मतारोपण : शिक्षाको आवरणमा नवीन सोच, तर्क र विवेकको ढोका बन्द गर्ने प्रक्रिया

शिक्षाको उद्देश्य हो— सोचविचार गरेर स्वयम् निर्णय लिन सक्ने मानिस तयार गर्नु । यस मान्यतासँग त्यस्तो कुनै पनि प्रक्रियाको मिल्ती हुन सक्तैन जसले सोचविचार गरेर निर्णय लिने क्षमतालाई बोधो तुल्याउँछ । मतारोपण यस्तै प्रक्रिया हो । प्रस्तुत छ– मतारोपणको अर्थ, सम्भावना र शैक्षिक प्रक्रियामा यसको निहितार्थ बारे गम्भीर चर्चा, विख्यात शिक्षाविद्हरूको कलमबाट ।

मतारोपण (मत+आरोपण) आजको वास्तविकता हो । हामी सबैलाई भलीभाँति थाहा छ– दुनियाँमा ‘बन्द दिमागवाला’, ‘सिद्धान्तवादी’ र ‘कट्टरपन्थीहरू’ यत्रतत्र व्याप्त छन् । तर यीमध्ये कुनै पनि शब्द मतारोपण (Indoctrination=सिद्धान्त–शिक्षण/मत, विचार, पन्थ, वादको शिक्षण) का पर्यायवाची होइनन् । तैपनि यी सबले हामीलाई मतारोपण (मत+आरोपण) को दुनियाँतर्फ चाहिं डोर्‍याउँछन् नै । आजभोलि तपाईं यस्ता आतंकवादी भेट्नुहुन्छ जसलाई आफ्नो पक्ष र कार्य पूरापूर उचित छ भन्ने दृढ विश्वास छ । यस्ता मान्छे पनि भेटिन्छन् जसले आफ्नै समर्थकहरूलाई मृत्युको मुखमा फाल हान्न उत्प्रेरित गर्छन् किनभने तिनलाई वास्तविक सत्यसम्म आफ्नो मात्र पहुँच छ भन्ने अटल विश्वास हुन्छ । यस्ता मानिस पनि भेटिन्छन् जो तमाम सबूतहरूका बावजूद नाजी जर्मनीमा यहूदीहरूको नरसंहार भएको कुरालाई नकार्छन् । यस्ता पनि मानिस दुनियाँमा छन् जो आफ्ना धार्मिक मान्यताहरूलाई विवेचनात्मक दृष्टिले विश्लेषण गर्न चाहँदैनन् या सक्तैनन् । केही मानिस आफ्नो देशलाई कतिविधि महत्व दिन्छन् भने त्यसका नीतिहरूमा सही र गलतको भेद छुट्याउनै सक्तैनन् । केही चाहिं न अमेरिका अथवा पाकिस्तान ‘महाशैतान’ हुन् जस्ता भनाइप्रति प्रश्न उठाउन सक्छन्, न त अमेरिका अथवा भारत ‘पृथ्वीमा ईश्वरले बनाएका लोकतन्त्र’ हुुन् जस्ता वक्तव्यमाथि नै । दुनियाँमा यस्ता मानिसको पनि कमी छैन जो कुनै सिद्धान्त, मत, विचार, पन्थ अथवा वादका नाममा आफ्नै मित्र/सजातीय/सहधर्मी/सहकर्मीहरूमाथि भयंकर अत्याचार गर्छन् । यी सबै कुरा/प्रवृत्ति कुनै न कुनै अर्थमा र कुनै न कुनै हदसम्म मतारोपण आजको वास्तविकता हो भन्ने कुराका प्रमाण हुन् । सोझे भाषामा भन्दा, यी सबै मतारोपणका परिणाम हुन् ।

मतारोपणको सार–तत्व न त व्यक्तिको धारणा कुनै विषयमा कत्तिको दृढ छ भन्ने कुरामा निहित छ, न उसको लक्ष्य वाञ्छनीय वा अवाञ्छनीय भन्ने कुरामा नै । यसको सार–तत्व त बिलकुलै अन्धो र अटल कटिबद्धतामा अडिएको हुन्छ । मतारोपणले तर्क र विवेकको ढोकालाई पूरै बन्द गरिदिन्छ । यसैकारण मतारोपण शिक्षाको विपरीत हो । वास्तवमा अरू पनि यस्ता थुप्रै कुरा छन् जो शिक्षाभन्दा भिन्न अथवा शिक्षासँग असंगत छन् । परन्तु मतारोपण त शिक्षालाई उल्टाएर घोप्ट्याइदिनु जस्तो हो ।

त्यसैले मतारोपणको अवधारणा बुझन र यसमाथि विचार गर्नु जरुरी छ । किनभने यसबाट आंशिक रूपमा शिक्षालाई बुझन मदत पुग्छ । साथै, यो काम किन पनि जरुरी छ भने मतारोपणमा विवेकको मूल्यलाई नकारिन्छ । यो आजको यस्तो वास्तविकता हो जो केवल आतंकवादी समूहहरूमा मात्र सीमित छैन । पश्चिमका कतिपय कट्टर धार्मिक समूह पनि अल–कायदाका सदस्यभन्दा कम मतान्ध छैनन् ।

मतारोपणमा मानिसलाई खास मान्यता अथवा विश्वास स्वीकार्न बाध्य पारिन्छ । यदि कुनै शिक्षकले कुनै विद्यार्थीलाई वर्ष दिन पढाउँदा उसले विद्यार्थीका मनमा कुनै प्रकारको मान्यता अथवा विश्वास स्थापित गरेको छैन भने अरू जे–जे सिकाएको र सिकाउन खोजेको भए पनि उसले विद्यार्थीमा मतारोपण गरेको छैन भन्न सकिन्छ । अर्थात् मतारोपण र अनुकूलनमा फरक छ ।

कसैलाई अनुकूलन गर्नुको अर्थ हो, उसलाई खास किसिमको आचरण र व्यवहार गर्न सिकाउनु । यसमा विश्वासको सन्दर्भ गाँसिनु जरुरी हुँदैन । जस्तै, हामी कतिपय प्रयोगमा मूसालाई विभिन्न परिस्थितिमा खास किसिमका प्रतिक्रिया गर्न अनुकूलन गराउँछौं । तर, मूसाहरूमाथि मतारोपण गर्ने कुरा गर्दैनौं । किनभने मूसासँग कुनै मान्यता अथवा विश्वास हुँदैन । त्यसैले हामी तिनमा कुनै विशिष्ट मान्यता अथवा विश्वास स्थापित गर्न सकिन्छ भन्ने पनि सोच्दैनौं ।

तथापि, शिक्षकले विद्यार्थीमा कुनै विश्वास स्थापित गरेकै रहेछ भने पनि त्यो मतारोपण नै हो भनेर झट्ट ठोकुवा गरिहाल्न चाहिं सकिंदैन । यदि, मैले तपाईंलाई विश्वमा ऊर्जा संकट छ भन्ने विश्वास दिलाइदिएँ भने तपाईंमाथि मतारोपण गरेको भन्ने अर्थ निकाल्न मिल्दैन । खास मान्यता अथवा विश्वास कसैमा स्थापित गरिदिनु मतारोपणको आवश्यक शर्त अवश्य हो तर यसको मतलब कुनै पनि तरीकाबाट कुनै पनि किसिमको विश्वास कसैमा स्थापित गरिदिन स्वतः मतारोपण हुन पुग्छ भन्ने होइन ।

त्यसो भए, मतारोपण भयो अथवा भइरहेको छ भन्ने निष्कर्ष निकाल्न अरू के कस्ता शर्त/परिस्थिति आवश्यक हुन्छन् ? मतारोपणको अवधारणामा विश्वास पैदा गर्नु बाहेक के कस्ता कुरा जोडिएका हुन्छन् ? केटाकेटीमा कतिपय विश्वास अथवा मान्यता स्थापित गर्न पढाउने–सिकाउने जो अन्य तमाम गतिविधि गरिन्छन्, तीभन्दा मतारोपण कुन मानेमा फरक छ ?

