मास्टरजी, सधैं हाँसिदेऊ न

मास्टरजी तिमी आफूलाई ठूलो मान्छे भन्छौ । तिमी हामीलाई पिट्छौ । गाली गर्छौ । झ्र्किन्छौ । विद्यार्थीलाई पढ्न आउँदैन भन्छौ । विद्यार्थीले मिहिनेत गरेनन् भन्छौ । सानो कोठाको कालो कुनामा बसेर हाम्रो कुरा काट्छौ । आफू भने पानीमाथिको ओभानो बन्छौ ।

कक्षामा उभिएर तिमी आफ्नो घोक्रोले भ्याएसम्म चिच्याउँछौ । तर हामीले बुझे नबुझेको वास्ता गर्दैनौ । हामीलाई गधा जस्तो भारी बोकाउन खोज्छौ । सुगा जस्तो रटाउन खोज्छौ । कुनै साथीले राम्रो अंक ल्यायो भने मैले पढाएको भन्दै तिमी नाङ्लाजत्रो छाती बनाउँछौ । कुनै साथी फेल भएमा सबै दोष त्यो साथीमाथि थोपर्छौ । यो तिम्रो रीत बनिसक्यो ।

तर मास्टरजी, तिमीले हामीलाई कहिल्यै बुझने कोशिश गरेनौ । तिमीले आफूलाई सधैं हामीमाथि राख्यौ । हो मास्टरजी, तिमी हामीभन्दा माथि नै छौ । र, हुनु पनि पर्छ । तिमीले देश–विदेश बुझेका छौ । तिमीले धेरै पढेका छौ । तिमीले सफलता र असफलताका कथाहरू सुनेका छौ । मास्टरजी, हामीलाई पनि सफल बनाउनु तिम्रो दायित्व हैन ? हामीलाई लिस्नो चढाउनु तिम्रो कर्तव्य र जिम्मेवारी हैन ?

आऊ न मास्टरजी हामीलाई अर्कै संसारमा लैजाऊ । हामीलाई पनि चन्द्रमामा पाइला राख्न मन छ । हामीलाई पनि अन्तरिक्ष पुग्ने मन छ । आऊ न मास्टरजी हामीलाई मिहिनेत गरेर सिकाऊ । के हामी तिम्रो भाइबहिनी जस्ता होइनौं ? के हामी तिम्रो छोराछोरी जस्ता होइनौं ? आऊ न मास्टरजी हामीलाई नाच्न सिकाऊ । गाउन सिकाऊ । उफ्रिन सिकाऊ । खेल्न सिकाऊ ।

थाहा छ मास्टरजी, तिमीले हामीलाई आफ्नै नामले बोलाउँदा हामीलाई संसार जिते जस्तो लाग्छ । तिमीले हामीलाई अँगाल्दा खुशीको सीमा नै हुँदैन । आऊ न मास्टरजी हाम्रो हात समाऊ । थाहा छ तिमीलाई, सुनिल कस्तो राम्रो चित्र बनाउँछ । मास्टरजी, तिमी उसको चित्र मनपराइदेऊ न । उसको अँगालोमा थपथपाउँदै स्याबास भनिदेऊ न ! कपिलको कथा पढेर उसलाई अँगालिदेऊ न ! गीताको नाच हेरेर मुस्कुराइदेऊ न ! प्रतिमाले गीत गाएपछि ताली बजाइदेऊ न ! अनि त उनीहरू ज्यानै फालेर सिक्न तयार हुन्छन् ।

मास्टरजी तिमीलाई थाहा छ, तिमी रिसाएको कहिल्यै सुहाउँदैन । त्यसैले तिमी सधैं हाँसिदेऊ न ! तिमी हाँस्दा हाम्रो अनुहारमा कस्तो चमक हुन्छ, हामी कल्पना गर्न पनि सक्दैनौं । तिमी नाचिदेऊ न ! तिमी गीत गाइदेऊ न ! अनि त हामी खेल्दाखेल्दै सिक्छौं होला । सिक्दासिक्दै खेल्छौं होला । मास्टरजी तिमी हाम्रो लागि मदर टेरेसा जस्तै मायालु बनिदेऊ न ।

तिमी रीतालाई बोरा जस्तो लुगा लाइस् भन्दै गाली नगरिदेऊ न ! तिमीले गाली गरेपछि ऊ सधैं क्यामुनाको बोटमुनि बसेर रुन्छे । बरा उसको एक जोर मात्र लुगा छ । मेलापात र घरको भाँडा माझने काम ऊ त्यही लुगा लाएर गर्छे । बरु उसको बुबाआमासँग कुरा गरिदेऊ न !

मास्टरजी, तिमी ज्ञान बाँड्ने मान्छे हौ । तर पनि तिमी हाम्रो साथी जस्तो बनिदेऊ न । अनि त क्या मज्जा हुन्छ होला । रमाइलो हुन्छ होला । धकै नमानी हामी तिमीसँग बोल्न सक्छौं होला । सिक्न सक्छौं होला । झगडा गर्न सक्छौं होला ।

तिमी जे पनि गर्न सक्छौ । तिमी हामीलाई चोर र विद्वान दुवै बनाउन सक्छौ । मास्टरजी, हामीलाई असल मान्छे बनाइदेऊ न । हामी राम्रो काम गर्न चाहन्छौं । हामी त भोलिका कर्णधार हौं । मास्टरजी हामीलाई भोलिको लागि तयार बनाइदेऊ न !

मास्टरजी, एउटा मनको कुरा सुन न ! तिमी जागीरको लागि मात्र शिक्षक बनेको भए यो पेशा छोडिदेऊ; तिमी त्यस्तो पेशामा जाऊ जहाँ बच्चाहरू हुँदैनन् ! मास्टरजी, हामीलाई त सपना देखाउने मान्छेको खाँचो छ ।

‘टिच फर नेपाल’, त्रिपुरेश्वर, काठमाडौं

commercial commercial commercial commercial