संवाद र लोकतान्त्रिक कक्षा

सिक्न र सोच्नका लागि कक्षाले विद्यार्थीलाई स्वतन्त्रता प्रदान गरोस् भन्ना खातिर कक्षामा लोकतान्त्रिक व्यवस्था आवश्यक हुन्छ । कक्षामा संवाद यो व्यवस्था स्थापना गर्ने सशक्त माध्यम हुन सक्छ ।

जब जब म कक्षामा हुने कुराकानीका बारेमा सोच्छु, केही निश्चित दृश्य मात्र मेरो मनमा देखा पर्छन् । एक: शिक्षक बोलिरहेको छ र केटाकेटीहरू चूपचाप उसका कुरा सुनिरहेका छन् । दुई: केही विद्यार्थी शिक्षकका कुरा ध्यानपूर्वक सुनिरहेका छन्, अरू चाहिं त्यता ध्यान नदिएर आपसमा कुरा गरिरहेका छन् । तीन: कक्षामा शिक्षक छैन र केटाकेटी हल्ला गरिरहेका छन् । मैले कहिल्यै पनि शिक्षकले कक्षामा केटाकेटीसँग सामान्य कुराकानी गरेको देखेको छैन । त्यसैले त्यस्तो दृश्य मेरो मनमा कहिल्यै पैदा हुँदैन ।

तर, कक्षामा शिक्षक र विद्यार्थीका बीच हुने कुराकानीको महत्व, चाहे त्यो स्कूल निजी होस् वा सरकारी, गाउँको होस् वा शहरको, सबैतिर उत्तिकै हुन्छ । प्रसिद्ध शिक्षाशास्त्री कृष्ण कुमारको भनाइ छ, “केटाकेटीसँगको कुराकानीलाई महत्व नदिने हुँदा हामी शिक्षामा कुराकानीको उपयोगितालाई उपेक्षा गर्छौं । तलदेखि माथिसम्म सबै तहका शिक्षालयको अवस्था यस्तै छ, तर प्रारम्भिक तहमा यो स्थिति सबैभन्दा टड्कारो छ । नर्सरी र प्राथमिक कक्षाका केटाकेटीका लागि शिक्षकसँगको कुराकानी सिक्ने र सिकेका कुरालाई शुद्ध बनाउने आधारभूत माध्यम हो । त्यस्ता शिक्षकहरू, जो केटाकेटीलाई आफूसँग र आपसमा पनि कुराकानी गर्न दिंदैनन्, शुरूदेखि नै त्यस्तो मूल्यवान् साधनलाई खेर फालिरहेका हुन्छन् जसका लागि एक पैसा पनि खर्च गर्नु पर्दैन ।”

कुराकानी शिक्षण प्रक्रियाको एउटा महत्वपूर्ण अंग हो र राम्रा शिक्षकहरूले सधैंभरि यसको पर्याप्त उपयोग गर्दै आएका छन् । प्रभावपूर्ण शिक्षणका लागि संवाद सहायक माध्यम मात्र नभएर त्यसभन्दा निकै बढी र उपयोगी कुरा हो भन्ने उनीहरूले बुझेका हुन्छन् । केटाकेटीलाई सिक्न र सोच्नका लागि मौखिक भाषाको राम्रो खुराक चाहिन्छ । पढ्नु, लेख्नु र अंक सिक्नु पाठ्यक्रमका मान्य आधार हुन् तर संवाद सिकाइको सच्चा आधार र असली जग हो । आधुनिक अनुसन्धानहरूले यस कुरालाई पुष्टि गरिसकेका छन् । तिनको थप निष्कर्ष के छ भने, सिक्नका लागि मात्र होइन मस्तिष्कको विकासका लागि पनि कुराकानी अत्यन्त जरूरी छ र यसबाट मस्तिष्कको क्षमता वृद्धि हुन्छ ।

संवादको महत्व यतिमै सीमित छैन । शिक्षण प्रक्रियामा र मस्तिष्कको विकासका निम्ति त यो महत्वपूर्ण छँदैछ, कक्षालाई लोकतान्त्रिक बनाउन पनि यसले अतुलनीय भूमिका खेल्छ । लोकतन्त्रको संस्कारले विद्यार्थीको जीवनका अनेकौं पक्षलाई प्रभावित पार्न सक्छ र पछि गएर यो अनेक रूपमा अभिव्यक्त हुन सक्छ । कक्षामा लोकतान्त्रिक व्यवस्थाको निर्माण कक्षाको समग्र विकासका लागि आवश्यक छ र कुराकानी अथवा संवादले यसमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसै सन्दर्भमा यस आलेखमा चार वटा उदाहरणको माध्यमबाट कक्षामा संवादको क्षमता/उपयोगितालाई बुझने प्रयास गरिएको छ ।

उदाहरण–१
यो एउटा निजी स्कूलको कक्षा ५ को उदाहरण हो । यो अंग्रेजी भाषाको कक्षा हो जसमा व्याकरणको ‘अभ्यास’ चल्दैछ । केटाकेटीलाई अघिल्लो दिन केही वाक्य वर्तमान कालबाट भूतकाल वा भविष्यत्कालमा परिवर्तन गरेर ल्याउने ‘होमवर्क’ दिइएको थियो ।

