अब जुटौं साथीहरू, हामी सक्छौं !!!

सामाजिक सञ्जालमा प्रवेश गरें— सबैलाई निराशाको बादलले छोपेको पाएँ । गालीगलौज र आलोचनाको गलत महाभारत देखें । वादको राजनीतिले जनताको भात बिचल्ली बनायो । देशका समग्र क्षेत्रहरू भताभुङ्ग भएको जस्तो देखियो । सरकारी विद्यालयहरू नकारात्मक सामाजिक बहसका केन्द्र बने । अरूलाई दोष दिएर हामी दोषरहित हुन सक्दैनौं शिक्षक मित्रहरू ! जिम्मेवारभन्दा जवाफदेही बन्ने प्रयास गरौं साथीहरू ! शिक्षक मात्र होइन गुरु बन्ने पनि कोशिश गरौं । सरकारी विद्यालयहरूलाई शैक्षिक आकर्षणको केन्द्र बनायौं, साथीहरू ।

हामीले विद्यार्थीहरूमा सिकाइको तृष्णा जगाउन सकेनौं मित्रहरू, जाग्यो वितृष्णा । निजी विद्यालयहरू फस्टाउनुको कारण यही हो । शैक्षिक गन्तव्यको महान् यात्रामा होमिआंै मित्रहरू; जहाँ एकको क्षमताले अर्कोको क्षमतामा अभिवृद्धि गर्छ । इच्छा, जोश, जाँगर, संस्कार नबदल्नेले बाटो मात्र अवरुद्ध नगरौं । शिक्षकहरू दलको छातामुनि, विद्यालय रित्तो, लाखौं लगानीका भवनहरू कुरुप ! काममा रहेछ इज्जत, ज्ञानलाई काममा जोड्न सक्ने कर्मयोगी जनशक्ति निर्माणमा जुटौं, साथीहरू ।

शिक्षकहरू प्रबुद्ध नेतृत्व वर्ग हौं, अब्बल चेतनाले मात्र निराशा भित्र आशा देख्छ । सबै चीज असम्भव देख्नु परिवर्तन नस्वीकार्नु हो । द्वन्द्व स्थायी छ, यसबाट भाग्न खोज्नेहरूको जीवन निरश छ, सृजनात्मक प्रयोग गरौं । सम्पूर्ण द्विविधाहरूको समाधान शिक्षाबाट शुरू हुन्छ । हामीले समय व्यवस्थापन हैन समयसँग आफूलाई व्यवस्थापन गर्न सकेनौं किनकि समय हाम्रो वशमा छैन । अनि, हामी सबै चिज असम्भव र अव्यवस्थित देख्छौं । जनविश्वास हाम्रो तागत हो, नैतिकवान र लगनशील मान्छेले मात्र यस्तो तागत प्राप्त गर्छन् । कुनै बेला शिक्षकहरू नै समाजका सबभन्दा विश्वासिला पात्र थिए । हामी वर्षौंदेखि गुमेको शिक्षक र शिक्षाको इज्जत फर्काउने कि सधैं लाचार भएर तलब पकाउने; रोजाइ हाम्रै हो ।

पैसा सबै थोक होइन; नैतिकता, इमानदारी, सामाजिक प्रतिष्ठा पैसासँग तौलन मिल्दैन । एउटा धनाढ्यको भन्दा झ्मककुमारीको प्रतिष्ठा धेरैमाथि छ । दुर्गुणी रुँदै मर्छ, समुदाय हाँस्छ; सत्गुणी हाँस्दै मर्छ, समुदाय रुन्छ । हामी के चाहन्छौं ? अरूलाई आलोचना होइन स्वीकार्न सिकौं । घरमा धमिरा लागेको छ, जंगलमा धमिराको गुँड भत्काएर हुँदैन । शिक्षक सुधार्ने तागत शिक्षकहरूसँग जति अरूसँग छैन । ढिलो शुरू भएको उपचारमा मूल्य बढी चुकाउनुपर्छ । जहाँ शिक्षा, त्यहाँ विकासको इच्छा । दाम्लोमा डोरिनु भन्दा आफ्नो स्वतन्त्र यात्रा कैयौं गुणा स्वाभिमानी हुन्छ । सकारात्मक देखौं सबैलाई, विद्यार्थीको संस्कार हाम्रै कारणले पनि बिग्रिन्छ । जिम्मेवार नागरिकको पनि भूमिका पूरा गरौं । विद्यालय नसुध्रे देश सुध्रन्न । उतै लागौं । देशभरका प्रअ तथा शिक्षक मित्रहरूमा विनम्र अनुरोध । ऐन, नियम, पाठ्यक्रम सहायक, कर्म प्रमुख । जय कक्षा कोठा । ७

(प्राचार्य, उमावि, मरिण हायुटार, सिन्धुली)

commercial commercial commercial commercial