अन्तिम मुगल सम्राटको रंगुन-प्रवास

म्यानमारको पहिलेको राजधानी रंगुनमा एउटा पगोडा (मन्दिर) रहेको छ– स्वेदागन पगोडा। बौद्ध धर्मावलम्बीहरूले पवित्र मान्ने यस सुन्दर पगोडामा पर्यटकहरूको घुइँचो लाग्दछ। पगोडा नजिकै एउटा अरबी वास्तुकलामा बनेको सानो भवन पनि देख्न सकिन्छ। पगोडामा आउने धेरै पर्यटकले यो भवन देख्छन् तर अधिकांशलाई यो के हो भन्ने विरलै थाहा हुन्छ। यथार्थमा, यो भवनको ऐतिहासिक महत्व रंगुनमा भएका अरू थुप्रै ऐतिहासिक संरचनाभन्दा कम छैन। यो भारतका अन्तिम मुगल सम्राट बहादुर शाह जफरको समाधिस्थल हो। दिल्लीमा बसेर ३०० वर्षभन्दा बढी राज गर्दै भारतको नक्शा नै बदल्न सफल भएको शक्तिशाली मुगल साम्राज्यका अन्तिम सम्राटको समाधि रंगुनमा कसरी बन्न गयो ? कथा निकै रोचक छ र यही विषयको चर्चा गर्दै लेखिएको किताब हो– द लास्ट मुगल।

किताबको शुरुआत भारतमा कसरी मुगल साम्राज्यको विस्तार भयो भन्ने विषयबाट भएको छ। त्यसपश्चात् विभिन्न मुगल सम्राटहरूको बारेमा चर्चा गर्दै लेखक डेलरिम्पल अन्तिम मुगल राजा जफरसम्म पुग्छन्। कसरी र किन मुगल साम्राज्यको पतन भयो भन्ने विषय किताबले राम्ररी समेटेको छ । लेखकको निष्कर्ष छ– मुगल साम्राज्यको पतन हुनुका पछाडि एक मात्रै नभई विभिन्न कारण छन्। अंग्रेजको बलियो सैनिक शक्ति त एउटा प्रमुख कारण थियो नै तर पछिल्ला मुगल सम्राटहरूले आफ्नो राजकीय कर्तव्य भन्दा अरू कुरामा बढी ध्यान केन्द्रित गर्दा आफ्नो साम्राज्य नै गुमाउनुपर्ने स्थिति आएको कुरा लेखकले किताबमा दर्शाएका छन्।


किताबको नामले भने जस्तै यस पुस्तकका मुख्य पात्र जफर नै हुन्। उनको चरित्र, आनी–बानी र व्यक्तित्वलाई लेखकले राम्ररी केलाएका छन्। अंग्रेजहरू विस्तारै भारतमा पकड जमाउँदै गर्दा जफर आफ्नो जीवन विलासितामा नै बिताइरहेका थिए । उनी आफ्नो दरबारमा गजल गायन गर्ने÷गराउने, नाच–गान गराउने, मीठो खाने र आफ्ना रानीहरूसँग समय बिताउनमै मग्न–मस्त रहन्थे । उनमा न लडाइँ गर्ने जोश थियो, न त सुझबुझ र इच्छा या सामथ्र्य नै। हुनत अंग्रेजहरूले चारैतिर आधिपत्य जमाइसकेको त्यतिबेलाको भारतमा जफर नामका मात्रै राजा थिए। तर उनलाई आफ्नो गुमेको साम्राज्य फिर्ता लिने मौका मिल्दै नमिलेको भने होइन।

यस सन्दर्भमा लेखकले सन् १८५७ को सिपाही–विद्रोहलाई रोचक तरिकाले केलाएका छन्। भारतमा अंग्रेज आधिपत्यको बीउ रोप्ने इष्ट इण्डिया कम्पनीको त्यतिबेलासम्म निजी सेना हुने गथ्र्यो । त्यो सेनामा भारतीय नागरिक पनि भर्ती गरिएका थिए । १८५७ को मे महीनामा त्यही सेनाभित्रका भारतीय सिपाहीले विद्रोह शुरू गरे। विद्रोह इष्ट इण्डिया कम्पनी र भारतमा बसिरहेका अंग्रेजहरू विरुद्ध लक्षित थियो । ‘भारतीय स्वतन्त्रको पहिलो लडाइँ’ नाम दिइएको यस घटनाको शुरुआतमा जफरले न त यसको समर्थन गरे न त भत्र्सना। कठिन घडीमा निर्णय गर्ने क्षमता उनले गुमाइसकेका थिए । विद्रोहको उत्तराद्र्धमा गएर मात्रै उनले यसको समर्थन गरे । दुर्भाग्यवश, उनले यो काममा निकै ढिलाइ गरे । यतिबेलासम्म अंग्रेजहरू विद्रोहलाई निर्मम तरिकाले दबाउन सफल भइसकेका थिए। परिणामतः जफरलाई निकै लज्जास्पद तरिकाले देश निकाला गरी रंगुन पठाइयो, जहाँ उनी आफ्नो मृत्युसम्म नै नजरबन्दमा राखिए।

पुस्तकका लेखकले यी अन्तिम सम्राटको यो दुःखद् यात्रालाई निकै विस्तृत रूपमा चित्रण गरेका छन्। पुस्तकले सन् १८५७ को विद्रोह, यसको पृष्ठभूमि र भारतमा इष्ट इण्डिया कम्पनी अर्थात् भारतमा अंग्रेज कर्मचारीहरूको जीवनशैलीलाई सविस्तार स्पष्ट पारेको छ । हुनत यस विषयमा अरू थुप्रै किताब लेखिसकिएका छन् । तर यस किताबमा डेलरिम्पलले सन् १८५७ को विद्रोह र मुगल साम्राज्यलाई पश्चिमी दृष्टिकोणबाट भन्दा पनि भारतीय दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । निकै नै खोज गरेर लेख्ने लेखकको रूपमा परिचित उनले यो किताबमा पनि त्यो योग्यता र क्षमता प्रदर्शन गरेका छन् । लण्डन, दिल्ली र रंगुनमा भएका अंग्रेजी, उर्दू र हिन्दी अभिलेखहरूको समीक्षा गरेर लेखिएको यो किताब गहनसँगै रोचक छ, मुख्यगरी भारतीय इतिहासमा चासो राख्नेहरूका लागि । त्यसो त लामो समयदेखि दिल्ली बस्दै आएका लेखक आफैं नै स्कटिश हुन्। र, किताबमा कतै पनि उनले अंग्रेजहरूको क्रूरतालाई समर्थन गरको पाइँदैन।

किताबको मुख्य कथा कसरी मुगल साम्राज्यको अन्त्य भयो भन्ने भएतापनि किताबको जानकारीमूलक पक्षचाहिं त्यति बेलाको समाजको चित्रण हो । डेलरिम्पलको किताब पढ्दा एउटा कुरा के छर्लंग हुन्छ भने, त्यतिबेला हिन्दू–मुसलमान भाइचारा बलियो थियो । मुगलहरूको राजधानी दिल्लीमा मुसलमानहरूको सांस्कृतिक प्रभाव बढी भए तापनि हिन्दू र मुसलमान समुदाय मिलेर बसेको देखिन्छ । जफर आफैं मुसलमान भए पनि उनले सधैं हिन्दूहरूको आदर गर्ने गरेको र होली जस्ता पर्वहरू त मनाउने नै गरेको पनि लेखकले जानकारी दिएका छन् । अंग्रेजहरूले यस्तो भाइचारालाई गम्भीर रूपमा लिएको र सन् १८५७ पश्चात् त्यही भाइचारालाई ‘फुटाउ र राज गर’ ९म्ष्खष्मभ बलम चगभि० को नीति मार्फत छिन्न–भिन्न पार्दै भारतमा अर्को एक सय वर्ष उनीहरूले शासन गरेको व्यहोरा लेखकले खुलस्त पारेका छन्।

भारतीय इतिहासको एक महत्वपूर्ण समयलाई राम्ररी विश्लेषण गरेको यो किताबबाट थप केही महत्वपूर्ण  कुरा सिक्न सकिन्छ। पहिलो, आफ्नो कर्तव्यबाट च्युत कुनै पनि मानिसको कुनै पनि बेला पतन हुन सक्दछ, जसरी जफरको भारतमा भयो। दोस्रो, आफू्-आफूमा मिल्न सकियो भने ठूलाभन्दा ठूला शक्तिलाई पनि चुनौती दिन सकिन्छ, जसरी हिन्दू–मुसलमान भाइचाराका कारण सन् १८५७ को सिपाही-विद्रोह सम्भव भयो। र, अन्तिममा, हामी आफैं आफैं फुट्यौं भने अरूले सजिलै त्यसको फाइदा उठाउन सक्छन्, जसरी अंग्रेजले सन् १८५७ पश्चात् भारतमा उठाए । 

commercial commercial commercial commercial