स्नेह नै हो सही मार्गमा डो¥याउने उत्तम उपाय

मेरा यथार्थ अनुभव
म कुनै बालमैत्री तालीम लिएकी शिक्षक होइन । न त धेरै बौद्धिक क्षमता भएकी नारी नै हुँ । म त केवल सामान्य लेखपढ गर्न सक्ने ६ वर्षीया बच्चाकी आमा र एउटी सामान्य गृहिणी मात्र हुँ । शिक्षक पत्रिकामा विश्वप्रसिद्ध व्यक्तित्वहरूको जीवनी; विभिन्न अनुसन्धानहरूको निचोड र शिक्षा तथा शिक्षण पेशामा लाग्नुभएका महान् व्यक्तित्वका विचारहरू पढ्न पाइन्छन् । यो पत्रिकाका निम्ति सुहाउँदिला साहित्यिक शब्द, उत्कृष्ट सुझवहरू मसँग नहोलान् । तर पनि मैले बच्चासँग बिताएका ६ वर्षका एकदमै यथार्थ अनुभव छन् मसँग ।

मैले आजसम्म बच्चालाई हप्काएकी छैन, गाली गरेकी छैन वा हातै उठाएकी छैन भनेर यहाँ लेख्न त सकुँला तर आफूले आफंैलाई ढाँट्न सक्दिनँ । जब ऊ चार वर्षको थियो, मेरो एकाग्रता भङ्ग गरेका कारण मैले उसको ढाडमा पिटें । ऊ जोडले रोयो । बच्चा रोएको देखेपछि म आफैं पनि खूब रोएँ । हामी दुवै जना रोयौं । म स्वभावले नै सानैदेखि बच्चा र वृद्धवृद्धा भनेपछि हुरुक्क हुन्थें । त्यसैले पनि त्योभन्दा अगाडि मैले कुनै बच्चालाई कुटेकी थिइनँ । त्यसपछि पनि मैले बच्चालाई हात उठाएकी छैन । शिक्षक मासिकले उत्पादन गरेको शिक्षा–संवाद रेडियो कार्यक्रम सुन्थें । त्यो कार्यक्रमको प्रश्नोत्तरमा विजेता बनेपछि प्रत्येक महीना शिक्षक पत्रिका पाउन थालें । शिक्षक मासिक पढेपछि त मैले बच्चालाई हात उठाउने त के, गाली वा हप्काएकी पनि छैन । तर सुखद् अनुभव के छ भने, छोटो समयमै मेरो बच्चामा थुप्रै सकारात्मक परिवर्तन देखिएका छन् ।

मेरो परिवारमा म, श्रीमान्, बच्चा, सासु, ससूरा गरेर पाँच जना छौं । सासू, ससुरा अलि पुरानै सोचका हुनुुहुन्छ । उहाँहरू बच्चालाई कुटपिट वा गाली गरेर तह लगाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । म त्यसको विरोध गर्छु र सम्झउने प्रयास गर्छु । तर सफल भएकी छैन । उल्टै बच्चालाई पुलपुल्याएर बिगारी भन्ने आरोप पाएकी छु । तर स्पष्ट कुरा के देखिन्छ भने हजुरबा, हजुरआमाले भनेको बच्चा मान्दैन । जब म उसलाई माया गरेर सम्झउँछु, ऊ हरेक चिज मान्न तयार हुन्छ ।

बच्चाहरू जे नगर भन्यो त्यही गर्ने स्वभावका हुन्छन् । गरे के हुन्छ ? भन्ने जिज्ञासाले उनीहरू त्यस्तो गर्छन् । त्यसैले उनीहरूलाई त्यसपछिको परिणाम बारे जानकारी गराउनुपर्छ । जब बच्चाले चकचक वा बिगार गर्छ, देख्नासाथ हामीलाई झ्ट्ट रिस उठ्छ । तर म रिसलाई दबाउने प्रयास गर्छु । बच्चा अग्लो काठको भ¥याङ चढ्छ । म उसलाई नचढ मात्रै भन्दिनँ, चढेर लडिहाल्यो भने त्यसपछिका परिणाम भनिदिन्छु । खाना बनाउँदा ऊ चलाउन जान्छ । म उसलाई त्यसको खतरा बारे जानकारी गराउँछु र ठूलो भएपछि खाना बनाएर खुवाउ है भन्छु, ऊ मख्ख पर्छ । ऊ टिभी तथा रेडियो चलाउँछ, म उसलाई ऊ सानो भएको र यसरी चलाउँदा सामान बिग्रने, बनाउनुपर्ने तथा समय र पैसा खर्च हुने कुराको जानकारी गराउँछु । उसले गर्ने हरेक चकचक पछिका परिणाम म अगाडि नै भनिदिन्छु । त्यसकारण ऊ अगाडि बढ्दैन ।