सुमितले आफ्नो होमवर्कको कापी नै ल्याएनछ । शिक्षिकाले ठूलो स्वरमा सोधिन्, ‘सुमित, तिम्रो कापी खोइ ?’
सुमित : आई डिड नट ब्रट माइ कापी (अंग्रेजीमा) ।
शिक्षिका : ‘ब्रट ?’
थुप्रै विद्यार्थी (हल्ला गर्दै) : ‘ब्रिङ... ब्रिङ ।’
शिक्षिका अलिकति रिसाउँछिन् । उनलाई लागेको हुन्छ, सुमितले कापी ल्याउन बिर्सेको होइन, होमवर्क नै गरेको छैन । उनी अरू विद्यार्थीलाई ‘चूप लाग’ भनेर हप्काउँछिन् । सुमित उभिएको छ र उनी उसलाई भन्छिन्, ‘त्यसो भए ‘द’ का अगाडि एउटा शब्द राखेर भन ।’
थुप्रै विद्यार्थी ‘म भन्ने, म भन्ने’ भनेर हल्ला मच्चाउँछन् । उनी सबैलाई हप्काएर चूप लगाउँछिन् र भन्छिन्, ‘कोही पनि बोल्ने होइन । म सुमितसँग कुरा गर्दैछु ।’

सुमित डराएको छ । चूपचाप उभिएको छ । शिक्षिका दबाब दिन्छिन्, ‘भन सुमित, ‘द’ का अगाडि एउटा शब्द राखेर भन ।’
यहाँसम्मको संवाद एक मिनेटभित्रमा पूरा भइसकेको थियो । सम्पूर्ण ध्यान एउटै विद्यार्थीमा केन्द्रित भएकाले अरू केटाकेटीलाई उकुसमुकुस हुन थालेजस्तो देखिन्थ्यो । शिक्षिकाले फेरि एकपल्ट दबाब दिएपछि डराउँदै डराउँदै सुमितले दिएको जवाफ गलत थियो । उसले जवाफ दिन नसकेपछि शिक्षिकाले कक्षामा जसलाई पनि त्यसको जवाफ दिन भन्न सक्थिन् । तर उनले कसैलाई पनि त्यो ‘प्रश्न’ सोधिनन् । विद्यार्थीमा उकुसमुकुस झन् बढ्यो । शिक्षिकाले सुमितलाई रिसाएको मुखमुद्राका साथ, आँखा तरेर हेरिन् ।

एकछिनपछि शिक्षिकाको ध्यान ती विद्यार्थीहरूतर्फ गयो, जसले उत्तर दिन हात उठाइरहेका थिएनन् । उनले तिनलाई होमवर्क देखाऊ भन्दा थाहा भयो, ती कसैले पनि होमवर्क गरेका रहेनछन् । त्यसपछि उनको ती केटाकेटीसँग संवाद शुरू भयो । पछिल्लो बेन्चमा चूपचाप बसेको एउटा केटालाई उनले सोधिन्; ‘प्रणव, तिम्रो होमवर्कको कापी खोइ ?’
प्रणव : छैन मिस ।
शिक्षिका : तिमीले होमवर्क गरेका थियौ ?
प्रणव केही भन्छ तर उसको ओठ चलेको मात्र देखिन्छ, केही सुनिंदैन ।
शिक्षिका : के अरे ?
प्रणव : गरिनँ ।
शिक्षिका : गरिनँ अरे ? किन ? किन नगरेको ?
प्रणव : गर्न खोजेको, तर आउँदै आएन ।

यो कुराकानी, शिक्षकले कक्षामा आफ्नो सत्ताको उपयोग कसरी गर्छ भन्ने कुराको राम्रो उदाहरण हो । सिक्ने–सिकाउने दृष्टिकोणबाट हेर्ने हो भने यो संवाद न विद्यार्थीका निम्ति उपयोगी थियो न त शिक्षककै निम्ति । किनभने, शिक्षिका विद्यार्थीलाई दपेट्ने बाहेक केही गरिरहेकी नै थिइनन् । अनुशासनको दृष्टिकोणबाट हेर्ने हो भने पनि यो संवाद अर्थहीन थियो । यहाँ कुनै समाधान खोज्नका निम्ति संवाद भइरहेको थिएन, किनभने समस्या के हो भन्ने बुझन शिक्षिकाले कुनै प्रयासै गरेकी थिइनन् । यहाँ न संवादको वातावरण बनाउन खोजिएको थियो न त कक्षामा विद्यार्थीहरूबीच सहभागिता निर्माण गर्न नै । यसप्रकार, यो कुराकानीले कक्षालाई ‘साझ’ ठाउँ बनाउनुको सट्टा दुइटा अलग अलग खण्डमा बाँड्ने काम गरिरहेको थियो ।

उदाहरण–२
यो अर्को निजी स्कूलको कक्षा–६ को उदाहरण हो । यो इतिहासको कक्षा हो जसमा शिक्षिकाले ‘उत्तर मौर्य काल’ का बारेमा पढाउनुपर्ने थियो । शिक्षिका कक्षामा प्रवेश गरिन् । चार–पाँच जना विद्यार्थीले ‘गुड मर्निङ मिस’ भने, केहीले ‘हाई’ र ‘हलो’ मात्र गरे अनि केहीले चाहिं उनीतिर हेर्दै आपसमा सानो स्वरमा कुराकानी गरिरहे ।
शिक्षिका : गुड मर्निङ । के छ हालखबर ? अंग्रेजीको क्लास सकियो होइन ?
विद्यार्थी : हो मिस ।
(यति भन्दै उनीहरूले अंग्रेजीको कापी बन्द गरेर इतिहासको कापी खोले । यसबीच शिक्षिकाले ह्वाइट बोर्डमा लेखिन्— ‘मौर्य साम्राज्य’ ।)
शिक्षिका : गएको हप्ता हामीले साम्राज्य भनेको के हो भन्ने बारेमा कुरा गरेका थियौं र मौर्य साम्राज्यबारे पढेका थियौं । मौर्य साम्राज्यका बारेमा कसैलाई केही भन्नु छ ?
(थुप्रै विद्यार्थी हात उठाउँछन् र शिक्षिकाले इशारा गरेपछि पालैपालो बोल्छन् ।)
संजय : मिस, मौर्य साम्राज्य यस महाद्वीपको अत्यन्त ठूलो भागमा फैलेको थियो । त्यो एउटा सत्ताबाट नियन्त्रित हुन्थ्यो । उनीहरूले एउटा छुट्टै विचारधाराको प्रचार गरेका थिए जसबाट कैयौं स–साना राज्य प्रभावित भएका थिए ।

विभोर : मिस, मिस, उनीहरूले पैसाको प्रचलन शुरू गरेका थिए, जसले अन्न र अरू सर–सामानहरूको किनबेच गर्न सजिलो भएको थियो ।
शिक्षिका : ठीक भन्यौ विभोर । अरू कसैलाई मौर्य साम्राज्यका बारेमा केही भन्नु छ ?

