खरबुजा सडक
स्कूलमा फुटबल खेल्दा थाकेर लखतरान तथा मैलोधैलो भए पनि हाम्रो सदनले जितेका कारण म निकै खुशी हुँदै घर पुगें। हामीले राम्रै गोलको फरकमा जितेका थियौं । घर पुगेपछि हात धोएर सरासर भान्छामा पसें। कुर्सीमा बस्दै आमालाई भनें, “मम्मी ! आज त मलाई सिङ्गै भालु खाइसक्छु जस्तो भा’छ भोकले।”
आमा मुस्कुराउनुभयो, “ज्यूँदो भालु ?”
“अँ !”
आमा चुलोतिर फर्किनुभयो । उहाँको हातमा एउटा डबका थियो र डबकाबाट बाफ आइरहेको थियो। मैले अनुमान गरें, ‘मलाई मनपर्ने सस हालेको तरकारीको सुप।’ आमाले मेरो अगाडि डबका राख्दै भन्नुभयो, “ल खाऊ!”
तर डबकामा त तातो दूधमा थुक्पा थियो। दूधको तरले ठ्याक्कै डबकाको मुख ढाकेको थियो। त्यो जाउलो जस्तो पनि देखिन्थ्यो। जाउलो मलाई पटक्कै मन नपर्ने । त्यसमा दूधको तरका लाप्सा पनि थिए र माथिबाट हेर्दा सेतो छाला जस्तै देखिने । त्यो देख्नासाथ मलाई वाक्वाकी लाग्ला जस्तो भयो। खान कोशिश गरें, सकिनँ।
“यो त म खान्नँ ।”
“चुपचाप खाऊ ।”
“तरका चोक्टै चोक्टा छन् ।”
“खै तर ?”
यत्तिकैमा बा आइपुग्नुभयो । उहाँले आमा र मलाई हेर्दै सोध्नुभयो– “केको हल्ला हो ?”
“छोरालाई सोध, खानै मान्दैन । एघार वर्ष पुग्न लागिसक्यो । खाने बेलामा चाहिं भर्खरै जन्मेको बच्चा जस्तो गर्छ ।”
म नौ वर्ष मात्रै पुग्न लागेको थिएँ । आमाले भन्नुभयो, ‘एघार वर्ष’ । त्यसो त म आठ वर्षको हुँदा उहाँ भन्नुहुन्थ्यो, ‘दश पुग्न लाग्यो ।’
“किन नखाने ?” बाले सोध्नुभयो, “के सुप डढेछ ? कि नून चर्को भयो ?”
“तातो दूधमा थुक्पा ! त्यो पनि तरैतर, छ्या !”
“त्यसो पो !” बाले टाउको हल्लाउनुभयो, “त्यस्तै हो । महाराज सुप चाहिबक्सिन्न । मौसुफ चाँदीको थालमा मार्जिप्यान चाहिबक्सिन्छ ।”
म हाँसें । मलाई बाका यस्ता ठट्यौली मन पर्थे।
“मार्जिप्यान भनेको के हो ?”
“मलाई थाहा छैन। विशेष तरिकाले बनाइएको एक किसिमको मिठो बासनादार खाना होे । विशेष गरी राजा–महाराजको लागि बनाइने ! खाना खाउ, डेनिस, छिटो खाउ !”
