आफैंसँग छोटो छुट्टी !

एक दिन दराज खोलेर शर्ट छान्दै गर्दा मेरो होश हरायो ।
चार घन्टापछि म अस्पतालको इमर्जेन्सी बेडमा थिएँ । त्यहाँ कसरी पुगें भन्ने मलाई केही थाहा थिएन । मेरी श्रीमती शन खाटको छेउमा उभिएकी थिइन् । उनको छेउमा उभिएका डाक्टरले मतिर हेरेर “म तपाईंलाई तीन वटा चिजको नाम भन्छु, ती नाम सम्झिरहनुहोस्  है !” भन्दै उनले नाम लिए– ‘स्याउ, टेबुल, सिक्का ।’ ‘हुन्छ’ भन्ने भावमा मैले टाउको हल्लाएँ । त्यसपछि डाक्टरले मलाई १७ लाई ३ ले गुणा गर्न लगाए । “म गणितमा अलि कमजोर छु”, मैले भनें । तैपनि उनी उत्तर पर्खिन थाले । “ल हेरौं है त, २० लाई ३ ले गुणा गर्दा ६० र त्यसबाट ६ घटाउँदा...” म एकछिन रोकिएँ, र आफ्नो गल्ती सच्याएँ... “होइन, ९ घटाउँदा... एकाउत्र ?”
‘राम्रो’ उनी मुसुक्क हाँसे । “ल अब मैले अघि नाम लिएका चिज के के थिए भत्रुहोस् त !”
मैले ती चिज सम्झन सकिनँ । अप्ठ्यारो मान्दै मैले शनतिर मुन्टो बटारें ।
उनले ती तीन नाम सम्झाइन् ।

शनले पछि भने अनुसार, त्यस दिन म उठें रे, अनि नुहाउन गएँ रे ! नुहाएर निस्किँदा म अलि अल्मलिएको देखिन्थें रे ! अनि म खाटमा बसें रे !

“मलाई भन त, आज हामी के गर्ने वाला थियौं ?” मैले उनलाई सोधेछु ।
“फेरि सम्झउँ ? हामी साथीकहाँ लञ्च खान जाँदैछौं ।” मलाई त्यो कुरा याद रहेनछ ।
म निधारमा हात राखेर उत्तानो परेर सुतें रे ! “आज के बार हो ?” मैले उनलाई सोधें रे !
मेरो भावशून्य अनुहार देखेर शनले मलाई फटाफट प्रश्न सोध्न थालिछिन्, “हिजो राति हाम्रामा को आएको थियो थाहा छ ?” (मलाई थाहा थिएन) । “हिजो बिहान के विषयमा हाम्रो ठाकठुक परेको थियो, याद छ ?” (मलाई याद थिएन) ।

हाम्रो जेठो छोरो कलेज पढ्छ भत्रे कुरा पनि सम्झिन नसकेपछि शनले डाक्टरलाई फोन गरिछन् । डाक्टरले तुरुन्त मलाई लिएर अस्पताल जानू भनेछन् । शन मलाई लुगा लगाउनू भनेर छोरालाई ‘बुबाको टाउको दुखेकाले अस्पताल जान लागेको’ भन्न अर्को कोठातिर गइछन् ।

उनी हाम्रो कोठामा फर्किंदा म कट्टु मात्र लगाएर यताउता हिंडिरहेको रहेछु । त्यही वेला उनको फोन बज्यो— डाक्टरले गरेका रहेछन् ।

“उहाँले जे लगाउनुभएको भए पनि... छिटो लिएर आउनुहोस्”, डाक्टरले भनेछन् ।
गाडीमा बसेपछि पनि मैले उही प्रश्न सोधिरहें रे !

