उत्कृष्ट प्रधानाध्यापकः अरू भन्दा कसरी फरक हुन्छन् ?

संयुक्त राज्य अमेरिकाको इन्डियाना स्टेट युनिभर्सिटीका प्रा.डा. टोड विट्कर विद्यालय नेतृत्व-विषयका विज्ञ हुन्। पहिले माध्यमिक र उच्च माविको प्रधानाध्यापक भइसकेपछि प्राध्यापक भएका विट्करले प्रधानाध्यापक/प्रिन्सिपलको प्रभावकारिता, शिक्षकको नेतृत्वसीप, परिवर्तन र अभिभावकसँगको व्यवहार आदिबारे पुस्तकहरू लेखेका छन्।

प्रा.डा. टोडको चर्चित पुस्तक ‘ह्वाट ग्रेट प्रिन्सिपल्स डू डिफेरन्ट्ली’ले उत्कृष्ट र औसत प्रधानाध्यापक बीचका भिन्नताको चर्चा गर्दै उत्कृष्ट प्रधानाध्यापकका विशेषताको वर्णन गर्छ। पुस्तकको परिचय खण्ड बाहेक १७ वटा अध्यायमा उनले एउटा उत्कृष्ट प्रधानाध्यापक बन्न के-के गर्नुपर्छ भन्ने उपायहरू सुझएका छन्। उनले सुझएका उपायहरूलाई संक्षिप्त रूपमा यहाँ प्रस्तुत गरिएको छ।

१. मान्छेलाई महत्व दिनुस्, कार्यक्रमलाई होइन
एउटा उत्कृष्ट प्रधानाध्यापकलाई थाहा हुन्छ- उत्कृष्ट शिक्षकहरू विना विद्यालय उत्कृष्ट बन्न सक्दै। उत्कृष्ट शिक्षक विना विद्यार्थीले राम्रो नतिजा ल्याउन सक्दैनन्। अनि अभिभावकले पनि उत्कृष्ट शिक्षक नभएको विद्यालयलाई महत्व  दिंदैनन्। शिक्षकहरूको गुणस्तर कमजोर भयो भने विद्यालयप्रति विद्यार्थीको धारणा पनि नकारात्मक बन्छ। शिशु कक्षादेखि विश्वविद्यालयसम्म नै शिक्षालयप्रतिको धारणा शिक्षकहरूका आधारमा निर्माण हुन्छ। संसारका हरेक प्रतिष्ठित विश्वविद्यालयहरू- तिनका विशाल संरचनाले भन्दा पनि त्यहाँ पढाउने प्राध्यापकका कारण चर्चित भएका हुन्। 

शिक्षकलाई केन्द्रमा राखेर विद्यालय सुधार्न खासै गाह्रो पनि छैन। केवल दुई वटा काम गरे पुग्छ- उत्तम शिक्षकहरू नियुक्त र भएका शिक्षकको स्तरोन्नति गर्ने। मानिसहरू के गर्दा शिक्षाका समस्या समाधान हुन्छन् भनेर खुब छलफल गर्छन्। अनेकथरी कार्यक्रम प्रस्ताव पनि गरिन्छन्। तर, विद्यालयको सुधार- कार्यक्रमले होइन, मानिसले गर्ने हो। यसको अर्थ कुनै कार्यक्रमले विद्यालयमा भएका मानिस (शिक्षकहरू)को सुधारमा ध्यान दिंदैन भन्ने होइन। भन्न खोजेको के हो भने, जतिसुकै राम्रा कार्यक्रम ल्याइए पनि राम्रा मानिसहरू नभइकन विद्यालयको सुधार हुँदैन। 

शिक्षकलाई केन्द्रमा राख्नु भनेको शिक्षकहरूको वैयक्तिक विकासमा जोड दिनु हो। प्रभावशाली प्रधानाध्यापकहरू बारे भएको एक अध्ययनमा सहभागी भएका शिक्षकहरूले आफ्ना प्रधानाध्यापकले वैयक्तिक विकासका लागि प्रोत्साहित र सहयोग गर्ने गरेको बताएका थिए। हो नै त्यस्तै। उत्कृष्ट प्रधानाध्यापकहरूले आफ्ना शिक्षकको विकासका लागि जे-जे गर्नुपर्ने हो गर्छन्। तर औसत प्रधानाध्यापकले भने त्यसतर्फ खास ध्यान दिंदैनन्। उनीहरूको केन्द्रमा सिंगो विद्यालयको लक्ष्य र अरू मुद्दाहरू हुन्छन्, शिक्षकचाहिं हुँदैनन्। 

२. चिन्नुहोस्, कसका कारण विद्यालय अरूभन्दा फरक हुन्छ ?
राम्रो विद्यालयलाई अरूभन्दा भिन्दै बनाउने कारक तत्व  के हो ? यो प्रश्नको जवाफ अर्को प्रश्नबाट खोज्न सकिन्छ– कक्षाकोठामा सबैभन्दामहत्वपूर्ण के हो ? एउटा प्रभावकारी प्रधानाध्यापकलाई थाहा हुन्छ- यसको जवाफ ‘के’ भन्दा पनि ‘को’ भन्नेमा हुन्छ। कक्षाकोठामा प्रभाव पार्ने एउटै कारकतत्व छ- त्यो हो शिक्षक। शिक्षकले कसरी कक्षाकोठामा प्रभाव पार्छ भन्ने बुझन एउटा सन्दर्भबाट हेरौं। 