तनीषा : मिस, उनीहरूले राज्यलाई नियन्त्रित गर्न जोड दिएका थिए । त्यसैले उनीहरूको शासन राम्ररी चल्यो । तर मलाई लाग्छ, उनीहरूले आम जनताको आवश्यकता के हो भन्ने कुरालाई वास्ता गरेनन् ।
शिक्षिका : तिमीले भनेको ठीक हो । मौर्य साम्राज्यमा आफू अन्तर्गतका सबै राज्य र क्षेत्रहरूमा एकै किसिमको शासन चलोस्, एउटै कानून चलोस्, एउटै राजाको दह्रो नियन्त्रण कायम रहोस् भन्ने कुरामा खूब जोड दिइएको थियो । त्यसवेला आम जनताका आवश्यकतालाई बिल्कुलै ध्यान दिइएन भनेर तिमीले भनेको सही हो ।
(यसपछि शिक्षिकाले बोर्डमा ‘उत्तर मौर्य काल’ लेखिन् ।)

शिक्षिका : आज हामी मौर्य साम्राज्यपछि के भयो भन्ने विषयमा कुरा गर्छौं । यसका बारेमा तिमीहरूले पुस्तकमा पढेर आयौ नै होला । अब, उत्तर मौर्य कालका बारेमा कसैलाई केही भन्नु छ ?
आदित्य : मौर्य साम्राज्य पतन भएपछि त शासन भन्ने कुरो नै बाँकी रहेन । स–साना राजा, रजौटाले आफ्नो क्षेत्रमा जे मन लाग्छ त्यही गर्न थाले । कस्तो हालत भएको थियो होला ! त्यसवेला यसबारे कसैलाई चिन्ता पनि थियो कि थिएन, के थाहा ?
(केही विद्यार्थीले बोल्न एकसाथ हात उठाए ।)

समर्थ : अवश्य पनि मन्त्रीहरू यसका बारेमा चिन्ता गर्थे होलान् र छलफल पनि गर्थे होलान् । तर राजाले नै राज्य सम्हाल्न नसकेर साम्राज्य पतन भएपछि मन्त्रीहरूले पनि के गरून् ?
श्रेया : त्यसपछि नयाँ राज्य बने होलान् । त्यस्ता राज्यभित्र पनि झ्गडा चल्यो होला र ती राज्य पनि टुक्रिएर झन् स–साना राज्य बने होलान् । त्यसपछि कुनै बहादुर राजाले तिनीहरूलाई जितेर ठूलो राज्य बनायो होला ।

शिक्षिका : ठीक हो श्रेया । तिमीले ठीक भन्यौ । ठूलो साम्राज्य पतन भएपछि टुक्रिएर स–साना राज्य बन्दै जान्थे । त्यसपछि कुनै प्रतापी राजा आएर तिनीहरूलाई जितेर आफ्नो राज्यमा मिलाउँथ्यो । अनि आफ्नो विचारधारा अनुसार नियम र कानून बनाएर तिनीहरूमाथि शासन गथ्र्यो ।

ऋषभ : मौर्य साम्राज्य पतन भएपछि व्यापार व्यवस्था पनि बिग्रेको थियो । मानिसहरू पनि सुरक्षित थिएनन् । बलियो राजा नभएपछि जसले जतिसुकै बेला आएर आक्रमण गर्ला र मारिदेला भन्ने डर हुन्थ्यो । त्यसवेला मानिसहरू आफ्नै घरभित्र लुकेर बसे होलान् ।

सुप्रिया : अनि नि मिस, त्यसवेला आम जनतालाई कुनै अधिकार थिएन । उनीहरूसँग आफूलाई लागेको कुरा भन्न पाउने स्वतन्त्रता पनि थिएन । राजालाई अथवा सरदारहरूलाई उनीहरूको कुरा मन परेन भने धन–सम्पत्ति मात्र होइन ज्यान पनि जान सक्थ्यो । तिनीहरू राजाले जे भन्यो त्यही मान्नुपर्ने, एक खालका दास जस्ता थिए । तालिबानमा जस्तै ।

आर्या : हो त । तालिबानमा जस्तै अरू पनि कति ठाउँमा केटीहरूले स्कूल जान पाउँदैनन् नि । जोसँग सत्ता छ तिनले अरूलाई मान्छे नै गन्दैनन् ।

शिक्षिका : ठीक भन्यौ आर्या । आज पनि संसारका कतिपय ठाउँमा केटीहरूको अवस्था निकै दयनीय छ । जसका हातमा शक्ति छ उनीहरूले आज पनि आम जनताको बिल्कुलै वास्ता गर्दैनन् । अनि, ऋषभ र सुप्रियाले भनेको कुरा पनि सही हो । मौर्य साम्राज्यको पतनपछि एक खालको अराजकता छाएर मान्छेको जीवन निकै प्रभावित भयो होला ।

दीपेश : जुन साम्राज्यको पतन पछि पनि राज्य टुक्रा टुक्रा भएर त्यस्तै भयो होला । होइन ?

