अतीतको बन्धन होइन, अतीतबाट मुक्ति
हामी केटाकेटीलाई इतिहास र त्यसको प्रभावबाट जोगाउन सक्तैनौं। आज, युक्रेनमा लाखौं परिवारले रूससँगको युद्धमा आफ्नो घर गुमाएका छन्। यस वर्षको गर्मीमा दिल्लीको तापक्रम अचम्मैसँग बढेर ५० डिग्री सेन्टिग्रेड पुगेपछि केटाकेटीलाई स्कूल नपठाएर घरमा राख्नुपरेको थियो, तिनले कैयौं दिनसम्म पढ्न अथवा खेल्न पाएका थिएनन्। खानेकुराको मूल्य आजभोलि विश्वभरि नै अकासिएको छ, जसका कारण दुनियाँभरिका करोडौं केटाकेटी भोकबाट पीडित छन्। आजका यी घटना भोलिका लागि इतिहास हुन्। त्यसैले, भोलिको पुस्ताले यी ठूला प्रश्नको सामना गर्नु अपरिहार्य छः युद्ध किन भइरहेका छन् ? प्रकृतिमा हाम्रो स्थान वा हैसियत के हो ? पैसा के हो र त्यो किन यति महत्वपूर्ण छ ?
यी प्रश्न वयस्कका लागि पनि महत्वपूर्ण छन्। तर, यस्ता प्रश्नलाई वयस्कहरू भन्दा केटाकेटीले गम्भीरतासाथ लिन्छन्। उनीहरू त्यस्ता कुरामा प्रश्न उठाउँछन्, जसलाई वयस्कले खासै महत्व दिंदैनन्। वयस्कले लापरवाही साथ दिएको जवाफमा जब कुनै केटाकेटीले गम्भीरतासाथ ‘किन ? कसरी ?’ भन्न थाल्छ, त्यसवेला वयस्कलाई झवाँक चल्न सक्छ । तर, यस क्रममा सामान्यतः केटाकेटीहरू घटना–परिघटनाको गहिराइमा पुग्न कोशिश गरिरहेका हुन्छन्, जुन काम वयस्कले धेरै अघि बन्द गरिसकेका हुन्छन् । स्पष्ट छ, तिनको कोशिश जायज छ, परन्तु हामी तिनका प्रश्नलाई गम्भीरतासाथ नलिएर उनीहरूमाथि अन्याय गरिरहेका छौं।
इतिहास मात्र होइन, झूटो इतिहास र कपोलकल्पित मिथकबाट पनि हामी केटाकेटीलाई जोगाउन सक्दैनौं । उनीहरूमाथि कलिलै उमेरदेखि मिथक र असत्य सूचनाको हमला हुन थाल्छ । ताजा घटनाहरूका बारेमा मात्र होइन, मानव–इतिहासकै आधारहरूका बारेमा पनि। जस्तै– हामी को हौं, कहाँबाट आयौं र आजको अवस्थामा कसरी आइपुग्यौं ?
उदाहरणका लागि, मेरो आफ्नै मुलुक इजरायलका स्कूले बच्चाहरू (Neanderthals) (आदिमानवको एक जाति) का बारेमा जान्नुभन्दा धेरै पहिले नै ‘गार्डन अफ ईडन’को मिथक बारे ‘जानकार’ भइसकेका हुन्छन्। यसैगरी, रूसका बच्चाहरूले युक्रेनमाथिको हमला र त्यसको परिणामस्वरूप पैदा भएको खाद्यान्नको वैश्विक संकट बारे थाहा पाउनुको सट्टा अनेक ऐतिहासिक आख्यान तथा मिथकबाट आफ्नो दिमाग भरिसकेका हुन सक्छन्। स्पष्ट छ, यसले भोलि आफ्ना सामु अनिवार्यतः उपस्थित हुने ठूला प्रश्नहरूको सामना गर्न तिनलाई सक्षम बनाउँदैन।

केटाकेटीलाई कपोलकल्पित आख्यान र मिथकहरूका भरमा छोडिदिने हो भने तिनले हालिदिएका धारणाहरूलाई आफ्नो दिमागबाट निकाल्न उनीहरूलाई मुश्किल मात्र होइन, कहिलेकाहीं त असम्भव नै हुन जान्छ। त्यसैले, हामीले ठूला र महत्वपूर्ण विषयमा केटाकेटीसँग आस्था एवं मिथकहरूको सट्टा साक्ष्य र प्रमाणमा आधारित वैज्ञानिक एवं जिम्मेदारीपूर्ण तरीकाले खुलेर कुरा गर्नु जरूरी छ। यो यस्तो चुनौती हो, जोसँग म स्वयं पनि केटाकेटीका लागि विश्वको इतिहास लेख्ने क्रममा जुध्ने गर्थें।