“खान्नँ, त्यसमा तर छ।”
“तिम्रो जीवन सजिलो छ, बाबु” बा आमातिर फर्किनुभयो, “उसको कचौरा हटाइदेऊ । उसको ताल देखेर मलाई ज्वरो आउँछ । उसलाई अन्न मन पर्दैन । उसलाई थुक्पा मन पर्दैन । उ लरतरो मान्छे हैन । यसका नखरा देख्दा म त बिरामी नै हुन्छु होला ।”
बा मेरो अगाडि बस्नुभयो, र मलाई अनौठो पाराले हेर्नुभयो, मानौं– उहाँले जीवनमा पहिलोचोटि मलाई देख्नुभएको थियो। उहाँ केही बोल्नुभएन तर मलाई एकटकले हेरिरहनुभयो। म गम्भीर भएँ । मैले बुझें, उहाँ ठट्टा गरिरहनुभएको थिएन। उहाँ चुपचाप बस्नुभयो। आमा र म पनि चुप भयौं। अनि उहाँ बोल्न थाल्नुभयो। तर उहाँ म र आमासँग बोलिरहनुभएको थिएन। लाग्थ्यो, उहाँ हामीले देख्न नसकिरहेको कुनै अदृश्य साथीसँग बोलिरहनुभएको थियो।
“म त्यो कहालीलाग्दो शरद कहिल्यै बिर्सिन सक्तिनँ” उहाँले भन्नुभयो, “मस्को अति चिसो र फुस्रो भइसकेको थियो। लडाइँ चलिरहेको थियो। जर्मनहरू शहरभित्र छिर्दैथिए। हामी भोक र जाडोले आक्रान्त थियौं। ठूला मान्छेले हाँस्न बिर्सिसकेका थिए। उनीहरू हरेक घण्टा रेडियोमा समाचार सुनिरहन्थे।”
“म त्यसबेला एघार वर्षको थिएँ, र भोको थिएँ। घरमा खानेकुरा केही थिएन। म बा र आमासँग खानेकुरा मागिरहन्थें। तर उहाँहरूसँग रासन वापत पाएको सानो आकारको पाउरोटी मात्रै हुन्थ्यो र त्यो पाउरोटी नै सबैले बाँडेर खानुपथ्र्यो। म हरेक रात सपनामा पाउरोटी देख्थें । त्यस्तो ममात्रै हैन, सबै उस्तै थिए। त्यस समयको बारेमा धेरै लेखिएको छ।”
“एक दिन। म हाम्रो घर छेउको साँघुरो सडकमा हिंडिरहेको थिएँ। खरबुजा बोकेको एउटा ठूलो ट्रक आइरहेको देखें । त्यो शायद सैनिकहरूको लागि थियो। उनीहरू कसरी मस्को पुग्लान् भन्ने मलाई थाहा थिएन । तर त्यो ट्रक एउटा ठूलो फलफूल पसल अगाडि रोकियो। एउटा दुब्लो मान्छे ट्रकमाथि उभिएको थियो। उसले खरबुजा टिपेर अर्को मान्छेतिर फ्याँक्यो। त्यसले फलपूmल पसलमा काम गर्ने आइमाईतिर, ती आइमाईले अर्को मान्छेतिर हुत्याइन्। उनीहरू लहरै उभिएर एकपछि अर्कोलाई गर्दै खरबुजाहरू फलफूल पसलतिर फ्यालिरहेका थिए । मलाई हरियो भकुन्डो फाल्ने खेल जस्तो लाग्यो।”
“उनीहरूलाई हेर्दै म निकैबेर त्यहाँ उभिएँ। ट्रकमाथि उभिएको दुब्लो मान्छे बेलाबेला मतिर हेर्दै मुस्कुराउँथ्यो । ऊ दयालु स्वभावको जस्तो देखिन्थ्यो। हेर्दाहेर्दा थाकेर म घर फर्किनै लागेको थिएँ, एक जनाको हातबाट एउटा ठूलो खरबुजा फुत्कियो। त्यो मेरो छेउमै खसेर फुट्यो । त्यसको हरियो बोक्राको भित्रपट्टि सेतो घेरा थियो। त्यसभित्र स–साना नसाहरूको गुजुल्टा जस्तो लाग्ने सिंदुरे रङका लाप्सा थिए र त्यसभित्र कालो खाली जस्तो । फुटेको खरबुजाबाट फैलिएको बास्नाले म कति भोकाएको थिएँ भन्ने मलाई महसूस गरायो । म घरतिर लागें।”
“एक दुई पाइला हिंडेपछि मैले सुनें, ‘ए बाबु !”