शिक्षकले दिएको गृहकार्य विद्यार्थीले खासै गतिलोसँग गरेनन्। यसको दोष कसले कसलाई देला ? एउटा असल शिक्षकले यसलाई आफ्नै कमजोरी ठान्छ। तर, औसत शिक्षकले आफूबाहेक अरू सबैलाई दोष लगाउँछ। असल शिक्षकले सधैं आफूलाई सुधार गर्नेमा जोड दिन्छ भने बाँकी शिक्षकहरू भने अरू केही थोक आफैं परिवर्तन होस् भन्ने चाहन्छन्। उत्कृष्ट शिक्षकले समस्याको समाधान आफैंभित्र खोज्छन्; औसत शिक्षकले अन्यत्र कतै खोज्छ। उत्कृष्ट शिक्षकले जिम्मेवारी लिन्छन्, औसतले लिंदैनन्। अनि प्रभावशाली प्रधानाध्यापकहरूले चाहिं सबै शिक्षकलाई जिम्मेवार बन्न उत्साहित गर्छन्। र, त्यसभन्दा पनि बढी आफैंले जिम्मेवारी लिन्छन्। 


उत्कृष्ट अर्थात् ‘सुपरस्टार’ शिक्षकहरूलाई दुई चिज चाहिन्छः स्वायत्ताता र पहिचान। यो सँगै उनीहरूलाई जोखिम उठाउने छुट पनि दिनुपर्छ। ‘सुपरस्टार’ शिक्षकलाई स्वायत्ताता दिनुको अर्थ अरूलाई चाहिं नियमहरू बनाएर नियन्त्रण गर्ने भन्ने होइन।

केही वर्षअघि मैले माध्यमिक तहका १६३ वटा विद्यालयहरूको अध्ययन गरेको थिएँ। तीमध्ये चारवटा प्रभावशाली र चारवटा कम प्रभावशाली प्रधानाध्यापकहरू भएका विद्यालय छुट्याएँ। ती विद्यालयहरू बीच के फरक छ भनेर खोज्दा मैले पाएको सबैभन्दा ठूलो फरक- प्रधानाध्यापकले आफ्नो जिम्मेवारीलाई कसरी लिन्छ भन्ने नै थियो। प्रभावशाली प्रअले विद्यालयका हरेक पाटोमा आफूलाई जिम्मेवार ठान्दारहेछन्। यसको अर्थ उनीहरूले सबै निर्णय एक्लै गरेका हुन्छन् भन्ने चाहिं होइन। निर्णय प्रक्रियामा अरू शिक्षक र अभिभावकहरूलाई सहभागी बनाउँदा बनाउँदै पनि राम्रा प्रअहरूले विद्यालयका हरेक खालका नतिजाको जिम्मेवारी आफैं लिंदारहेछन्। प्रभावशाली प्रअले समस्याको समाधान गर्ने आफैंले हो भनेर जिम्मेवारीको बोध गर्दा रहेछन्। कम प्रभावशाली प्रअले भने विद्यालयको नतिजाको जिम्मेवारी अन्य पक्षमा खोज्दारहेछन्। उनीहरू आफू विद्यालयका समस्याको जिम्मेवारी नलिंदारहेछन्। 

३. सबैलाई सधैं सम्मानपूर्वक व्यवहार गर्नुस्  
प्रभावशाली प्रधानाध्यापकको अर्को चिनारी- उनीहरूले अरू मानिससँग कस्तो व्यवहार गर्छन् भन्ने हो। प्रभावशाली शिक्षकहरूले जस्तै प्रभावशाली प्रअहरूले पनि सबै मानिसलाई सम्मानपूर्वक व्यवहार गर्छन्। हुन त मानिसहरूलाई सम्मानपूर्वक व्यवहार गर्नु खासै कठिन काम होइन। तर, हरेक दिन सबैलाई उसैगरी सम्मानपूर्वक व्यवहार गर्नु चाहिं चुनौतीपूर्ण नै हो। उत्कृष्ट प्रधानाध्यापकले त्यही चुनौती पूरा गर्छन्। 

सबैलाई सधैं सम्मानपूर्वक व्यवहार गर्नु आवश्यक छ किनभने हरेक मानिसले आफूलाई भएका कुनै दुव्र्यवहारका घटना सम्झ्रिहेको हुन्छ। हरेक व्यक्तिले नेतृत्वमा रहेका व्यक्तिले एकैपटक भए पनि आफूप्रति गरेको होच्याउने वा गिज्याउने वा अमर्यादित व्यवहार सम्झ्रिहन्छ। विद्यालयमा पनि त्यस्तै हो। कुनै प्रधानाध्यापकले कुनै शिक्षक वा विद्यार्थीलाई एकैपटक मात्र पनि होच्याउने गरी बोलेको छ भने त्यो व्यक्तिले त्यही घटना आफ्नो स्मृतिमा राखिरहेको हुन्छ। तत्कालका लागि उसले कुनै प्रतिक्रिया नजनाए पनि त्यस्तो घटना उसको मस्तिष्कमा ढुंगामा खोपेसरी खोपिएको हुन्छ। 