एउटा ‘आदर्श’ दृष्टान्तबाट कुरा शुरू गरौं । अर्थात् एउटा यस्तो उदाहरणबाट, जसमा कुनै विवाद नहोस् । जसलाई सबैले मतारोपणको उदाहरण मानून् । यो उदाहरणका विभिन्न तत्वलाई छुट्याएर/पर्गेलेर तीमाथि पालैपालो चिन्तन/छलफल गरेर सम्भवतः हामी निक्र्योलमा पुग्न सक्छौं— तीमध्ये कुन कुन तत्व मतारोपणका लागि आवश्यक/अनिवार्य हुन् र कुन कुन चाहिं सम्भाव्य अथवा सांयोगिक ।

एउटा यस्तो स्कूल
कुनै क्याथोलिक स्कूलको कल्पना गर्नोस् (कट्टर हिन्दू अथवा मुसलमान अथवा अरू कुनै पन्थ/सम्प्रदायको स्कूलको कल्पना गरे पनि हुन्छ), जसमा सबै शिक्षक प्रतिबद्ध क्याथोलिक छन् र सबै विद्यार्थी क्याथोलिक परिवारका छन् । तिनका आमाबाबु उनीहरूको लालन–पालन र शिक्षादीक्षा क्याथोलिककै रूपमा होस् भन्ने चाहन्छन् । र, स्कूलका सबै शिक्षक पनि केटाकेटीलाई धर्मपरायण क्याथोलिकका रूपमा हुर्काउन–बढाउन प्रतिबद्ध छन् । उनीहरू प्रयत्नपूर्वक आफ्ना विद्यार्थीमा क्याथोलिक सम्प्रदायको सत्य र त्यसका विभिन्न दाबी एवं स्थापनाहरूप्रति अटूट, अविचल आस्था स्थापित गर्ने प्रयास गर्छन् । उनीहरू आफ्ना विद्यार्थीमा ‘पोप अखण्डनीय हुन्’ (उनको कुनै पनि कुरा कहिल्यै खण्डन गर्न सकिंदैन अर्थात् पोपले कहिल्यै गल्ती गर्दैनन्), ‘परिवार नियोजनका साधनहरूको उपयोग गर्नुहुँदैन’, ‘ईश्वर (क्याथोलिक सम्प्रदायले परिभाषित गरे जस्तो) को अस्तित्व छ’ जस्ता मान्यताहरूमाथि सन्देहरहित विश्वास पैदा गर्छन् । यो विश्वास कति कडा हुन्छ भने, जसले उनीहरूका ती मान्यता स्वीकार्दैनन् तिनलाई तिनीहरू भ्रमित अथवा गलत विचारधारावाला अथवा शैतानको प्रभावमा परेका मान्न पुग्छन् ।


मतारोपणको सार–तत्व बिलकुलै अन्धो र अटल कटिबद्धतामा अडिएको हुन्छ । मतारोपणले तर्क र विवेकको ढोकालाई पूरै बन्द गरिदिन्छ । यसैकारण मतारोपण शिक्षाको विपरीत हो । वास्तवमा अरू पनि यस्ता थुप्रै कुरा छन् जो शिक्षाभन्दा भिन्न अथवा शिक्षासँग असंगत छन् । परन्तु मतारोपण त शिक्षालाई उल्टाएर घोप्ट्याइदिनु जस्तो हो ।

उनीहरूका सामु क्याथोलिक सम्प्रदायका मान्यतामाथि सन्देह जगाउने जति ठोस तर्क राखिए पनि, उनीहरू आफ्नो आस्थाबाट कत्ति विचलित हुँदैनन् । शिक्षकहरूले ती विद्यार्थीको दिमागमा क्याथोलिक सम्प्रदायका दाबी र मान्यतामाथि उठाइने सबै सन्देह र आपत्तिहरूको जवाफ रटाएर भरिदिएका हुन्छन् अथवा त्यस्ता तर्क गर्नेहरूलाई कोरा अज्ञानी र ‘बिचरा’ ठान्ने मानसिकता स्थापित गरिदिएका हुन्छन् । आफ्नो धर्म/सम्प्रदायप्रति यस्तो निष्ठा पैदा गर्न धर्म–शिक्षकहरू विभिन्न उपायको प्रयोग गर्छन् । हुन सक्छ, तिनले कतिपय मान्यतालाई तार्किक स्पष्टीकरणका सहित प्रस्तुत गरुन्, अनि कतिपयलाई शिक्षकको आचरणद्वारा प्रस्तुत उदाहरणको माध्यमबाट । यसबाहेक, दुनियाँलाई हेर्ने त्यस सम्प्रदायको खास दृष्टिकोणलाई, र त्यस दृष्टिले दुनियाँमा मानवको जुन स्थान छ त्यसलाई, स्वीकार्न र सुदृढ बनाउन यी शिक्षकहरू चर्को प्रशंसा वा निन्दाको उपयोग गर्न सक्छन् । अथवा, हुन सक्छ, आफ्नो कुरो मनाउन सीधै आफ्नो ‘सत्ता’ को प्रयोग गरुन् ।

यी शिक्षकले मतारोपण गरिरहेका छन् भन्ने कुरामा कसैलाई शंका हुन सक्तैन । तर, हाम्रो प्रश्न अहिले पनि जस्ताको तस्तै छः यसलाई ‘मतारोपण’ किन भन्ने ? यस उदाहरणमा जे जति भनियो त्यसमा यस्तो के छ जसले यो मतारोपण नै हो भन्ने आधार देओस् ? यस दृष्टान्तमा जेजति विशेषता छन् ती सबै भएपछि मात्र कुनै मामिलालाई मतारोपणको उदाहरण मान्न सकिन्छ ? अथवा, यसमा भनिएका कुराहरूमा केही फेरबदल भए पनि यी शिक्षकलाई हामी मतारोपण गर्ने नै मान्छौं ? यी प्रश्नको उत्तर त्यसवेला मात्र दिन सकिन्छ जब यस उदाहरणका सबै विशेषताहरूलाई हामी एक एक गरेर छुट्टाछुट्टै जाँच्छौं । ती हुन्ः विषयवस्तु, अटल प्रतिबद्धता, विधि र मनसाय । यिनलाई हामी मतारोपणको शर्तका रूपमा पनि हेर्न सक्छौं ।

विषयवस्तु
यस उदाहरणमा केटाकेटीलाई जुन मान्यताहरू स्वीकार्न तयार गरिंदैछ, ती मान्यता खास किसिमका छन् । क्याथोलिकवाद मान्यता र विश्वासहरूको यस्तो प्रणाली हो जसमा कैयौं परस्पर सम्बन्धित विचार गाँसिएका छन् । ती विचार यस्ता स्थापना र सिद्धान्तमा आधारित छन् जसलाई निर्विवाद रूपले सत्य प्रमाणित गर्न सकिंदैन । तर जसले यसलाई स्वीकार्छ, उसको दुनियाँलाई हेर्ने र आफ्नो जिन्दगी जिउने तरीका प्रभावित हुन्छ ।

