सामाजिक अध्ययन गह्रौं विषयवस्तु, हलुका सिकाइ

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयमा कक्षा-७ का विद्यार्थीले नेपालको वर्तमान संविधानबारे पढ्नुपर्छ। कक्षा-७ को पाठ्यपुस्तकको एकाइ तीन नागरिक चेतना, अधिकार र कर्तव्य विषय क्षेत्र अन्तर्गत हाम्रो संविधान शीर्षकको पाठ छ। आधारभूत शिक्षा पाठ्यक्रम कक्षा (६-८), २०७७ मा उल्लेख गरिएको विषयवस्तु र तिनको विस्तृतीकरण अनुसार संविधानको परिचय र प्रकार, नेपालको वर्तमान संविधानका विशेषताहरू पाठमा समेटिएको छ। 

यो पाठ पढिसकेपछि विद्यार्थीको सिकाइ उपलब्धि पाठ्यक्रममा उल्लेख गरिए अनुसार संविधानको परिचय दिई नेपालको वर्तमान संविधानको विशेषता उल्लेख गर्न सक्ने हुनु हो। 
काठमाडौंको एक संस्थागत विद्यालयमा कक्षा-७ मा पढ्ने विद्यार्थी सुरज धिताललाई संविधान भन्नाले के बुझेका छौ भनेर सोध्दा, उनले मलाई आउँथ्यो तर अहिले बिर्सें भने। त्यसपछि नेपालको वर्तमान संविधानको विशेषताबारे तिमीलाई के थाहा छ भनेर सोधें। तर उनले केही बताउन सकेनन्। 

एकाइ ३ मा अर्को पाठ छ, प्रदेश सरकारका कार्यहरू शीर्षकमा। प्रदेश सरकार भनेको के हो र प्रदेश सरकारको कामको बारेमा के के थाहा छ ? भनेर सोध्दा पनि उनी चुप लागे।
परीक्षामा के लेख्ने त ? यो प्रश्नमा उनी बोले र भने, ‘परीक्षामा कापीमा भएको उत्तर कण्ठ पारेर लेख्छु। सरले जाँचमा यो यो पाठ महत्वपूर्ण छ भन्नुहुन्छ।’ 

ललितपुरको एक सामुदायिक विद्यालयका विद्यार्थी सुरेन्द्र खड्काले चाहिं संविधान भनेको मूल कानून हो भनेर जवाफ दिए । संविधानका विशेषताका बारेमा बताउँदै उनले भने, ‘नेपाल धर्मनिरपेक्ष देश हो। सबै धर्मको सम्मान गर्ने हो।’

१२ वर्षीय विद्यार्थी खड्काले संविधानको अर्को विशेषता लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणाली हो भने । उनी लोकतान्त्रिक गणतन्त्रामक शब्दको शुद्ध उच्चारण गर्न सकिरहेका थिएनन्। लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली भनेको के बुझेका छौ भन्दा उनले जवाफ दिएनन्। संविधानका अरू विशेषताका बारेमा आफूलाई याद नभएको उनले बताए । 
सुरेन्द्र खड्काकै साथी मनिला तामाङ भन्छिन्, ‘नेपालको संविधानको विशेषताहरू कण्ठ गर्न धेरै गाह्रो छ । यसमा नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय चरा, राष्ट्रिय जनावर पर्छ जस्तो लाग्छ। नागरिकले पढ्न पाउने मौलिक हक पनि हुन्छ जस्तो लागेको छ।’

विद्यार्थीले यो पाठ बुझेर भन्दा पनि घोकेर कण्ठ गर्ने गरेका छन्। कण्ठ गर्न सक्नेले अलि बढी भन्न सक्ने र गर्न नसक्नेले केही बताउन नसकेको देखिन्छ। 
काठमाडौंको एक सामुदायिक विद्यालयकी छात्रा प्रस्तुति अधिकारी भन्छिन्, ‘शिक्षकले संविधानका बारेमा पढाउनु त भयो तर अहिले केही याद छैन।’ काठमाडौंकै एक संस्थागत विद्यालयकी १२ वर्षीया छात्रा पूर्वी बरालले पनि केही भन्न सकिनन्। 

विद्यार्थीको उमेरभन्दा भारी विषयवस्तु भएकोले विद्यार्थीले बुझन र टिप्न नसकेको तपेश्वर मावि, मण्डनदेउपुर, काभ्रेका शिक्षक आनन्द सापकोटाको अनुभव छ। उनी निमावि तह सामाजिक अध्ययनका विषय शिक्षक हुन् । उनले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पनि सामाजिक अध्ययन विषय पढाएका छन्। 