सबै मानिसलाई सधैं सम्मानपूर्वक व्यवहार गर्ने हो भने हरेकले उसलाई साथ दिन्छन्। उत्कृष्ट प्रअ या प्रिन्सिपलले यही नै गर्छन्। उनीहरूले विद्यार्थी, विद्यालय कर्मचारी र सहकर्मी शिक्षकहरूलाई सधैं सम्मानजनक व्यवहार गर्छन्। अनि त्यसरी नेतृत्वबाट सम्मान पाएका मानिसहरूले उनलाई सम्मान त गर्छन् नै, हरेक निर्णयको कार्यान्वयनमा साथ पनि दिन्छन्।  

४. प्रधानाध्यापक फिल्टर हो
प्रभावशाली प्रअ विद्यालयको दैनिक जीवनको ‘फिल्टर’ पनि हो। भलै ऊ यसबारे सचेत नहोस्, उसको बोल्ने शैली र हाउभाउले विद्यालयको वातावरण कस्तो हुने भन्ने तय गर्छ। त्यसैले प्रधानाध्यापकले कस्तो जवाफ कसरी दिने भन्ने ख्याल गर्नुपर्। उदाहरणका लागि, प्रअलाई दिनमा धेरैपटक सोधिन्छ- के छ खबर ? यो प्रश्नको जवाफ उसले कस्तो दिन्छ भन्नेले विद्यालयको वातावरण कस्तो हुन्छ भन्ने पनि तय गर्छ। प्रअले ‘अँ सबै ठीक भइरहेछ, गज्जब भइरहेछ, तपाईंको के छ नि ?’ भन्न सक्छ । त्यस्तै उसले ‘दिमाग खराब भ’छ, त्यो फलानो छ नि...’ भनेर अरू कसैको टिप्पणी पनि गर्न सक्छ। उसले पहिलो जवाफ दियो भने सोध्ने मानिस पनि उत्साहित हुन्छ। दोस्रो खालको जवाफ दिइयो भने सोध्ने मानिस पनि हैरान हुन थाल्छ। त्यसैले के कति आफूसँग राख्ने र के कति सबैसामु पुर्‍याउने भन्ने फिल्टरको काम प्रधानाध्यापकले गर्नै पर्छ। चित्त नबुझेका विषय जति सबैलाई भन्न थाले उसको नेतृत्वमाथि नै प्रश्न उठ्न थाल्छ। 

एउटा उदाहरण हेरौं । मानौं, कुनै अभिभावक झ्गडा गर्ने पाराले आए। बन्द कोठामा उनी र प्रधानाध्यापक बीच छलफल भयो। रिसले चूर भएका ती अभिभावकलाई सम्झाइ–बुझाइ गर्न प्रधानाध्यापकलाई हम्मेहम्मे भयो। जसोतसो मामिला सल्टाएर कोठाबाट निस्केका उनलाई एक शिक्षकले सोधे, “के छ सर ?” ती प्रअले दुईमध्ये एक जवाफ दिन सक्छन्। उनले ‘ठीकै छ, राम्रै चलिरहेछ तपार्ईंको के छ ?’ भन्न सक्छन् वा ‘दिक्कलाग्दो छ, त्यो मान्छे कस्तो खत्तम रहेछ’ भनेर दिक्दारी देखाउन पनि सक्छन्। यदि उनले दोस्रो जवाफ दिए भने त्यो दिक्दारीको भाव ती शिक्षकमा पनि सर्छ। उनले कक्षाकोठामा त्यो दिक्दारी अर्कै रूपमा पोख्न सक्छन्। र, सिंगो विद्यालयलाई नै प्रभाव पार्न सक्छ। 

त्यसैले आफू कसरी प्रस्तुत हुने भन्नेबारे एउटा प्रअ, प्रधानाध्यापकले खुब विचार पुर्‍याउनुपर्छ। शिक्षकहरूको बैठकमा ऊ आशावादी भएर प्रस्तुत भयो भने शिक्षकहरूले त्यसपछिका कक्षा राम्रोसँग सञ्चालन गर्नेछन्। त्यस्तै, एक खाले शिक्षकहरू खालि ‘यो जस्तो खत्तम ब्याच त देखेकै थिइनँ’ भनेर गुनासो वा टिप्पणी गर्ने गर्छन्। यस्तो टिप्पणी कुनै तथ्यमा आधारित हुँदैन। तर, यस्ता टिप्पणीले नकारात्मक परिणाम दिनसक्छन्। यस्ता धारणा परिवर्तन गर्ने काम प्रधानाध्यापककै हो। 

५. शिक्षकलाई पढाउनुस्  
निश्चय नै विद्यालयका सबैभन्दा महत्वपूर्ण मानिस विद्यार्थी हुन्। तर, उत्कृष्ट प्रअहरूलाई के थाहा हुन्छ भने उनीहरूको प्रमुख भूमिका शिक्षकहरूलाई पढाउनु हो। असाधारण शिक्षकहरू उपलब्ध गराएर नै  विद्यार्थीका लागि असाधारण सिकाइको वातावरण सिर्जना गर्न सकिन्छ। त्यसैले उत्कृष्ट प्रअहरू शिक्षकमा केन्द्रित हुन्छन्। 