कुनै तर्कवाक्य वा विचारलाई निर्विवाद रूपले सत्य प्रमाणित गर्न सकिंदैन भन्नुको मतलब त्यसको सत्यतालाई नकारिएको होइन । जुन तर्कवाक्यलाई निर्विवाद रूपले सत्य प्रमाणित गर्न सकिंदैन त्यसलाई निर्विवाद रूपले असत्य पनि प्रमाणित गर्न सकिंदैन । कुनै विचार सत्य हो वा असत्य भन्ने साबित गर्न हामीलाई प्रमाण चाहिन्छ । त्यसलाई निर्विवाद रूपले सही अथवा गलत साबित गर्न कस्ता प्रमाण चाहिन्छन् भन्नेबारे सहमति छ भने त्यस्ता तर्कवाक्यलाई हामी प्रमाण्य तर्कवाक्य भन्छौं । तर, यसबारे सहमति छैन भने तिनलाई अप्रमाण्य तर्कवाक्य भनिन्छ । ‘तातेपछि धातुहरू फैलन्छन्’, ‘देवकोटाले मुनामदन लेखेका हुन्’, ‘बृहस्पति नजिकै एउटा यस्तो ग्रह छ जो हरियो पत्थरले बनेको छ’: यी सबै प्रमाण्य तर्कवाक्य हुन् । अर्थात् यी तर्कवाक्यलाई सिद्धान्ततः सही अथवा गलत सिद्ध गर्न सकिन्छ । कस्ता खालका प्रमाणले यिनलाई सही अथवा गलत सिद्ध गर्छन् भन्नेबारे हामीबीच सहमति छ ।

अब अप्रमाण्य तर्कवाक्यका केही उदाहरण हेरौं । ‘ईश्वरको अस्तित्व छ’, ‘पोपले कहिल्यै गल्ती गर्दैनन्’, ‘सबै मानिस स्वतन्त्र हुनुपर्छ’, ‘आर्थिक कारणहरूले नै आधारभूत रूपमा सामाजिक परिवर्तनलाई निर्धारित गर्छन्’: यी अप्रमाण्य तर्कवाक्य हुन् ।

यिनलाई सही अथवा गलत साबित गर्न कस्ता प्रमाण चाहिन्छन् अथवा ती प्रमाणहरूको व्याख्या कसरी गर्ने भन्ने बारेमा आम सहमति छैन । म क्याथोलिक होइन, त्यसकारण मेरासामु यस्ता सशक्त ऐतिहासिक प्रमाण छन् जसले पोप अखण्डनीय होइनन्/पोपले गल्ती गर्छन् भन्ने देखाउँछन् । तर आस्थावान क्याथोलिकसँग यी प्रमाणहरूको स्पष्टीकरण मौजूद हुन्छ । अर्थात् उसका निम्ति यस्ता प्रमाणको कुनै अर्थ हुँदैन । कैयौं मानिस के मान्दछन् भने दुनियाँमा रहेका अनेक दुःख र कष्ट नै सर्वव्यापी र सबैलाई प्रेम गर्ने ईश्वरको अस्तित्व छैन भन्ने कुराका प्रमाण हुन् । ईश्वरमा आस्था राख्ने मानिस दुःख र कष्टलाई नकार्दैन तर तिनलाई ईश्वर छैन भन्ने कुराको प्रमाण पनि मान्दैन । धर्ममा अविश्वास गर्नेहरूले ईश्वरको अस्तित्वका विरुद्ध जतिसुकै साक्ष्य किन पेश नगरुन् (जस्तै– हामी उसलाई देख्न, छुन सक्तैनौं आदि) ईश्वरप्रति आस्थावान व्यक्तिले तिनलाई अप्रासंगिक घोषित गरिदिन्छ । स्पष्ट छ, यस विश्वास/मान्यतालाई हामी सर्वसम्मत प्रमाणका आधारमा सही अथवा गलत सिद्ध गर्न सक्तैनौं । त्यस्तै, जो मानिस सामाजिक परिवर्तनको विशुद्ध आर्थिक व्याख्याप्रति मात्र प्रतिबद्ध छन् उनीहरू आफ्नो ‘आस्था’ का कारण सामाजिक परिवर्तनको समग्र इतिहासलाई केवल त्यही दृष्टिले हेर्छन् । ‘सबै मानिस स्वतन्त्र हुनुपर्छ’ जस्ता आधारभूत नैतिक दाबीहरूलाई सही अथवा गलत साबित गर्न कस्ता खालका प्रमाण मान्य हुनेछन् भन्ने कुरामा स्पष्टता र सहमति दुवै छैन । यस्ता तर्कवाक्य, जसको न पुष्टि हुन सक्छ न त खण्डन नै, वास्तवमा दुनियाँको व्याख्या गर्न हामीलाई मार्गदर्शक मात्र बन्न सक्छन् ।

उपर्युक्त सबै मामिलामा कुनै पनि तर्कवाक्यको सत्यतामा अटूट विश्वास राख्ने व्यक्तिका निम्ति कुनै पनि प्रमाणको कुनै अर्थ छैन । जबकि तिनको सत्यतामा सन्देह गर्नेहरूले अनेक प्रमाण फेला पारेका हुन्छन् । यो स्थिति ‘तातेपछि धातुहरू फैलन्छन्’ भन्नेबारे परस्पर विपरीत मत राख्ने दुई व्यक्तिहरूको जस्तो चाहिं बिलकुलै होइन । किनभने, यसका बावजूद, उनीहरू यो तर्कवाक्यलाई सिद्ध गर्न अथवा खण्डन गर्न केकस्ता प्रमाण मान्य हुन्छन् भन्ने कुरा सिद्धान्ततः सहमत हुन्छन् ।

यसबाट के स्पष्ट हुन्छ भने राजनीतिक, धार्मिक र नैतिक विश्वासका सबै प्रणालीहरू सिद्धान्तसँग सम्बन्धित हुन्छन् । आधारभूत राजनीतिक, धार्मिक र नैतिक सूत्रहरू यस्ता तर्कवाक्य हुन्छन् जसको सत्यतालाई सही अथवा गलत साबित गर्ने कुनै सर्वमान्य मानक हुँदैन । यसको अर्थ जसले कुनै सिद्धान्तलाई मान्छन् ती सबै गलत हुन् भन्ने होइन । चाहे त्यो सिद्धान्त क्याथोलिकवाद होस्, माक्र्सवाद होस्, अनीश्वरवाद होस्, उदार लोकतन्त्रवाद होस् अथवा अरू कुनै । सत्य त के हो भने, त्यस्तो मानिसको कल्पना नै गर्न सकिंदैन जो कुनै पनि सिद्धान्तमा विश्वास नगर्दो होस् । यसको मतलब प्रतिबद्ध सिद्धान्तवादीहरू सबै विवेकहीन हुन्छन् भन्ने पनि होइन । के मात्र भन्न सकिन्छ भनेः १. ‘ईश्वरको अस्तित्व छ’ जस्ता तर्कवाक्य यस अर्थमा विशिष्ट छन् कि तिनको सत्यता अथवा असत्यता निर्विवाद रूपले प्रमाणित गर्न सकिंदैन । २. सिद्धान्त–प्रणाली अथवा विचारधाराले मानिसलाई दुनियाँलाई खास किसिमले हेर्ने र आफ्नो जीवन खास किसिमले जिउने आदेश दिन्छन् । यो तरीका यस्ता तर्कवाक्यमा आधारित हुन्छ जसलाई सिद्ध गर्न सकिंदैन । ३. यस्तै सिद्धान्त–प्रणालीको एउटा उदाहरण हो— क्याथोलिकवाद ।


मतारोपित व्यक्तिको सबैभन्दा प्रकट लक्षण के हो भने उसको एउटा खास दृष्टिकोण हुन्छ । आफ्नो दृष्टिकोण गलत पनि हुन सक्छ भन्ने सम्भावनाप्रति आफ्नो दिमागलाई उसले गम्भीरतापूर्वक कहिल्यै खोल्दैन । जुन विश्वासहरूलाई उसले स्वीकारेको हुन्छ ती सही होऊन् अथवा गलत, उसको दिमाग चाहिं बन्द नै हुन्छ ।