यस क्रममा मैले के अनुभव गरें भने, केटाकेटीका निम्ति ठूला र महत्वपूर्ण विषयमा लेख्नु अथवा कुरा गर्नु ज्यादै संवेदनशील कार्य हो। इतिहासमा कतिपय विषय निकै रमाइला र निरापद हुन्छन् जसबारे ढुक्कसँग लेख्न सकिन्छ। जस्तै, पाषाण युगका फिरन्ते– शिकारीहरूको जीवनशैली र दिनचर्या– जुनवेला मानिस रूख अथवा गुफामा बस्थे र तिनका केटाकेटी रूख चढ्न, जनावरहरू खोज्न र आगो बाल्न सिक्दै दिन बिताउँथे। तर अरूखाले विषय निकै चुनौतीपूर्ण हुन्छन्, जसबारे लेख्न निक्कै माथापच्ची गर्नुपर्छ। जस्तै, सेपियन (sapiens) हरूको ‘निएन्डरथल’हरूसँग भेट हुँदा के कस्ता घटना व्यवहार भए ? सेपियन आमा र निएन्डरथल बाबुबाट जन्मेको बच्चाको जीवन र दिनचर्या कस्तो थियो ? किनभने, यस सम्बन्धी चर्चाले जातिवाद, युद्ध, सामूहिक नरसंहार र प्रजातिहरूको विलोप जस्ता विषयतर्फ डो¥याउँछ । अलिकति ढंग पुगेन कि केटाकेटीको दिमाग गलत दिशातिर अभिमुख हुने खतरा हुन्छ ।

इतिहासका यस्ता अँध्यारा पक्षका बारेमा चर्चा गर्नु अत्यन्त आवश्यक पनि छ। परन्तु, यस्ता कुरा सुनेर, थाहा पाएर केटाकेटीहरूको मन आतंकित नहोस् भनेर कसरी सुनिश्चित गर्ने ? यसका निम्ति एउटा मार्गदर्शक सिद्धान्त चाहिं के हो भने, इतिहासमा भएका आतंकको स्पष्ट वर्णन तबसम्म नगर्ने जबसम्म ‘श्रोता’ यसलाई राम्ररी पचाउन सक्ने गरी परिपक्व भएको नहोस्। अर्थात्, केटाकेटी अलिक परिपक्व भएपछि मात्र यस्ता विषयको खुलस्त चर्चा तिनका सामु पस्कने। त्यसभन्दा अघिसम्म, र अरूवेला पनि आतंक, अन्याय र निकृष्ट व्यवहारको विस्तृत वर्णनको सट्टा त्यस्ता अवस्थाबाट उम्कन र परिस्थितिमा परिवर्तन गर्न मानिसहरूले गरेको प्रयास तथा त्यसको सुपरिणामतर्फ बढी जोड दिने। यो कुनै इच्छित चिन्तन अथवा आग्रह नभएर इतिहासको सार हो। आखिर, इतिहास भनेको विगतको अध्ययन मात्र अथवा युद्ध, विनाश र राजाहरूको विवरण मात्र होइन । इतिहास त परिस्थितिहरू कसरी बदलिन्छन् भन्ने कुराको अध्ययन हो।
हामीलाई यो दुनियाँ सधैं यस्तै थियो, यहाँका समस्या यस्तै थिए र मानिसहरू पनि यसैगरी बस्ने गर्थे भन्ने लाग्छ भने आजभोलि हामीले बेहोरिरहेका समस्याको कुनै समाधान छैन र परिवर्तन असम्भव छ भन्ने लाग्नु नितान्त स्वाभाविक हो। परिस्थिति निकै अन्यायपूर्ण छ भने पनि आखिर हामी के गर्न सक्छौ र ? यो दुनियाँ यस्तै हो- हामी आफैंसँग भनिरहेका हुन्छौं। तर इतिहासको अध्ययन गर्दा हामीले थाहा पाउँछौं- आज हामी जसरी बसिरहेका छौं, मानिसहरू यसैगरी बस्तै आएका होइन रहेछन्। दुनियाँ आज जस्तो छ, सधैं यस्तो रहेनछ। यो बदलिंदै आएको रहेछ, बदलिइरहेको रहेछ र बदलिन सक्ने रहेछ । आज दुनियाँ जस्तो छ, त्यसलाई मानिसहरूले बनाएका रहेछन्, त्यसैले मानिसहरूले यसलाई बदल्न सक्ने रहेछन्; हामी बदल्न सक्ने रहेछौं। निश्चय पनि, यो कुनै सजिलो काम होइन तर यो काम पहिले कैयौं-कैयौं पल्ट गरिसकिएको छ।
यसैकारण इतिहास यति शक्तिशाली छ। यसले यो दुनियाँ बदलेको साँचो हो । यही भएर कैयौं ठाउँमा सरकारहरू इतिहासबाट डराउँछन्। नेताहरू शायदै कहिल्यै मानिसलाई गणित अथवा भौतिकशास्त्र पढ्न रोक लगाउँछन्। तर, धेरै ठाउँका सरकार मानिसलाई, खासगरी युवाहरूलाई इतिहासका कुनै न कुनै अंश पढ्न दिंदैनन्। यो खुराफात आजको मात्र होइन। हजारौं वर्ष अघि पृथ्वीमा शासन गर्ने राजाहरूकै जमानादेखि चल्दै आएको हो । तिनको प्रेत आज पनि क्रियाशील छ, जसले हाम्रो दिमागलाई अठ्याउँछ र परिवर्तनलाई रोकिदिन्छ।