अधिकांश शिक्षकले आफूले जानेको उत्कृष्ट काम नै गर्छन्। त्यसैले उत्तम नतिजा चाहने हो भने शिक्षकहरूको सीप विकास गर्न र नयाँ-नयाँ सीपमा दक्ष बनाउनुपर्छ। त्यसमध्ये एउटा सीप हो, कक्षाकोठा व्यवस्थापन। कक्षाकोठाको व्यवस्थापन गर्ने सीप नभएको शिक्षक छिट्टै नै विद्यार्थीबाट हैरान हुन्छ । त्यस्तो सीप नभएको शिक्षकले केन्द्रमा आफूलाई राख्छ। तर एउटा असल शिक्षकले भने विद्यार्थीलाई केन्द्रमा राखेर कक्षाकोठा व्यवस्थापन गर्छ। शिक्षकहरूको सीप वृद्धि गर्ने अर्को तरिका एकअर्काको कक्षाकोठाको अवलोकन पनि हुनसक्छ। त्यस्तै नयाँ शिक्षक र उत्कृष्ट शिक्षकबीच विचार÷सीप आदान-प्रदान पनि उत्तम विधि हुनसक्छ।  

यस्ता सबै अभ्यासमा प्रधानाध्यापक स्वयंले पनि सिकिरहेका हुन्छन् भन्ने चाहिं बिर्सन हुँदैन। उत्कृष्ट शिक्षकको कक्षामा बसेर पढाउने विधि हेर्नु साँच्चै नै आनन्ददायी हुन्छ। 

६. उत्कृष्ट शिक्षकहरू नियुक्त गर्नुहोस्   
कुनै पनि विद्यालय सुधार गर्ने सहज विधि हो- मौका पाउनासाथ उत्कृष्ट शिक्षक नियुक्त गरिहाल्ने। उत्कृष्ट प्रअहरूले यस्तै गर्छन्। अधिकांश प्रअहरू सकेसम्म विषय शिक्षकको खोजी गर्छन् । तर, उत्कृष्ट प्रअहरूको लक्ष्य फरक हुन् । उनीहरू नयाँ, ऊर्जावान् शिक्षकको खोजीमा हुन्छन्। औसत खालका शिक्षक राखेर विद्यालयको सुधार हुँदैन । तर, उत्कृष्ट शिक्षक राख्दैमा सबै काम पनि सकिंदैन।
एकपटक नयाँ शिक्षक नियुक्त गरिसकेपछि कसरी उनीहरूमा भएको ऊर्जा र उत्साह अरू शिक्षकमा पनि प्रवाह गर्ने भन्नेमा ध्यान दिनुपर्छ । तर, यो काम त्यति सजिलो भने छैन। सबैभन्दा पहिला त नयाँ शिक्षकहरूको उत्साह कायम राखिरहन सक्नुपर्छ। सबै शिक्षकहरू शुरुमा त उत्साही र ऊर्जावान् नै हुन्छन्। त्यो ऊर्जा कायम रहिरहने भए त हामीले भइरहेका शिक्षकहरूको सुधार गर्न कुनै माथापच्ची गरिरहनुपर्ने थिएन। उत्कृष्ट प्रअलाई के थाहा हुन्छ भने नयाँ शिक्षकको ऊर्जा कायम राखिरहन कठिन भए पनि त्यसो गर्न सक्दा अरू शिक्षकहरूमा पनि उत्साह सञ्चार गर्न सकिन्छ। 

उत्कृष्ट शिक्षक नियुक्त गर्ने काम पनि त्यति सजिलो छैन। उत्कृष्ट भन्ने कसरी चिन्ने ? धेरैजसो प्रअहरू राम्रा शिक्षकमै सन्तुष्ट हुन्छन्। तर, उत्कृष्ट प्रअले नेतृत्व क्षमता भएका शिक्षकको खोजी गर्छन् । अनुभवी हुँदैमा उत्कृष्ट हुन्छ भन्ने छैन भन्नेमा उनीहरू विश्वस्त हुन्छन्। त्यसैले उम्दा प्रअहरू रोलमोडल बन्न सक्ने शिक्षक खोजिरहेका हुन्छन्। 

७. परीक्षाको मानकीकरण 
हरेक विद्यालयको मुख्य चासो परीक्षामा हुन्छ। स्थानीय सरकार स्तरको होस् वा प्रदेश स्तरको वा राष्ट्रिय स्तरको- हरेक परीक्षाको एउटा मानक बनाइएको हुन्छ। र, सबैजसो प्रधानाध्यापकले परीक्षाको यो मानकलाई केन्द्रमा राखेर विद्यालयका गतिविधि निर्धारण गर्छन्। तर, उत्कृष्ट शिक्षकले भने परीक्षाको मानकीकरणबारे भिन्दै दृष्टिकोण राख्छन्। सबैभन्दा पहिला उनीहरू यस्ताखाले परीक्षाको गुण–दोषको विवादमा फस्दैनन्। उत्कृष्ट प्रअले विद्यालयको भूमिका र परीक्षाको उपादेयताबारे छलफल गर्छन्। उनीहरूको प्रश्न हुन्छ, मानकीकृत परीक्षाले के मापन गर्छ ? पाठ्यक्रम विकास केन्द्र, परीक्षा कार्यालय जस्ता आधिकारिक निकायहरूले यस्ता परीक्षाको मापन प्रक्रियाबारे जे-जस्तो स्पष्टीकरण दिए पनि मानिसहरूको बेग्लै धारणा हुन्छ। 

