मोबाइल एउटा साथी !

मोबाइल फोनको प्रविधि तेस्रो पुस्ता सकिंदै चौथो पुस्तातिर लम्किरहेको अवस्था छ । मोबाइलमा विभिन्न सुविधा (एप्स) राखिनाले ल्यापटप वा कम्प्युटरको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड मोबाइलको जमाना छ । थ्रीजीको बढ्दो क्रम छ । युवा पुस्ता मोबाइलमा रमाइरहेका छन्, यसैमा हराइरहेका छन् । कल्पना नै कल्पनामा डुबेका छन् । मोबाइल जो–कोहीको लागि पनि अभिन्न अंग वा साथी बन्न सक्छ । वास्तवमा आजको शिक्षा, शिक्षक र अभिभावकले विद्यार्थीलाई मोबाइल प्रयोग गर्नमा प्रतिबन्धित गरेर डरलाग्दो वस्तुको रूपमा नलिइकन एउटा आपत–विपत पर्दा सहयोग गर्ने सहयोगी असल मित्रको रूपमा अँगाल्न सिकाउनुपर्छ । युवा पुस्ताले पढाइलाई भन्दा पनि मोबाइलमा रमाएर विकृति निम्त्याइरहेको अवस्था पनि हाम्रो सामु छ जुन सही मार्गनिर्देशनको कारणले उत्पन्न भएको हो । आजको उत्तर–आधुनिकवादका विद्यार्थी मेशीनसँग रमाउन पाउँदा सबै बिर्सन्छन् । सामाजिक परिवेशलाई भुलेर आफ्नै काल्पनिक संसारमा रमाउँछन् ।

शिक्षक तथा विद्यार्थीले मोबाइललाई निम्न कार्यको लागि प्रयोग गर्न सक्छन्ः
कुनै पनि विषयवस्तुको बारेमा तत्काल जानकारी लिनु परेको अवस्थामा मोबाइलको प्रयोग गर्न सकिन्छ ।  
कुनै नयाँ ठाउँ वा वस्तुको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । शिक्षकले शैक्षिक सामग्री डाउनलोड गरेर विद्यार्थीलाई देखाउन पनि सक्छ । जसले सिकाइलाई प्रभावकारी र अर्थपूर्ण बनाउनमा सहयोग गर्दछ ।

गणित, विज्ञान, अंग्रेजी विषयका सामग्री प्रचूर मात्रामा रहेका हुन्छन् । त्यस्तै अन्य विषयका पनि सामग्री हेर्न सकिन्छ ।
मोबाइललाई क्यालेन्डर तथा घडीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । मोबाइलमा भएको स्टोप वाचको प्रयोग गरी खेलकुद तथा विज्ञानको गति, प्रवेग निकाल्नको लागि समय मापन गर्न सकिन्छ ।

फुर्सदको वेलामा पत्रपत्रिका तथा अन्य रोचक सामग्री अध्ययन गरेर समयलाई सही सदुपयोग गर्न सकिन्छ ।
पढाइ सम्बन्धी विभिन्न सामग्रीको उपलब्धताले गर्दा शिक्षण क्रियाकलाप तथा स्वाध्ययनमा थप बल पुग्ने हुन्छ ।
साथीहरूबीच सूचना आदानप्रदान गर्न सकिन्छ आदि ।

तसर्थ मोबाइलमा अनेकौं फाइदा तथा गुण रहेका छन् । ती फाइदालाई प्राप्त गर्ने तरीका विद्यार्थीलाई सिकाउनुपर्छ ।

उनीहरूलाई राम्रा र नराम्रा दुवै पक्षको बारेमा चेतना दिनुपर्छ । घरमा प्रयोग गरिने धारिलो हतियारलाई हामीले काट्नको लागि नै प्रयोग गर्दछौं । तर मूर्खले मात्र ती हतियार विनाश कार्य गर्नको लागि प्रयोग गर्दछन् । त्यस्तै मोबाइलमा पनि दुवै गुण छ । हामीले राम्रा गुणको प्रयोग गरेको अवस्थामा यसले हामीलाई धेरै फाइदा गराउँछ भने नराम्रो गुण जस्तै अश्लील वेब पेजहरू मात्र खोल्ने–हेर्ने, कुरा मात्र गरिरहने, फेसबुकमा मात्र दिन विताउने जस्ता क्रियाकलापको पछि लागिरहने हो भने पढाइमा सफलता हासिल गर्न सक्दैन । विद्यार्थीलाई सही बाटोमा डो¥याउने काम शिक्षकको नै हो तसर्थ संयम र धैर्यसाथ मोबाइल प्रयोग गर्ने तरीका सिकाउनुपर्छ । तर विद्यार्थीले मोबाइलबाट सामग्री हेर्ने–पढ्ने गरेपछि शिक्षकले पनि सोही अनुपातमा नै अनलाइनमा सामग्री खोज्ने–पढ्ने गर्नुपर्छ । सूचनाप्रविधिको कारणले विद्यार्थी जान्ने हुन्छन् र शिक्षकलाई विविध प्रकृतिका प्रश्नहरू सोधेर अप्ठ्यारो पार्न सक्छन् ।

शिक्षकले स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेको छ भन्दैमा आजको परिस्थितिमा ऊ सर्वज्ञ हुन सक्दैन । वर्तमान अवस्थामा साक्षर हुन सूचनाप्रविधिका साथै मनोरञ्जनका साधन चलाउन जान्ने व्यक्ति मात्र साक्षरतामा गनिन्छन् । आजको परिवेशमा उत्तीर्णको प्रमाणपत्र बाहेक अन्य कुराको पनि जानकारी हुन आवश्यक हुन्छ ।  

मोबाइललाई विवाह गर्नको लागि लमीको रूपमा मात्र प्रयोग नगरी शिक्षा र व्यक्तिको चौतर्फी विकास गर्नको लागि उत्तम साधनको रूपमा प्रयोग गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्छ ।

विद्यालयभित्र मोबाइललाई सहज रूपमा प्रयोग गर्नको लागि निम्नानुसारको वातावरण सिर्जना गर्नुपर्दछः
विद्यालयको प्रअ नै शैक्षिक नेतृत्वको अग्रणी हो । तसर्थ प्रअ सधैं सूचनाप्रविधिसँग जानकार हुनुको साथै यसको प्रयोगप्रति सकारात्मक हुनुपर्छ । मोबाइलको प्रयोगले खराब बानी–व्यहोरामा लाग्छन् भन्नु भन्दा उनीहरूलाई सही मार्गमा हिंडाउनको लागि आवश्यक निर्देशन दिन सकिन्छ ।

अन्य विषय शिक्षकहरूले पनि मोबाइललाई आफ्नो विषयवस्तुको लागि उत्तम प्रयोग गर्ने तौर–तरीका बारेमा सिकाइदिने ।
मोबाइललाई समय–समयमा जाँच गर्नुपर्छ ताकि कुनै पनि नराम्रा भिडियो तथा फोटोहरू त्यसमा नहोस् ।
विद्यालयमा कुन कुन समयमा मोबाइल प्रयोग गर्ने सोको बारेमा शिक्षक र विद्यार्थीबीच सामूहिक नियम बनाई पालना गर्नुपर्छ ।
विद्यालयमा मोबाइल कक्षा नौदेखि माथिकाले मात्र बोक्न पाउनुपर्ने नियम बनाउनुपर्छ ।

शिक्षकले आवश्यक अनुसार तयार पारेको भिडियो वा शिक्षण क्रियाकलापसँग सम्बन्धित क्लिप्स (Clips) विद्यार्थीलाई उपलब्ध गराउनुपर्छ जसले गर्दा उसले घरमा थप अध्ययन गर्ने अवसर मिल्न जान्छ ।

विद्यार्थीले गरेका कक्षा कार्यको फिल्म बनाएर उनीहरूलाई उपलब्ध गराउँदा बढी उत्साहित हुन्छन् ।
शिक्षकले आवश्यक अनुसार शैक्षिक ब्लग लेखेर पनि विद्यार्थीलाई थप जानकारी प्रदान गर्न सक्दछ ।

विद्यार्थीका राम्रा क्रियाकलाप वेब पेजमा अपलोड गर्ने र विद्यार्थीसँगको गु्रप बनाउने जसले गर्दा शिक्षक र विद्यार्थीबीच हरहमेसा नजिक भइरहने हुन्छ ।

विद्यार्थीलाई शैक्षिक वेब पेजहरू खोल्ने तरीका सिकाउनुपर्छ तर विषयवस्तुको प्रचूरताले उनीहरू अत्तालिन सक्छन् तसर्थ शिक्षकले नै कति मात्रामा अध्ययन गर्ने सोको बारेमा बताइदिनुपर्छ ।

कक्षामा अनुपस्थित हुने विद्यार्थीको छुटेको पढाइको मुख्य अंश ब्लग मार्फत पठाइदिनुपर्छ ।

शिक्षकले पनि मोबाइल सम्बन्धी प्रोग्राम सिकेर विद्यार्थीको हाजिरी तथा सिकाइ उपलब्धिका तथ्यांक समेत विद्युतीय भण्डारण गरी संरक्षित गर्न सकिन्छ आदि ।

आजका विद्यार्थीलाई सुगारटाइ घोकाउने होइन, उनीहरूमा रहेको प्रतिभालाई चिनेर प्रस्फुटन गर्ने वातावरणको निर्माण गर्नुपर्छ । यसरी शिक्षामा सूचनाप्रविधिको प्रयोग गरेर शिक्षामा आमूल परिवर्तन ल्याउन सकिन्छ । तर यसको लागि सबै शिक्षक सीपयुक्त, दक्ष, अनुसन्धानकर्ता, उत्साहित हुनुपर्दछ ।

श्री गोकुण्डेश्वर बालमन्दिर उमावि, धनकुटा—५

commercial commercial commercial commercial