अमेरिकाको ऐनामा नेपाली शिक्षकको अनुहार

अमेरिका पुगेर त्यहाँको कलेजमा पढ्न थालेपछि झपाका एक पूर्व प्राचार्य आफू किन सफल शिक्षक या प्राचार्य बन्न सकिनँ भन्ने कुराको भेउ पाउँछन् ।

मैले शिक्षा विषयमै डिग्री हासिल गरेको थिएँ । बाल मनोविज्ञान पनि पढेको थिएँ । विभिन्न किसिमका तालीम पनि पाएकै थिएँ ।

शिक्षण विधि र शैक्षणिक प्रक्रियाको ज्ञान हासिल गरेकै थिएँ । तर पनि म किन सफल शिक्षक बन्न सकिनँ ? किन असफल प्रधानाध्यापक बनें ? मैले किन असल र स्तरीय विद्यार्थी उत्पादन गर्न सकिनँ ? अनि आफ्ना धेरै विद्यार्थी र अभिभावकबाट किन गुरुको आदर र सत्कार पाउन सकिनँ ? यस्ता प्रश्न शिक्षण पेशामा भएकै वेला मैले आपूmलाई सोध्न सकेको भए शायद मबाट नै शिक्षामा परिवर्तनको शुरूआत हुन्थ्यो कि !

जब म आफैंलाई यस्ता प्रश्न गर्न थालें, मबाट समय फुत्किसकेको थियो । यस्ता प्रश्न तब मात्र गर्न थालें जति वेला म अमेरिकामा आएर विद्यार्थीको रूपमा कक्षा लिन पुगें, एउटा सामुदायिक कलेजमा । आफ्नो पूर्व अनुभवकै कारणले हुन सक्छ, अमेरिकाका शिक्षकले हामी विद्यार्थीलाई कस्तो व्यवहार गर्छन् भनेर बुझने मेरो पहिलो चाहना थियो ।

करीब ४५ जना विद्यार्थीको पहिलो दिनको कक्षाको शुरूआत हाजिरीबाट नै भयो । हाजिरी लिंदा शिक्षकले हरेक विद्यार्थीलाई नियालेर हेरेको पाएँ । उनले मलाई पनि एक टकले हेरे; बडो अप्ठ्यारो लाग्यो । भोलिपल्ट म केही समय ढिलो गरी कक्षामा पसें । शिक्षकले हँसिलो पारामा प्रश्न गरे, ‘हाइ ! याम ह्वाइ आर यु लेट टुडे ?’ मैले लज्जित हुँदै जवाफ फर्काएँ, ‘आई एम सो सरी सर ।’ मेरो रातो–पिरो भएको अनुहार देखेर होला शिक्षकले सान्त्वनाको स्वरमा भने, ‘नो प्रोब्लम; ट्राइ टु बी अन टाइम फर नाउ अन, ओके !’ मैले जवाफ फर्काएँ, ‘थ्याङ्क यु भेरी मच सर ।’

यो सामान्य संवादमा नै मैले मेरो समग्र शैक्षिक असफलताको आधाउधी कारण फेला पारिसकेको थिएँ । हिजो, शिक्षकले हाजिरीको क्रममा हामी विद्यार्थीलाई एक टकले नियालेको त कुन विद्यार्थीको नाम के रहेछ ? भनेर पत्ता पाउनको लागि पो रहेछ । म मात्रै हैन करीब ४५ जना विद्यार्थीको नाम दोस्रो दिनमा नै कण्ठस्थ पार्ने ती शिक्षकको क्षमता र लगनशीलता मेरो निम्ति सामान्य कुरो थिएन । अनि मलाई कति आनन्द लाग्यो— शिक्षकले प्रेमपूर्वक मेरो नाम लिएर बोलाउँदा । त्यसको मज्जा नै छुट्टै ।

अर्को कुरो, अमेरिकाको आन्तरिक मूल्यांकनको तरीकाले छोयो । यहाँ आएपछि मलाई परीक्षासँग डर लाग्न छोड्यो । सबै विद्यार्थीलाई अनिवार्य गृहकार्य दिइन्थ्यो । गृहकार्य नगरी सुखै थिएन । कक्षामा सबैको गृहकार्य पालैपालो नामले बोलाएर नै शिक्षकले चेकजाँच गरिदिन्थे । केही गल्ती भए प्रेमपूर्वक सच्याइदिन्थे । कक्षामा एउटा विद्यार्थीको गृहकार्य जाँच गर्दा अन्य विद्यार्थीलाई समूहगत कक्षा कार्य दिइन्थ्यो । प्रत्येक समूहमा केही जान्ने, केही नजान्ने विद्यार्थी राखेर शिक्षकले समूह निर्माण गरिसकेका थिए । एक जनाको गृहकार्य हेर्दै गर्दा समूहगत विद्यार्थीबीच गएर त्यहाँ आएका समस्या समाधान गर्दथे । यसबाट शिक्षक र विद्यार्थीबीचको सम्बन्ध घनिष्ठ हुने रहेछ भन्ने ज्ञान भयो मलाई ।