उत्कृष्ट प्रअले गर्ने अर्को काम, अवधारणा र विश्वासमा केन्द्रित हुनुको साटो व्यवहारमा हुनु हो।  उनीहरूले शिक्षकलाई केमा विश्वस्त गराउँछन् भने- विद्यालयले के गर्नुपर्छ भन्नेमा जे-जस्ता धारणा भए पनि हामीले मानकीकृत परीक्षामा पनि ध्यान दिनुपर्छ। त्यसो गरे मात्र हाम्रो विद्यालयको भूमिका पनि बढ्छ। पक्कै पनि मानकीकृत परीक्षाले विद्यालयको भूमिकाको सानो हिस्सा मात्र ओगट्छ। त्यसैले प्रभावशाली प्रधानाध्यापकले विद्यालयको समग्र भूमिकामाथि परीक्षा हावी हुन दिंदैन। उसले परीक्षा र विद्यालयको दायित्व बीच सन्तुलन र तादात्म्यता सिर्जना गर्छ। 

८. व्यवहारमा केन्द्रित हुनुस् अनि विश्वासमा  
प्रभावशाली प्रधानाध्यापकहरूले आफ्ना मूल्य र विश्वासहरू विद्यालयमा स्थापित गर्छन्। यद्यपि, उनीहरूले त्यस्तो त्यतिबेला मात्र गर्न सक्छन् जतिबेला अरू शिक्षकहरूले आफ्ना मूल्य-मान्यता प्रस्तुत गरिरहेका हुँदैनन्। अरू शिक्षकले आफ्ना मूल्य-मान्यतामा जोड दिन थाले भने उत्कृष्ट प्रधानाध्यापकहरू त्यसैमा अल्झेर बस्दैनन्। कुनै पनि व्यक्तिको जीवनभरको विश्वास बदल्ने काम कति कठिन हो भन्ने उनीहरूलाई थाहा हुन्छ। त्यसैले उनीहरू मानिसको विश्वासमा भन्दा बढी व्यवहारमा जोड दिन्छन्। अर्को हिसाबले भन्दा व्यवहारमा हुने परिवर्तनले विस्तारै विश्वासमा पनि परिवर्तन ल्याउँछ। 

व्यवहारमा परिवर्तन ल्याउन पनि त्यति सहज छैन। आदर्श परिकल्पनामा हरेक शिक्षकले विद्यार्थीको हितलाई केन्द्रमा राखेर निर्णय गर्छन्। व्यवहारमा अधिकांश प्रभावशाली शिक्षकले त्यस्तै गर्छन्। तर, शिक्षक पनि त मान्छे ! सबै मानिसले जस्तै उनीहरूले पनि आफ्नो व्यक्तिगत हितलाई नै प्राथमिकता दिन्छन्। माथि उल्लेख गरे जस्तै, शिक्षकले आफूसँग उत्कृष्ट जे छ त्यही दिन्छन्। त्यसोभए किन उनीहरू नयाँ-नयाँ शिक्षण विधि अपनाउने गरी आफ्नो व्यवहारमा परिवर्तन गर्दैनन् त ? यसको मुख्य कारण हो, डर। हरेक नयाँ कुरा अपरिचित हुन्छ। त्यसैले त्यो अपरिचित कुरामा लुकेको नवीनता अथवा विशेषता सबैले एकै पटकमा चिन्न सक्दैनन्। त्यसैले शिक्षकलाई नयाँ-नयाँ विधि अपनाउन प्रेरित गर्न विभिन्न उपाय अपनाउनुपर्छ।

९. विद्यार्थीप्रति बफादार बन्नुस्, बनाउनुहोस्  
हरेक क्षेत्रमा नेतृत्वले बफादारीको माग गर्छ। यो कुनै नयाँ कुरा होइन। तर को कसप्रति बफादार बन्ने ? आम प्रधानाध्यापकहरू चाहन्छन्- सबै शिक्षक र कर्मचारीहरू आफू (प्रअ) प्रति बफादार बनुन् । केहीले त त्यस्तो बफादारीको माग पनि गर्छन्। तर, उत्कृष्ट प्रधानाध्यापकहरू चाहिं सबै शिक्षकलाई विद्यार्थीप्रति बफादार बन्न जोड दिन्छन्। 

‘शिक्षकहरू विद्यार्थीप्रति बफादार हुनु नै प्रधानाध्यापकप्रति बफादार हुनु हो’ भन्नेमा उत्कृष्ट प्रधानाध्यापकहरू विश्वास गर्छन् । उनीहरूको निम्ति बफादारी के हो त ? त्यसको अर्थ हो, सबै विद्यार्थीको सर्वोत्तम हित हुने गरी निर्णय गर्नु। 

१०. हरेक निर्णयमा उत्कृष्ट शिक्षकको सहयोग लिनुस्
जुनसुकै क्षेत्रमा पनि नेतृत्वमा रहनेले केही न केही विवादास्पद निर्णय गरेका हुन्छन्। र, हरेक प्रधानाध्यापकले पनि अनेकथरी शिक्षक व्यहोर्नुपर्छ। कोही खालि गुनासो गर्ने खालका हुन्छन् भने कोही अरूको खुट्टा तान्ने खालका। अनि कोही चाहिं आफ्नो काम राम्रोसँग सक्ने र परिवर्तनलाई आत्मसात् गर्ने खालका हुन्छन्। उत्कृष्ट एउटा सुयोग्य प्रधानाध्यापकले आफ्ना हरेक निर्णय उत्कृष्ट शिक्षकहरूको राय र सुझवका आधारमा तय गर्छन्। हुन पनि, विद्यालयलाई उत्तम बनाउने हो भने हामीले उत्कृष्ट शिक्षकहरूमा नै बढी ध्यान दिनुपर्छ, तिनका कुरालाई महत्व दिइनुपर्छ।

