चंखलालको मुस्कान !

आफैले कल्पना गरेको आफ्नो स्कूलको वर्णन गर्दा उनका आँखा धपक्क बले । “हरियो डाँडामुनिको स्कूल वरिपरि सुन्दर बगैँचा होस् मौसमी फूल फुलेका । आधुनिक पुस्तकालय होस् कम्युटर सहितको । विद्यालय १०+२ हँुदै डिग्रीसम्मको शिक्षा दिन सक्ने बनोस् । शुद्ध खानेपानी होस् । प्रयोगशाला पनि होस् । विभिन्न जिल्लाबाट स्कुल हेर्नकै लागि शैक्षिक भ्रमण टोली आउन् ।”

सपना त अरू पनि होलान् तर यतिचाहिँ पूरा गर्न सकिन्छ भन्ने लागेको छ चंखलाल नेपालीलाई । ४७ वर्षका चंखलाल जाजरकोट, रक्दा गाविस, चौखा गाउँमा रहेको गणेश निमाविका प्रधानाध्यापक हुन् ।

शैक्षिक कामको सिलसिलामा जब उनी नेपालगन्ज, काठमाडौँ गइरहन्छन्; हरेक पटकको भ्रमणमा उनको सपनामा अर्को इँटा थपिन्छ । कतै गज्जबको पुतकालय देख्छन् त कतै सुन्दर बँगैचा । जब शहरका स्कूलमा कम्प्युटरका ‘की–बोर्ड’ मा नानीहरूका औँला दौडिरहेको देख्छन्, आफ्ना विद्यार्थीले कम्प्युटर चलाउन मन गरेको कुराले उनको मन कटक्क खान्छ ।

यो पंक्तिकार गणेश निमावि पुग्दा स्वाइन फ्ल्युका कारण छुट्टी भएकाले विद्यार्थी भेट्ने मेसो जुरेन । चंखलाल सर भने स्वास्थ्य जनचेतना कार्यक्रममा भेटिएका थिए । जाजरकोटकै भगवती गाविसमा १३ वर्षे किशोरी दीपा शाहीले भेरी नदीतिर हेर्दै भनेकी थिइन्— “अंग्रेजी पढाउने टिचर नै राम्रो छैन । राम्ररी अंग्रेजी पढ्न पाए पो ।” उनले यसरी भनेकी थिइन् मानौँ यति एउटा कुरा भैदिए सबै संकट पार लाग्ने थियो । मैले दीपाको गुनासो चंखलाललाई सुनाएँ । चंखलालको सपनामा पनि फरर अंग्रेजी बोल्ने विद्यार्थी नाच्ता रहेछन् । बिस्तारै सबै हुनेमा उनी ढुक्क देखिन्थे । डोल्पाको जनप्रवाह माविबाट एसएलसी दिएका चंखलाललाई अंग्रेजी कमजोर हुनुको परिणाम राम्ररी थाहा छ । त्यसैले पनि उनलाई फरर अंग्रेजी सपनाको बात हुनु हुन्न भन्ने लागेको छ ।

“२०४५ सालमा यो विद्यालय स्थापना भयो । ०४६ सालदेखि पढाउन थालियो । जमीन थिएन, भवन थिएन । जिविसको खुला मैदानमा १२ देखि १५ विद्यार्थी राखेर पढाउन शुरू गरेँ,” उनी बताउँछन् । त्यसपछि विद्यालयले अतिथि गृहमा आश्रय पायो । ०५४ सालमा प्राथमिक शिक्षा परियोजना अन्तर्गत १ लाख ४६ हजार रुपैयाँ प्राप्त भयो । स्थानीय भीमबहादुर मल्लले जग्गा दिए नगन्य मूल्यमा ।

दानसरह पाएको जमीनमा दुईकोठे भवन बन्यो । ०६५ सालमा १ लाख २० हजार आयो सरकारबाट । विद्यालय मर्मतका लागि आएको पैसाले दुई कोठा थपियो । ५० हजारमा जमीन थपियो । ०६७ सालतिर गाविसले १ लाख दियो । त्यो पैसाले खेल मैदान थपियो । ०६८ सालमा भवन निर्माणका लागि विद्यालयले सरकारबाट पाएको ८ लाख रुपैयाँले अलिकति जमीन पनि थपेपछि अब १ रोपनी ९ आना जग्गामा पैmलिन पायो यो विद्यालय प्रङ्गण । कक्षा ७ सम्म पढाइने विद्यालयमा अझ्ै जमीन थपेर फराकिलो खेल मैदान बनाउने कुरा पनि योजनामै छ । विद्यार्थीको भलिबल खेल्ने रहर पूरा गर्न सके पनि उनको धीत यतिले मरेको छैन ।

०४७ सालपछि छात्राहरूको उपस्थिति बढाउनका लागि ल्याइएको लिटो, पिठो र तेल वितरण जस्ता कार्यक्रमका कारण छात्राको संख्या बढ्दै गयो । गणेश निमाविमा अहिले पनि १५० विद्यार्थी छन् । शुरूमा नगन्य हुने छात्राको उपस्थिति अचेल छात्रलाई माथ गर्ने अवस्थामा रहेको बताउँछन् उनी ।

“घर छाएको छानाको ढुंगा झ्किी अँगारले लेखेर पढाउन शुरू गरेको थिएँ । यसरी अँगारले लेखेर पढेका मेरा विद्यार्थी अहिले मास्टर बनेका छन् । कोही डिग्री पढ्दै छन्”, उनी फेरि एक पटक धपक्कै बले । मृदुभाषी चंखलालको त्यो बेलाको मुस्कान लोभलाग्दो थियो ।

commercial commercial commercial commercial