शनले धैर्यपूर्वक मेरा प्रश्नको जवाफ दिइरहिछिन् । मैले फेरि सोधेछु, “हामी अस्पताल जान लागेका ?” “मेरो वालेट ल्यायौ ?” त्यही प्रश्न चार पटक सोधेपछि शन रुन थालिछिन् । ६ पटक सोधेपछि चाहिं उनले गाडीको गति बढाइछिन् ।

इमर्जेन्सी कोठामा मेरो सीटीस्क्यान गरियो । कतै रक्तश्राव देखिएन । डाक्टरले मलाई केही प्रश्न सोधे, “हाम्रा राष्ट्रपति को हुन् ?” (मैले सम्झ्नि सकिनँ ।) ‘म के काम गर्छु ?’ (म लेखक हुँ ।) ‘आज बिहान नास्ता के खाएँ ?’ (याद भएन ।) डाक्टरले मलाई घडीको चित्र बनाएर त्यसमा ११ बजेको देखाउन भने । मैले जसोतसो त्यति गर्न सकें ।

डाक्टरले जाँच्दा जाँच्दै मेरो स्मरणशक्ति फेरि विस्तारै फर्कियो । “कुरा बुझ्यिो”, डाक्टरले भने, “यो धेरै डरलाग्दो रोग होइन र जीवनमा एक पटक मात्र हुन्छ ।” उनले त्यसको नाम ट्रान्जिएन्ट ग्लोबल एम्निजिया (transient global amnesia) थवा ‘केही क्षणका लागि विना कारण स्मरणशक्ति गुम्नु’ बताए । चार घण्टा भयो, मेरो दिमागमा तिनै दुई मिनेट मात्र घुमिरहेका छन् । मेरो दिमागले यी चार घण्टामा भएको केही पनि सम्झेको छैन । म निको त हुन्छु, तर धेरै दिन लाग्न सक्छ । वितेका चार घण्टामा भएका घटना चाहिं मैले कहिल्यै पनि सम्झ्न सक्ने छैन ।

थप परीक्षणका लागि मलाई अस्पतालको अर्को कोठामा पठाइन्छ । त्यहाँ पल्टिरहेको वेला म ह्याङ्गरमा झुण्डिएको कालो धर्के शर्ट देख्छु ।

“त्यो कसले छानेको ?” म शनलाई सोध्छु । “म त त्यस्तो शर्ट कहिल्यै छात्रे थिइनँ !”
“तिमीले यही प्रश्न दश पटक सोधिसक्यौ, थाहा छ ?” शन भन्छिन् । (मलाई थाहा छैन ।)

त्यो राति मेरो टाउकोको एमआरआई गर्छन् र भोलिपल्ट बिहान ईईजी । ती दुवै परीक्षणले मेरो मस्तिष्क सामान्य भन्ने पुष्टि गर्छन्, तर मलाई अझै पनि कता–कता शंका लाग्छ । स्नायुको एउटा तन्तु (neuron) ले अलिकति गडबड गर्‍यो भने देशको राष्ट्रपतिको नाम वा हिजो बेलुका गरेको काम, अथवा हाम्रा सबैभन्दा अन्तरङ्ग क्षणमा भएका कुराहरू बिर्सिन्छु कि भत्रे डर लागिरहन्छ ।

हाम्रो स्मृतिपटमा जम्मा भएका कुराहरूको सँगालोले नै हामी को हौं भन्ने पहिचान दिन्छ । ती सबै यत्तिकै विलाउन सक्छन् भत्रे कुरा कति डरलाग्दो होला... त्यसपछि हामी को हुन्छौं ? कहिलेकाहीं बिहान म मेरो चाबीको झुप्पो भेट्दिनँ वा माथिबाट तल किन आएँ, सम्झ्नि सक्दिनँ । त्यतिवेला मलाई यिनै प्रश्नले सताउँछन् । आजकल आफूलाई अल्मलिन नदिन मैले एउटा सजिलो उपाय निकालेको छु; तिनै तीन वटा शब्द मनमनै दोहोर्‍याउने— स्याउ, टेबुल, सिक्का ! 

भाषान्तरः अदिति अधिकारी
टम फिल्ड्स्–मेयर “Following Ezra: What One Father Learned About Gumby, Otters, Autism and Love From His Extraordinary Son.”  पुस्तकका लेखक हुन् ।
स्रोतः International Herald Tribune, 7 September 2013.

commercial commercial commercial commercial