शिक्षिका : हो । अब मलाई भन त, मौर्य कालमा बाहिरबाट को राजदूत आएको थियो ?
विपुल : मेगस्थनीज, मिस !

स्पर्श : (बीचमै) प्लीज मिस, प्लीज ।

शिक्षिका : स्पर्श, हामीले अरूलाई आफ्नो कुरा पूरा गर्न दिनुपर्छ । ठीक छ, तिमीले के भन्न खोजेको ?

स्पर्श : त्यसवेला उनीहरू मानवअधिकारको सम्मान गर्दैनथे । सबै राज्यमा राजतन्त्रात्मक व्यवस्था थियो । राजाले जे भन्यो त्यही ठीक हुन्थ्यो । उसका विरुद्ध अरूले बोल्न सक्तैनथे ।

शिक्षिका : हो त नि । त्यसवेला सबै राज्यमा राजतन्त्रात्मक शासन प्रणाली थियो । राज्यमा एउटै व्यक्तिको हुकुम चल्दथ्यो, उसैको शासन चल्दथ्यो । तर पछि गएर सबै साम्राज्यहरूको पतन भयो ।

समर्थ : तर मिस, त्यो त गलत कुरा हो नि । एउटा साधारण मान्छे र राजाका बीचमा कत्रो भेदभाव ? 

शिक्षिका : जस्तै ?

समर्थ : त्यसवेला सामान्य मानिसको सुरक्षाका लागि खासै चिन्ता गरिंदैनथ्यो तर राजाको सुरक्षाका लागि ठूलो व्यवस्था हुन्थ्यो । हातहतियार लिएका थुप्रै सैनिक, सेनापति र सरदारहरू राजाको सुरक्षामा तैनाथ हुन्थे ।

शिक्षिका : तिमीले भनेको ठीक हो, समर्थ । राजाको सुरक्षाका लागि विशेष व्यवस्था किन हुन्थ्यो भने शत्रुहरूले राजामाथि आक्रमण गर्ने अनेक षडयन्त्र गरिरहेका हुन्थे । युद्धमा पनि राजालाई नै पक्रेर कैद गर्ने अथवा मार्ने उनीहरूको मुख्य ध्येय हुन्थ्यो । किनभने राजा पक्राउ प¥यो अथवा मारियो भने राज्यले नै हारेको मानिन्थ्यो । सिंगै राज्य शत्रुहरूको कब्जामा पुग्थ्यो ।

आदित्य : अनि नि मिस, शत्रुहरूले आक्रमण गर्दा पहिले राज्यको छेउछाउका स–साना ठाउँहरू कब्जा गर्दै आउँथे । उनीहरूले जताबाट पनि आक्रमण गर्न सक्थे । त्यसैले राजालाई राजधानीमा विशेष सुरक्षाका साथ राखिन्थ्यो ।

मृदुल : आजभोलि पनि त मन्त्री, प्रधानमन्त्रीहरूलाई विशेष सुरक्षा दिएर राखिन्छ नि । 

नन्दिनी : राजालाई मात्र होइन, राजधानीलाई पनि अरूतिर भन्दा बढी सुरक्षा दिएर राखिन्थ्यो । आजभोलि पनि त्यसै गरिन्छ नि, होइन मिस ?

शिक्षिका : ठीक हो । राजधानी कब्जा गरेपछि राज्य नै कब्जा गरेको मानिन्छ । त्यसैले राजधानीलाई विशेष सुरक्षा दिइन्छ ।
भावना : राजा मर्‍यो भने उसको छोरो नै राजा हुन्थ्यो । बालखै भए पनि उसैलाई राजा बनाउनुपर्ने अरे । कस्तो अनौठो कुरा ?
स्पर्श : त्यो त भइहाल्छ नि । कसैको बाबु मर्‍यो भने उसको सम्पत्ति छोराले पाएजस्तै त हो नि ।
त्रिशा : तर, राजा मरेपछि राज्य पाउन उसका भाइहरूमा झगडा पनि त हुन्थ्यो नि !
शिक्षिका : साम्राज्य थुप्रै टुक्रामा बाँडिएर धेरै राज्य भएपछि उनीहरू आपसमै लडाईं गर्न थाल्थे । आपसमा लडाईं गर्न उनीहरू कति व्यस्त हुन्थे भने बाहिरबाट अर्को दुश्मनले आक्रमण गर्न लागेको पनि पत्तो पाउँदैनथे । उनीहरू आफ्नो जीत, आफ्नो शानका बारेमा मात्र सोच्थे । आम जनताको हितका बारेमा, उनीहरूको आवश्यकताका बारेमा सोच्तैनथे ।
संगम : स–साना थुप्रै राज्य भएपछि उनीहरू कमजोर हुन्छन् र उनीहरूभित्रै पनि अराजकता शुरू हुन्छ । फुच्चे राज्यका राजालाई त्यहाँका बलिया सरदारहरूले टेर्न छोड्छन् र आफ्नै हैकम चलाउन थाल्छन् । राजाले केही गर्न सक्तैन । होइन त मिस ?
शिक्षिका : हो । त्यसरी अराजकता शुरू भएपछि स–साना कबीलाहरू ९तचष्दभक०ले पनि आक्रमण गर्न थाल्छन् । मौर्य साम्राज्य ध्वस्त भएपछि भारतमा पनि थुप्रै कबीला समूहले आक्रमण गरेका थिए । सबैभन्दा पहिला आक्रमण गर्ने ग्रीक थिए । त्यसबाहेक अरू को थिए, कसले भन्न सक्छ ?
श्लोक : भूटानका कबीलाहरूले पनि आक्रमण गरेका थिए मिस ।
ऋषभ : विचरा भारत ! जसले पनि थप्पड हानेको हान्यै !
त्रिशा : हो त नि । एकचोटि, दुईचोटि हो र, भारतमा त्यसपछि थुप्रै आक्रमण भए । विदेशीहरूले, लुटेराहरूले समेत आक्रमण गरेर सैकडौं वर्ष भारतमा शासन गरे ।
शिक्षिका : त्यही भएर त आपसमा मिलेर बस्नुपर्छ, नत्र अरूले हेप्छन्, दुर्भाग्य शुरू हुन्छ भनेको नि । भूषण, उत्तर मौर्य कालका बारेमा तिमीलाई केही भन्नु छ ?
भूषण : त्यसवेला राजाहरू बौद्ध हुन्थे । मैले नबुझेकाे कुरा चाहिं के भने, बौद्ध हुँदाहुँदै पनि उनीहरू किन लडाईं गर्थे ? किन मारकाट गर्थे ?
विशाखा : उनीहरूले बौद्ध धर्म लिएका हुन्थे । तर त्यसको राम्ररी पालना गर्दैनथे । तर अशोक त पक्का बौद्ध थियो भन्छन् । त्यसो भए ऊ चाहिं किन हिंसाको बाटोमा हिंडेको नि ?
शिक्षिका : कुरो के भने अशोक पनि पहिले हिंसामा विश्वास गथ्र्यो । कैयौं वर्षसम्म उसले लडाईंमा धेरैलाई मारेको थियो । त्यसपछि मात्र उसले बौद्ध धर्म अपनाएको थियो । बौद्ध भएपछि चाहिं उसले मान्छे मारेन ।
नितिन : तर मिस, कसैले अशोकलाई छुरा हानेको भए अशोकले त्यसलाई मार्दैनथ्यो त ?
शिक्षिका : नितिन, हामीहरू अहिले अरू नै विषयमा कुरा गर्दैछौं । तिमी उत्तर मौर्यकालका बारेमा आफ्नो ध्यान केन्द्रित गर न । नत्र कुरो बरालिन्छ ।

