नेपाली कूटनीतिको ‘गाइडबूक’ !

कुनै मान्छे कसरी फरक-फरक शासन व्यवस्थामा पनि उत्तिकै सान्दर्भिक भइरहन सक्छ ? यसका उत्तर हुन्– डा. भेषबहादुर थापा। निर्दल र बहुदल, शाहीतन्त्र र गणतन्त्र– सबैखाले सत्ताले उनलाई उत्तिकै खोजे। उनको सार्वजनिक जीवन २४ वर्षको उमेरमा सचिव भएदेखि शुरू भएको थियो, अहिले ८६ वर्षको उमेरमा पनि उनी नेपालऔभारत प्रबुद्ध समूह (ईपीजी) को नेपाली पक्षको संयोजक छँदैछन्। शुरूमा उनलाई राजा महेन्द्रले योजना परिषद्को सदस्यसचिव बनाएका थिए; पछि अर्थसचिव, राष्ट्र बैंकको गभर्नर, अर्थमन्त्री, परराष्ट्रमन्त्री, अमेरिका र भारतमा राजदूत लगायत अनेक सरकारी ओहोदामा रहे। थापाको यति लामो सक्रिय जीवन, बहुपक्षीय संलग्नता र व्यक्तिगत जीवनतर्फ चियाउन मिल्ने आँखीझयाल हो, भर्खरै प्रकाशित उनको संस्मरण ‘राष्ट्र-परराष्ट्र’। 

यो किताबले थापाको जीवन–झल्को मात्र दिएको छैन, आधुनिक राष्ट्रका रूपमा नेपाल २००७ साल पश्चात् कसरी क्रमशः खुल्दै आयो भन्ने परिदृश्य पनि केलाएको छ । लामो समय दुनियाँ बाँकीबाट अलग (आइसोलेसन) रहेको यो मुलुकलाई बाह्य संसारसित जोड्दै लैजाने कार्य प्रधानमन्त्रीका रूपमा मूलतः बीपी कोइराला र टंकप्रसाद आचार्यले थालेका थिए । राजा महेन्द्रले त्यसैलाई निरन्तरता र तीव्रता दिंदा त्यसको एक प्रशासकीय खम्बाका रूपमा भेषबहादुर थापाले भूमिका खेलेका थिए ।

किताब पढ्दा लाग्छ, थापाका ‘हिरो’ भनेकै राजा महेन्द्र हुन्। त्यसैले शायद उनी राजा महेन्द्रको अधिनायकवादी शासनको हिस्सा समेत बन्छन्, पछि अर्का राजा वीरेन्द्रको मन्त्री हुन्छन्। तापनि उनले आफूलाई राजनीतिज्ञभन्दा ‘टेक्नोक्र्याट’कै भूमिकामा सीमित राख्न चाहेको देखिन्छ। त्यही विशेषताले गर्दा होला, राज्यले उनलाई भिन्न-भिन्न कालखण्डमा पनि विभिन्न जिम्मेवारीका लागि खोजिरहन्छ।

महेन्द्रकालमा थापाले विकास योजना, आर्थिक एवं वित्तीय व्यवस्थाका जिम्मेवारी पाएका थिए । सँगै समानान्तर रूपमा उनको कूटनीतिक कर्म शुरू भएको थियो। खासगरी नेपालले चीनसँगको कोदारी नाका खोलेपछि अमेरिकासँग चिसिएको सम्बन्ध सुधार्न राजा महेन्द्रले थापालाई नै दूत बनाएर वासिङ्टन डिसी पठाएका थिए । त्यहींबाट उनको पश्चिमा जगतकेन्द्रित कूटनीति शुरू भयो, जो पछि दशकौंसम्म जारी रह्यो।

महेन्द्रका निम्ति उसबेला अमेरिकासँगको सम्बन्ध दुइटा कारणलेमहत्वपूर्ण थियो- भारत र चीनलाई सन्तुलनमा राख्न; र आफ्नो पञ्चायती एकतन्त्रलाई टिकाउन। दुवै उद्देश्यमा उनी सफल भए। अमेरिकाले पञ्चायत विकास परियोजना नै सञ्चालन गरेर त्यो निर्दलीय व्यवस्थालाई फल्ने–फुल्ने र अन्तर्राष्ट्रिय समर्थन जुटाउने आधार प्रदान गरिदियो। त्यहाँनेर थापाले अनेक देखिने र नदेखिने भूमिका निर्वाह गरेका थिए। त्यसबारे किताबमा उनी धेरै खुलेका त छैनन्, तर पाना पल्टाउँदै जाँदा त्यसको पर्याप्त छनक पाइन्छ।

