सहभागी कक्षा ८ र १० का कुल विद्यार्थीमध्ये करीब ३२.५ प्रतिशतले मात्र त्यसको प्रयोग गरेको बताए । (चित्र १) माध्यमिक तहमा विज्ञान अनिवार्य भएको तथा सो विषयमा प्रयोगात्मक परीक्षा पनि लिइने सन्दर्भमा प्रयोगशाला प्रयोगको यो न्यून प्रतिशत चिन्ताको विषय हो ।

सिकाइको सन्दर्भमा विद्यालयमा विषय पढ्ने बाहेकका क्रियाकलापले पनि अहम् भूमिका खेल्दछन् । यस सन्दर्भमा हामीले सर्वेक्षण गरेका विद्यालयमा खेलकुद र अतिरिक्त क्रियाकलापमा संलग्न हुने विद्यार्थीको जमात त ठूलै थियो तर विद्यालयले यस्ता गतिविधिलाई शिक्षण सिकाइको मानक मानेको देखिएन । सबै विद्यालयले विद्यार्थीको मूल्यांकन विषयगत रूपमा त्रैमासिक परीक्षामार्पmत मात्र गर्दै आएको देखियो भने विद्यार्थीका अन्य क्षमता तथा सीपको मूल्यांकन पनि नहुँदो रहेछ । यसरी हेर्दा नेपालका सामुदायिक विद्यालयको शिक्षण सिकाइको दैनिकी विषयकेन्द्रित रहेको सहजै देख्न सकिन्छ, र यस क्रममा पाठ्यक्रमको तुलनामा पाठ्यपुस्तकको भूमिका अहम् हुन्छ ।

करीब २० प्रतिशत शिक्षकले आफूसँग आफूले पढाउने विषयको पाठ्यक्रम नभएको बताए भने ५० प्रतिशत शिक्षकले आफूसँग शिक्षक निर्देशिका नभएको बताए । शिक्षकले पढाउँदा प्रायः पाठमा मौखिक प्रश्नोत्तर, छलफल तथा कठिन प्रकृतिका समस्या समाधान गर्ने जस्ता तुलनात्मक रूपमा निम्नस्तरका विधिको प्रयोग गर्ने गरेको विद्यार्थीले बताए । यी विधिको तुलनामा चित्रण (पोस्टर, चित्र, तालिका, चार्ट, आदि) र अडियो–भिडियो सामग्रीको प्रयोग, प्रोजेक्ट वर्क, समूह कार्य तथा सिर्जनात्मक लेखन गर्ने÷गराउने कार्य निकै कम मात्रामा हुने गरेको उनीहरूले बताए ।

पाठ्यक्रम विकास केन्द्रले उत्पादन गरेका पाठ्यपुस्तकको विषयवस्तुगत संरचना हेर्दा कुनै पनि विषयको पाठ पढिसकेपछि (विषय हेरिकन) अभ्यास, क्रियाकलाप, परियोजना कार्य तथा सामुदायिक कार्य जस्ता विभिन्न गतिविधि समावेश गरिएको सहजै देख्न सकिन्छ । तर प्रायःजसो विद्यालयमा र कक्षामा, कुनै पाठ पढिसकेपछि विद्यार्थीले सो पाठसँग प्रत्यक्ष सम्बन्धित अभ्यासहरू सबै गर्ने तर क्रियाकलाप, परियोजना कार्य तथा सामुदायिक कार्य भने छानीछानी गर्ने बताए ।

यसो हुनुमा परीक्षाले अहम् भूमिका खेलेको देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा, परीक्षाका प्रश्नहरू प्रायः किताबको अभ्यास दिइएका प्रश्नहरूमध्येबाटै आउँदा रहेछन्, न कि क्रियाकलाप, परियोजना तथा सामुदायिक कार्यबाट । फलस्वरूप, शिक्षकले दिने कक्षाकार्य र गृहकार्य पनि अभ्यासकेन्द्रित हँुदारहेछन् भने विद्यार्थीलाई पनि त्योभन्दा पर गएर थप कार्य गर्नुपर्ने आवश्यकता नै महसूस नहुने रहेछ ।