यस कक्षामा शिक्षक र विद्यार्थीबीच हुने कुराकानीको राम्रो उदाहरण देखिएको छ । बातचीत गुणात्मक दृष्टिले पनि निकै राम्रो छ । यसबाट स्पष्ट हुन्छ, शिक्षिकाले विद्यार्थीलाई उनीहरूको विचार र टिप्पणीका निम्ति पर्याप्त समय र अवसर दिइरहेकी छन् । केटाकेटीहरू आफ्नो अध्ययन र अवलोकनका आधारमा परिस्थितिका बारेमा अनुमान गरिरहेका छन् अनि शिक्षिका उनीहरूको विचारलाई पर्याप्त महŒव पनि दिइरहेकी छन् । वास्तवमा, शिक्षिकाले कक्षालाई उत्तर मौर्य कालबारे छलफलको रूप प्रदान गरेकी छन् जसमा सबै विद्यार्थीले उत्साह र उत्सुकतापूर्वक भाग लिइरहेका छन् ।

शिक्षिकाले कक्षाको प्रारम्भ कुनै एउटा विद्यार्थीलाई जवाफ दिन अथवा बोल्न लगाएर गर्नुको सट्टा ‘मौर्य साम्राज्यका बारेमा कसैलाई केही भन्नु छ ?’ भन्ने वाक्यबाट गरिन् । मौर्य साम्राज्यबारे अघिल्लो हप्ता पढाइ भइसकेको थियो त्यसैले त्यसबारे भन्न विद्यार्थीलाई असजिलो थिएन । उनीहरूले भनेको कुराबाट उनीहरू आफ्नो मत प्रकट गर्न कति सहज महसूस गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ । उनीहरूको यो व्यवहार कक्षामा निरन्तर भइरहने कुराकानीको लामो प्रक्रियाको परिणाम थियो । यसमा केटाकेटीसँग यस्तो सम्बन्ध स्थापना गर्ने प्रयास गरिएको छ जसमा उनीहरूका लागि स्थान सुरक्षित हुन सकोस् ।

स्वतन्त्रता र स्वतन्त्रताको अनुभूति एक–दुई दिनमा प्राप्त हुन सक्तैन । लामो समयसम्म तदनुकूल वातावरणमा रहेर मात्र यसलाई महसूस गर्न सकिन्छ । यस कक्षाको संस्कृतिमा यो तत्व विद्यमान छ । यहाँ शिक्षिका केटाकेटीको अवलोकन/पर्यवेक्षणको प्रशंसा गरिरहेकी छन्, त्यसलाई प्रोत्साहित गरिरहेकी छन् अनि एक–दुई जना विद्यार्थीमाथि ध्यान दिनुको सट्टा सबैको सहभागिताका लागि ढोका पनि खोलिरहेकी छन् । उदाहरणका लागि, उनी उत्तर मौर्यकालबारे पढाइरहेकी छन् तर विद्यार्थी आफ्ना टिप्पणीमा अतीतलाई वर्तमानसँग जोडिरहेका छन् जसले इतिहासको अर्थपूर्ण/सार्थक बोधतर्फ इशारा गरिरहेको छ । यी तुलना उनीहरूको त्यस बोधलाई थप व्यापक बनाउन सहयोगी बन्न सक्छन् । विद्यार्थी आ–आफ्ना व्याख्याद्वारा स्वयम् अर्थ–निर्माण गरिरहेका छन् र शिक्षिकालाई त्यसमा कुनै आपत्ति छैन । केटाकेटीको भाषामा उनीहरूको अभिव्यक्तिको स्पष्टता देख्न सकिन्छ । र, यो स्वतन्त्रता र यो अभिव्यक्ति कक्षामा शिक्षिकाद्वारा स्वीकृत छ । निजी स्कूलको कक्षा भए पनि शिक्षिकाले भाषामा कुनै बन्देज लगाएकी छैनन् । अंग्रेजीमै बोल्नुपर्छ भन्ने छैन, केटाकेटी आफ्नो मातृभाषामा बोलिरहेका छन् । शिक्षिकाको उद्देश्य निश्चित भाषाको प्रयोगमा होइन, ज्ञान र विचारको आदान–प्रदानमा केन्द्रित छ ।

