शिष्टाचारको संसार !

एउटा व्यक्तिले अर्को व्यक्तिसँग गर्ने शिष्ट एवम् सभ्यतापूर्ण व्यवहारलाई शिष्टाचार भनिन्छ । शिष्टाचार बनावटी होइन, सच्चा र स्वाभाविक हुनुपर्छ । देश र समाज अनुसार शिष्टाचारका कतिपय तरीका फरक पनि हुन सक्छन् तर शिष्टाचारको उद्देश्य सर्वत्र एउटै हो— शिष्ट एवम् सभ्यतापूर्ण व्यवहारको प्रदर्शन ।
हाम्रो समाजमा प्रचलित केही व्यावहारिक शिष्टाचारः

  • आफूभन्दा ठूला, अग्रज र गुरुजनलाई कहिल्यै ‘तिमी’ नभन्ने, सधैं ‘तपाईं’ भन्ने ।
  • उहाँहरुसँग भेट हुँदा प्रणाम गर्ने । प्रणाम गर्ने सबैभन्दा राम्रो तरीका हो— दुवै हात जोडेर शिर झुकाउने र जुन समाज वा समुदायमा प्रणाम गर्दा जे भन्ने चलन छ, त्यही शब्द प्रयोग गर्ने । आफ्नो हातमा कुनै सामान छ भने त्यसलाई एकातिर राखेर अथवा काखीमुनि च्यापेर प्रणाम गर्नुपर्छ । हातमा सामान बोकी–बोकी प्रणाम या नमस्कार गर्नु राम्रो होइन ।
  • कोही खाना खाइरहेको, नुहाइरहेको, कपाल कटाइरहेको, दारी काटिरहेको, दाँत माझ्रिहेको छ भने त्यस्तो अवस्थामा प्रणाम गर्नुहुँदैन । उसले त्यो काम गरिसकेपछि मात्र प्रणाम गर्नुपर्छ ।
  • आफूभन्दा ठूलाले बोलाउँदा ‘के’, ‘हँ’, ‘अँ’ नभन्ने । ‘हजूर’ भन्ने ।
  • आफूभन्दा ठूला र मान्यजनहरूतिर पिठ्यूँ फर्काएर या खुट्टा पसारेर नबस्ने, नसुत्ने ।
  • आफूभन्दा ठूला, गुरुजनसँग हिंड्नुपर्दा उनीहरूभन्दा अघि अथवा सँगसँगै नहिंड्ने । अलिक पछाडि हिंड्ने । कुनै ढोकाबाट अघि बढ्नुपर्ने भए पहिले उनीहरूलाई जान दिने । ढोका बन्द भए आफूले अघि बढेर खोलिदिने । भित्र अँध्यारो छ भने बत्ती बालिदिने । ढोकामा पर्दा भए उनीहरू भित्र नपसेसम्म पर्दा उठाइदिने ।
  • सवारी साधनमा पहिले नारी, वृद्ध–वृद्धा असक्त र गुरुजनलाई बस्न दिने, त्यसपछि मात्र आफू बस्ने । आफू कहीं बसिरहेको भए ठूला/गुरुजन आउँदा उभिने र उनीहरू बसेपछि मात्र बस्ने । उनीहरूको भन्दा अग्लो आसनमा कहिल्यै नबस्ने । उनीहरू उभिएका छन् भने आफूले बसेर कुरा नगर्ने, उभिएर कुरा गर्ने । खाट आदिमा उनीहरूलाई सिरानीतिर बसाउने । मोटर आदिमा सँगै बस्नुपर्दा मान्यजनलाई बायाँतिर बसाउने, आफू उनीहरूको दाहिनेतिर बस्ने ।
  • आफूभन्दा ठूला, आदरणीय, गुरुजनहरू आफूकहाँ आउँदा आठ–दश पाइला अघि बढेर उनीहरूको स्वागत गर्ने; फर्कन लाग्दा ढोकासम्म वा सवारी साधनसम्म पुर्‍याएर बिदा गर्ने । कुनै रूखको घना छायाँ भएको ठाउँसम्म; पोखरी, खोलो वा नदीसम्म पुर्‍याएर बिदा गर्ने हाम्रो परम्परा हो ।
  • गुरु वा मान्यजनहरू बस्ने आसनमा उनीहरूको अनुपस्थितिमा पनि नबस्ने ।
  • आफूभन्दा कम उमेरका, केटाकेटी वा नोकर–चाकर–कामदारलाई पनि ‘तँ’ नभन्ने, ‘तिमी’ अथवा ‘तपाईं’ भन्ने ।