“म आवाजतिर फर्किएँ । ट्रकमाथि उभिएको मान्छे फुटेको खरबुजा लिएर मतिर आइरहेको थियो । ‘यो लेउ छोरा, घर लैजाऊ, यो तिम्रो लागि !’ म बोल्नुभन्दा पहिल्यै उसले त्यो खरबुजा मेरो हातमा राखिदियो र हतारहतार ट्रकतिरै फर्कियो। खरबुजा निकै गह्रुंगो थियो । मैले झण्डै–झण्डै बोक्न नसकेको, बल्लतल्ल घर पु¥याएँ । घर पुगेपछि मैले साथी भल्यालाई बोलाएँ । हामी दुईजनाले त्यो खरबुजा बाँडेर खायौं। आहा, त्यो कति मिठो थियो भने ! म बयान नै गर्न सक्तिनँ । सबैभन्दा पहिला हामीले त्यसलाई ठूलाठूला दुई फेसा पा¥यौं। त्यसमा दाँत गाड्दा रसका छिटा हाम्रो कानसम्म पुगे। गुलियो गुलाबी रस बगेर हाम्रो चिउँडो तलसम्म झर्यो । हाम्रा भुँडी खरबुजा जस्तै पोटिला र डल्ला भए । यदि बजाउने हो भने हाम्रा भुँडी ढोल जस्तै बज्ने भएका थिए । त्यससँग मिसाएर खानलाई एक टुक्रा पाउरोटी पनि नभएकोले अलिकति खल्लो लागे पनि हाम्रो लागि त्यो भव्य भोज भएको थियो ।”
बाले झयालतिर हेर्नुभयो।
“त्यो शरद यति चिसो थियो कि संसार कठ्याङ्ग्रिएको थियो । सुख्खा हिउँ, चर्को हावा । हाम्रा खाने अन्नका भकारी दिनदिनै रित्तिंदै थिए । जर्मनहरू मस्कोको झन् झन् नजिक आइरहेका थिए । म कहिल्यै अघाउन्जी खान पाउँदिनथें, एकदमै भोको थिएँ । सपनामा पाउरोटीको साटो अब खरबुजा देख्न थालेको थिएँ । एक बिहान उठ्नासाथ देखें, मेरो भुँडी हराएको । मेरो भुँडी साँच्चै हराएको थियो । म खानेकुरा बाहेक अरू थोक सोच्न नसक्ने भएको थिएँ । म मेरो साथी भल्याको घर गएँ, र भनें, ‘खरबुजा सडक जाउँ, शायद उनीहरू आज पनि ट्रकबाट खरबुजा झर्दै होलान् । शायद एउटा खसेर फुट्ला, र त्यो फुटेको खरबुजा अस्ति नै जस्तै हामीलाई देलान् !’
“बज्यैको बर्कोे ओढेर हामी खरबुजा सडकतिर लाग्यौं। बाहिर अति चिसो थियो। दिन धुम्मिएको थियो। सडक सुनसान थियो। सडकमा मुश्किलले एक-दुई मान्छे थिए । खरबुजा सडकमा सन्नाटा थियो । खरबुजा बोकेको ट्रक आउने आशामा हामी फलफूल पसल बाहिर पर्खिन थाल्यौं। अँध्यारो नभइन्जेलसम्म हामी कठ्याङ्ग्रिदै उभियौं । कुनै ट्रक आएन । ‘भोलि आउला’, मैले भनें । हामी घर फर्कियौं।”
“भोलिपल्ट हामी फेरि खरबुजा सडक गयौं। कुनै ट्रक थिएन । धेरैबेर पर्खियौं । कुनै ट्रक आएन । हामी हरेक दिन त्यहाँ जान छाडेनौं, तर खरबुजा बोकेको ट्रक कहिल्यै आएन ।”
बा रोकिनुभयो । उहाँ झयाल बाहिर हेर्दै उभिनुभयो । उहाँले आमाले र मैले देख्न नसक्ने कुनै अनौठो चिज देखिरहनुभएको थियो।
आमा बाको नजिक जानुभयो तर बा कोठाबाट निस्किनुभयो । आमाले पछ्याउनुभयो । कोठामा म एक्लै भएँ । म बसें । बाले जस्तै झयाल बाहिर हेरें । अचानक मैले बा र उहाँका साथी भल्या जाडोले लुग्लुग् काँप्दै उभिरहेको देखें, उराठलाग्दो गरी केही पर्खिरहेको देखें । हावा चल्यो । हिउँ ओइरियो । उहाँ जम्नुभयो । उहाँहरू पर्खिरहनुभयो, पर्खिरहनुभयो, केवल पर्खिरहनुभयो ।
मलाई डर लाग्न थाल्यो । मैले सेलाइसकेको डबका तानें । कपाकप थुक्पा खान थालें । एकैछिनमा सबै खाइसकें । अनि पाउरोटीको टुक्राले डबका पुछें । पाउरोटीको त्यो टुक्रा पनि क्वाप्प पारें । त्यसपछि चम्चा चाटें । ७
दोस्रो विश्वयुद्धकालीन रूसको मध्यमवर्गीय शहरी परिवेशमा लेखिएका कथाहरूको सङ्ग्रह ‘एडभेन्चर अफ डेनिस’ मा सङ्गृहीत बालकथा
‘वाटरमेलन लेन’ को भावानुवाद ।
अनुवाद: पूर्ण पी राई