कुराकानीको एउटा अंश भने अलि फरक छ । नितिनले ‘तर मिस, कसैले अशोकलाई छुरा हानेको भए अशोकले त्यसलाई मार्दैनथ्यो त ?’ भन्ने प्रश्न गर्दा ‘हामीहरू अहिले अरू नै विषयमा कुरा गर्दैछौं’ भनेर शिक्षिकाले कुरा टारिदिन्छिन् । वास्तवमा, त्यो प्रश्नमा नितिन अहिंसाको गहिरो अर्थलाई बुझने कोशिश गर्दैथियो र त्यो त्यस उमेरका केटाकेटीको स्वाभाविक जिज्ञासा हो । तर शिक्षिकाले उसको जिज्ञासालाई रोकिदिइन् किनभने ‘उत्तर मौर्यकाल’ को पाठ उनले त्यही दिन पढाइसक्नुपर्ने थियो ।

मेरो विचारमा, यसो गरेर उनले एउटा यस्तो महटत्वपूर्ण विषयमा चर्चाको मौका गुमाइन् जसले त्यस दिनको कक्षागत छलफललाई विद्यार्थीका निम्ति बढी अर्थपूर्ण बनाइदिन सक्थ्यो । हुन पनि, प्राय: के हुने गर्छ भने, हामी असली जिन्दगीका कुरालाई कक्षाबाट बाहिर निकालिदिन्छौं जसले गर्दा कक्षा विद्यार्थीका लागि एउटा त्यस्तो कृत्रिम दुनियाँ बन्न पुग्छ जसको दैनिक जीवनसँग कुनै सम्बन्ध हुँदैन ।

यसका बावजूद, यस कक्षाकी शिक्षिका संवेदनशील गुरुआमा हुन् । उनले कक्षालाई जसरी संचालन गरिरहेकी छन् त्यसबाट के स्पष्ट हुन्छ भने, लोकतान्त्रिक कक्षा कस्तो हुन्छ र कस्तो संवादात्मक वातावरणमा विद्यार्थीले बढी सिक्न सक्छन् भन्नेबारे उनलाई राम्रो बोध छ ।

उदाहरण–३
यो एउटा सरकारी स्कूलको कक्षा २ को उदाहरण हो जहाँ केटाकेटी शिक्षकसँग बसेर पढ्दैछन् ।
शिक्षक : एउटा जंगल थियो । ... जंगल कि बगैंचा अरे ?
विद्यार्थी : जंगल (एकैचोटि) ।
शिक्षक : बगैंचा कस्तो हुन्छ ?
दिनेश : बगैंचा ? ... अँ, आँपको बगैंचा, फलफूलको बगैंचा ।
सलमान : बगैंचामा कटहर पनि हुन्छ ।
दिनेश : तरकारी पनि हुन्छ, सर !
शिक्षक : कस–कसले बगैंचा देखेको छ ?
विद्यार्थी : मैले, मैले (सबै कराउँछन् ।
गणेश : मैले देखेको छु, सर !
शिक्षक : कसको बगैंचा ?
गणेश : वकीलको ।
शिक्षक : वकीलको बगैंचा कहाँ छ ?
गणेश : ऊ ... त्यो खेतको छेउमा ।
दिनेश : त्यहाँ आँपका रूख छन् ।
शिक्षक : ल भन, त्यहाँ अरू के–केका रूख छन् ?
गणेश : लिच्चीका रूख पनि छन् ।
दिनेश : कटहर पनि छ, सर !
जावेद : जामुन र शरिफा पनि छ, सर ।
शिक्षक : शरिफा कस–कसले खाएको छ ?
विद्यार्थी : मैले, मैले (एकैचोटि) ।
शिक्षक : त्यसको स्वाद कस्तो हुन्छ ?
विद्यार्थी : गुलियो हुन्छ सर, चिनी जस्तो ।
रमेश : नवलको दोकानमा शरिफा पाइन्छ नि ।
शिक्षक : हो नवल ?
नवल : हो सर, बुबाले बेच्नुहुन्छ ।
जावेद : बगैंचामा मेवा पनि छ, सर ! अनि गुलाफ पनि ।
सलमान : सयपत्री र गोदावरी पनि छ, सर !
जावेद : फूल पनि बेच्छन् नि त !
शिक्षक : कसलाई ?
जावेद : माला बनाउनेहरूलाई ।