कक्षामा विद्यार्थी सकभर गयल नै हुन नपाइने । गयल भएमा चित्तबुझदो स्पष्टीकरण दिनुपर्ने र त्यसको अभिलेखीकरण हुने ।

विभिन्न चरणका परीक्षा थाहै नपाई आइपुग्ने र सामान्य कक्षा जस्तै परीक्षा पनि सकिने रहेछ । यहाँ शिक्षक विशुद्ध शिक्षक र विद्यार्थी पनि विशुद्ध विद्यार्थीको रूपमा मात्र रहँदा रहेछन् । कुनै रंग, आस्था, धर्म, वर्ग र सम्प्रदायबीच विभेदको महसूस नै हुँदैन । कुन गरीब ? कुन धनी ? कुन देश ? कुनै मतलब नराखी समान व्यवहार र चासो राखी शिक्षा लिने र दिने काम हुने रहेछ । यस्तो शैक्षिक व्यवहार निर्माणमा विद्यार्थी भन्दा शिक्षक नै बढी जिम्मेवार हुनुपर्ने रहेछ । शिक्षक सधैं समयमा कक्षामा आइपुग्ने । सधैं हँसिलो, रसिलो रहने । पढाइ सिकाइमा लगनशील, सक्रिय हुने भएकोले विद्यार्थी पनि स्वाभाविक रूपमा नै असल र आज्ञाकारी बनिनुपर्ने रहेछ । विद्यार्थीको उत्तीर्र्ण प्रतिशत र गुणस्तरले शिक्षकको वृत्ति–विकासको मापन गर्ने शिक्षा पद्धति भएर पनि होला, शिक्षक सधैं उत्साहित भएर पढाउन खोज्ने । कहिल्यै अल्छी नदेखिने, पढाइ र सिकाइ बाहेक कुनै बाहिरी कुरा र प्रसंगमा ध्यान नै नदिने अवस्था पाएँ मैले ।

अर्को कुरा; अमेरिकी शिक्षकको खास मूल्यांकन अथवा मापन विद्यार्थीले प्रदान गर्ने अंक (रेटिंग) बाट हुने रहेछ । जति धेरै बढी विद्यार्थीलाई सन्तुष्ट पार्न सक्यो शिक्षकलाई त्यति राम्रो ‘रेटिंग’ प्राप्त हुने । रेटिंग जति राम्रो भयो, शिक्षकको ख्याति त्यति बढ्ने ।

जति ख्याति बढ्यो, त्यति नै कामका अफर, तलब र सुविधा बढ्ने ! गजबकै शिक्षा पद्धति रहेछ । विद्यार्थी भर्नाका वेला राम्रा राम्रा शिक्षकका कक्षा छिट्टै प्याक हुने, तर कम रेटिंगका शिक्षकहरूमा विद्यार्थीको आकर्षण नै कमजोर हुने भएकोले शिक्षक आफ्नो इज्जत र प्रतिष्ठाकै लागि पनि लगनशील र मिहिनेती बन्नै पर्ने रहेछ । त्यस्तै; विद्यार्थीको पनि कक्षा सक्रियता, सिकाइमा उत्सुकता र नियमितता आदि सबै पक्षको मूल्यांकन हुने ।

एक दिनको घटनाले त मेरो मनलाई गहिरो रूपमा नै छोइरहेछ । एक विद्यार्थीको आफ्नो बिहानको खानपिनमा के समस्या थियो कुन्नि ? उनी बिरामी रहेछन् । कक्षामा शिक्षकलाई गृहकार्य बुझउने क्रममा उनले मुख छोप्न पनि नभ्याउँदै ह्वाल्ल वान्ता गरे । त्यसको लगत्तै विद्यार्थी अत्तालिएर भन्दै थिए, ‘आई एम सो सरी !’ शायद ठूलै गल्ती महसूस गरे उनले । मलाई लाग्यो आज यिनी ठूलै कारबाहीमा पर्ने भए ! तर शिक्षक एकाएक एउटा ज्ञानी बुबाको रूपमा प्रस्तुत भए । ती बिरामीलाई सान्त्वना दिंदै भन्न थाले, “ओ हो ! तिमी बिरामी ! हे भगवान ! म कसरी तिमीलाई सहयोग गरौं ?” शिक्षकले विद्यार्थीको ढाड सुम्सुम्याए ।

