शिक्षक-साहित्य

एक शिक्षकको प्रतीक्षा…!

सन्चो छौ कि तिमी बिसन्च किन हो, देख्दिन खोज्दा पनि
चौतर्फी सुनसान यो अति भयो, रुच्दैन शान्ती पनि ।
भोग्दैछौं जगले दुस्वप्न यसरी, वर्षौं नभुल्ने कथा
आउ बात गरौं मिठा र मसिना, कस्तो छ तिम्रो व्यथा ?

विद्याको घर यो निसम्म यसरी, औधी पुरानो भयो
तिम्रो चिर्बिर छैन यो चउरमा, कस्तो बिरानो भयो ।
भित्ताले पनि मौनता लिइरह्यो, बोल्दैन केही पनि
बिर्से ज्ञान सबै किताबहरुका, पानाहरूले पनि ।

कैयौं गल्ति तथा उपद्रवहरू, भुल्दैछु मैले पनि
जे जे भो भनियो र माफ गरियो, भन्दैन कैले पनि ।
सारै रुग्ण भएँ तिमीहरु बिना, खै के गरूँ के गरूँ ?
आउ, खेल्न तिमी सताइ रहनू, गर्दिन गाली बरू ।।

भर्नै पर्छ उडान पंख जसरी, स्वच्छन्द आकाशमा
आमाको करमा छ ज्ञान जति नै, आस्था र विश्वासमा ।।
हर्दम् साथ सदैव शिष्य - गुरुको, होला नहोला तर
आफ्नै पौरख पाउमा डटिकनै, सत्मार्ग खोज्ने गर ।

लाखौं लाख मुना हताहति कतै, होला कि भन्ने डर
बाँचे आज तिमी रहन्छ दुनियाँ, सम्झेर बस्नू घर ।
कोरोना भनिने महाप्रलयको, आँखा नलागोस् कतै
मेरा सुन्दर शान्त फूलहरुको, आयूपलाओस् सधैं ।।

विद्यालय निरीक्षक, कोहलपुर नगरपालिका
शिक्षा युवा तथा खेलकूद शाखा, बाँके

commercial commercial commercial commercial