  • कसैले प्रणाम गर्छ भने त्यसको उत्तरमा आफूले पनि प्रणाम/नमस्कार गर्ने अथवा औचित्य अनुरुप प्रत्यु्त्तर फर्काउने, बेवास्ता नगर्ने ।
  • नोकर–चाकर, कामदार आदिलाई खाना र विश्रामका लागि पर्याप्त समय दिने । बिरामी भएका वेला उनीहरूको उचित ख्याल राख्ने । खान, नुहाउन, आराम गर्न लागेका वेला उनीहरूलाई काम नअह्राउने ।
  • आफूभन्दा साना वा कम हैसियत भएकाहरूकहाँ जाँदा उनीहरूलाई असुविधा हुन्छ कि भनेर ख्याल राख्ने ।
  • सवारी साधनहरूमा पहिले महिलालाई बस्न दिएर आफू त्यसपछि मात्र बस्ने । आफू बसिरहेको बेला महिला आइपुगिन् भने उठेर बस्ने ठाउँ छोडिदिने ।
  • अपरिचित महिलालाई छुने र जिस्किएर कुराकानी नगर्ने ।
  • कसैको कुनै अंग कमजोर छ, बोली अस्पष्ट छ वा कोही कुरूप छ भने उसको नक्कल गरेर नचिढ्याउने । कोही चिप्लिएर र अन्य कारणले लड्यो वा कसैबाट कुनै गल्ती भयो भने हाँसेर उसलाई थप दुःखी नतुल्याउने ।
  • कुनै पनि देश अथवा जातिको झ्ण्डा, राष्ट्रियगान, धर्मग्रन्थ, आदरणीय महापुरुष, धर्म, सम्प्रदाय, परम्परा, विश्वास आदिको निन्दा अथवा अपमान कहिल्यै नगर्ने ।
  • सुतेको व्यक्तिलाई उठाउनुपर्ने भए शान्त स्वरमा, विस्तारै उठाउने । नझ्स्क्याउने ।
  • दुई व्यक्ति झ्गडा गरिरहेका छन् भने नउक्साउने । दुई व्यक्ति कुराकानी गरिरहेका छन् भने त्यहाँ नजाने; लुकेर–छिपेर अरुको कुरा सुन्ने प्रयत्न कहिल्यै नगर्ने
  •  ‘तपाईंले मलाई चिन्नुभयो ?’, ‘मेरो नाम भन्नोस् त !’ जस्ता प्रश्न गरेर अर्काको परीक्षा नलिने । आवश्यकता नभए अर्काको पनि नाम–गाउँ–परिचय, जाति, आम्दानी, तलब नसोध्ने ।
  • अरूको नामको चिठी कहिल्यै नपढ्ने । अर्काका गोप्य कुरा जान्ने प्रयत्न पनि नगर्ने ।
  • कसैसँग कसैको निन्दा नगर्ने, कसैलाई कसैको चुक्ली नलगाउने । कसैको कुनै दोष वा कमजोरी थाहा छ भने पनि अरूलाई भन्दै नहिंड्ने ।
  • परिचित व्यक्ति बिमारी भए उसकहाँ पटक–पटक जाने । तर, उसलाई र उसका आफन्तलाई असहज हुने गरी लामो समय नबस्ने । उसको रोगको गम्भीरताबारे पण्डित्याइँ नछाँट्ने र कसैले नसोधेसम्म औषधि वा उपचार विधिबारे बताउन पनि नथाल्ने ।
  • कसैसँग कुराकानी गर्दा आफू सकेसम्म कम बोल्ने र अर्काका कुरा सकेसम्म ध्यानपूर्वक र रुचिका साथ सुन्ने । कोही आफूकहाँ आएर अलिक धेरैबेर बसे पनि दिक्क माने जस्तो भाव प्रदर्शन नगर्ने । 

(स्वर्गीय पोद्दार ‘कल्याण’ पत्रिकाका संस्थापक–सम्पादक हुन् ।)

भारतको गोरखपुरबाट ८७ वर्षदेखि प्रकाशित हुँदै आएको कल्याण मासिकको अंक ८ (मुद्रित प्रतिः २,१५,०००) बाट साभार ।

 

commercial commercial commercial commercial