सिद्धान्त अथवा मान्यतालाई मात्र आरोपित गर्न सकिन्छ भनेर दाबी गर्ने दार्शनिकहरू सही हुन् वा होइनन् भन्ने कुरामा राम्रै बहस गर्न सकिन्छ । वास्तविकता जे भए पनि के चाहिं स्पष्ट छ भने, तार्किक आवश्यकताका कारण होस् अथवा प्रासंगिक तथ्यका कारण सिद्धान्त, मत वा मान्यताहरूका सन्दर्भमा नै हामी प्रायः मतारोपणबाट डराउँछौं । अर्थात्, शिक्षक अथवा आमाबाबुले केटाकेटीको दिमागमा दुई दुना चार हुन्छ भन्ने सत्य स्थापित गर्दा होइन, कुनै मत वा मान्यतामाथि विश्वास स्थापित गर्दा हामी चिन्तित हुन्छौं । त्यसैले, के मान्न सकिन्छ भने, मतारोपणमा कुनै सिद्धान्त, मत वा मान्यतामाथि विश्वास दिलाइन्छ ।

यहींनेर प्रश्न उठ्छ, कुनै मतमाथि विश्वास दिलाउनासाथ त्यसलाई मतारोपण भनिदिन मिल्छ ? कसैलाई कुनै मत वा सिद्धान्तमाथि विश्वास दिलाउन कसैले योगदान गरिरहेको छ भने उसले त्यसमाथि मतारोपण गरिरहेको हो त ? मेरो दृष्टिमा, यस प्रश्नको जवाफ ‘होइन’ भन्ने हो । किनभने, मतारोपणका अरू तीन वटा पनि आवश्यक शर्त छन् ।

अटल प्रतिबद्धता
प्रस्तुत उदाहरणको अर्को विशेषता हो– अटल प्रतिबद्धता । केटाकेटीको मनमा क्याथोलिक सम्प्रदायको सत्यमाथि अविचल आस्था स्थापित गर्नु उक्त स्कूलका शिक्षकहरूको मुख्य सरोकार हो । उनीहरू क्याथोलिकवाद र त्यससँग सम्बद्ध सबै कुराहरूलाई, दुनियाँलाई हेर्ने त्यस सम्प्रदायको खास दृष्टिकोणलाई, र त्यस दृष्टि अनुसार, दुनियाँमा मानिसको जुन स्थान छ त्यसलाई केटाकेटीहरूका सामु राख्न मात्र चाहँदैनन् । केटाकेटीले यी सबै कुरा जानून्–बुझन् र त्यसपछि यी विश्वासहरूलाई अपनाउने कि नअपनाउने भनेर आफैं तय गरुन् भन्ने उनीहरूको मनसाय होइन । उनीहरू त यी विश्वासलाई सत्यका रूपमा प्रस्तुत गर्छन् । त्यसैले, मतारोपणको अर्को आवश्यक शर्त हामी यहाँ भेट्छौं ।

मतारोपित व्यक्तिको सबैभन्दा प्रकट लक्षण के हो भने उसको एउटा खास दृष्टिकोण हुन्छ । आफ्नो दृष्टिकोण गलत पनि हुन सक्छ भन्ने सम्भावनाप्रति आफ्नो दिमागलाई उसले गम्भीरतापूर्वक कहिल्यै खोल्दैन । जुन विश्वासहरूलाई उसले स्वीकारेको हुन्छ ती सही होऊन् अथवा गलत, उसको दिमाग चाहिं बन्द नै हुन्छ । बन्द दिमागलाई मतारोपणको अनिवार्य लक्षण नमान्ने हो भने हामी सबै मतारोपित छौं भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ । किनभने, हामी सबै विश्वासको कुनै न कुनै प्रणाली अनुरुप नै आफ्नो जीवन जिइरहेका हुन्छौं । यही विश्वासले हामीलाई दुनियाँको व्याख्या गर्न मदत पुर्‍याउँछ । र, यस्तो निष्कर्षमा पुग्ने हो भने यस अवधारणामाथि यसपछि चर्चा गरिरहनु आवश्यकै छैन । तर, मतारोपित हुनुको अर्थ बन्द दिमागवाला हुनु हो भने चाहिं हामी केमा स्पष्ट हुनु जरुरी छ भने, मतारोपण गर्दा कसैले हामीमा निश्चित विश्वासको सत्यताप्रति दृढ कटिबद्धता स्थापित गरेकै हुन्छ ।

उक्त स्कूलका विद्यार्थीहरू स्कूलको पढाइ सकेर निस्कँदा क्याथोलिक सम्प्रदायमा विश्वास त गर्छन् तर साथसाथै ती विश्वासहरूको सत्यता निर्विवाद रूपमा प्रमाणित छैन अर्थात् ती विश्वास सही अथवा गलत जे पनि सिद्ध हुन सक्छन् भन्ने मानेर तिनमाथि छलफल गर्न तयार हुन्छन् भने तिनलाई मतारोपित भन्न सकिंदैन । यस स्थितिमा, सम्भावना के पनि हुन्छ भने शिक्षकहरूले उनीहरूमाथि मतारोपण गर्ने पर्याप्त प्रयास गरे पनि त्यसमा असफल भएका होऊन् । विद्यार्थी आस्थावान क्याथोलिक हो र यसका बावजूद त्यस सम्प्रदायका सिद्धान्तलाई फेरबदल गर्न नसकिने सत्य मान्दैन भने स्पष्ट छ– शिक्षकहरू उसमाथि मतारोपण गर्न असफल भएका छन् । अनि विद्यार्थी कसरी मतारोपित होओस् त !

त्यसैले, मतारोपणको दोस्रो अनिवार्य शर्त हो– मत आरोपित गर्नेले अरूको मनमा त्यस्ता तर्क वाक्यहरूप्रति अटल विश्वास र प्रतिबद्धता स्थापित गर्नुपर्छ जसलाई प्रमाणित गर्न सकिंदैन ।

विधि
मतारोपणका उपर्युक्त दुई शर्तलाई स्वीकारेपछि हामीले तेस्रो शर्त पनि स्वीकार्नुपर्ने हुन्छ । यसको सम्बन्ध त्यो तरीका अथवा विधिसँग छ जसबाट विश्वास अथवा आस्थाहरू स्थापित गरिन्छन् । यदि हामी मान्छौं कि सिद्धान्त अथवा मत (विषयवस्तु) मात्र आरोपित गर्न सकिन्छन् अनि मतारोपित व्यक्ति कहलाउन ती सिद्धान्त अथवा मतहरूलाई विना कुनै प्रश्न वा शंका सत्य मान्नुपर्ने हुन्छ (अटल प्रतिबद्धता) भने मतारोपण विश्वास पैदा गर्ने त्यस्तो प्रक्रिया नै हुन सक्छ जसमा अतार्किक विधिको उपयोग गरिंदो होस् । किनभने, कुनै पनि मत–प्रणालीको आधार केही त्यस्ता आधारभूत तर्कवाक्य हुन्छन् जसलाई हामी तार्किक रूपले सिद्ध गर्न सक्तैनौं । अर्थात्, त्यस्ता तर्कवाक्यहरूमाथिको अटल विश्वास र प्रतिबद्धता तिनको सत्यतालाई तर्कसंगत रूपले सिद्ध गर्ने कुरामा आधारित हुनै सक्तैन । क्याथोलिक स्कूलको उक्त उदाहरणमा केटाकेटीका मनमा विश्वास जगाउने जुन अतार्किक तरीकाहरूको उल्लेख गरिएको छ तिनलाई मतारोपणका निम्ति आवश्यक नमान्ने हो भने पनि के चाहिं मान्नैपर्छ भने अटल विश्वास पैदा गर्नका लागि कुनै न कुनै त्यस्तो उपायको प्रयोग अनिवार्य हुन्छ, जो तर्कसंगत छैन ।


कुराको चुरो के भने, वैज्ञानिक गतिविधिको प्रकृति नै यस्तो हुन्छ जसले विज्ञानमा मतारोपणको सम्भावना रहन दिंदैन । अर्थात्, लायसिन्कोका मान्यता/सिद्धान्तलाई तिनमाथि कुनै प्रश्न नै उठाउन नपाइने सत्यको रूपमा पढाउनु भनेको अवैज्ञानिक बन्न पुग्नु र मतारोपण गर्नु हो ।

