अझै हातमा चक डस्टर, विचरा मिस्टर मास्टर !

हिजोका गुरु आजका मास्टर साव— आखिर चोटै चोट खप्नुपर्ने अचानो हुन् या दाप ! कसैले मैनबत्तीसँग तौलिन्छन्— आफैं बलेर या जलेर अरूलाई प्रकाश छर्ने, कसैले माझी सम्झिन्छन्— ज्ञानको महासागरमा नाउ तार्ने । कोही ठान्छन् अभिभावक, आमाबाबुभन्दा ठूलो । कसैका लागि आँखाको ज्योति; कसैलाई फुलो । कसैको परिभाषामा पथपदर्शक; कसैकोमा ज्ञानको खानी । कोही भन्छन् चेतनाको मियो, कोही दहीबाट नौनी झिक्ने मदानी । कसैका लागि भगवान, कसैका लागि जजमान ।

कसैलाई लाग्छ यिनै हुन् महान् । वशिष्ठ पनि गुरु, विश्वामित्र पनि गुरु, द्रोणाचार्य पनि गुरु, प्लेटो र सुकरात आदि गुरुकै प्रतिमूर्ति हुन् । महान् सम्झेर बोक्नेहरू पनि छन् यहाँ, भगवान् सम्झेर ढोग्नेहरू पनि छन् । सँगै तबला सम्झेर ठोक्नेहरू अनि खरीदबिक्री गर्न तराजुमा जोख्नेहरू पनि छन् । चेतनाको दियो सम्झे पनि हुन्छ, समाजको मियो सम्झे पनि हुन्छ । कसैलाई सर, कसैलाई टिचर, कसैलाई लेक्चर । आजको युग, सूचना प्रविधिको युग, आधुनिकताको युग ! आखिर यिनै युग हाँक्ने र बदल्ने व्यक्ति को हुन् ? आजका इञ्जिनियर हुन् या डाक्टर, पाइलट हुन् या विशेषज्ञ ? आखिर सबैका पथप्रदर्शक मास्टर । तर पनि खै यिनको चर्चा ? सर्वप्रथम विमान उडाउने राइट दाजुभाइको नाम कण्ठ पार्‍यौं तर तिनलाई शिक्षा दिने गुरुलाई सम्झ्ने चेष्टा गरेनौं । थोरैका ताली, धेरैका गाली, थोरैका वास्ता, धेरैका बेवास्ताका शिकार छन् शिक्षकहरू । कण्डक्टर र यात्रुले लिने नाम पनि गुरु, संसारका महान दार्शनिक जन्माउने पनि गुरु । त्यस्तै लुगा सिउनेले पाउने उपमा पनि मास्टर, चक र डस्टर बोक्ने पनि मास्टर । यसबाट के कुरा प्रष्ट छ भने शब्द र पद प्रतिष्ठामै अतिक्रमण भएको छ भने मास्टरको सम्मान कहाँ र कहिले हुने ? हुँदाहुँदा बजारमा भेटिने गाइड गेसपेपरको भाउ ठूलो छ, तर आफ्नो बुद्धि वर्कतले मिहिनेत साथ पढाउने मास्टरको भाउ छैन ।


हजुरबा जनशक्ति स्कूल पस्छन्, तन्नेरी जनशक्ति बेरोजगार बस्छन् । हजुरबा मास्टरसावको दिमागमा खिया लागेर ‘डेट एक्स्पायर भा’छ युवाको जोशिला दिमाग ‘ब्रेनड्रेन’ हुँदा ठाउँ का’छ ? आखिर यो उम्रेदेखि लुम्रे, झुर्मे र घुम्रेसम्मकालाई था’छ ।

सन्तान थरीथरीका भने झैं मास्टरका पनि रूप रंग र ढंग फरक फरक छन् । सारङ्गी रेट्ने साइजका देखि छानो भेट्ने साइजका सम्म छन् । फर्सी झैं डल्लाहरू पनि छन्, दिउँसै पिउने झ्ल्लाहरू पनि छन् । नेप्टा, चेप्टा, थेप्चा, सुकन्दास, फुकन्दास, घ्याम्पा, ट्याम्पा, धार्मिक, मार्मिक अनगिन्ती साइज र तह–तप्काका छन् । कोही स्थायी, कोही अस्थायी, कोही राहत, कोही मर्माहत, कोही पीसीएफ, कोही निजी, कोही विजी— अनेक नामधारी र कैयन् बुद्धि डाँडापारिका मास्टरसावहरू छन् । कोही देख्दा ऋषिमुनि जस्ता; कोही सिसीमुनि जस्ता, कोही लुइरे, कोही सुइरे, कोही कुइरे, कोही पाकेका, कोही थाकेका, कोही कच्चा कट्मेरा, कोही पढन्ते, कोही मनगढन्ते, कोही गफाडिस, कोही लवाडिस, कोही चुन्द्रे, कोही मुन्द्रे, कोही चिण्डे, कोही कुभिण्डे, कोही दाह्री; कोही पेन्सनधारी, कोही भुलक्कड, कोही झुलक्कड— आखिर नाम एक काम अनेकका मास्टरी जनशक्ति देशमा विद्यमान छन् ।