सिकाइका लागि विभिन्न किसिमका शैक्षिक सामग्रीको उस्तै महŒव हुन्छ । यस सन्दर्भमा हामीले विद्यार्थीका घरमा विद्यालयका पाठ्यपुस्तकबाहेक पढ्नका लागि अन्य के–कस्ता सामग्री उपलब्ध छन् भनेर पनि सोधेका थियौं । यसको जवाफमा कक्षा ५ का ४१ प्रतिशत विद्यार्थीले विद्यालयले उपलब्ध गराएको पाठ्यपुस्तकबाहेक पढ्नका लागि घरमा अन्य केही पनि सामग्री नभएको बताए भने कक्षा ८ का १८ प्रतिशतले अन्य केही पनि सामग्री नभएको बताए । कक्षा १० मा भने जम्मा ३.२ प्रतिशतले मात्र अन्य केही पनि सामग्री नभएको बताए । कक्षा ८ का ५० प्रतिशतले घरमा अन्य पाठ्यपुस्तक तथा ३७ प्रतिशतले गेसपेपर भएको बताए । कक्षा १० का ७२ प्रतिशत विद्यार्थीले घरमा गेसपेपर भएको बताए भने ५६ प्रतिशतले अन्य पाठ्यपुस्तक भएको बताए । यसरी हेर्दा के देखिन्छ भने साना कक्षाका बालबालिकाका लागि पाठ्यपुस्तकबाहेक अन्य सामग्री सहजै उपलब्ध छैनन् भने माथिल्ला कक्षामा अध्ययनरतका लागि भने परीक्षाकेन्द्रित सामग्री मात्र उपलब्ध छन् ।

शिक्षण सिकाइको प्रक्रियामा शिक्षकको नियमितताले निकै ठूलो महŒव राख्दछ । सर्वेक्षणमा सहभागी विद्यार्थीले भने अनुसार कक्षा ५ को तुलनामा कक्षा ८ मा शिक्षकको नियमितता राम्रो थियो, र कक्षा ८ को तुलनामा कक्षा १० मा अझ्ै राम्रो थियो (चित्र २) । साथै, अनिवार्य विषयका शिक्षकभन्दा ऐच्छिक विषयका शिक्षकको उपस्थिति कम थियो । स्मरणरहोस्, अनिवार्य विषयको तुलनामा ऐच्छिक विषयका पाठ्यपुस्तक पनि विद्यार्थीले ढिला गरी पाएको बताएका थिए । शिक्षक नियमितताको प्रत्यक्ष असर विषयवस्तु वा पाठ समयमै पूरा हुन्छन् कि हुँदैनन् भन्नेमा पर्छ । कक्षा ५ का विद्यार्थीमध्ये करीब २४ प्रतिशतले मात्र सबै विषयको पाठ सकिएको जनाउ दिए भने कक्षा ८ का २५ प्रतिशत र कक्षा १० का ५६ प्रतिशत विद्यार्थीले सबै विषयको पाठ सकिएको बताए ।

शैक्षिक सत्रको अन्त्यमा गरिएको सर्वेक्षणको यस्तो नतिजाले नेपालका धेरै सामुदायिक विद्यालयमा पाठ्यपुस्तकमा भएका सीमित विषयवस्तु पनि वर्षभरिमा सक्न धौ–धौ पर्ने कटुसत्यतर्फ इङ्गित गरेको छ । यसका साथै शिक्षक नियमितता तथा विषयवस्तुलाई समयमै पूरा गर्ने कुरामा पनि तहगत विभेद भएको स्पष्टै देख्न सकिन्छ ।