अल बरले शिक्षकहरूलाई तीन प्रकारमा वर्गीकरण गरेका छन्ः महानायक (सुपरस्टार), मेरुदण्ड (ब्याकबोन्स) र औसत (मेडियोकर) । उत्कृष्ट शिक्षकहरू ‘सुपरस्टार’को कोटिमा पर्छन्। ‘सुपरस्टार’ शिक्षकका विशेषता यस्ता हुन्छन्ः
–    भूपू विद्यार्थीले तिनलाई उत्कृष्ट शिक्षकका रूपमा सम्झ्न्छिन्।
–    अभिभावकहरूले आफ्ना सन्तानलाई यिनै र यस्तै शिक्षकले पढाउन् भन्ने चाहन्छन्।
–    सहकर्मी शिक्षकहरूले तिनलाई सम्मान गर्छन्। 
–    तिनले विद्यालय छोडिहाले तिनको स्थान लिनसक्ने खालका उम्दा नयाँ शिक्षक नियुक्त गर्न कठिन हुन्छ।

आमरूपमा ‘सुपरस्टार’ श्रेणीका शिक्षकहरू सिंगो शिक्षक संख्याको ५ देखि १० प्रतिशत मात्र हुन्छन्। अर्थात्, ‘सुपरस्टार शिक्षक’ दुर्लभ हुन्छन्। 
उत्कृष्ट प्रधानाध्यापकले कुनै पनि निर्णय गर्नुअघि यसबारे ‘मेरो उत्कृष्ट शिक्षकले कसरी सोच्छ ?’ भनेर आफैंसँग सोध्छ । यसको अर्थ उसले अरू कसैको कुरै सुन्दैन वा सुन्नै पर्दैन भन्ने होइन । तर, उत्कृष्ट शिक्षकले कसरी सोच्छ भन्ने ध्यान दिन चाहिं छुटाउँदैन। उसले नियमित रूपमा यस्ता शिक्षकहरूसँग अनौपचारिक सरसल्लाह गरिरहन्छ र आफैंसँग निम्न दुई प्रश्न सोध्छः
–    मेरा उत्कृष्ट शिक्षकले कुनै प्रस्ताव खासै गतिलो होइन भन्ठान्छन् भने अरू शिक्षकहरूले त्यो प्रस्ताव स्वीकार्ने सम्भावना कत्तिको हुन्छ ?
–    मेरा उत्कृष्ट शिक्षकले कुनै प्रस्ताव खासै गतिलो होइन भन्ठान्छन् भने सही प्रस्ताव के हुन सक्छन् ?

सुखद् पक्ष के हो भने, उत्कृष्ट शिक्षकले के सोच्ला भनेर धेरै गमिरहनु पनि पर्दैन। ‘सुपरस्टार’ शिक्षकहरूले हामीलाई आफैं बताउँछन्। साथसाथै उनीहरूले यस्ता छलफल गोप्य पनि राख्छन्। उत्कृष्ट शिक्षकहरूको फराकिलो दृष्टिकोण हुन्छ। उनीहरू समग्र विद्यालयकै बारेमा चिन्तन गर्छन् जबकि औसत शिक्षकहरू बढीमा आफूले पढाउने विषयका बारेमा सोच्छन्।

११. हरेक अवस्थामा, को सबैभन्दा सहज र को सबैभन्दा असहज छ भनेर सोच्नुस् 
प्रधानाध्यापकहरूले सामना गर्नुपर्ने एउटा कठिनाइः निर्णयहरू गर्दा सन्तुलन कायम गर्ने चुनौती हो। जटिल निर्णयहरू गर्दा प्रधानाध्यापकले त्यस्ता निर्णयले कसलाई सबैभन्दा सहज बनाउँछ र कसलाई असहज बनाउँछ भनेर सोच्नुपर्छ। यसरी प्रश्न गर्नु भनेको माथि उल्लेख गरेजस्तै उत्कृष्ट शिक्षकलाई केन्द्रमा राखेर निर्णय गर्नु नै हो। 

निर्णय गर्ने बेलामा सकारात्मक परिवर्तन हुने गरी गर्नुपर्छ। पक्कै पनि केही शिक्षकलाई यस्तो निर्णय असहज लाग्न सक्छ । तर, प्रधानाध्यापकले उत्कृष्ट शिक्षकहरूलाई असहज हुने गरी निर्णय गर्नुहुँदैन। यसलाई एउटा उदाहरणबाट बुझने प्रयत्न गरौं।

शिक्षकहरूको बैठकमा कुनै कम प्रभावशाली शिक्षकले खालि नकारात्मक कुरा गरेर बैठकलाई नै प्रभावित पारिराख्छ भने उत्कृष्ट शिक्षकले त्यहाँ असहज अनुभव गर्छ। नकारात्मक प्रवृत्ति भएका गनगने शिक्षकहरू भने यसैमा रमाउँछन्। यस्तो परिस्थितिमा प्रधानाध्यापक पनि आवेशमा आएर त्यहाँ प्रस्तुत भए भने उत्कृष्ट शिक्षकले थप असहज अनुभव गर्छ र टाढिन सक्छ। यस्तोमा के गर्न सकिन्छ त ? प्रधानाध्यापकले सबैभन्दा बढी नकारात्मक शिक्षकलाई भन्न सक्छ, “मलाई तपाईंको कुरा विचारणीय लाग्यो। यसो गरौं, यही हप्ता तपाईं र म यसबारे कुरा गरौं। म हरेक दिन बिहान साढे ६ बजे स्कूल आइसकेको हुन्छु। तपाईं पनि त्यतिबेलै आउनुहोस् !” यस्तो गर्नासाथ नकारात्मक चिन्तनका धनी शिक्षकले एकातिर आफ्नो बोलीमा लोली मिलाउने साथी गुमाउँछन् भने अर्कोतर्फ त्यति सबेरै उठेर स्कूल आउने झ्न्झ्ट पनि गर्दैनन्। यसरी सकारात्मक चिन्तनका धनी शिक्षकहरूले प्रधानाध्यापकलाई साथ दिने परिस्थिति बन्छ । 