फुलेको फूलको जहाँ पनि गुणगान र चर्चा गरिन्छ तर फूल फुलाउने, हुर्काउने मालीको चर्चा छैन । मूर्ति र मन्दिरको चर्चा हुन्छ तर सीप र मिहिनेत पोख्ने कालीगडको चर्चा हुँदैन । डाक्टर, इञ्जिनियर, पाइलट आदिको पद प्रतिष्ठा, मान सम्मान र चर्चा हुन्छ तर तिनलाई निर्माण गर्ने शिक्षकको चर्चा सुनिंदैन । माथिल्लो तला उक्लिसकेपछि भर्‍याङको महत्व बिर्से जस्तो । अपमान र बेवास्ताका शिकार बनाइएका मिस्टर मास्टरहरूको रोदन सुन्ने को ? प्रविधिको युग, कम्प्युटरको युगको रटान गर्न लगाइन्छ तर विचरा अझै हातमा चक डस्टर, मिस्टर मास्टर । आजका विद्यार्थीलाई स्क्रिन जेनेरेशन, डटकम जेनेरेशन, मल्टी टाक्स जेनेरेशन भनेर उच्चारण गरिरहँदा अझै बोल्दाबोल्दै थोत्रिएको थुतुनो र चक डस्टरमा सीमित पारिएका मिस्टर मास्टरसावहरू तथाकथित शिक्षक तालीममा चर्चा हुने पाठयोजना निर्माण र सामग्री निर्माणको तीतो विषवमन गर्न बाध्य छन् ।

तल्लाघरे कान्छो बिरामी भो हस्पिटल पुर्‍याउँ मिस्टर मास्टर, पल्लाघरे हजुरबा थला परे रातमा कुर्नुपर्‍यो मिस्टर मास्टर, भञ्ज्याङ्गको चौतारीमा गाउँले भेला छ, राजनीतिक दलको गोष्ठी छ हाजिर होऊ मिष्टर मास्टर । ठूलो पाटोमा बाटोलाई डोजर चल्दैछ कुरा मिलाउन मिस्टर मास्टर, गाउँमा बिहे, व्रतबन्ध, पूजा छ सामान चाहियो मिस्टर मास्टर, छिमेकमा झ्गडा पर्‍यो मिलाउन मिस्टर मास्टर, चमेल्नी आमै खर्च नपाएर भोकभोकै छिन्, पैसा सापटी मिस्टर मास्टर । आखिर मान्छे एक पेशा र कर्म अनेक । बलिया बाङ्गा विदेश पसे, बालक, बूढाबूढी, भोकानाङ्गा गाउँमै बसे । संकट आइपर्‍यो— जता पनि मिस्टर मास्टर । स्कूलमा बस्न पनि भ्याउँछन्, भट्टीमा पस्न पनि भ्याउँछन्, नेतालाई चिल्लो घस्न पनि भ्याउँछन्, जुवातासमा फस्न पनि भ्याउँछन् । असल कर्म र निष्ठा गर्ने पनि यही पेशामा, विकृति र विसंगतिको विष्टा गर्ने पनि यही पेशामा छन् । विद्यार्थीको भविष्य निर्माणमा जुट्नेहरू पनि छन् । विचार–विचारमा फुट्नेहरू पनि छन्, नपढेको वहानामा विद्यार्थी कुट्ने र भुट्ने पनि छन् । विश्वमा कति परिवर्तन भित्रिसक्यो तर अझै पनि हातमा चक–डस्टर विचरा मिस्टर मास्टर !

हुन त शैक्षिक नीति भित्र समस्या छ, डबल पेन्सनधारी स्कूल धाउने जनशक्तिको मिति भित्र समस्या छ । जनमानसमा विद्यमान भ्रम भित्र समस्या छ, पुरानो थोत्रो पाठ्यक्रम भित्र समस्या छ, मास्टरसावका क्षमता, योग्यता र दिमागी दम भित्र समस्या छ । हजुरबा जनशक्ति स्कूल पस्छन्, तन्नेरी जनशक्ति बेरोजगार बस्छन् । हजुरबा मास्टरसावको दिमागमा खिया लागेर ‘डेट एक्स्पायर भा’ छ, युवाको जोशिला दिमाग ‘ब्रेनड्रेन’ हुँदा ठाउँ का’छ ? आखिर यो उम्रेदेखि लुम्रे, झुर्मे र घुम्रेसम्मकालाई था’छ । रिजल्टको चर्चा ठूलो हुन्छ तर विद्यमान विकृति र विसङ्गतिको कुरो उठ्दैन । ‘गाइड, गेसपेपर, ट्युसनवाद, लबम्यारिज जिन्दावाद !’ रटान र खटानका विद्यार्थी, समस्याग्रस्त प्रणाली र व्यवस्था, सम्पूर्ण क्षेत्रहरूको मेरुदण्ड मानिनुपर्ने क्षेत्रको अपमान र बेवास्ता, राजनीतिक विचलन र त्यसको असर, संवेदनहीन निकाय, दायित्वविहीन अभिभावक जस्ता समस्याहरूका बाबजूद दोष खप्न बाध्य छन् अझै हातमा चक–डस्टर विचरा मिस्टर मास्टर !

शिक्षक, बराह कालिका उमावि, ढोला–३, धादिङ

commercial commercial commercial commercial