धेरै पहिले मास छर्न गइसकेका ती राजाहरूले नै देउता, राष्ट्र, पैसा र प्रेमका बारेमा नानाभाँतिका किस्सा तयार पार्न लगाएर तिनको प्रचार–प्रसार गरेका थिए, जसमाथि आज पनि धेरै मानिस विश्वास गर्छन्। त्यसै अनुसार सोच्छन् र व्यवहार गर्छन्। यस्ता किस्साबाट आफ्नो दिमागलाई मुक्त गराउन र व्यवहार परिवर्तन गर्न तिनको निर्माण कसरी भयो र जन–जनसम्म प्रचार-प्रचार कसरी गरियो भनेर हामीले बुझनु जरूरी छ। यो काम गरेनौं भने ती केवल किस्सा मात्र हुन् भन्ने बुझन कहिल्यै सक्नेछैनौं । केटाकेटीले सोध्ने ‘किन ?’ भन्ने प्रश्न नै त्यो शक्ति हो, जसले यी पुराना किस्साको जग हल्लाउन सक्छ।

इतिहासका आतंक कम उमेरका केटाकेटीको दिमागमा हाल्नबाट जोगिनुका साथै हामीले उनीहरूमाथि आफ्नो जिम्मेवारीको बोझ् हालिदिनबाट पनि जोगिनुपर्छ। हामीले समाधान गर्नुपर्ने, समाधान गर्न चाहेका, अथवा समाधान गर्न नसकेका समस्याको समाधान केटाकेटीले गरिदिनुपर्छ भन्ने अपेक्षा गर्नु वयस्कहरूको ‘नियम–पुस्तिका’ को सबैभन्दा पुरानो ‘पाप’ हो। त्यसैले, केटाकेटीसँग ठूल्ठूला विषयमा कुरा गरिरहँदा, र यसो गर्नुपर्छ– उसो गर्नुपर्छ भनेर कुरा जोतिरहँदा हामीले आफैंलाई बारम्बार सोधिराख्नुपर्ने प्रश्न हो- हामीले चाहिं त्यसो किन नगरेको ?
यो दुनियाँको हरेक व्यक्ति एउटा बडेमानको भारी बोकेर हिंडिरहेको छ । युवाहरूलाई इतिहास पढाउँदा हामी प्रायः आफ्नो त्यो भारी तिनका काँधमा हालिदिन खोज्छौं । हामी चाहन्छौं, युवाहरू ती विश्वास, स्मृति, पहिचान र द्वन्द्वहरूलाई बोकेर अघि बढुन्, जसको भारी हामी जिन्दगीभरि बोक्तै आइरहेका छौं। ‘हेर बाबु हो, यी चीजहरूलाई आजसम्म मैले बोक्तै ल्याएँ, अब तिमीहरूको पालो !’
यो नाजायज कृत्य हो । इतिहास पढाउनुको एउटा राम्रो उद्देश्य केटाकेटीलाई कम्तीमा केही डर, केही भ्रम र केही घृणाहरूबाट मुक्त गर्नु हो । हाम्रो मनोभाव हुनुपर्छः ‘यी कुराहरूलाई देखिरहेका छौं ? म वर्षौंदेखि यिनमा फँसेको छु र यिनले मलाई दयनीय अवस्थामा जाकेका छन्। होश गर है, तिमीहरू चाहिं यस्ता कुरामा नअल्झ्निु नि !’
इतिहास मानिसलाई बन्धनमा पार्ने होइन, बन्धनबाट मुक्त गर्ने साधन बन्नुपर्छ। यस्तो साधन, जसले पुराना द्वन्द्व र पूर्वाग्रहहरूलाई चिरस्थायी बनाउनुको सट्टा नयाँ सामञ्जस्य र समन्वय निर्माण गर्न मदत गरोस्। अन्ततः इतिहास पढ्नुको सार्थकता अतीतलाई सम्झी बस्नुमा होइन, त्यसबाट मुक्ति पाउनुमा छ।
जेरुसेलम (इजरायल)को हिब्रू विश्वविद्यालयका प्राध्यापक हरारीका दुई पुस्तक ‘सेपियन्सः अ ब्रीफ हिस्ट्री अफ ह्युमन काइन्ड’ र ‘होमो डेयसः अ ब्रीफ हिस्ट्री अफ टुमारो’ ले अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेका छन् ।
‘द गार्जियन’ (१८ अक्टुबर २०२२) मा प्रकाशित यो आलेख ‘शैक्षणिक सन्दर्भ’ (जनवरी–फरवरी २०२३) बाट साभार गरिएको हो ।
भाषान्तर: शरच्चन्द्र वस्ती