त्यसपछि “केही छैन; पहिला म यो फोहोर सफा गर्छु” भन्दै शिक्षक हत्तपत्त उठे । सधैं बोकी ल्याउने सानो झेला छामछाम छुमछुम गरे । अनि हातमा लगाउने पंजा निकालेर बाहिर गए । हामी विद्यार्थी चाहिं के गर्ने ? के नगर्ने ? बडो अलमलमा परिरहेका थियौं । केही क्षणमा नै प्रोफेसर एउटा वाल्टीमा पानी लिएर आएर त्यो वान्ता कुनै घिन, संकोच नमानी ‘ग्लोभ’ लगाएर सफा गर्न थाले । केही क्षणमा पुनः सफा भो हाम्रो कक्षा । अनि सधैं झ्ैं पढाइ शुरू भो ।

यो सब देखेर म बडो अचम्ममा परें । सोचें, म पनि एउटा उच्च माविको प्राचार्य थिएँ । त्यहाँ मभन्दा अग्रज मान्छे पियन थिए । तर मैले कहिल्यै आफूले कुचो लगाइनँ, सधैं तिनै दाइलाई अह्राएँ । अनि विद्यार्थीले कक्षाकोठा फोहोर गर्दा मैले कहिल्यै प्रेमपूर्वकको व्यवहार देखाइनँ । बरू कडा अनुशासनका पाठ सिकाएँ । यी प्रोफेसरसँग तुलना गर्दा म आपूmलाई चेतना वेगरको शिक्षक पाउन थालें । मलाई महसूस भयो; बोलीबाट होइन, असल व्यवहारबाट स्वतस्फूर्त गुरु बनिने रहेछ । आदर, सत्कार र नमस्कार माग्ने कुरा होइन रहेछ, आफैंले गरिने असल व्यवहार र सहयोगीपनबाट स्वाभाविक रूपमा नै प्राप्त गर्न सकिने कुरा रहेछ ।

ती प्रोफेसर जस्ता गुरुलाई देख्दा–भेट्दा आफ्ना कतिपय व्यक्तिगत समस्या, चिन्ता, पीर आफैं दूर हुने विश्वास जाग्दोरहेछ । हाम्रा गुरु स्कूल, कलेज, बाटोघाटो जहाँसुकै भेटेर सोध्दा पनि जवाफ दिन्थे । आफ्ना समस्या ध्यानपूर्वक जहाँ त्यहीं सुनिदिने, बुझ्दििने र समस्या समाधानमा सहयोगी बनिदिने गुरुको संस्कार र व्यवहारले विद्यार्थीलाई बेसहारा, अन्जान र एक्लो महसूस गर्न दिंदोरहेनछ ।

यो लेख लेखिरहँदा मैले शिक्षक पदबाट राजीनामा दिइसकेको छु । म अब शायद फेरि हिजोको भूमिकामा फर्कन सक्दिनँ । तर अद्यापि कार्यरत शिक्षकले “मैले विद्यार्थीप्रति कतै अन्याय त गरिरहेको छैन ? मैले कतै तडकभडक देखाएर आदर–सत्कार खोजिरहेको त छैन ? मैले किन स्वतस्फूर्त माया मेरा विद्यार्थी र अभिभावकबाट पाउन सकिन होला ? विद्यार्थी र अभिभावकको नजरमा म कतै गुरु भन्दा राजनीतिक कार्यकर्ताको रूपमा जानी नजानी दर्ज त भइनँ ? म राजनीतिक नेता र कार्यकर्ताबाट जानी नजानी परिचालित भइरहेको त छैन ? सारा निर्दोष विद्यार्थीको न फर्किने जीवनमा खेलबाड त गरिरहेको छैन ?” भनेर आफैंले आपूmलाई प्रश्न सोध्ने, मन्थन गर्ने र आपूmलाई सच्याउनेतिर लाग्नु उपयुक्त हुने देख्छु । विद्यार्थीको असफलतामा हामी शिक्षकले पनि केही जिम्मेवारी वहन गर्ने आँट गर्नुपर्छ । हरेक शिक्षकले ‘मेरो कारणबाट कोही पनि असफल हुने छैनन्’ भन्ने अठोट मात्र गर्न सकेमा पनि शिक्षाको परिवर्तन र विकासको अवरुद्ध मार्ग खुल्न थाल्छ । आफू गुरु बन्ने कि शिक्षक बन्ने हो, हाम्रो आफ्नै हातमा छ । यो अठोट नै प्रमुख कुरो हो । शिक्षा नीति र पद्धतिका कुरा दोस्रो प्राथमिकतामा पर्छन् । विद्यार्थी तेस्रो र गौण भूमिकामा मात्र पर्छन् भन्ने सोचको विकास हामी सबैले आ–आफ्नै ठाउँबाट गर्न सक्यौं भने मात्रै पनि विश्वका उत्कृष्ट विद्यार्थी उत्पादन गर्नमा हामी नेपाली शिक्षक पनि सहयोगी बन्न सक्नेथियौं कि ?

पूर्व प्राचार्य, श्री हल्दिवारी उमावि, झपा
हालः भर्जिनिया, अमेरिका

commercial commercial commercial commercial