मनसाय
प्रस्तुत उदाहरणमा शिक्षकहरूको मनसाय केटाकेटीमा क्याथोलिक सम्प्रदायका सिद्धान्त र मान्यताहरूमाथि अटल विश्वास जगाउनु रहेको छ । मतारोपणका निम्ति यस्तो मनसाय हुनु अनिवार्य शर्त हो त ? अथवा, यस्तो मनसाय मतारोपणका कतिपय उदाहरणमा संयोगवश मात्र मौजूद हुन्छ ? निश्चय नै, यो एउटा संयोग मात्र हुन सक्तैन । आफ्नो मत अरूमा आरोपित गर्न लागिपरेको व्यक्तिले ‘कहिलेकाहीं’ मात्र उनीहरूमा यस्तो विश्वास जगाउन खोज्ने कुरा सम्भवै छैन । त्यसैले मतारोपणको एउटा जरुरी शर्त मान्ने हो भने त्यस्तो विश्वास पैदा गर्ने मनसाय रहनु पनि जरुरी हुन्छ ।

मनसायलाई मतारोपणको अनिवार्य शर्त मान्दा आइपर्ने अप्ठ्यारो के हो भने, मनसाय सधैं स्पष्ट देखा पर्दैन । आफ्नो मत लाद्न तत्पर व्यक्तिले ‘म अरूमा आफ्नो मतप्रति अटल विश्वास पैदा गर्न चाहन्छु’ भनेर सधैं स्वीकार गर्दैन । अझ् उसले त ‘त्यसो गर्ने मेरो मनसाय बिलकुलै छैन’ भन्ने दाबी पनि गर्न सक्छ । उसले भन्न सक्छ— म विद्यार्थी आफैं सोचविचार गरेर निर्णयमा पुगोस् भन्ने चाहन्छु; कुनै विषयमा उसले आफ्नै निजी मत बनाओस् भन्ने मेरो चाहना हो; मेरो सम्पूर्ण प्रयास यसै दिशातिर केन्द्रित छ । यहाँनेर, के आवश्यक हुन्छ भने हामी उसको घोषित मनसाय (जे गर्दैछु भनिरहेको छ, त्यो) र वास्तविक मनसाय (जुन काम वास्तवमा गरिरहेको छ, त्यो) का बीच अन्तर छुट्याउन सकौं । वास्तवमा, उसको असली मनसायको परिचय– उसले पढाउने–लेखाउने परिस्थितिको अवलोकन गरेपछि मात्र प्राप्त हुन सक्छ । स्पष्ट छ, मतारोपण गर्नेसँग सोधेर उसको असली मनसाय थाहा पाउन सकिंदैन ।

यहाँनेर जे.पी. ह्वाइटलाई उद्धृत गर्नु सान्दर्भिक हुनेछ । उनी क्याथोलिकवाद वा माक्र्सवादका शिक्षकको उदाहरण प्रस्तुत गर्छन् जसले के घोषणा गर्छ भने उसको मनसाय विद्यार्थीलाई सोचविचार गरी आफ्नो मत आफैं निर्धारित गर्न सक्ने बनाउन सहयोग पुर्‍याउनु मात्र हो । यस्ता शिक्षकलाई मत आरोपित गर्ने मान्दै उनी प्रश्न गर्छन्ः

घोषित मनसाय नै उसको वास्तविक मनसाय हुन सम्भव त छ ? यदि वास्तवमै यसो हो भने उसले विद्यार्थीलाई प्रश्न उठाउन दिनेछ । उसले ‘ईश्वरको अस्तित्व छ’ अथवा ‘इतिहासको बाटो पहिलेदेखि नै निर्धारित छ’ जस्ता आधारभूत तर्कवाक्यहरू माथि उठेका प्रश्नहरूमाथि खुला मनले छलफल गर्नेछ । सत्यको आभास दिने तर्कहरूको सहारा लिएर ती प्रश्नलाई पन्छाउने छैन ।


प्रभावित गर्नु आफैंमा मतारोपण गर्नु होइन । केटाकेटीहरू आफ्नो समाजले अपनाएका नैतिक मूल्यहरूलाई स्वयम् जाँच गर्न सक्ने अवस्थामा छन्, केटाकेटीमा आफूलाई पालन गर्न लगाइएका मूल्यहरू सही छन् अथवा गलत भनेर विचार गर्न स्वतन्त्र छन् भने भन्न सकिन्छ— उनीहरूमा मतारोपण भएको छैन ।

न त अतार्किक तरीकाहरूको उपयोग गरेर विश्वास नै जगाउनेछ । बरु विद्यार्थीसँग मिलेर, उनीहरूले उठाएको शंका नै कहीं सत्य त होइन भनेर जाँच गर्नेछ । यदि उसको दिमाग यति हदसम्म खुला छ भने व्यवस्थाभन्दा बाहिरबाट उसलाई हेरेर हामी उसले मतारोपण गरिरहेको छ भन्छौं त ? ... व्यवस्थाभित्र रहेको शिक्षक नै मतारोपक हुन्छ । त्यसैले घोषित मनसाय नै उसको असली मनसाय हो भन्ने मान्न सकिंदैन ।

बिर्सन नहुने कुरा के हो भने, हामी यहाँ ‘अटल विश्वास पैदा गर्ने’ मनसायको कुरा गरिरहेका छौं, मतारोपणको मनसायको होइन । तथापि, तार्किक दृष्टिले व्यक्तिको मनसाय मतारोपणको अवधारणासँग जोडिएको हुन्छ । यस मनसायको प्रकृति नै वास्तविक मनसाय हुन्छ । त्यो उसको घोषित मनसायसँग मिल्नुपर्छ भन्ने जरुरी छैन । यदि दुवैमा मेल अथवा साम्य छ भने कुनै समस्या नै हुँदैन । तर, दुवैमा साम्य छैन भने, सामान्य सन्दर्भको प्रमाणले यही दर्शाउँछ— वास्तविक मनसाय घोषित मनसायमाथि हाबी हुन पुग्छ ।

मतारोपण र शिक्षणमा अन्तर मतारोपणबारे यति विश्लेषण गरिसकेपछि प्रश्न उठ्नु स्वाभाविक हुन्छ– स्कूलहरूमा दिइने शिक्षणमा मतारोपणको तत्व कति छ वा कति हुन सक्छ ?

एउटा कुरा त स्पष्टै छ । यदि पढाइने विषयवस्तु तथ्यात्मक छ र शिक्षकले आधारभूत रूपमै विवादास्पद कुनै तर्कवाक्य (सिद्धान्त) पढाउने प्रयास गर्दैन भने त्यहाँ मतारोपणको गुन्जाइस हुन सक्तैन । गणितकै उदाहरण लिऊँ । मानिलिनोस्, शिक्षकले दुनोट सिकाउँदैछ । अथवा कुनै रेखालाई दुई भागमा विभाजित गर्न सिकाउँदैछ । अथवा युक्लिडको ज्यामितीय प्रमाण सिकाउँदैछ । यहाँ मत–सिद्धान्त (डक्ट्रिन) जस्तो कुनै कुराको स्थान छैन । सबै गणितज्ञहरू तीन दुना ६ हुन्छ भन्नेमा सहमत छन् । विभिन्न समीकरणको समाधान कसरी निकाल्न सकिन्छ भन्नेबारेमा पनि उनीहरूबीच सहमति छ । शिक्षकले त्यही सिकाउने हो । यहाँ मतारोपणको गुन्जाइस नै के छ र ? विद्यार्थी गणितको कक्षापछि अनेकथरीका विभेदक समीकरणहरूको समाधान निकाल्न सक्ने भयो भनेर उसमा मतारोपण गरियो भन्न पनि त मिल्दैन ।

