सामाजिक विषय किन सच्चिंदैन ?

गम्भीर त्रुटिमा पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण किन भइरहेको छैन ? कुनै पाठ सच्याउने र सामान्य गल्तीलाई सुधार गर्नका लागि केको आपत्ति ? यति त पुनर्मुद्रणमै पनि सच्याउन सकिनुपर्ने हो ।

धनजीत पराजुली

साधारण विद्यालयको माध्यमिक तहमा अध्ययन, अध्यापन गरिने विभिन्न विषयमध्ये सामाजिक विषय निकै जटिल छ । यो विषय बहु–वैकल्पिक विषय भएकाले शिक्षकले धेरै विषयमा दक्खल राख्नुपर्ने हुन्छ । यसका लागि अन्य सहयोगी सामग्रीहरूको संकलन र अध्ययनको आवश्यकता पनि उत्तिकै पर्छ । कक्षा १० को सामाजिक विषयको पुस्तकमा रहेका ९ वटा एकाइमा फरकफरक किसिमका विषयवस्तु समेटिएका छन् । देशमा लोकतन्त्र प्राप्तिपश्चात् २०६४ सालमा सो पुस्तक पहिलो पटक परिमार्जित रूपमा प्रकाशित भएको हो । सात वर्ष भइसक्यो, यसको अर्को संस्करण निस्किएको छैन । खालि पुनर्मुद्रण मात्र भइरहेको छ । यसबीचमा देश र समाजमा कति उतारचढाव भइसकेको छ । प्रविधिले कति फड्को मारिसकेको छ । सामाजिक संरचनामा कति अन्तर आइसकेको छ; तर यी कुनै कुराले पनि यसलाई छुनसकेको छैन । अत्यन्त समसामयिक विषय हुने भएकाले सामाजिक पुस्तक भरिसक्य वर्षेनि परिमार्जित गर्नुपर्ने हो । त्यो सम्भव नभए हरेक दुई वर्षको अन्तरमा अनिवार्य परिमार्जित गर्नुपर्ने हो । तर वर्षौंसम्म यथास्थितिमै रहन बाध्य छ । पाठ्यपुस्तकमा भर पर्ने विद्यार्थी यसबाट गम्भीर मारमा परेका छन् । पुनः संस्करण नहुनु गम्भीर आपत्तिको कुरा छ भने यसभित्र भएका त्रुटिसम्म सच्याउने काम भएका छैनन् ।

कक्षा १० को सामाजिक पुस्तकमा रहेका केही त्रुटिका दृष्टान्त यसप्रकार रहेका छन्–
–    पेज नं. ५५ मा स्काउटको लोगोको बारेमा ‘प्रत्येक आकार तीनपाते किन छ ?’ भनी स्काउट पाठको क्रियाकलापमा प्रश्न सोधिएको छ तर पाठमा यसको मतलब ‘देश, जनता र व्यवस्था प्रतिको आस्था हो’ भनेर उल्लेख गरिएको छैन ।
–    पेज नं. ६० मा ‘व्यवस्थापिका संसद्मा ३३० सदस्य रहने व्यवस्था छ’ भनी उल्लेख गरिएको छ तर नेपालको अन्तरिम संविधान २०६३ कतिपल्ट संशोधन भई संविधानसभामा ६०१ जना विधायक रहने व्यवस्था भएको छ र प्रत्यक्ष मतदान, समानुपातिक र मनोनीत गरी तीन किसिमबाट निर्वाचित हुनुपर्ने भन्ने उल्लेख गरिनुपर्ने हो ।
–    पेज नं. ६१ मा भने ‘हाम्रो व्यवस्थापिका कसरी बनेको छ ?’ भनेर प्रश्न गरिएको छ तर पाठमा यसको स्पष्ट उल्लेख छैन ।
–    पेज नं. ६९ मा ‘यसरी ६ राजनीतिक दल र नेकपा माओवादी सहित...’ भनी उल्लेख गरिएको छ । जबकि यसमा ‘नेकपा एमाले, नेका, नेका (प्रजातान्त्रिक), नेमकिपा, माले, जनमोर्चा, संयुक्त जनमोर्चा गरी ७ दलसहित नेकपा माओवादी...’ हुनुपर्ने हो । यस्ता किसिमका त्रुटिहरू अहिलेसम्म सच्चिएका छैनन् । कैयौं वर्षसम्म यस्ता गल्तीहरू नहटाउनाले खुला विद्यालय अन्तर्गत अध्ययनरत विद्यार्थीमा कति असर परिरहेको होला र विषयगत शिक्षक नहुँदा र नयाँ शिक्षकलाई कति असहज भइरहेको होला ?

यस्ता गम्भीर त्रुटिमा पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण किन भइरहेको छैन ? कुनै पाठ सच्याउने र सामान्य गल्तीलाई सुधार गर्नका लागि केको आपत्ति ? यति त पुनर्मुद्रणमै पनि सच्याउन सकिनुपर्ने हो । त्यसैगरी हाल प्रकाशन गरिएका पुस्तकको कागजमा स्तरीयता नभएको र स्तरीय छपाइ पनि नभएको स्पष्ट छ । पुस्तकभित्र भएका तस्वीरहरू कालो पोतिएर अस्पष्ट छन् । यस्ता तस्वीरबाट विद्यार्थीले के बुझने, के सिक्ने ? नेपालको नक्शाको अक्षरमा सबै कालो पोतिएको छ, कुनै शब्द बुझ्ंिदैनन् । यसबाट विद्यार्थीले के ज्ञान पाउने ? त्यसैमाथि एसएलसी परीक्षामा प्रश्न सोधिन्छन्– ‘पानाभरिको नेपालको नक्शा बनाऊ र ...’ के भनेको यस्तो ? नक्शा बनाउने विधि हुन्छ, स्केल हुन्छ तर प्रश्न सोध्दा विधिको आवश्यकता पर्दैन । यो प्रश्न अनुसार बनाउँदा नेपालको नक्शा कापीको पानाको आकारसँग मेल खान्छ त ? नक्शा बनाउने मापदण्डसँग यो प्रश्न मिल्छ त ? यो हचुवाको नक्शा बन्दैन र ? ‘स्केल बमोजिम पानाभरिको ...’ भनेर सोध्नुपर्ने हैन ?

श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय लक्ष्मीमार्ग, मोरङ

commercial commercial commercial commercial