राजा वीरेन्द्रका पालामा थापा अमेरिकामा राजदूत थिए। र, त्यहाँ छँदा उनले कसरी आफ्ना निजी सम्पर्कहरू परिचालन गरेर वीरेन्द्रको राजकीय भ्रमण गराउन सफल भएका थिए भन्ने वृत्तान्त पनि पुस्तकमा पढ्न पाइन्छ । त्यहाँनेर उनकी श्रीमती एवं आफ्नो समयको अग्रणी जनस्वास्थ्यविज्ञ डा. रिता थापाले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनकी स्वकीय सचिव हेलिन भन्डामसँग पत्राचार मार्फत बढाएको सम्पर्क निकै उपयोगी भएको रहेछ । त्यो पढ्दा थापा त राजदूत छँदैथिए, डा. रिता समेत अनौपचारिक कूटनीतिज्ञ सरह क्रियाशील रहिछन् भन्ने देखिन्छ। 

कूटनीतिमा निजी सम्पर्कको कति गहिरो भूमिका हुन्छ भन्ने कुरा थापाका अनेक पहलहरूले देखाउँछन्। अमेरिकी राष्ट्रपति रेगनका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) विल क्लार्क राजदूत थापाको निवासमै खानपिन र अनौपचारिक गफगाफमा आएको, अर्का राष्ट्रपति कार्टरका एनएसए व्रिजेन्स्कीको घरमा टेनिस खेल्न थापा जाने गरेको, अमेरिकाका पूर्वरक्षामन्त्री एवं विश्व बैंकका तत्कालीन अध्यक्ष रोवर्ट म्याकनमाराले पटक-पटक सहयोग गरेको, उसबेला वासिङ्टनमै भारतको राजदूत रहेका केआर नारायणनले शान्ति क्षेत्र प्रस्तावप्रति अमेरिकी समर्थन जुटाइँदा व्यक्तिगत सदाशयता राखेर विरोध नगरेको जस्ता अनेक अनुद्घाटित प्रसंगहरू किताबमा आएका छन्। कालान्तरमा भारतको राष्ट्रपति समेत बनेका तिनै नारायणनसँगको निजी सम्बन्धकै जगमा पछि राजा वीरेन्द्रलाई भारतीय गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउन पनि थापाले भूमिका खेलेका थिए।

भेषबहादुर थापाको सरकारी जीवन राजदरबारकै वरिपरि घुमे पनि दरबारसँग उनको सधैं एकनासको सम्बन्ध रहेको देखिन्न । एक हिसाबले राजाकै मान्छे भएर पनि ‘दरबार’सँगै बेलाबखत टकराव परे जस्तो देखिन्छ। त्यसो त उनी स्वयं राजा महेन्द्रबाट जति प्रभावित छन्, वीरेन्द्र वा ज्ञानेन्द्र राजालाई त्यो स्थानमा राखेको पाइन्न, न त रानी ऐश्वर्यका अशोभनीय गतिविधिलाई रुचाएको पाइन्छ। वीरेन्द्रको अमेरिका भ्रमणको एउटा रमाइलो प्रसंगले पनि त्यो पक्ष झ्ल्काउँछ । त्यहाँ किनमेल गर्न निस्कँदा राजा वीरेन्द्रले १८ डलरको सर्ट समेत महँगो भनेर नकिनेका, तर ऐश्वर्यले नगदको बन्डलै बुझएर डेढ लाख डलरका सामान किनेको, त्यसलाई उठाउन ट्रक नै ल्याउनु परेको रहेछ । त्यसले राजपरिवारभित्रको प्रवृत्तिगत बेमेललाई देखाउँछ । त्यसैगरी तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रका अतिरिक्त आर्थिक महत्वांकाक्षाहरू पटक-पटक प्रकट हुँदा, त्यो कानूनसम्मत नभएकाले रोक्न खोज्दा आफू र अन्य धेरैलाई ‘गलैंचा काण्ड’को भ्रष्टाचार मुद्दामा कसरी फसाइएको थियो भन्ने कुराको पनि थापाले बेलिविस्तार लगाएका छन्।

त्यही घटनाको एउटा सकारात्मक प्रतिफल के भइदियो भने भेषबहादुर थापा ‘आईआईडीएस’ जस्तो गैरसरकारी थिंक ट्यांक खडा गर्ने ध्याउन्नमा लागे, जुन संस्था आजसम्म सक्रिय छ। थापाको स्वाभाव कस्तो देखिन्छ भने, कहिल्यै चुप लागेर नबस्ने । एउटा जिम्मेवारीबाट हट्यो कि अर्को समातिहाल्ने। त्यही स्वभावका कारण उनले क्यानाडा गएर ‘आईडीआरसी’ नामको संस्थामा काम गरेका थिए। श्रीलंकामा गृहयुद्ध उत्कर्षमा छँदा संयुक्त राष्ट्रसंघीय नियोगको आवासीय प्रतिनिधि बनेका थिए।

‘राष्ट्र–परराष्ट्र’ मा राष्ट्रिय राजनीतिका अनेक खिचातानी पनि आउँछन्। माओवादी द्वन्द्वका बेला भारतमा राजदूत छँदा थापाले अनुभूत गरेको दिल्लीको द्वैध नीति पनि छर्लङ्ग हुन्छ । किताबमा उनले नेपाल-भारत सम्बन्धमा सदाबहार अविश्वास एवं तूष रहिरहनुका केही पाटोबारे पनि चर्चा गरेका छन्। त्यसको उद्गम समेत उनले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई ठह¥याएका छन्, जसलाई पुनरावलोकन गर्न गठित द्विदेशीय समिति ‘ईपीजी’ले संयुक्त रूपमा तयार पारेको सहमतीय प्रतिवेदनलाई भारतीय पक्षले अझै स्वीकार गर्न नचाहेको विडम्बना पनि उनले पोखेका छन्।

थापा पढाइले अर्थशास्त्री भए पनि चिनारीले कूटनीतिज्ञ बढी हुन् । पुस्तकमा पनि उनको कूटनीतिक अवतार प्रकट भएको छ। पढ्दै जाँदा कतिपय प्रसंग स्वाट्टै रोकिएको वा मोडिएको भान हुन्छ। ठाउँ-ठाउँमा लाग्छ— अलि खुलिदिए हुन्थ्यो नि ! तर लेखकले केही घटनाक्रमलाई सांकेतिक र प्रतीकात्मक रूपमै छाडेका छन्। आफू संलग्न कतिपय मामिलामा त प्रवेश नै गरेका छैनन् । तथापि जेजति खुलेका छन्, त्यो गजब छ। त्यसैले किताबलाई पठनीय र रोचक बनाएको छ। 

केही ठाउँमा तथ्यगत त्रुटिहरू भएका छन्। जस्तैः अष्ट्रियाबाट अमेरिका गएकी हेलिन भन्डामलाई अष्ट्रेलियाबाट गएको उल्लेख छ (पृ.१३९)। श्रीलंकाका रनिल विक्रमासिंघे मारिएको भनिएको छ (पृ.२०५)। त्यो सत्य होइन, उनी अहिले श्रीलंकाका राष्ट्रपति छन् । त्यसैगरी पृ.२१८-१९ मा उल्लिखित माओवादी आक्रमणको घटना शायद होलेरीको होइन । यदि होलेरीकै हो भने त्यहाँ चर्चा गरिएका राजा वीरेन्द्र त्यसबखत मारिइसकेका थिए । मेरो विचारमा त्यो विवरण डोल्पाको दुनै घटनासँग सम्बन्धित हो। यस्ता त्रुटिहरूलाई आउँदो संस्करणमा सच्याउन जरूरी देखिन्छ। 

बाँकी त किताब सरर्र बगेको छ । यसमा सहलेखक हरिबहादुर थापाको मिहिनेत राम्रोसँग झ्ल्कन्छ। यो पुस्तक भेषबहादुर थापाको आत्मकथा मात्र होइन, नेपाली कूटनीतिको ‘गाइडबूक’ पनि हो। त्यसैले परराष्ट्र र राजकीय मामिलामा चासो राख्ने जो-कोहीलाई उपयोगी हुनसक्छ।  

(लेखक/सम्पादक शर्मा, क्षेत्रीय सुरक्षा र कूटनीतिक विषयमा विशेष दखल राख्छन्।)
 

commercial commercial commercial commercial