विद्यालयको आन्तरिक सक्षमता अर्थात् गुदीको विश्लेषण

सक्षमता शब्दले क्षमता, योग्यता, सामथ्र्य, शक्ति आदि भन्ने जनाउँछ। सक्षमता भनेको सङ्गठनको कार्यसूचीलाई कार्यान्वयन र अपेक्षित उपलब्धि हासिल गर्ने क्षमता हो। विद्यालयको शैक्षिक मूल्य-मान्यतालाई सही रूपमा अपनाउन आवश्यक पर्ने योग्यताको स्तर नै विद्यालयको सक्षमता हो। विद्यालयको आन्तरिक सक्षमता (internal efficiency) भनेको विद्यालयको भित्री गुण (quality) अर्थात् गुदी कुरा हो। विद्यालयमा विद्यार्थी भर्ना हुन आउने/नआउने, विद्यालयमा दिनभरि र वर्षभरि विद्यार्थी टिक्ने/नटिक्ने, विद्यार्थीले सिक्नै पर्ने कुरा सिकाउने/नसिकाउने र विद्यार्थीले बीचमै पढाइ छाड्दा योग्यता अनुसार जीवन निर्वाह गर्न सक्ने/नसक्ने वा पढाइ नछाडी उच्च शिक्षा पूरा गर्दा उनीहरूले हासिल गरेको शैक्षिक योग्यता अनुसारको उपयुक्त रोजगारी पाउन सक्ने/नसक्ने जस्ता सूचकहरूले विद्यालय कत्तिको सक्षम र गुणस्तरीय छ भन्ने कुरा बताउँछ। यस्ता सूचक जति बलिया भए विद्यालयको आन्तरिक सक्षमता पनि त्यति नै बढी हुन्छ।

आन्तरिक सक्षमताका महत्व 
विद्यालय एक प्रकारको सङ्गठनात्मक प्रणाली हो। विद्यालयलाई आन्तरिक रूपमा सक्षम बनाउन लगानी (input) उपलब्ध गराइन्छ। अपेक्षित उपलब्धि हासिल गर्न/गराउन उपलब्ध लगानीलाई परिचालन गर्ने प्रक्रिया (process) हरू पूरा गरिन्छ र अन्त्यमा विद्यालयले केही प्रतिफल/उत्पादन (output) दिन्छ। त्यसैले विद्यालयको आन्तरिक सक्षमतालाई निम्न तीन वटा तत्वका आधारमा विश्लेषण गर्न सकिन्छः
क.    लगानी सँग सम्बन्धित आन्तरिक सक्षमताको महत्व , 
ख.    प्रक्रिया सँग सम्बन्धित आन्तरिक सक्षमताको तत्व र; 
ग.    प्रतिफलसँग सम्बन्धित आन्तरिक सक्षमताको तत्व ।

क. लगानीसँग सम्बन्धित आन्तरिक सक्षमताको तत्व 
१. शिक्षक र कर्मचारीको संख्याः विद्यालयमा उपलब्ध शिक्षक र विद्यालय कर्मचारीको संख्या विद्यालयको आन्तरिक सक्षमताको एउटा आधार हो। शिक्षकको प्रकार र संख्या विद्यालय प्रणालीका लागि लगानी हो। शिक्षा नियमावलीको नियम ९२ सँग सम्बन्धित अनुसूची-१२ मा पूर्व प्राथमिक विद्यालयमा एक जना, ५० जनासम्म विद्यार्थी भएको आधारभूत विद्यालयमा कम्तीमा २ जना, आधारभूत (कक्षा १-८) विद्यालयमा कम्तीमा ७ जना, माध्यमिक विद्यालय (कक्षा ९-१२) मा ८ जना र कक्षा ९–१० चलेको विद्यालयका लागि १० जना शिक्षक तोकिएको छ। सो अनुसूचीमा शिक्षकको तहगत शैक्षिक योग्यता पनि तोकिएको छ। विद्यालयले शैक्षिक योजना बनाउँदा उपलब्ध शिक्षक संख्याको स्थिति दर्शाउने गरी विद्यालयको आन्तरिक सक्षमताका सूचक निर्धारण गर्नुपर्दछ। यस्ता सूचक समेटिएको तथ्याङ्क विद्यालयको योजना र वार्षिक प्रतिवेदनमा आउनुपर्दछ। विद्यालयमा शिक्षक-विद्यार्थी संख्याको अनुपात र महिला-पुरुष शिक्षकको संख्याको अनुपात शिक्षकको उपलब्धताको स्थिति जनाउने सूचकहरू हुन्। नियमावलीको नियम ७७ ले विद्यालयको प्रत्येक कक्षामा तराईमा ५०, पहाडमा ४५ जना र हिमाली क्षेत्रमा ४० जना विद्यार्थी संख्या हुनुपर्ने तोकेको छ। विद्यालयमा हुनुपर्ने तहगत र विषयगत शिक्षक संख्या पनि किटान गरिदिएको छ। विद्यालयमा शिक्षक विद्यार्थीको अनुपात र तहगत शिक्षक अनुपात मापदण्ड भन्दा जति घटी वा बढी भयो, त्यति नै शैक्षिक क्षति बढ्ने सम्भावना हुन्छ।