यस कक्षामा शिक्षक र विद्यार्थीबीच कुराकानी भइरहेको छ । कुराकानी एकदमै अनौपचारिक किसिमको छ तर एकदमै औपचारिक ठाउँ अर्थात् कक्षामा भइरहेको छ । कक्षा २ मा पढ्ने विद्यार्थी बाहिरी दुनियाँको आफ्नो अनुभव कक्षामा बाँडिरहेका छन् । त्यो जानकारीका स्रोत उनीहरू आफैं हुन् । अर्को महत्वपूर्ण कुरा हो— उनीहरू आफ्नो मातृभाषामा कुरा गरिरहेका छन् । कक्षामा शिक्षकले जस्तो वातावरण निर्माण गरेका छन् त्यसले उनीहरूलाई आफ्नो अनुभव र आफ्ना कुराको पनि मूल्य छ र तिनलाई पनि कक्षाको छलफलमा शामेल गर्न सकिन्छ भन्ने अनुभूति भइरहेको छ । साथसाथै, यस संवादले शिक्षक र विद्यार्थीबीच अपेक्षाकृत अन्तरंग सम्बन्ध बनाउन मद्दत पुर्‍याइरहेको छ । यस्तो सम्बन्धले एउटा साझ बोध पैदा गर्दछ जुन केटाकेटीका लागि आवश्यक हुन्छ । यसैगरी कक्षाको अनौपचारिकताले विद्यार्थीबीचको असमानता कम गर्न सघाउ पुर्‍याउँछ । यसबाट केटाकेटीबीच आपसमा र उनीहरूको शिक्षकसँग मेलजोल बढेर नयाँ संस्कृतिको विकास हुन्छ जसले कक्षालाई बढी लोकतान्त्रिक ठाउँ बनाउन सहयोग पुर्‍याउँछ ।

उदाहरण—४
यो पनि सरकारी स्कूलकै तर कक्षा ३ को उदाहरण हो । शिक्षकले केटाकेटीलाई केहीवेर कक्षा बाहिर गएर अवलोकन गर्न भने । उनीहरूले कक्षामा फर्केर आफ्नो अनुभव बताउनुपर्ने थियो । केटाकेटी फर्केपछि शिक्षकले कालुसँग कुरा शुरू गरे ।
शिक्षक : तिमी कहाँ गएका थियौ, कालु ?
कालु : पर सडकमा, सर !
शिक्षक : ल, भन त, त्यहाँ तिमीले के देख्यौ ?
कालु : सर, एउटा गाई थियो ...अनि एउटा केटो साइकल चढेर जाँदैथियो ... अनि...
शिक्षक : (कालुलाई उछिनेर) : ठीक छ । अब भन त, सडकमा हिंडिरहेका मान्छेहरूमध्ये तिमीलाई कुन मान्छे राम्रो लाग्यो ?
कालु : सर, एउटा मानिस चश्मा लगाएर गइरहेको थियो र त्यसले राम्रा लुगा लगाएको थियो ।
शिक्षक : त्यो मान्छे तिमीलाई राम्रो लाग्यो ?
कालु : हो, सर !
शिक्षक : किन राम्रो लाग्यो त ?
कालु : किनभने उसले राम्रा लुगा, राम्रा जुत्ता लगाएको थियो, कालो चश्मा लगाएको थियो । सफासुग्घरी थियो ।
शिक्षक : ए ! त्यसो भए त्यो मान्छेले फोहोरी लुगा लगाएको भए कस्तो लाग्थ्यो ?
कालु : राम्रो लाग्दैनथ्यो, सर !
शिक्षक : राम्रो लाग्दैनथ्यो नि, होइन त ? यसबाट तिमीहरूले के शिक्षा पाउँछौ ? तिमीहरूले मैला, फोहोरी लुगा लगाएर सडकमा हिंड्यौ भने मानिसले के भन्छन् ? राम्रो विद्यार्थी रहेछ भन्छन् त ?
विद्यार्थी : भन्दैनन्, सर !
शिक्षक : अनि बोर्डिङ स्कूलका विद्यार्थी ... राम्रो कोट–पाइन्ट लगाएर, टाई लगाएर, राम्रो जुत्ता लगाएर, राम्रो बेल्ट लगाएर, राम्ररी कपाल कोरेर हिंडेका उनीहरू कस्ता लाग्छन् ?
विद्यार्थी : राम्रा लाग्छन्, सर !
शिक्षक : अनि तिमीहरू स्कूल आउँदा मान्छेहरूले के भन्छन् ? हेर त, सरकारी स्कूलका विद्यार्थी, राम्रो लुगा पनि लाउँदैनन्, राम्रा जुत्ता पनि लाउँदैनन्, कपाल पनि राम्ररी कोरेका हुँदैनन् भन्छन् । अब हामीले कसरी स्कूल आउनुपर्छ त ?
विद्यार्थी : राम्रो भएर, सर !
शिक्षक : सफा, धोएको सर्ट लगाएर, सफा पाइन्ट लगाएर, राम्रो जुत्ता लगाएर, नुहाएर, कपाल राम्ररी कोरेर, राम्रो भएर । अनि पो सबैले राम्रो भन्छन् । हो कि होइन ?
विद्यार्थी : हो, सर !

यस संवादलाई हेर्दा हामी के पाउँछौं भने शिक्षकको मुख्य उद्देश्य विद्यार्थीलाई नुहाएर, सफा–सुग्घरी भएर स्कूल आउन प्रेरित गर्नु हो, उनीहरूको अवलोकनमाथि चर्चा गर्नु होइन । केटाकेटीले के देखे, कस्तो देखे, कसरी देखे भन्ने बुझनु र सिकाइमा जोड दिनुको सट्टा यस अवसरको उपयोग उनले सफाइको शिक्षा दिनका निम्ति गर्न खोजे । तर उनले जसरी कुरा गरे, त्यसले कुरो सरकारी र निजी स्कूलका विद्यार्थीको पहिरनको तुलनामै अल्झिन पुग्यो; सफाइ र स्वच्छताका बारेमा मूलत: केही भनिएन ।

यसका साथै, सफाइको मामिलामा आफ्ना विद्यार्थीलाई निजी स्कूलका विद्यार्थीको तुलनामा फोहोरी स्वीकार गराउन शिक्षकले निकै बल गरेका छन् जो तिनको घोर असंवेदनशीलताको प्रमाण हो ।