१२. राम्रो उपलब्धि हासिल गर्नेहरूलाई बुझने प्रयास गर्नुस्
प्रधानाध्यापकहरूको अर्को चुनौती हो, राम्रो उपलब्धि हासिल गर्नेहरूसँग कसरी व्यवहार गर्ने ? यस्ता सफल मानिसहरू विद्यालयभित्र नै धेरै काम गर्छन्। उनीहरूसँग उचित व्यवहार गरिएन भने उनीहरूको मूल्यवान् योगदान गुमाउने जोखिम हुन्छ। उत्कृष्ट प्रधानाध्यापकहरूलाई थाहा हुन्छ-  यी मानिस आफ्ना आवश्यकताबारे निकै संवेदनशील हुन्छन् र यी आफ्नो क्षमता बढाउन सक्छन्। यस्ता सफल र सक्षम मानिसहरूसँग कसरी व्यवहार गर्ने त ? 

प्रभावशाली र कम प्रभावशाली प्रधानाध्यापकहरू बीचको फरकबारे अध्ययन गरेर डग फियोरले निष्कर्ष निकालेका छन्- उत्कृष्ट नेतृत्वले स–साना त्रुटिलाई बेवास्ता गर्छन्। उच्च उपलब्धि हासिल गर्ने मानिसहरूले आफूलाई उच्च मानकमा राखिरहन्छन्। उनीहरू हरेक काममा सफल हुन चाहन्छन् र त्यसका लागि गर्नुपर्ने जति कठिन मिहिनेत गर्छन्। यी मानिसहरूलाई तिनका कमजोरी औंल्याइदिंदा भावनात्मक रूपमा कमजोर हुन्छन्। उनीहरू ठूलाठूला विषयमा केन्द्रित हुन्छन्। उनीहरूलाई तिनका उपलब्धिका स-साना कमीहरू औंल्याइदिन थालियो भने तिनले जोखिम मोल्न छोड्छन्। र, आफ्ना उपलब्धिलाई व्यक्तिगत तहमा मात्रै सीमित राख्छन्।


उत्कृष्ट शिक्षक सधैं आफ्ना व्यवहारले विद्यार्थीलाई असर पर्छ कि भनेर सचेत रहन्छन्। उनीहरू कुनै पनि विद्यार्थीलाई अरूको अगाडि अपमानित हुने गरी टिप्पणी गर्दैनन्। बरु, उत्कृष्ट शिक्षकहरू नियमितजसो विद्यार्थीलाई प्रशंसा र प्रोत्साहित गरिरहन्छन्।

त्यस्तै ‘सुपरस्टार’ शिक्षकहरूबारे चर्चा गर्ने क्रममा अल बरले औंल्याएका छन्- उत्कृष्ट शिक्षकहरूलाई दुई चिज चाहिन्छः स्वायत्तता र पहिचान। ‘सुपरस्टार’हरूलाई आफूले मन लागेको गर्ने स्वतन्त्रता दिनुपर्छ। उनीहरूलाई जोखिम उठाउने पनि छुट दिनुपर्छ। त्यसपछि उनीहरू नयाँ नयाँ जुक्ति लगाउँछन्। प्रयोग र परीक्षण गर्छन्। जसबाट अरू शिक्षकले पनि सिक्नेछन्।  ‘सुपरस्टार’ शिक्षकलाई स्वायत्तता दिनुको अर्थ अरूलाई चाहिं नियमहरू बनाएर नियन्त्रण गर्ने भन्ने होइन। नियम त सधैंभरि सबैका लागि हो। असल मानिसहरू त्यसलाई अनुसरण गर्छन्। 

स्वायत्तताका साथै उच्च उपलब्धि गर्नेहरूलाई पहिचान पनि दिनुपर्छ । उनीहरूलाई औपचारिक पहिचानको जरुरत हुँदैन । उनीहरूमध्ये कसैलाई वर्षको उत्कृष्ट शिक्षकको अवार्ड दिइरहनु पनि पर्दैन । त्यो अवार्ड त त्यसअघि नपाएकालाई दिने गरिन्छ। उत्कृष्ट शिक्षकलाई उसले गरेको कामको सम्मान गरे पुग्छ । उसलाई इमेल लेख्ने, धन्यवाद नोट पठाउने जस्ता अभ्यास गर्दा नै उसले सम्मानित भएको महसूस गर्छ। 

१३. सबैले सबैलाई ख्याल गर्ने वातावरण बनाउनुस्
हरेक प्रभावशाली प्रधानाध्यापकका केही मुख्य मान्यता हुन्छन्। तिनका सिद्धान्तले नै तिनका निर्णयलाई निर्दिष्ट गर्छन्। यिनै मान्यताले सही र गलत छुट्याउन सघाउँछन्। मेरो मुख्य लक्ष्य भने एकदमै साधारण छ। म चााहन्छु, विद्यालयमा सबैले सबैलाई ख्याल गर्ने वातावरण बनोस्। हरेक विद्यार्थी, शिक्षक, अभिभावकले एकअर्कालाई ख्याल गरुन्। एकअर्कासँग मनको कुरा साटुन्। दुःख-सुखमा साथ दिउन्, साथ पाउन्।