सापकोटा भन्छन्, ‘नेपालको संविधानको विशेषता पढाउनुपर्छ। उमेरभन्दा गह्रौं विषयवस्तु भयो। उनीहरूलाई व्यावहारिक रूपमा उपयोग हुने विषयवस्तु पनि भएन। पाठ्यक्रमविद्ले किन राख्छन् ? विचार गर्र्नुपथ्र्यो। गणितको जस्तै जोड-घटाउ-गुणन–भागा नजानी हिसाब गर्न नजान्ने अर्थात् बेस बनाउनुपर्ने विषयवस्तु पनि होइन। कक्षा ९–१० का विद्यार्थीका लागि राख्नुपर्ने विषयवस्तु हो।’

ओमेगा स्कूल ललितपुरकी शिक्षक कमलहिरा शाक्यको अनुभव पनि यस्तै छ। उनी भन्छिन्, ‘संविधान अनि प्रदेश भनेको अलिअलि बुझेका हुन्छन्। तर संविधानको विशेषता, प्रदेशको कार्य पढ्नुपर्ने हुन्छ। उमेर सानै हुन्छ। उनीहरूलाई रुचि लाग्दैन अनि गाह्रो मान्छन्। विद्यार्थीहरू दिक्क मान्छन्। उनीहरूले बुझेर भन्दा जबर्जस्ती पढ्नुपरेको छ। कण्ठ पार्नेले परीक्षामा लेख्न सक्छन्। नसक्नेले छाड्छन्।’

कक्षा ७ मा पढ्ने भनेका ११/१२ वर्षका बालबालिका हुन् । पाठ्यक्रममा कक्षा ६-८ का विद्यार्थीको उमेर १०–१२ भनेर उल्लेख गरिएको छ। उमेरअनुसार उनीहरूले विषयवस्तु बुझन सक्छन् कि सक्दैनन् ? यो विषयवस्तु उनीहरूको दैनिक जीवन वा व्यवहारमा प्रयोग हुन्छ कि हुँदैन ? व्यावहारिक छ कि छैन ? यो विषयमा अध्ययन नै नगरी विषयवस्तु राखिएको देखिन्छ । यसो भएपछि विद्यार्थीले बुझदै नबुझी घोक्नु सिवाय के नै गर्न सक्छन् र ! यो सिकाइमा क्षति पनि हो र उनीहरूका लागि मानसिक यातनासरह हो।

त्रिपद्म विद्याश्रम मावि, ललितपुरका सहायक प्रअ तथा सामाजिक अध्ययन विषय शिक्षक धन कन्दङ्वा भन्छन्, ‘पाठ्यक्रम निर्माणकै क्रममा त्रुटि भएको छ । पाठ्यक्रम तयार गर्दा विद्यार्थीको उमेर नहेरी, मानसिक–बौद्धिक अवस्था नहेरी ख्याल नगरी विषयवस्तु स्तरीय बनाउने नाममा गाह्रो बनाइयो । यसो भएपछि बुझेर उनीहरूले ग्रहण गर्न सक्दैनन् । कक्षागत सक्षमता पुग्दैन।’

शिक्षक सापकोटा संविधानको बारेमा राख्ने नै भए सामान्य जानकारी दिन सकिन्थ्यो भन्छन्। उनीहरूको व्यावहारिक जीवनमा उपयोग भइरहेको कुरा जोडेर यस्तो जानकारी दिन सकिने उनी बताउँछन्। उदाहरण दिंदै उनी भन्छन्, कक्षाको नियम हुन्छ । समयमा आउने, काम परेर बाहिर जानुप¥यो भने सोधेर जाने आदि । कक्षाको यो नियम उनीहरूलाई व्यावहारिक पनि हुन्छ र उपयोग पनि । यस्तै देश चलाउने नियम कानून नै संविधान हो भनेर सामान्य जानकारी मात्र दिए पुग्नेमा घोक्दा पनि नबुझने विषयवस्तु राखिएको उनको बुझइ छ। 

शिक्षकले विद्यार्थीको उमेर अनुसार आवश्यक पर्ने कुरा सिकाउन सक्नुपर्छ भन्ने गरिन्छ । पुस्तक होइन पाठ्यक्रमबाट सिकाउनुपर्छ भनिन्छ । तर पाठ्यक्रममै विषयवस्तु र सिकाइ उपलब्धि उल्लेख गरिएपछि लेखकहरू राख्न बाध्य हुनुपरेको बताउँछन्। पाठ्यक्रम विकास केन्द्र आफैंले तयार गरेको पुस्तक नै आफैंमा उदाहरण हो । र अन्य प्रकाशकबाट प्रकाशित भएका पुस्तकलाई दिएको स्वीकृति पनि अर्को उदाहरण हो। 