विज्ञान शिक्षणको कुरा पनि यस्तै हो । वैज्ञानिक गतिविधिले मतारोपणलाई स्वतः असम्भव बनाइदिन्छ । वैज्ञानिक विधि अन्तर्गत सामान्यतः कुनै कुरा वा घटना स्पष्ट पार्न एउटा परिकल्पना (हाइपोथेसिस) तयार गरिन्छ । अनि तमाम प्रयोगहरूद्वारा त्यो परिकल्पना सही हो कि गलत भनेर जाँचिन्छ । गलत साबित भयो भने मूल परिकल्पनालाई कि संशोधन गरिन्छ अन्यथा त्यागिन्छ । त्यसपछि नयाँ परिकल्पनाका साथ प्रयोगको सिलसिला अघि बढाइन्छ । कुनै परिकल्पनासँग विना अर्थ टाँसिइरहने गुन्जाइस त्यहाँ हुँदैन । कुनै व्यक्ति आफ्नो परिकल्पनाका विरुद्ध कुनै पनि सबूत/प्रमाणलाई स्वीकार्न तयार छैन भने ऊ वैज्ञानिक पनि होइन ।

आफ्नो तर्कवाक्य विरुद्ध कुनै प्रमाण स्वीकार नगर्ने यस्तो प्रवृत्ति हामीले क्याथोलिक स्कूलको उदाहरणमा धार्मिक मान्यताहरूका सन्दर्भमा देखेका थियौं । यसको अझ् राम्रो उदाहरण विख्यात रूसी वैज्ञानिक लायसिन्कोमा पाइन्छ । उनको मान्यता थियो— कुनै पनि प्राणीले सिकेर ग्रहण गरेका (अक्वायर्ड) विशेषताहरू त्यसपछिका पुस्ताहरूलाई पनि आनुवंशिक रूपमा प्राप्त हुन्छन् । सी.एम्. बेग्गले आफ्नो पुस्तक ‘इन्ट्रोडक्शन टु जेनेटिक्स’ मा यस मान्यता/सिद्धान्तमाथि टिप्पणी गर्दै भने, ‘यसलाई पुष्टि गर्ने कुनै प्रमाण पाइँदैन ।’ उनको भनाइ थियो, ‘यस्तो कुनै तन्त्र/प्रणालीको कल्पना गर्न पनि मुश्किल छ ।’ तैपनि लायसिन्कोको अवधारणालाई रूसमा अत्यधिक मान्यता प्राप्त भयो । कहाँसम्म भने, उनलाई ‘कृषि विज्ञान सम्बन्धी लेनिन एकेडेमी’ को अध्यक्ष बनाइयो जबकि अनुवंशवादका कैयौं ‘परम्परावादी’ वैज्ञानिक रूसी परिदृश्यबाट गायबै हुन पुगे । किन यसो भयो त ? बेग्ग भन्छन्ः

“के मात्र भन्नु पर्याप्त हुनेछ भने, माक्र्सवादका अनुसार इतिहासको दिशा निर्धारित गर्न वातावरणकै भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । यसै विचारलाई समग्र जीव–जगतमाथि लागू हुन्छ भन्ने मान्न त्यति कठिन छैन । त्यसवेला हामी बाह्य परिस्थितिहरूलाई क्रम–विकासको दिशा निर्धारण गर्ने कारक मान्न सक्छौं । यस्तो क्रम–विकास, जसमा कमजोरहरू सकिंदै जान्छन् र बलियाहरू मात्र बाँकी रहन्छन् । यति मात्र नभएर बाह्य परिस्थितिहरूलाई हामी यस्तो सक्रिय शक्तिका रूपमा पनि हेर्न थाल्छौं जसले पशु र वनस्पतिहरूको प्रत्येक पुस्तालाई प्रत्यक्ष रूपमा बदल्दै लैजान्छ । र, यसरी भएका परिवर्तनहरूमध्ये केही तिनका सन्तानलाई आनुवंशिक रूपमा प्राप्त हुन्छ । तर, यस विचार/न्यताको कुनै तथ्यात्मक आधार छैन ।”

कुराको चुरो के भने, वैज्ञानिक गतिविधिको प्रकृति नै यस्तो हुन्छ जसले विज्ञानमा मतारोपणको सम्भावना रहन दिंदैन । अर्थात्, लायसिन्कोका मान्यता/सिद्धान्तलाई तिनमाथि कुनै प्रश्न नै उठाउन नपाइने सत्यको रूपमा पढाउनु भनेको अवैज्ञानिक बन्न पुग्नु र मतारोपण गर्नु हो ।

त्यसो त, गणित र विज्ञानका शिक्षकहरूमाथि पनि मतारोपणको आरोप लाग्न असम्भव छैन । तर यस्तो आरोप उनीहरू यी विषय पढाउँछन् भनेर लाग्ने होइन । पाठ्य विषयवस्तुबाट बहकिएर अप्रामाण्य तर्कवाक्यतिर लहसिंदा लाग्ने हो । उदाहरणका लागि, कुनै गणित–शिक्षकले ‘ईश्वर नै सर्वश्रेष्ठ गणितज्ञ हो र सारा गणित उसैबाट सृष्टि भएको हो’ भन्ने दाबी गर्न सक्छ । अथवा, ‘विज्ञान विषय मात्र सार्थक हो र मानविकीका सबै विषय निरर्थक हुन्’ भन्ने कुनै गणित–शिक्षकको दाबी हुन सक्छ । गणित र विज्ञानका शिक्षकहरूले यस्ता कुरा पढाउन थाले भने तिनीहरूलाई ‘मतारोपक’ मानिने खतरा भई नै हाल्छ । तर, ध्यान दिनुपर्ने कुरा चाहिं के हो भने तिनका यस्ता मान्यताहरूको गणित अथवा विज्ञानको प्रकृतिसँग कुनै लिनु–दिनु छैन ।

स्कूलको पाठ्यक्रमका अन्य विषयलाई हेर्ने हो भने चाहिं स्थिति अलिक फरक देखिनेछ । साहित्य, इतिहास, नागरिकशास्त्र, नैतिक शिक्षा अथवा धार्मिक शिक्षा जस्ता विषयहरूका कतिपय पक्ष यस्ता छन्, जो मूलतः विवादास्पद छन् । त्यसैले यी विषयका शिक्षकले आफूलाई मतारोपकको पंक्तिमा नराखियोस् भन्ने चाहने हो भने, पढाउँदाखेरि असाध्यै सावधानी अपनाउनु जरूरी हुन्छ । मैले जानी–बुझी ‘सावधानी’ शब्दको प्रयोग गरेको हुँ । किनभने, कुरो उनीहरू कस्तो विषयवस्तु पढाइरहेका छन् भन्ने मात्र होइन । मतारोपणको विश्लेषणबाट दुइटा कुरा स्पष्ट भइसकेका छन् । एउटा हो— विवादास्पद विषयवस्तुका साथै शिक्षकमा त्यसप्रति विद्यार्थीका मनमा अटल विश्वास स्थापित गर्ने ‘मनसाय’ हुनुपर्छ । अर्को हो— उसले ‘अतार्किक’ तरीकाहरूको उपयोग गरेको हुनुपर्छ । अर्थात्, इतिहास वा धर्म वा नैतिक शिक्षाको शिक्षक हो भन्दैमा ऊ मतारोपक हो भनेर किटान गर्न सकिंदैन ।