२. विद्यार्थी संख्या, भर्ना हुने उमेर र कक्षा चढाउने व्यवस्थाः विद्यालयमा विद्यार्थीको भर्ना- विद्यालय प्रणालीको लागि लगानी हो। शिक्षा नियम ७८ को उपनियम (६) मा ५ वर्ष उमेर पूरा नभएकालाई एक कक्षामा भर्ना नगरिने प्रावधान छ। १४ वर्ष उमेर पूरा नभएकालाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा समावेश नगर्ने उल्लेख छ । नियमावलीको ७८ देखि ८३ सम्मका नियमहरूमा विद्यार्थी विद्यालयमा भर्ना हुने व्यवस्था उल्लेख छ। उक्त आधारमा विद्यालयको भर्ना सम्बन्धी सूचक बनाई तालिकामा चढाउन सकिन्छ। खुद भर्ना दर र कुल भर्ना दर विद्यार्थी भर्नाका सूचक हुन्। विद्यालयले कुल भर्ना दर कम गरी खुद भर्ना दर बढाउन ध्यान दिनुपर्छ। कुल भर्ना दर बढी भएमा विद्यालयमा कक्षा दोहो¥याउने, पढाइ छाड्ने, कक्षामा सिकाइ गति र क्षमता असमान हुन गई शिक्षकलाई पठनपाठन गराउन कठिन हुनसक्छ । अर्थात् कुल भर्ना दर बढी हुनु भनेको शैक्षिक क्षति बढ्नु हुनसक्छ। अर्को शब्दमा, बालबालिकाको शिक्षादीक्षामा शैक्षिक क्षति बढ्नुको एउटा कारण कुल भर्ना दर बढ्दै जानु र खुद भर्ना दर कम हुनु पनि हो। विद्यालयको आन्तरिक सक्षमतामा सुधार गर्न खुद भर्ना दरलाई बढाउनुपर्छ।

३. भौतिक सुविधाको अवस्थाः विद्यालयलाई आन्तरिक तथा बाह्य रूपमा सक्षम बनाउनका लागि विद्यालयमा भौतिक सुविधाले मेरुदण्ड र अस्थिपञ्जरको काम गर्दछ। विद्यालयमा सबभन्दा बढी लगानी यसै पक्षमा गर्नुपर्दछ। यस अवस्थामा विद्यालयमा रहेका भौतिक संरचनाहरू अवरोधमुक्त, अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी भए/नभएको रुजु गरिन्छ । विद्यालयमा रमणीय परिसर, सुरक्षित खेल मैदान, सफा र व्यवस्थित कक्षाकोठा, पानी सहितको लैङ्गिकमैत्री शौचालय, सूचना-प्रविधिमैत्री विद्यालय वातावरण, पुस्तकालय, व्यवस्थित र विषयगत प्रयोगशालाहरूको पर्याप्तता, मर्मतसम्भारको व्यवस्था आदिका आधारमा सूचकहरू निर्माण गरी विश्लेषण गरिन्छ। विद्यालयमा भएका भौतिक सुविधाले कुन कुन सूचकमा सुधार ल्याउन र विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न, टिकाउन र सिकाउन के कस्तो सहयोग पुर्‍याए भन्ने कुराको विगतका वर्षहरूसँग तुलना गर्न सकिन्छ।

ख. प्रक्रियासँग सम्बन्धित आन्तरिक सक्षमताको तत्व 

१. विद्यालय सञ्चालनको अवस्थाः विद्यालय खुलेको दिन, पठनपाठन भएको दिन, विद्यार्थीको औसत उपस्थिति दिन, शिक्षकले पठनपाठन गर्न÷गराउन कक्षामा बिताएको समय, शिक्षकको वार्षिक उपस्थिति दिन आदिले विद्यालयको सञ्चालन अवस्था देखाउँछ। विद्यालय सञ्चालनको अवस्थाले विद्यालय शिक्षा प्रणालीको प्रक्रिया ९उचयअभकक० लाई बुझउँछ । त्यसैले विद्यालयको सञ्चालन अवस्था पनि विद्यालयको आन्तरिक सक्षमता जनाउने एउटा आधार हो । शिक्षा नियमावलीको नियम १०६ अनुसार शिक्षकले वार्षिक १२ दिन बिरामी बिदा, ६ दिन पर्व र ६ दिन भैपरी बिदा पाउने व्यवस्था छ । सुविधाका रूपमा शिक्षकलाई किरिया बिदा, सुत्केरी बिदा, सुत्केरी स्याहार बिदा, अध्ययन बिदा आदिको व्यवस्था गरिदिएको छ । विद्यार्थीले बिदा लिन विद्यालयबाट पूर्व स्वीकृति लिनुपर्ने प्रचलन छ । 

शिक्षकलाई तोकिएको दैनिक कार्यतालिका अनुसार उसले पूरा समय कक्षाकोठामा पठनपाठन कार्य गरी बिताउनुपर्ने प्रावधान छ । नियमावलीको नियम ८५ ले नेपाल सरकारले सार्वजनिक बिदा तोकेको दिन, बडादशैंको घटस्थापनादेखि पूर्णिमा, ४५ दिनको बर्खे बिदा वा हिउँदे बिदा र ५ दिन स्थानीय बिदाका दिन विद्यालय बन्द हुने व्यवस्था गरेको छ । नियम ८४ को उपनियम (५) अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय चल्नुपर्छ । उपनियम (६) मा हप्तामा कम्तीमा २४ पिरियड पठनपाठन गराउनुपर्ने र उपनियम (७) मा तोकिएको पाठ्यभारमा नघट्ने गरी विद्यार्थी संख्याको आधारमा एकै दिनमा एकभन्दा बढी समय (सिफ्ट) मा कक्षा सञ्चालन गर्न सक्ने उल्लेख गरिएको छ । विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप, २०७६ को बुँदा नं. ४.५.४ को खण्ड (क), उपखण्ड २ मा विद्यालय तहका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा २०५ दिन पठनपाठन सञ्चालन गर्नुपर्ने र कक्षा १ देखि ३ सम्म वार्षिक ८३२ कार्यघण्टा, कक्षा ४ देखि १० सम्म वार्षिक १०२४ कार्यघण्टा र कक्षा ११ र १२ मा ८२४ कार्यघण्टादेखि बढीमा १०२४ कार्यघण्टा पठनपाठन गर्नुपर्ने उल्लेख छ ।

विद्यार्थीको सिकाइ उपलब्धिमा विद्यालय सञ्चालन अवस्थाले प्रभाव पारेको हुन्छ । विद्यालय सञ्चालन अवस्था जति सुदृढ भयो विद्यार्थीको सिकाइ उपलब्धि त्यति नै बढी हुन्छ । अर्थात् विद्यालय खुलेको दिन, पठनपाठन भएको दिन, विद्यार्थीको औसत उपस्थिति दिन, शिक्षकले पठनपाठन गर्न÷गराउन कक्षामा बिताएको समय र शिक्षकको वार्षिक उपस्थिति दिनमा सुधार गरियो भने विद्यार्थीको सिकाइ उपलब्धिमा पनि बढोत्तरी हुनसक्छ । त्यसैले विद्यालयले उक्त सबै नीतिगत प्रावधानहरूलाई समेटी विद्यालय सञ्चालन अवस्थाको मापदण्ड र यथार्थ स्थिति खुल्ने सूचक सहितको आन्तरिक सक्षमता दर्शाउने तालिका बनाउनुपर्दछ ।

२. विद्यालयको व्यवस्थापकीय प्रबन्धः विद्यालयको व्यवस्थापकीय पक्ष भनेको विद्यालयमा रहनुपर्ने विद्यालय संयन्त्र र कार्यक्रमको गठन र सञ्चालन हो । विद्यालयको व्यवस्थापकीय प्रबन्धमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावकको गठन र बैठक, विषयगत शिक्षक समितिको गठन र भूमिका निर्वाह, अभिभावक भेला र सामाजिक परीक्षण, विद्यालयको आर्थिक लेखा परीक्षण, बालक्लबको गठन र सक्रियता, शिक्षक–कर्मचारी बैठक, विद्यालयमा भौतिक सुविधाको व्यवस्था, विद्यालयका योजनाहरूको निरन्तर रूपमा सहभागितामूलक निर्माण र अद्यावधीकरण, अनुगमन, सुपरीवेक्षण र पृष्ठपोषण, विद्यार्थीको स्वास्थ्य परीक्षण, जुकाको औषधि र आइरन चक्की वितरण, दिवा खाजाको व्यवस्था आदि कार्यहरूले विद्यालयको व्यवस्थापकीय पक्ष सुदृढ छ भन्ने दर्शाउँछ । व्यवस्थापकीय पक्षका सूचकहरूमा देखिएको तथ्याङ्क विवरणको सम्बन्धका आधारमा विद्यालयको आन्तरिक सक्षमताको स्थिति विश्लेषण गर्न सकिन्छ । त्यसैले विद्यालयलाई प्रभावशाली बनाउन विद्यालयको व्यवस्थापकीय प्रबन्धको स्थितिलाई विद्यालयको योजनामा समावेश गर्नुपर्दछ । यसबाट विद्यालय प्रभावकारितामा कुन–कुन पक्षहरूबाट कति–कति योगदान पुग्यो त भन्ने कुराको लेखाजोखा गर्न सकिन्छ ।

ग. प्रतिफलसँग सम्बन्धित आन्तरिक सक्षमताको तत्व 
१. विद्यार्थीको सिकाइ उपलब्धिः विद्यार्थीको सिकाइ उपलब्धि विद्यालयको आन्तरिक सक्षमता जनाउने मुख्य पक्ष हो । सिकाइ उपलब्धिले विद्यालय प्रणालीको प्रतिफल ९यगतउगत० लाई जनाउँछ । विद्यार्थी र शिक्षक विद्यालयका निम्ति लगानी ९ष्लउगत० पक्ष हुन् । विद्यालयमा भएको लगानीको प्रतिफलको स्तरले विद्यालय आन्तरिक रूपमा कति सक्षम छ भन्ने जनाउँछ । तर प्रतिफल गुणस्तरीय बन्नका लागि लगानी (शिक्षक, विद्यार्थी, पठनपाठनका सामग्री र कक्षाकोठा) पनि गुणस्तरीय हुनुपर्दछ । आवधिक परीक्षा (लिखित तथा प्रयोगात्मक), आधिकारिक मूल्याङ्कन (जस्तैः दैनिक उपस्थिति, पठनपाठन, गृहकार्य, परियोजना कार्य, अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता आदि) सिकाइ उपलब्धि परीक्षण र मापन गर्ने साधन हुन् । 

लेटर ग्रेडिङ निर्देशिका, २०७८ को निर्देशन नं.७ ले उत्तरपुस्तिकाको परीक्षण र अङ्कनबाट पाइएको नतिजालाई ग्रेड र जीपीएमा रूपान्तर गरिने उल्लेख गरेको छ । उक्त निर्देशिकाको नं.६ मा उपलब्धि प्रतिशतलाई स्तरीकृत अङ्क र अक्षरमा उपलब्धि स्तर तथा उपलब्धि स्तरको व्याख्या सहित ग्रेड निर्धारण गर्ने तालिका दिइएको छ । विद्यालयले त्यस्तो नतिजाको मिन, मेडियन र मोड जस्ता तथ्याङ्क गणित प्रयोग गरी प्राप्ताङ्क र नतिजाको विश्लेषण र व्याख्या गर्नुपर्दछ । यसले सही रूपमा विद्यार्थीको पढाइ लेखाइ र शिक्षकको शिक्षण विधि सम्बन्धमा समुचित मार्ग निर्देशन गर्दछ । यस प्रकारका सूचकहरूलाई विद्यालयको योजना र प्रतिवेदनमा समावेश गर्नुपर्दछ । नतिजाको विश्लेषणले पठनपाठन र मूल्याङ्कनमा कमी–कमजोरी भएका कारण के–कति शैक्षिक क्षति भइरहेको छ भन्ने पत्ता लगाउन सहयोग पुग्छ । 

२. आम्दानी र खर्चको स्थितिः विद्यालयको चल, अचल सम्पत्ति र शैक्षणिक प्रक्रिया (योजना, शिक्षण र मूल्याङ्कन) मा गरिएको लगानी र त्यसको परिचालनको वार्षिक हिसाबकिताब विवरणले विद्यालयको आम्दानी र खर्चको स्थिति देखाउँछ । यसले विद्यालयको आर्थिक पक्षको प्रतिफल जनाउँछ । शिक्षा नियमावलीको नियम १७० मा सबै किसिमका विद्यालयले विद्यालयको आयव्ययको लेखा राख्नुपर्ने र त्यस्तो लेखाको कागजात प्रमाणित गराई राख्ने र राख्न लगाउने जिम्मेवारी प्रधानाध्यापकलाई तोकेको छ । यसबाट विद्यालयलाई प्राप्त भएको आर्थिक आम्दानीको कति प्रतिशत विद्यालय योजनामा, कति प्रतिशत शैक्षिक सामग्री सङ्कलन र प्रयोगमा खर्च भयो, कति प्रतिशत खर्च अतिरिक्त क्रियाकलापमा, कति प्रतिशत आधिकारिक मूल्याङ्कन र आवधिक परीक्षामा खर्च भयो भन्ने कुरा थाहा लाग्छ । 

शुद्ध शैक्षिक क्रियाकलापका लागि प्रतिविद्यार्थी लागत कति छ, कुल लगानीको कति प्रतिशत शुद्ध शैक्षिक प्रक्रिया ९उचयअभकक० मा खर्च भएको छ भन्ने सूचकले विद्यालयमा गरिएको लगानीको प्रभावकारिता देखाउँछ । यसैगरी, शिक्षक कर्मचारीको तलब भत्ता, कक्षाकोठा सुधार, खानेपानी र सरसफाइ, पानी सहितको सफा शौचालय जस्ता शीर्षकमा भएको खर्चको तुलनात्मक अध्ययन र विश्लेषणले विद्यालयको आन्तरिक क्षमताको स्थितिलाई जनाउँछ । विद्यालयको आयव्ययको विवरणका आधारमा विद्यालयको वार्षिक आम्दानी र खर्चबीचको तालमेलको लेखाजोखा गर्नुपर्दछ । आम्दानी र खर्चको आधारमा विद्यालयमा उपलब्ध आयले विद्यालयको शैक्षिक आवश्यकतालाई के–कति परिपूर्ति गर्न सक्यो र लागत प्रभावकारिताको स्थिति कस्तो रह्यो भन्ने विषयमा तथ्यगत विश्लेषण गर्नुपर्दछ । 

आन्तरिक सक्षमताको स्थिति विश्लेषण
कक्षागत विद्यार्थी विवरण, विद्यार्थीको सिकाइ उपलब्धि विवरण, शिक्षकको उपलब्धता विवरण, विद्यालय सञ्चालन अवस्था, भौतिक सुविधाको अवस्था, विद्यालयको व्यवस्थापकीय प्रबन्ध, शैक्षिक सामग्रीको विवरण र आम्दानी–खर्चको विवरण बारेमा मुख्य समस्या र समाधानका उपायहरू उल्लेख गरी समस्या विश्लेषण सारांश तालिका निर्माण गर्न सकिन्छ । यस्तो तालिकालाई विद्यालय व्यवस्थापन समिति तथा स्टाफ बैठकमा प्रस्तुत गरी विद्यालयको शैक्षिक र भौतिक सुधारका विषयमा आवश्यक कार्यप्रयत्न ९ष्लतभचखभलतष्यल० गर्न सकिन्छ ।

निष्कर्ष
खासमा विद्यालयहरू– लगानी, प्रक्रिया र प्रतिफलकै आधारमा सक्षम बन्ने हो । विद्यालय समग्रमा सक्षम र सबल हुन उसको आन्तरिक सक्षमता बलियो हुनुपर्दछ । विद्यालयको आन्तरिक सक्षमता जति बलियो भयो, विद्यालय त्यति नै प्रभावशाली हुन्छ । शैक्षिक क्षति पनि कम हुन्छ । विद्यालय प्रभावशाली भएपछि पठनपाठन पनि प्रभावकारी हुने नै भयो । त्यसैले विद्यालयले योजना बनाउँदा र कार्यान्वयन गर्दा विद्यालयको आन्तरिक सक्षमताका विभिन्न तŒव र तिनका सूचकहरूलाई विश्लेषण गरी सिकाइ उपलब्धि बढाउन कुन–कुन पक्षको केकस्तो भूमिका रह्यो भन्ने कुराको समीक्षा गर्नुपर्दछ । सुधारका क्षेत्रहरू पहिचान गर्नुपर्दछ । सूचकहरूको आधार लिएर गरिएका कार्यप्रयत्नका फाइदा बेफाइदाहरू अनुमानयोग्य हुन्छन् । व्याख्या विश्लेषण विना गरिएको अनुमानित योजना र कार्यप्रयत्नले अपेक्षित प्रतिफल दिन्छ भन्न सकिंदैन । 

(उपसचिव, शिक्षा प्रशासन)

commercial commercial commercial commercial