परीक्षालाई अत्यधिक महŒव
विद्यालयले एसएलसी (हाल एसईई) लाई अत्यधिक महŒव दिने कुरा यसअघिका लेखहरूमा चर्चा गरिएको थियो । यसमा थप उल्लेख्य कुरा के छ भने परीक्षामा दिइने यस्तो जोड एकदमै एकपक्षीय र अस्वाभाविक देखिन्छ, र यो प्रवृत्ति निजी वा सार्वजनिक, सबै प्रकारका विद्यालयमा उस्तै छ । सर्वेक्षणका क्रममा हामीले कक्षा ८ र १० का विद्यार्थीलाई “यस विद्यालयले कक्षा ८ को जिल्लास्तरीय परीक्षा (जसलाई चलनचल्तीमा डीएलई पनि भन्ने गरिन्छ) तथा कक्षा १० को अन्त्यमा लिइने एसएलसी परीक्षालाई कत्तिको महŒव दिन्छ ?” भन्ने प्रश्न गरेका थियौं । जवाफमा कक्षा ८ का क्रमशः ६१ प्रतिशत र ७५ विद्यार्थीले धेरै महŒव दिन्छ भनेका थिए भने कक्षा १० का क्रमशः ४९ प्रतिशत र ८२ विद्यार्थीले धेरै महŒव दिन्छ भनेका थिए । अर्थात्, एसईई (र, केही हदसम्म डीएलई) परीक्षा स्कूले जीवनको सबैभन्दा महŒवपूर्ण परीक्षा हुन जान्छ, र विद्यालय तथा विद्यार्थीले त्यसका लागि विशेष तयारी गर्दछन् ।

परिणामतः अन्य कक्षाको तुलनामा कक्षा १० मा शिक्षकको नियमितता बढ्ने, नियमित कक्षाका अतिरिक्त बिहान र बेलुकी थप कक्षा सञ्चालन गरिने, र विषयगत हिसाबले हेर्दा अन्य कक्षा वा तहमा भन्दा कक्षा १० मा पाठ छिटो सकिने अवस्था हुँदोरहेछ । सर्वेक्षणमा सहभागी कक्षा १० का झ्ण्डै ६३ प्रतिशत विद्यार्थीका अनुसार उनीहरू अध्ययनरत विद्यालयले अतिरिक्त समयमा कोचिङ÷ट्यूसन कक्षा सञ्चालन गरिरहेको थियो, र करीब ९० प्रतिशत विद्यार्थीले आपूm कोचिङ÷ट्यूसन कक्षामा सहभागी भइरहेको जनाएका थिए । यस्ता कक्षाको ध्याउन्न नै परीक्षार्थीलाई एसएलसीका पुराना तथा नमूना प्रश्नसँग अभ्यस्त गराउने हुन्छ जसले गर्दा विद्यार्थीले सबै विषय सहजै पास गर्न सकुन् ।

निष्कर्ष
यो सर्वेक्षणले के देखाउँछ भने कक्षा ८ र १० मा हुने डीएलई र एसएलसी÷एसईई जस्ता बोर्ड परीक्षाले सबैजसो विद्यालयको दैनिकीमा अति नै महŒवपूर्ण स्थान ओगटेका छन् । सार्वजनिक वृत्तमा कुनै पनि विद्यालयको सफलता वा असफलता यस्तै परीक्षामा निर्भर हुनाले विद्यालयको दृष्टिकोणमा यस्ता परीक्षालाई अत्यधिक महŒव दिनु स्वाभाविक पनि लाग्न सक्छ । तर विद्यालयमा संस्थागत हुँदै गएको यस्तो परीक्षामुखी प्रचलनले तल्ला कक्षामा शिक्षण सिकाइमा बेवास्ता भइरहेको तथा माथिल्ला कक्षामा पनि शिक्षण सिकाइका गतिविधि यिनै परीक्षा वरिपरि केन्द्रित हुन पुगेको सहजै देख्न सकिन्छ । यस क्रममा विद्यालयको शिक्षा दिने र शिक्षित बनाउने कार्य केबल निश्चित विषय पढाउने अनि विद्यार्थीलाई जसरी हुन्छ ती विषयको परीक्षाको खड्गो पार गर्नेमा खुम्चिन पुगेको छ । शिक्षाको यस्तो संकुचित प्रक्रियामा बालबालिकाको समग्र शारीरिक एवं मानसिक विकास गौण हुन पुग्नु, र शिक्षा केवल परीक्षाकेन्द्रित तालीममा सीमित हुनु नेपाली शिक्षा प्रणालीका लागि ठूलो चिन्ताको विषय हो ।

commercial commercial commercial commercial