यस सन्दर्भमा साना केटाकेटीका शिक्षकहरूले विशेष समस्याको सामना गर्नुपर्छ । भनिन्छ, पाँचदेखि आठ वर्षसम्मका केटाकेटीमा कुनै पनि कुराको कारण बुझने क्षमता विकसित भइसकेको हुँदैन । उदाहरणका लागि, उनीहरू झूटो किन बोल्नुहुँदैन, साथीहरूको ईष्र्या किन गर्नुहुँदैन, चोरी किन गर्नु हुँदैन भनेर बुझन सक्तैनन् । त्यसैले साना केटाकेटीका शिक्षक उनीहरूमाथि मत आरोपण गर्न बाध्य हुन्छन् भन्ने दाबी गरिन्छ । तर, उनीहरूले कारण बुझन सक्तैनन् भनेर तिनका प्रश्नको जवाफ नै नदिनु जरूरी छैन । शिक्षकले यस्तो प्रयास गर्नैपर्छ । केटाकेटीलाई नैतिक तर्कवाक्य स्वीकार गराउन शिक्षकहरू जेजस्ता प्रयास गर्छन् ती तर्कमा आधारित हुँदैनन् भन्ने कुरा सत्य हो । त्यस्ता प्रयास किन अतार्किक हुन्छन् भने केटाकेटीका लागि तार्किक कारणको कुनै अर्थ हुँदैन । आधारभूत नैतिक तर्कवाक्यहरू मूलतः विवादास्पद नै हुन्छन्; तिनलाई सही अथवा गलत साबित गर्न सकिंदैन भन्नेबारे हामीले भर्खरै चर्चा गर्‍यौं । यस अर्थमा, मतारोपणका लागि आवश्यक केही शर्त साना केटाकेटीका शिक्षकसँग सम्बन्धित उक्त परिस्थितिमा विद्यमान हुन्छन् भनेर हामीले स्वीकार्नै पर्छ । यति हुँदाहुँदै पनि केटाकेटीहरूमा ती नैतिक तर्कवाक्यहरूमाथि अटल विश्वास स्थापित गराउने शिक्षकको मनसाय छैन भने उसले मतारोपण गरिरहेको हुँदैन । ऊ त त्यस्ता नैतिक तर्कवाक्यहरूलाई स्वीकार्न केटाकेटीलाई प्रभावित मात्र गरिरहेको हुन्छ । त्यसो त, प्रभावित गर्नुलाई पनि आपत्तिजनक कार्य मान्न सकिन्छ, तर त्यो वेग्लै प्रश्न हो । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने प्रभावित गर्नु आफैंमा मतारोपण गर्नु होइन । केटाकेटीहरू आफ्नो समाजले अपनाएका नैतिक मूल्यहरूलाई स्वयम् जाँच गर्न सक्ने अवस्थामा छन्, केटाकेटीमा आफूलाई पालन गर्न लगाइएका मूल्यहरू सही छन् अथवा गलत भनेर विचार गर्न स्वतन्त्र छन् भने भन्न सकिन्छ— उनीहरूमा मतारोपण भएको छैन । तैपनि यहाँनेर एउटा खतरा चाहिं छ । त्यो के भने, केटाकेटीहरूका निम्ति अपनाइएका उपायहरू वास्तवमा अस्थायी हुन् भनेर सजिलै बिर्सन सकिन्छ । यस अवस्थामा सम्भव छ— हामीले उनीहरूसँग ती तर्कवाक्यहरूमाथि उनीहरू ठूला भइसकेपछि पनि विवेकपूर्ण चर्चा नगरौं । यदि शिक्षकको सत्तालाई विवेकले नाघ्न सकेन भने शिक्षकको घोषित मनसाय उसको वास्तविक मनसाय होइन रहेछ भन्ने स्पष्ट हुन्छ । यस्तो स्थितिमा हामी शिक्षकलाई ढुक्कसँग मतारोपक भन्न सक्छौं ।

सबै विषयका, सबै उमेरका केटाकेटीका शिक्षकले आफूहरू वास्तवमा के गरिरहेका छौं भनेर सदा सचेत रहनुपर्छ । शिक्षकहरू केटाकेटीमा मतारोपण गर्नुको सट्टा तिनलाई साँच्चै शिक्षित बनाउन चाहन्छन् भने उनीहरूले सोच्नैपर्छ— उनीहरूका व्यापक लक्ष्य के हुन् ? खास उद्देश्य के हुन् ? आफ्नो पढाउने तरीकाबारे, कुराहरू प्रस्तुत गर्ने तरीकाबारे उनीहरूले आत्मसमीक्षा गर्नैपर्छ । त्यति मात्र होइन, आफूले पढाइरहेको विषयको तर्कसंगत प्रकृतिमाथि पनि चिन्तन गर्नैपर्छ । अन्यथा यी विषय/मामिलाबारे उनीहरूले आफ्नो कुनै दृष्टिकोण पनि बनाउन सक्ने छैनन् । यस स्थितिमा आफूहरू स्वयम् कस्तो खालका शिक्षक हौं भन्नेबारे समेत उनीहरूको दृष्टिकोण बन्न सक्नेछैन ।

मतारोपण किन गलत ?
मतारोपणलाई अधिकतर मानिस निन्दनीय मान्छन् । अब छलफल गरौं, यसलाई निन्दनीय किन मानिन्छ ? यसको भत्र्सना गर्नु किन उचित छ ? (यसो गर्दा शिक्षा र मतारोपणका अवधारणाबीच तुलना गर्ने मौका पनि प्राप्त हुनेछ ।)

हामीले पहिले मानेका थियौं— सिद्धान्तहरूको सधैं मतारोपण हुन्छ । तर चर्चाको क्रममा अलिक पछि के पनि देखिइसकेको छ भने, शिक्षणका कतिपय परिस्थितिमा विषयवस्तुमा सिद्धान्त मौजूद भए पनि मतारोपण हुन वा गरिन जरूरी छैन । पढाइने विषयवस्तुमा त्यससँग जोडिएको सिद्धान्त रहन्छ नै, तर त्यति हुँदैमा शिक्षकले मतारोपण गर्छ भन्न मिल्दैन । त्यसैले धार्मिक शिक्षा, राजनीतिक शिक्षा, नैतिक शिक्षा अथवा अरू कुनै शिक्षामा — जसमा विवादास्पद सिद्धान्तहरू गाँसिएका हुन्छन् — सिद्धान्तबारे कुराकानी गर्नु, तिनको ज्ञान दिनु सही नै हो । प्रश्न उठ्छ, त्यसो भए राजनीतिको शिक्षा कुनवेला राजनीतिक मतारोपणमा परिणत हुन पुग्छ ? हामीले भर्खरै गरेको विश्लेषण अनुसार त्यसवेला, जब शिक्षकले त्यस विवादास्पद राजनीतिक मान्यताबारे अरूको विचार प्रस्तुत गर्न बन्द गरिदिन्छ । जब ऊ त्यस मान्यताबारे आफ्नो मात्र दृष्टिकोण प्रस्तुत गर्छ । साथै के पनि चाहन्छ भने विद्यार्थीहरू उसले भनेको कुरालाई वेदवाक्य अथवा ध्रुवसत्य मानून् । स्पष्ट छ, उसको मनसाय विद्यार्थीको विवेकमा हाबी हुने नै छ ।

आर.एस्. पीटर्स शिक्षाको परिभाषा दिंदै भन्छन्, ‘शिक्षाको तात्पर्य नैतिक रूपले स्वीकार्य तरीकाबाट, सायास, केही सार्थक सम्प्रेषित गरिंदैछ भन्ने हो ।’ यहाँ ‘केही सार्थक’ भनेर विषयवस्तुलाई संकेत गरिएको हो । धार्मिक, राजनीतिक अथवा नैतिक चर्चा/बहस ‘सार्थक’ भित्र पर्दैनन् भन्ने तर्क त पक्कै गर्न सकिंदैन । यसको अर्थ हुन्छ— मतारोपण शिक्षणभन्दा फरक किन छैन भने मतारोपणमा सिद्धान्तहरूको अवैध आदान–प्रदान गरिन्छ । फरक कहाँनेर छ भने मतारोपणमा उक्त परिभाषामा उल्लिखित प्रक्रियाको मानकको उल्लंघन गरिन्छ । मतारोपणले व्यक्तिको विवेकको सम्मान गर्दैन र त्यो नैतिक रूपमा स्वीकार्य कुरा होइन, त्यसैले मतारोपणलाई शिक्षा मान्न सकिंदैन ।