म मेरो बच्चालाई पढ र लेखको ठाडो आदेश शैली प्रयोग गर्दिनँ । म उसलाई सोध्छु— ‘बाबु कति खेर पढ्छौं ?’ उसले आफैं योजना बनाउँछ र भन्छ, “एकछिन खेलेर वा एकछिन टिभी हेरेर पढ्छु ।” उसलाई आफ्नो जिम्मेवारी महसूस हुन्छ र ऊ पढ्छ । यदि मैले उसलाई पढ भनेर हप्काएँ भने ऊ मसँग मात्र होइन पढाइसँग पनि रिसाउँछ । त्यसपछि पढ्ने जिम्मेवारी आफ्नो मात्र नभई मम्मीको पनि हो भन्ने ठान्न थाल्छ । र, पढाइलाई बोझ्को रूपमा लिन थाल्छ । कुनै अनावश्यक चिजको माग गर्दा म पैसाको महŒव र बचतमा जोड दिन्छु र भन्छु, ‘बाबु पैसा खर्च गर्नुहुँदैन जम्मा गरौं ल ! धेरै पैसा भएपछि तिमीलाई सानो साइकल किनौंला ।’ ऊ साइकल चलाउने सपना देख्न थाल्छ र मागेको कुरा भुल्छ ।

मेरो विचारमा बालबालिकालाई सही मार्गमा डो¥याउने उत्तम उपाय स्नेह र माया नै हो, त्यस्तो माया जसलाई बालबालिकाले नजिकबाट महसूस र स्पर्श गर्न सकुन् । हुन त कडा, ठूलो स्वरले गाली गर्ने र कुटपिट गर्ने अभिभावकले पनि आफ्ना बच्चालाई माया नै गर्न चाहेका हुन्छन् । उनीहरूको उद्देश्य पनि बच्चा नबिग्रियोस् भन्ने नै हुन्छ । तर, यसमा बालबालिकाले अभिभावकको त्यो भित्री प्रेमको स्पर्श गर्न सक्दैनन् । त्यसै कारण उनीहरूमा गाली गर्ने अभिभावकप्रति नै घृणा उत्पन्न हुन थाल्छ ।

दण्डसहित र दण्डरहित लवजको उच्चारण र अक्षरमा धेरै फरक नभए पनि यी दुवै तरीकाले बालबालिकालाई डो¥याउँदा यसको नतीजामा भने निकै ठूलो अन्तर देखिन्छ । लठ्ठी लिएर कक्षामा घुम्ने शिक्षकसँग बालबालिकाहरू छलफल गर्न तथा निर्धक्कसँग बोल्न डराउँछन् । डर त्यो चिज हो, जसले ढुक्कसँग कुनै काम गर्न दिंदैन । उदाहरणका निम्ति आफैंतिर फर्कौं, परिपक्व भइसकेका कतिपय हामी अभिभावक तथा शिक्षकलाई नै कुनै सभामा अगाडि उभिएर बोल्नुपर्दा विना लठ्ठी नै पनि हाम्रा खुट्टा काम्छन्, स्वर अवरुद्ध हुन्छ भने साना नानीहरूको कुरा नै अलग भयो । त्यसैले बालबालिकालाई दण्डरहित शिक्षा तथा लालन–पालन हुनुपर्छ भन्ने कुरामा कुनै दुईमत छैन । दण्ड सजायका विकल्पमा आफूले जाने बुझ्ेका र अनुभव गरेका केही सुझवहरू यहाँ प्रस्तुत गरेकी छुः–
१.    बालबालिकाको पहिलो विद्यालय उसको घर भएको कारण, हामीले उनीहरूका अगाडि गलत गतिविधि गर्नुहुँदैन ।
२.    बालबालिकालाई औपचारिक शिक्षाका साथै व्यावहारिक शिक्षा, भ्रमण तथा अवलोकनको व्यवस्था बेला–बेलामा गरिदिनुपर्छ ।
३.    अभिभावक वा शिक्षक बालबालिकासामु प्रस्तुत हुँदा, खेल्दा, कुरा गर्दा, पढाउँदा शिक्षक वा अभिभावक होइन बच्चा नै बन्ने प्रयास गर्नुपर्छ । यसोगर्दा उनीहरू अझ् बढी खुल्छन् ।
४.    बालबालिका स्वभावले नै बढी जिज्ञासु हुने हुनाले उनीहरूले भन्न खोजका कुरा ध्यान दिएर सुनिदिनुपर्छ र चित्त बुझने जवाफ दिनुपर्छ ।
५.    बालबालिकाले राम्रो कार्य गर्न लागेका छन् भने त्यसप्रति उनीहरूलाई उत्साह र हौसला प्रदान गर्नुपर्छ ।
६.    कुनै गलत काम गर्न लागेका भए त्यसको गलत नतीजाको बारेमा राम्ररी सम्झउनुुपर्दछ ।
७.    बालबालिकासँग जति सक्दो सम्मानित शब्दको प्रयोग गर्नुपर्छ । साथै उनीहरूसँग कुरा गर्दा कृपया, माफ गर र धन्यवाद जस्ता शब्दको बढी प्रयोग गर्नुपर्दछ ।
८.    कुनै काम गराउनु पर्दा ठाडो आदेश नदिइकन छलफल र अनुरोध गर्नुपर्दछ ।
९.    बच्चाको आफ्नो विषयको सामान्य काम उसैलाई गर्न दिनुपर्छ ।

(धनगढी–१०, घुइयाघाट, कैलाली)

commercial commercial commercial commercial