हरेकले हरेकलाई आड, भरोसा र साथ दिने वातावरण तयार पार्न सकियो भने हरेक शिक्षकले विद्यार्थी र विद्यालयको हितमा काम गर्नेछन्। विद्यार्थीले पाठ्यक्रम र आफ्नो सिकाइको ख्याल गर्नेछन्। साथै तिनले शिक्षक र आफ्ना साथीहरूलाई पनि ख्याल गर्नेछन । सबैले सबैलाई ख्याल गर्ने वातावरण भयो भने गलत निर्णयहरू हुने छैनन्। अतिरिक्त मिहिनेत गर्ने मानिसहरूको सम्मान हुनेछ। 

१४. सम्बन्ध सुमधुर बनाउनुस् 
हामीले सबैसँग सधैं सम्मानजनक व्यवहार गर्नुपर्ने चर्चा गर्‍यौं। तर, सधैं त्यस्तो नहुन पनि सक्छ। कहिलेकाहीं नचाहँदा नचाहँदै पनि मनभित्र गुम्सिएको ज्वालामुखी विस्फोट हुनसक्छ। कोही व्यक्तिमाथि गलत व्यवहार भइहाल्यो भने उसँगको सम्बन्ध फेरि पहिले जस्तो सुमधुर हुन मुश्किल हुन्छ। त्यो व्यक्तिले राम्रै व्यवहार गरिरहे पनि सम्बन्धमा चिसोपन रहिरहेको हुन्छ। प्रभावशाली प्रधानाध्यापक र शिक्षक दुवैलाई थाहा हुन्छ- एकपटक बिग्रेको सम्बन्ध फेरि उस्तै हुन गाह्रो हुन्छ। त्यसैले उनीहरू केही भन्नु वा गर्नुअघि निकै संवेदनशील हुन्छन्। 

उत्कृष्ट शिक्षक सधैं आफ्ना व्यवहारले विद्यार्थीलाई असर पर्छ कि भनेर सचेत रहन्छन्। उनीहरू कुनै पनि विद्यार्थीलाई अरूको अगाडि अपमानित हुने गरी टिप्पणी गर्दैनन्। बरु, उत्कृष्ट शिक्षकहरू नियमितजसो विद्यार्थीलाई प्रशंसा र प्रोत्साहित गरिरहन्छन्। 

उत्कृष्ट प्रधानाध्यापकले पनि सम्बन्ध सुमधुर राखिरहन मिहिनेत गर्छन् । प्रभावशाली प्रधानाध्यापकहरू आफ्ना शिक्षकका सबल पक्षबारे सचेत हुन्छन्। र, तिनले हरेक शिक्षकको विकास, आवश्यकता र चाहनाको ख्याल गर्छन्। साथै, एउटा उत्कृष्ट प्रधानाध्यापकलाई आफ्ना सहकर्मीको विद्यालय बाहिरको जीवनबारे पनि थाहा हुन्छ। उनीहरूको परिवार, व्यक्तिगत जीवन र अन्य रुचिहरूबारे पनि जानकार हुन्छन्। 

१५. शैक्षिक सत्रको शुरुमै त्यस वर्षको लक्ष्य तय गर्नुस् 
हरेक शैक्षिक सत्र धेरै घुम्तीहरू भएको यात्रा जस्तो हो। प्रधानाध्यापक हुनुको एउटा रोमाञ्चक अनुभूति हो- उसका लागि प्रत्येक दिन अरूभन्दा भिन्दै हुन्छ। प्रधानाध्यापक हुनुको चुनौती पनि यही नै हो। त्यसैगरी हरेक शैक्षिक सत्र पनि चुनौती र रोमाञ्चले भरिएको हुन्छ। कक्षाहरू, परीक्षा, बिदा, जाडोका चिसा दिनहरू, गर्मीका ताता दिनहरू- शैक्षिक सत्रको यो चक्रको आफ्नै अनुभूति र प्रवाह हुन्छ। र, हरेक शैक्षिक सत्रको आफ्नै खाले विशिष्टता पनि हुन्छ। अघिल्लो शैक्षिक सत्रभन्दा अहिलेको शैक्षिक सत्र फरक हुन्छ। अहिलेको भन्दा अर्को शैक्षिक सत्र पनि फरक नै हुनेछ। 

हरेक शैक्षिक सत्रको शुरुआत नयाँ अपेक्षाहरू तय गर्ने र परिवर्तनहरू अवलम्बन गर्ने अवसर पनि हो। प्रभावशाली शिक्षकका लागि नयाँ शैक्षिक सत्रको शुरुआत भनेको विद्यालयको लय तय गर्ने अवसर पनि हो। वर्षौंदेखि उही भवनमा उस्तै पाठ्यक्रम पढाइरहेको भए पनि नयाँ शैक्षिक सत्रको शुरुआतले नयाँ लक्ष्य तय गर्ने अवसर दिन्छ। 

प्रस्तुतिः लक्ष्मण श्रेष्ठ

शिक्षक मासिक, २०८२ भदौ अंकमा प्रकाशित। 

commercial commercial commercial commercial