पीटर्सले जुन नैतिकतामा जोड दिएका छन् त्यसका सबैभन्दा सशक्त प्रवक्ता हुन् जर्मन दार्शनिक इम्यानुअल कान्ट । उनले भनेका छन्ः

“म के भन्छु भने, मनुष्य र प्रत्येक विवेकशील प्राणी स्वयं आफ्नै लक्ष्य हो । कुनै अर्काको इच्छाशक्तिको मनपरी उपयोगका निम्ति एउटा माध्यम मात्र होइन । आफ्ना सबै कामहरूमा, चाहे ती काम स्वयंका लागि हुन् अथवा अन्य विवेकवान प्राणीका लागि हामीले उसलाई सधैं लक्ष्यकै रूपमा हेर्नुपर्छ ।”

परन्तु, मतारोपण गर्नेहरू यस सिद्धान्तको उल्लंघन गर्छन् । उनीहरू आफ्ना श्रोता वा अनुयायीलाई ‘माध्यम’ मान्छन् । उनीहरूको उद्देश्य आफूलाई ठीक लागेको सिद्धान्तप्रति मानिसहरूको आस्था, विश्वास जगाउनु हुन्छ । उनीहरू तटस्थ चिन्तन गर्न सक्तैनन् । दुई उदाहरणः

१. ‘सन्डे टाइम्स’ ले २ सितम्बर १९७३ को अंकमा शान्तिपूर्ण सहअस्तित्वको अवधारणाबारे ‘प्राभ्दा’ को भनाइ उद्धृत गर्‍योः
“शान्तिपूर्ण सहअस्तित्वको अर्थ विश्वका दुई सामाजिक प्रणालीहरूका बीच चलिरहेको संघर्ष समाप्त भयो भन्ने होइन । यो संघर्ष तबसम्म जारी रहनेछ, जबसम्म साम्यवाद अन्तिम रूपले विजयी हुनेछैन । विचारधाराहरूबीच संघर्षको समस्या देशहरूका बीच सम्झैताको विषय हुन सक्तैन ।”

. ‘द टाइम्स’ को ६ जुलाई १९७३ को अंकमा पीटर निकोलसको एउटा प्रतिवेदन छापियो । यो प्रतिवेदन क्याथोलिक सिद्धान्त भ्रमभन्दा माथि रहेको छ भन्ने सिद्धान्तका सम्बन्धमा थियो । प्रतिवेदनमा स्विस धर्मशास्त्री डाक्टर हान्स क्युंगले यस सिद्धान्तको कडा आलोचना गरेका थिए । त्यसबाट चिन्तित भेटिकनको ‘सेक्रेड कांग्रिगेशन फर द डक्ट्रिन अफ त फेथ’ ले एउटा दस्तावेज प्रकाशित गर्‍यो जसमा ‘पोप अखण्डनीय छन्’ भन्ने सिद्धान्तको पुनः पुष्टि गरिएको थियो । उक्त दस्तावेजबारे पीटर निकोलसले लेखेः

“यस दस्तावेजले ती परिस्थितिहरूको चर्चा गर्छ जसमा चर्च र त्यसको शैक्षिक सत्तालाई भ्रमभन्दा माथि रहेको घोषित गरिएको छ । अर्थात् ती परिस्थितिहरूमा उनीहरू कहिल्यै गलत हुनै सक्तैनन् ।

यस्तो त्यसवेला हुन्छ जब विश्वभरि फैलिएका विशप (क्याथोलिक सम्प्रदायका अधिकारी), सन्त पीटरका उत्तराधिकारी (पोप) को सहभागितामा कुनै अपरिवर्तनीय धर्म–सिद्धान्त प्रस्तुत गर्छन् । यस्तो त्यसवेला अझ् स्पष्टसँग हुन्छ जब सबै विशपहरू आफ्ना दृश्य मुखिया (पोप) सँगै सामूहिक रूपमा कुनै यस्तो धर्म–सिद्धान्तलाई परिभाषित गर्छन् जसको अनुपालना गरिनुपर्ने हुन्छ । र, त्यसवेला पनि यस्तो हुन्छ जब पोपले आफू पदमा बहाल रहँदा धर्म–सत्ताको आधारमा आस्था अथवा नैतिकता सम्बन्धी कुनै धर्म–सिद्धान्तलाई परिभाषित गर्छन् जसको अनुपालना विश्वभरिका चर्चले गर्नुपर्ने हुन्छ ।”

राजनीतिक र धार्मिक दुवै परिदृश्यका यी उदाहरणहरूमा एउटा सन्देश स्पष्टसँग सुन्न सकिन्छः ‘हामी जसरी सोच्छौं, ठीक त्यसैगरी सोच; प्रश्न उठाउने दुस्साहस नगर ।’ कान्टले नैतिकताबारे जे भनेका थिए त्यसको योभन्दा विपरीत आचरण अरू के हुन सक्ला ? निचोड के भने, मतारोपण नैतिक रूपले पूरै निन्दनीय र शिक्षाको विरुद्ध छ । मानिसलाई कसैको इच्छा, मान्यता वा सनक अघि बढाउने एउटा माध्यम मात्र मान्न हामीलाई नैतिक रूपमा स्वीकार्य छ भने चाहिं कुरो बेग्लै हो !

यो सबका बाबजूद हामी के नकार्न सक्तैनौं भने सामान्यतः हामी सबै, केटाकेटी र विद्यार्थीले हाम्रा मूल्य–मान्यतालाई स्वीकार गरून् भन्ने नै चाहन्छौं । उदाहरणका लागि, हामी चाहन्छौं— कतिपय कलाकृति अरूभन्दा उत्कृष्ट छन् भन्ने उनीहरू पनि विश्वास गरून्, विज्ञान मूल्यवान छ भन्ने उनीहरू पनि मानून्, कतिपय आचरण नैतिक रूपमा अस्वीकार्य छन् भन्नेमा उनीहरू पनि सहमत होऊन्, अथवा, मानविकीका विषय पनि सार्थक छन् भन्ने उनीहरू पनि पत्याऊन् । तर हामीले तर्कका साथ अघि बढ्नुपर्छ । ढीलो चाँडो उनीहरूले पनि यी विचार सम्झ्न–बुझन सक्नेछन् भनेर; उनीहरूमाथि भरोसा गरेर । तथ्यहरूलाई तोडमरोड गरेर अथवा जोर–जबर्जस्ती गरेर होइन । कुराको चुरो के भने, समस्या वास्तवमा आफ्ना मूल्य–मान्यताहरू अरूका सामुन्ने राख्ने र तिनलाई साझ गर्ने स्वाभाविक इच्छाको होइन । समस्या त कुनै पनि उपायले आफ्ना मूल्य–मान्यता र विश्वास अरूको मन–मस्तिष्कमा वज्रलेप भएर टाँसिने गरी थोपर्ने अस्वाभाविक चाहनाको हो । यसो गर्नु निन्दनीय हो । किनभने, यसैले बन्द दिमागलाई, कट्टरवादलाई जन्म दिन्छ । र अन्ततः त्यस भ्रान्तिलाई पनि जन्म दिन्छ, जसले भन्छ— आफ्नो मत, मान्यता अथवा विचारधाराका नाममा कसैलाई दमन गर्नु, यातना दिनु र उसको हत्या गर्नुसम्म पनि उचित हो ।

(विख्यात शिक्षाविद् लेखकद्वयको पुस्तक ‘एन इन्ट्रोडक्शन टु फिलोसफी अफ एजुकेशन’ को एउटा अध्यायबाट ।)
(साभारः शिक्षा विमर्श, मई/जून २०१४)

भाषान्तरः शरच्चन्द्र वस्ती

शिक्षक मासिक, २०७१ साउन अंकमा प्रकाशित ।


commercial commercial commercial commercial