अङ्ग्रेजी माध्यमको अनिवार्यताः एउटा डरलाग्दो प्रयोग

यो छोटो लेखमा म आफूले अङ्ग्रेजी पढाएका अनुभव अनि नेपालमा अङ्ग्रेजी पढाउने तरिका र भ्रमहरू विषयमा केही लेख्न लागेको छु। यो लामो मीमांसाको विषय हो तर म यस लेखमा केही महत्वपूर्ण तरिका र विचारहरूबारे छलफल गर्छु। यस विषयमा मैले पहिले लेखेका केही लेखहरूको पनि प्रसङ्ग ल्याउँछु। अन्त्यमा मेरो लामो अनुभवको आधारमा केही सल्लाह र धारणाहरू राख्छु। 

नेपालमा स्कूल र कलेज तहमा अङ्ग्रेजी भाषा अनिवार्य रूपमा पढाइन्छ। त्यसको लामो इतिहास छ। अङ्ग्रेजी भाषा पठनपाठन मेरो जीवन र अस्मितासँग जोडिएको छ। म जस्तै यो लाखौं शिक्षकको अनुभव भएको छ। मैले लामो समयसम्म यो भाषा पढाएको कारणले गर्दा मेरा धेरै विद्यार्थी पनि शिक्षक भएका छन् भन्ने कुराले मलाई आनन्द लाग्छ। तर केही समस्या पनि छन्। अङ्ग्रेजी कसरी पढाउने भन्ने पनि एउटा मीमांसाको विषय भएर आएको छ।

केन्द्रीय अङ्ग्रेजी विभागको प्रमुख हुँदा म देशैभरि विश्वविद्यालय तहमा पाठ्यक्रम बनाउने कर्म गर्ने समितिको अध्यक्ष भएँ। कक्षाहरूमा पढाएँ। अनेकौं तहमा पढाएँ। पहिला मैले लेखेको यस विषयका दुई वटा लेखबाट उद्धरणहरू राख्छु अनि यो मीमांसाको खास विषय अङ्ग्रेजी पढाउँदा अङ्ग्रेजी भाषामै पढाउनुपर्छ कि त्यसलाई मूल आधार मानेर नेपालीको अथवा मातृभाषाको पनि प्रयोग गरे हुन्छ कि हुँदैन र त्यसको प्रभावकारिता छ कि छैन भन्ने विषयमा केही निष्कर्ष निकाल्न चाहन्छु। पहिलो भर्खरै अथवा ७ माघ २०७९ को कान्तिपुर  मा ‘अङ्ग्रेजी ज्ञानको नेपाली राजनीति’ शीर्षकमा प्रकाशित यही विषयको मेरो एउटा लेखबाट तलको उद्धरण राख्न चाहन्छु। 

“मैले ५२ वर्ष जति अङ्ग्रेजी भाषा कलेज र उच्च तहमा पढाएँ। कलेजमा अङ्ग्रेजी पढाउँदा शेक्सपियरदेखि लिएर अरू लेखकका साहित्यको आधार राखिन्थ्यो। विद्यार्थीलाई त्यसरी नै अङ्ग्रेजी पढाउँथ्यौं। यी भर्खरै प्रधानमन्त्री भएका प्रचण्डलाई पाटन कलेजमा शेक्सपियरका कथाबाट अङ्ग्रेजी पढाएको हुँ । ती गुरिल्लाका नेता र कम्युनिस्ट दर्शन बोकेका प्रचण्डले मैले पढाएको अङ्ग्रेजीको माध्यम बनाएर ज्ञानको राजनीति गरे भन्ने कुरा सम्भव छैन। यो एउटा वाचाल उदाहरण हो । अरू धेरैलाई अङ्ग्रेजी भाषा त्यसरी नै पढायौं।

म अहिले पनि विद्यावारिधि वा एमफिल तहमा केही कक्षाहरू लिंदैछु। अङ्ग्रेजी भाषाको केन्द्रीय विभागमा ‘हेड’ भएँ। नेपालमा अङ्ग्रेजी भाषाको उच्च तहमा कस्तो पाठ्यक्रम पढाउने भन्ने कुराको नीति र संरचना बनाउने क्रममा संलग्न भएँ। विद्वान् साथीहरूसँग काम गरें। अङ्ग्रेजी विषयको नीति र पठनपाठनको यति लामो समयसम्म काम गर्ने र गरिआएको मेरो अङ्ग्रेजी भाषा र यसको ज्ञान प्रसंगसँग गहिरो सम्बन्ध छ। तर मूल कुरा अर्को छ। मैले अङ्ग्रेजी कुनै उच्च खर्चिला स्कूलहरूमा पढिनँ। उतै तेह्रथुमका स्कूलहरूमा पढें। स्कूल विदामा आमाको आदेशले गोठालो हुँदा चरिरहेका भैंसीको ढाडमा बसेर अङ्ग्रेजीका किताब पढ्थें। त्यसरी रूसी उपन्यासकार दोस्तोएभ्स्कीको ‘ब्रदर्स कार्माजोभ’ भन्ने उपन्यास निकै समय लगाएर पढेको स्मृति बलियो छ। पछि अङ्ग्रेजी मेरो सपनासँग जोडियो। त्यही भाषाको माध्यमबाट ज्ञानका ढोका खुले। शक्ति र राजनीतिका आयाम बुझने ढोका खुले। अहिले पनि त्यो क्रम जारी छ।”

यो उद्धरणमा मैले अङ्ग्रेजी पढेको र पढाएको अनुभवको झ्लक छ । द काठमाडौं पोस्ट (१३ अगस्त २०२३) को ‘इङ्लिस इन नेपालः लक्जरी अफ च्वाइस’ भन्ने लेखमा पनि मैले यो विषय उठाएको छु। त्यो लेख सागरशमशेर राणाको किङ्डम लस्ट भन्ने किताबको विमोचन र यसको विषयमा लेखेको थिएँ। त्यस लेखमा नेपालमा अङ्ग्रेजी भाषाको पठनपाठनको इतिहासको विषयमा उल्लेख गरेको छु। नेपालीमा त्यसको स्वतन्त्र अनुवाद यस्तो हुन्छ–
“नेपालमा अङ्ग्रेजी भाषा पढाउन संलग्न व्यक्ति भएको हुनाले अनेकौं निष्कर्ष निकालिहाल्न मलाई सजिलो छैन। नेपालको अङ्ग्रेजी शिक्षकको व्यापक संगठन नेल्टा, यसका सम्मेलनहरूमा मैले आफ्ना विचारहरू राखिआएको छु। मैले देखेको र बुझेको आधारमा भन्दा अहिले नेपालमा अङ्ग्रेजी पढाउने तरिकामा केही प्रयोग भइआएका देखिन्छन्। अहिले निकै कडा किसिमका पठन पद्धतिको प्रयोग भएको सुनिरहेको छु। मैले अनेकौं ‘नेल्टा’ अधिवेशनहरूमा आफ्ना विचार राखिआएको छु। यसमा कतिपय स्कूलका प्रसङ्ग आए। ती स्कूलले विद्यार्थीलाई अनिवार्य अङ्ग्रेजीमा बोल्नुपर्ने नियम बनाएका रहेछन्। यसरी माध्यमलाई नियन्त्रण गर्नु उचित होइन । सबभन्दा राम्रो तरिका भनेको मातृभाषा र अङ्ग्रेजी दुवै भाषाको प्रयोग गरेर पढाउनु हो। म यसलाई मिश्रित तरिका भन्छु । म र मेरा सहयोगी अनि मित्रहरूले यही मिश्रित तरिकाको प्रयोग गरेर आएका छन्।” अनि म यहाँ थप्न चाहन्छु, यो तरिका प्रभावकारी भएको छ।

नेपालमा अङ्ग्रेजी पठनपाठनको इतिहास र यसको प्रभाव, समस्या र उत्तेजनाको कथा छ। अहिले पनि अङ्ग्रेजी भाषाको पठनपाठनमा यसको इतिहासका केही प्रसङ्ग आउँछन्। सन् १८५१ मा जंगबहादुर बेलायत भ्रमणबाट फर्केपछि उनलाई आफ्ना सन्तानलाई अङ्ग्रेजी पढाउने चाहना भयो। त्यसै अन्तर्गत सन् १८५३ मा थापाथली दरबारमा दुई जना अङ्ग्रेज शिक्षक ल्याएर उनले स्कूल खोले। पछि त्यही स्कूल १८६७ मा दरबार हाईस्कूल भयो। यी स्कूलहरूमा अङ्ग्रेजी भाषा नेपालीको पनि प्रयोग गरेर पढाइन्थ्यो भनेर अनुमान गर्न सकिन्छ किनभने अङ्ग्रेजी पढाउने शिक्षकहरू नेपाली पृष्ठभूमिको शिक्षा पाएका व्यक्तिहरू थिए। पहिले पहिलेका अङ्ग्रेजहरू पछि बङ्गाली शिक्षकहरू आए। तिनका कथा छन्।

सन् १९५१ मा जेजुइटहरूले सेन्ट जेभियर स्कूल खोलेपछि अङ्ग्रेजी भाषा नै पठनपाठनको माध्यम भयो। तर त्यसमा पनि प्रयोगहरू भए। अङ्ग्रेजी माध्यममा पढाउने स्कूल भएकोले सेन्ट जेभियर र सेन्ट मेरिज स्कूलहरूमा राजधानीका र उपत्यका बाहिरका पनि केही धनाढ्यहरूले आफ्ना छोराछोरी ल्याएर पढाउन थाले। पछि अरू स्कूलहरूले पनि त्यो अभिजात वर्गको पद्धति अनुकरण गर्न थाले। अङ्ग्रेजी स्कूल नाममा पाठशालाहरू खुल्न थाले। यो एउटा चलन र अभ्यास भयो। कतिपय स्कूलहरूले यसरी अङ्ग्रेजी शिक्षाको राम्रै पठनपाठन गरिआए। 

तर पछिल्लो समयमा स्कूलहरूका नीति र अलिक नाफामूलक पद्धति आएपछि अङ्ग्रेजी भाषालाई आफ्नो विशेषता बनाउने लहर चल्यो। आफ्नो स्कूललाई विशिष्ट बनाउन सञ्चालकहरूले अङ्ग्रेजी माध्यमको मात्र प्रयोग गर्न थाले। मैले आफूले गएर निरीक्षण गरेका कतिपय यस्ता स्कूलमा पढाइने अङ्ग्रेजीको स्तर र शिक्षकको योग्यता देखेपछि म विस्मित बन्दै गएँ। तर अङ्ग्रेजी राजनीति स्कूलहरूले प्रयोग गर्न थाले। पछि नेपालका कलेज तहको अङ्ग्रेजी शिक्षण पाठ्यक्रमसँग सम्बन्धित भएर अथवा कति समयमा नेतृत्व गरेर काम गर्दा, मलाई सम्झ्ना छ, यो विषय त्यति चर्को गरेर आएन।
साधारणतया कलेजमा अङ्ग्रेजी पढाउनेहरू कक्षामा नेपालीको प्रयोग गर्छन् भन्ने ‘कम्प्लेन’हरू आउँथे। तर हामीले भन्यौं, अङ्ग्रेजीलाई मूल रूपमा राख तर बुझउने क्रममा नेपालीको पनि आवश्यकता अनुसार प्रयोग गर। यसो भन्ने सल्लाह व्यापक ग¥यौं। स्कूल तहमा भने हाम्रो सरोकार थिएन, तर शिक्षकहरू हाम्रै विद्यार्थी भएकाले अनि नेल्टा संस्थाको नेतृत्व पनि हाम्रै पूर्व विद्यार्थी र मित्रहरूले गर्ने हुनाले तिनका समस्यामाथि हामीले पनि चाख राख्यौं। अहिले नेल्टाकी सक्रिय अध्यक्ष मोतीकला सुब्बा देवान मेरै पूर्व विद्यार्थी हुन् र अरू कतिपय पहिलेका र अहिलेका पदाधिकारी पनि विद्यार्थी र मित्र हुन्।

अब अहिलेको समस्यालाई संक्षिप्तमा राखेर केही निष्कर्ष निकाल्न चाहन्छु। अहिलेको समस्या भनेको विद्यार्थीलाई स्कूलमा अङ्ग्रेजी मात्र प्रयोग गर्न लगाउनु अनि कक्षामा बुझेस् कि नबुझेस् अङ्ग्रेजी मात्रै भन्ने माध्यमको नियम बनाउनु रहेको छ। मेरी भूतपूर्व विद्यार्थी माया राईले पूर्वका स्कूलहरूको सरकारी निरीक्षण गर्ने अधिकारी भएर काम गर्दाको निष्कर्ष धरानको नेल्टा सम्मेलनमा सुनाइन्। यस्ता अनेकौं स्कूलको उदाहरण दिइन् उनले। विद्यार्थीलाई अङ्ग्रेजी नबोलेकोले कक्षाबाट बाहिर निकालेर राखेका कुरा पनि अध्ययनले देखायो । यो सबै एउटा डरलाग्दो प्रयोग हो। यसले मनोवैज्ञानिक समस्या खडा गर्छ। विद्यार्थीले बुझ्ेर पढ्न पाउँदैन । ऊ बुझन र अङ्ग्रेजी पनि सिक्न चाहन्छ। त्यति साधारण कुरामाथि पनि अहिलेसम्म राम्ररी ध्यान दिएको पाइएन। 

यो लामो लेखको विषय हो। अन्त्यमा मेरो भनाइ र लामो अनुभवबाट पाएको अनुभवको आधारमा दिने सल्लाह यस्तो छ। अङ्ग्रेजी पढाउँदा अङ्ग्रेजी माध्यमको निरङ्कुशताको प्रयोग गर्नु आवश्यक छैन। मिश्रित तरिकाबाट अङ्ग्रेजी पढाए हुन्छ। अङ्ग्रेजी सिकिन्छ। यसरी सिक्नेमा म पनि पर्छु । अरू अनेकौं अङ्ग्रेजीका शिक्षकहरू पर्छन्। अहिले पनि म विश्वविद्यालयका कक्षाहरूमा मिश्रित माध्यमको प्रयोग गर्छु। एमफिल र पीएचडी कक्षाहरूमा त यसको झ्न् राम्रो प्रभावकारिता देखियो। स्कूल तहमा त झन् विद्यार्थीलाई अङ्ग्रेजीका पाठ्यपुस्तकको प्रयोग गर्दा मिश्रित माध्यमको प्रयोग प्रभावकारी हुन्छ। तर यो सबैको लक्ष्य अङ्ग्रेजी भाषा सिकाउनु नै हो, नसिकाउने अल्मल्याउने होइन। विद्यार्थीको भाषाको पनि अङ्ग्रेजीको पूरकको रूपमा प्रयोग गरेर पठनपाठन गर्दा नतिजा प्रभावकारी हुन्छ भन्ने कुरा नेपालमा नै प्रयोग भइसकेको विषय हो। 

म फेरि दोहोर्‍याएर भन्न चाहन्छु- अङ्ग्रेजी कक्षाको मूल लक्ष्य अङ्ग्रेजी नै पढाउने हो। विद्यार्थीले बुझेन भने त्यसको केही अर्थ हुँदैन। विद्यार्थीलाई अङ्ग्रेजी पढाउँदा अङ्ग्रेजीमै बोलेर र व्याख्या गरेर शुरू गरौं। अनि पढाउँदै जाँदा जब व्याख्याको समस्या हुन्छ, त्यहाँ अङ्ग्रेजी सँगसँगै जटिल कुरा वा ‘इडियोमेटिक्’ कुरा बुझउन नेपालीको पनि प्रयोग गरौं। अनि फेरि अङ्ग्रेजीमा मात्रै पढाउँदै जाऔं। तर नेपाली आउने ठाउँमा त्यसलाई निषेध गरेर होइन, सहायकको रूपमा प्रयोग गरौं। अनि विद्यार्थीको बीचमा छलफलको कार्य गराऔं। त्यसमा अङ्ग्रेजी बोलेरै गरून् भन्ने कुराबाट आरम्भ गरौं। त्यसरी छलफल गर्ने क्रममा विद्यार्थी र शिक्षकले आवश्यकता अनुसार बीच–बीचमा नेपालीको प्रयोग गर्न थाल्छन्। त्यो सिर्जनशील क्षण हो। त्यसको अङ्ग्रेजी भाषा शिक्षणमा प्रयोग गर्दै जाऔं। तर अङ्ग्रेजी भाषाको पाठकोे प्रयोगै नगरी खाली नेपालीमा गफ दिएर पढाउने पद्धति निरर्थक र प्रत्युत्पादक हो। त्यसो नगरौं। 

नेपालको अङ्ग्रेजी शिक्षण गर्ने र सिक्ने परम्परामा यही मिश्रित तरिका सबभन्दा प्रभावकारी भएको इतिहास छ। त्यो नलेखिएको भए पनि हिजो र आजका अनुभवले प्रष्ट पार्छ। अङ्ग्रेजी भाषा सिक्ने र त्यसको अरू विषयका पनि किताब पढ्नको निम्ति प्रयोग गर्ने स्वाभाविक पद्धति हो। अनेकौं किसिमका पद्धतिको प्रयोग गरेर, अङ्ग्रेजी मात्र माध्यम गर्ने ढर्रालाई प्रयोग गरेर सिर्जनशील किसिमले अङ्ग्रेजी सिक्ने पद्धतिलाई थप जटिल र निष्प्रभावी नबनाऔं।  

commercial commercial commercial commercial