शिक्षकको कर्तव्य केटाकेटीलाई सोच्न र सोचेको कुरो निर्धक्कसँग अभिव्यक्त गर्न सघाउ पुर्‍याउनु हो र संवाद त्यसको अत्यन्तै महत्वपूर्ण माध्यम हो । कुराकानीमा प्रश्न र टिप्पणीहरूको चयन यसरी गर्नुपर्छ जसले केटाकेटीको सोच विकसित र अभिव्यक्त गर्न मद्दत गरोस् । तर यस उदाहरणमा शिक्षकले विद्यार्थीलाई तिनको कुरा भन्ने मौका नै दिइरहेका थिएनन् । यो एकदमै एकतर्फी संवाद थियो । पूरै संवादमा शिक्षक हाबी थिए र विद्यार्थीको भूमिका बाहिर के देखें भनेर सामान्य रिपोर्टिङ गर्नुमा सीमित थियो । उसले देखेका अन्य थुप्रै कुरा र उसको दृष्टिकोणलाई बेवास्ता गरेर शिक्षकले एउटा कुरो समाती त्यसको एकतर्फी व्याख्या गर्दै सन्दर्भ भन्दा पर गएर सरसफाइबारे उपदेश दिन थालेका थिए । यस्तो प्रक्रियामा कक्षाले अलोकतान्त्रिक रूप लिन पुग्छ ।

प्रायजसो, परम्परागत कक्षाहरू विद्यार्थीसँग अलोकतान्त्रिक संस्थाका रूपमा व्यवहार गर्छन् । यी कक्षाहरू शिक्षा–व्यवस्था र स्कूल–व्यवस्थापनको ढाँचागत श्रेणीमा सबैभन्दा तल्लो तहमा हुन्छन् । यिनमा शिक्षक सधैं सत्ताको भूमिकामा हुन्छ । ऊ विद्यार्थीका निम्ति आफ्नो अनुभव र ज्ञानका कारण मात्र होइन, शिक्षा व्यवस्था र ढाँचाको श्रेणीबद्ध व्यवस्थाका कारण पनि सत्ताको अधिकारी हुन्छ । संवेदनशील शिक्षकले, यस परिस्थितिका बीच पनि, कक्षामा हुने संवाद÷कुराकानीको उपयोग कक्षालाई यस्तो ठाउँमा बदल्नका निम्ति गर्न सक्छ— जुन केटाकेटीका निम्ति सहज होस्; जहाँ केटाकेटी सोच्न, सोचेको कुरा अभिव्यक्त गर्न, प्रश्न गर्न र बोल्न स्वतन्त्र होऊन् । तर, हामीले यस उदाहरणमा जे देख्यौं त्यो यसको विपरीत थियो ।

सिक्न र सोच्नका लागि कक्षाले विद्यार्थीलाई स्वतन्त्रता प्रदान गरोस् भन्ना खातिर कक्षामा लोकतान्त्रिक व्यवस्था आवश्यक हुन्छ । लोकतन्त्रका समर्थकहरूले सत्रौं शताब्दीदेखि नै स्वतन्त्रतासँग लोकतान्त्रिक व्यवस्थाको सम्बन्धलाई विशेष महत्व दिंदै आएका छन् । उनीहरूको मान्यता छ, स्वतन्त्र वातावरणको निर्माणका लागि लोकतान्त्रिक व्यवस्था निर्णायक साधन हो र लोकतान्त्रिक प्रक्रियाका निम्ति केही निश्चित अधिकार, स्वाधीनता र अवसर अनिवार्य हुन्छन् । जबसम्म यो प्रक्रिया कायम रहन्छ, स्वतन्त्रता फल्ने–फुल्ने अवसर पनि कायम रहन्छ । आफ्नो यही विशेष गुणका कारण लोकतान्त्रिक व्यवस्थाले व्यक्तिगत स्वतन्त्रताका लागि व्यापक क्षेत्र उपलब्ध गराउँछ (रवर्ट ढाल, १९९१) ।

तपाईं यस तर्कसँग सहमत हुनुहुन्छ भने, मलाई लाग्छ, लोकतन्त्र कक्षामा अपनाइनुपर्ने उत्तम व्यवस्था हो । हामीले कक्षालाई लोकतान्त्रिक बनाउन सक्यौं भने त्यहाँ यस्तो वातावरण सुनिश्चित गर्न सक्छौं जहाँ केटाकेटीको क्षमताको अधिकतम विकास हुन सक्छ । कक्षामा संवाद यो व्यवस्था स्थापना गर्ने सशक्त माध्यम हुन सक्छ । तर यसका लागि केटाकेटीलाई आफ्नो विचार, अनुभव र मत व्यक्त गर्ने स्वतन्त्रता नदिने संवादले कक्षालाई न लोकतान्त्रिक बनाउँछ न त त्यहाँ स्वतन्त्रताका निम्ति नै कुनै स्थान उपलब्ध गराउँछ । उदाहरण दुुई र तीनमा जस्तो संवाद भने यसका निम्ति बढी वाञ्छनीय, उपयोगी र फलदायी हुन सक्छ ।

(नोट: कक्षामा भएका कुराकानीका अंश अनुप्रिया गुप्ता (उदाहरण–१) उषा मल्हान (उदाहरण–२) र जितेन्द्र कुमार (उदाहरण–३ र ४) द्वारा भारतको मुम्बई, दिल्ली र होशंगाबादका विद्यालयहरूमा रेकर्ड गरिएका हुन् ।)

(लेखक भाषा शिक्षण सम्बन्धी अनुसन्धानमा संलग्न छन् ।)
साभार: शैक्षणिक सन्दर्भ, पूर्णाङ्क–६९

भाषान्तर: शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial