रुसरीको रुझानले फक्रिएको बालविकास
कक्षाकोठाका भित्ता बेहुली झैं सिंगारिएका छन्। बालबालिका कोही चिप्लेटी खेलिरहेका छन्। कोही छेउमा रहेका टिभीमा झ्ुम्मिरहेका छन्। केही चाहिं समूहमा ढिकीच्याउँ र बल खेल्नमा व्यस्त छन्। योे दृश्य तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित तालवेसी माध्यमिक विद्यालयको बालविकास केन्द्र (ईसीडी) को हो। यहाँ तोते बोली बोल्दै गरेका चार वर्षका बालबालिकाको कहिले आमा त कहिले साथी बनिरहेकी हुन्छिन् बालविकास शिक्षक रुसरी गुरुङ। रुसरी यसरी बालबालिकासँग खेल्न थालेको ६ वर्ष पुगिसकेको छ। यो केन्द्रमा २० जना बालबालिका छन्।
बाल शिक्षक रुसरी मात्रै होइन, उनको कक्षाकोठा पनि बालमैत्री छ । बालबालिकालाई अक्षरसँग घुलमिल गराउन शैक्षिक सामग्री भित्ताभरि टाँसिएका छन्। खेल्नका लागि खेलसामग्री पनि पर्याप्त छन्। खानेपानी र शौचालयको सुविधा पनि बालबालिका अनुकूलका छन्। शिक्षा संकायमा स्नातक तहमा अध्ययनरत रुसरीले चार महीनाको मन्टेसरीको तालिम पनि लिएकी छिन् ।
तोेते बोलीमै आनन्द
बालबालिका मनपराउने उनले तालिमपछि बालबालिकासँगै रमाउन बालविकास शिक्षक भइन्। उनी भन्छिन्, ‘बालविकासमा जति रमाइलो हुन्छ उत्तिकै चुनौती पनि छ ।’ भर्खरै बोल्न सिकिरहेका बालबालिकाको तोते बोलीमा बोलेका हरेक शब्द सुन्दा रमाइलो लाग्छ। उनको बुझइमा समुदाय, पारिवारिक अवस्था र व्यवहारका कारण हरेक बालबालिकाको स्वभाव फरक हुन्छ। केही बालबालिका आफूलाई दिसापिसाब आएको बताउन सक्दैनन्। त्यस्तो अवस्थामा उनीहरूको व्यवहारबाट आफूले बुझनुपर्ने हुन्छ। त्यस्तै उनीहरूलाई भोक लागेको, निद्रा लागेको पनि उनीहरूले देखाएको क्रियाकलापको आधारमा थाहा पाउनुपर्छ। शुरूमा विद्यालय आउँदा बालबालिकालाई धेरै कुरा नौला लाग्छन्, त्यतिबेला उनीहरूलाई सामान्य र साना–साना कुरा पनि सिकाउनुपर्ने उनले बताइन्।
‘एउटा बालबालिकाले जे खेलिरहेको छ अर्कोले पनि त्यही खोज्छन्’ बालमनोविज्ञान र बालमस्तिष्क व्यवहारमै पढेकी रुसरी भन्छिन्। त्यस्तो अवस्थामा उनले दुवैको भावनाको सम्मान गर्दै व्यवस्थापन गर्नुपर्ने हुन्छ। उनीहरूलाई कक्षाकोठाको माहोलमा घुलमिल हुन, रमाउन दुई तीन महिना लाग्छ । इच्छा वा समस्या व्यक्त गर्न नसक्ने बालबालिकाको स्वभाव र उसले गर्ने क्रियाकलापको आधारमा शिक्षकले बुझनुपर्ने हुन्छ।
बालबालिकाको सर्वाङ्गीण विकासमा मद्दत पुराउने भूमिकामा रहेकोमा गर्व लाग्ने गरेको रुसरी बताउँछिन् । उनले कक्षाकोठामा बाल मनोविज्ञान बुझ्ेर उनीहरूको रुचि अनुसार स्वतन्त्र वातावरणमा खेल्न र सिक्ने वातावरण बनाउने गरेकी छिन्। स्थानीय सरकारको सहयोगमा विद्यालयले बालबालिकालाई आवश्यक धेरै सामग्रीको व्यवस्थापन गरेको छ। शैक्षिक सामग्री शिक्षकहरू मिलेर विद्यालयमा नै बनाउने गरेका छन्। बालबालिकालाई चाडपर्व र मौसम बुझउन चित्र बनाउने जस्ता शैक्षिक सामग्री उनी आफैं पनि बनाउने गर्छिन्।
रुसरीले बालबालिकालाई बोल्ने तरिका र शब्दको अर्थ अनुसार राम्रा र नराम्रा कुरा बीचको अन्तर सिकाउने गरेकी छिन्। उक्त बालविकास केन्द्रमा कपडाको कलर डिजाइनका आधारमा एउटै खालका कपडा लगाएकालाई समूह–समूहमा राखेर समेत रंग र जातीय पोशाक चिनाउने गरिएको छ । त्यस्तै उनीहरूलाई एकअर्कासँग बोल्ने अभ्यास गराउँदा, भित्तामा टाँगिएका अक्षरहरू चिनाउने र बोल्न सिकाउँदा उनीहरूको भाषिक ज्ञान विकासमा टेवा पुगेको उनले सुनाइन् । भनिन्, ‘टिभीमा उनीहरूले ध्यान दिएर हेर्ने, सुन्ने र सिक्ने भएकाले टिभीबाट पनि सिकाउँछु। बौद्धिक विकासका लागि चित्रको पनि प्रयोग गर्ने गरेकी छु।’
खाजाको तालिका जाउलोदेखि खीरसम्म
बिहान साढे नौमा बालबालिका विद्यालय आइपुग्छन् । उनीहरूलाई शुरूमा नै शौचालय लगेर हातखुट्टा सरसफाइ गर्ने र दिसापिसाब लागेको भए त्यो पनि गराइन्छ । चप्पल ¥याकमा राखेर कक्षाकोठामा पस्छन् । पानी पिएर कुसनमा बस्छन् । त्यसपछि उनीहरूको हाजिरी हुन्छ, हिजोको पढाइलाई सारांशमा सम्झ्ेर नयाँ शुरुआत गरिन्छ ।
उनीहरूको हातखुट्टाका नङ हेर्ने, सरसफाइका बारेमा बुझने गरिन्छ । केही समय सिकाइ क्रियाकलापमा सक्रिय गराइन्छ । शौचालय जान्छन् र हातखुट्टा र मुख धोइ फर्किन्छन् । अपराह्न १२ः३० मा विद्यालयमा खाजा खाएर सुत्छन् । बालबालिकालाई खाजाको तालिका अनुसार जाउलो, भुजा तरकारी, अण्डा तरकारी र खीर खुवाइन्छ । दिनको साढे २ बजेको बीचमा अभिभावक बच्चा लिन आइपुग्छन् ।
आफ्नै सन्तान जस्तै व्यवहार
बालबालिकालाई व्यक्तिगत र वातावरणको सरसफाइमा पनि उत्तिकै ध्यान दिइने गर्ने गरेकी छिन् । हरेक आइतबार नुहाइ, धुवाइ गरे÷नगरेको हेरी अभिभावकलाई सुझव दिने गरिन्छ । ग्रामीण भेगमा रहेको उनको बालविकासमा धेरैजसो बालबालिका श्रमिक (न्यून वर्गीय) का छन् । म आफू पनि एक छोराको आमा हुँ सबैलाई आफ्नै सन्तान जस्तै गरी व्यवहार गर्छु, उनले भनिन् । बालबालिकाको भविष्यको जग बसाउने भूमिकामा आफूलाई पाएकोमा उनी त खुशी छिन् नै विद्यालयका प्रधानाध्यापक, शिक्षक सहकर्मी, विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय सरकार उनको भूमिकाप्रति खुशी देखिन्छन् ।