सहायक प्रअ तथा सामाजिक अध्ययन विषय शिक्षक कन्दङ्वा कक्षा १–१० को सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक पनि लेखेका छन् । उनी भन्छन्, ‘पाठ्यक्रमका आधारमा पुस्तक लेख्नुपर्छ । पाठ्यक्रममै यस्ता विषयवस्तु राखेपछि पुस्तकमा पनि राख्नु नै पर्‍यो। पाठ्यपुस्तकमा यति मात्र राख्ने वा विद्यार्थीलाई कति सिकाउने भन्ने वस्तुनिष्ठ छैन।’

शिक्षक सापकोटा र शाक्य हामी र हाम्रो समाज, हाम्रा मानव मूल्य मान्यता, सामाजिक समस्या र समाधानका पाठहरूमा निकै रुचि राख्ने बताउँछन्। विद्यार्थी पनि हाम्रा चाडपर्व, हाम्रा पहिरन र संस्कृति, राष्ट्रिय विभूति पृथ्वीनारायण शाह, गौतम बुद्ध, सूचना र प्रविधि, सामाजिक सञ्जालको उचित प्रयोग जस्ता पाठहरू निकै रुचिकर लाग्ने बताउँछन्। तर राजनीति र इतिहाससँग जोडिएका पाठ विद्यार्थीका लागि निकै गाह्रो भएको शिक्षकहरूको अनुभव छ। केही समयअघि धुलिखेल तालिम केन्द्रमा पनि सामाजिक अध्ययन विषयका शिक्षकहरूले आधारभूत तहका विद्यार्थीका लागि राजनीतिक, इतिहास र भूगोलका कतिपय विषयवस्तु गाह्रो भएको बताएका थिए। 

कन्दङ्वा भन्छन्, ‘एकाइ तीनका केही पाठहरू विद्यार्थीको उमेरस्तर भन्दा विषयवस्तु कठिन र उच्चस्तरको छ। त्यस्तै एकाइ सात र एकाइ नौका कतिपय पाठहरू विषयवस्तुका हिसाबले बुझन गाह्रो छ।’ शिक्षक, लेखक र विद्यार्थीका कुरा सुन्दा पाठ्यक्रम निर्माणका क्रममा कस्ता विषयविज्ञ छनोट हुन्छन् भन्ने प्रश्न उठ्छ। विभिन्न तहका पाठ्यक्रम निर्माणका क्रममा सहभागी भएका एक प्रधानाध्यापक तथा पुस्तक लेखक आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘विभिन्न विश्वविद्यालयबाट छानिने विषयविज्ञ उच्च ज्ञान भएका हुन्छन् । उनीहरू साना विद्यार्थीको स्तर थाहा पाउँदैनन् । हामीले भन्दा पनि उनीहरू सुन्दैनन् । उनीहरू पाठ्यक्रम निर्माणमा हाबी हुन्छन्।’ 

पाठ्यक्रम निर्माणका क्रममा अभिभावक र विद्यार्थीसँग पनि छलफल गर्नुपर्ने कुरा आधारभूत तत्व हो । तर यो कम हुने गरेको छ। आफ्ना केटाकेटीका पाठ्यपुस्तक र पाठ्यक्रम हेर्ने अभिभावक न्यून हुन्छन्। 

पूर्वी बरालका बुबा राजकुमार बरालले भने छोरीको सामाजिक अध्ययनको पुस्तक र त्यहाँका विषयवस्तु हेरेका छन्। शिक्षाशास्त्रमा एमफिल गरेका बरालका शिक्षा सम्बन्धी पुस्तकहरू पनि प्रकाशन भएका छन्। बराल भन्छन्, ‘कतिपय विषयवस्तुको स्तर विद्यार्थीको उमेर र बुझन सक्ने क्षमताभन्दा माथिको छ। शब्द नै नबुझिने गाह्रा छन्। जाँचमा यो यो आउँछ भनेर भनिदिन्छन् स्कूलमा। यस्ता विषयवस्तु यति साना विद्यार्थीका लागि थोपरेको देख्दा भन्न सकिन्छ नेपालमा पाठ्यक्रम विज्ञ छैनन्। पाठ्यक्रम विकास केन्द्र पनि गम्भीर छैन ।’ 

commercial commercial commercial commercial