यसपटक होमवर्क अभिभावकलाई !
भारतको चेन्नईस्थित अन्नाई भायोलेट मेट्रिकुलेशन एन्ड हायर सेकेन्डरी स्कूललेगर्मीको लामो विदामा जान लागेका विद्यार्थीलाई यसपटक अलिक फरक खालको ‘होमवर्क’ दिएर पठाएको छ । त्यो अहिले भारतमा मात्र नभएर अन्त समेत ‘भाइरल’ भइरहेको छ । त्यसको कारण हो— त्यो ‘होमवर्क’ विद्यार्थीले नभई अभिभावकले गर्नु पर्नेछ । त्यो गृह कार्य नेपाली अभिभावक र शिक्षकहरूका निम्ति समेत उपयोगी र चाखलाग्दो हुने देखेर यहाँ साभार गरिएको छ ।
यो ‘होमवर्क’ ले हामी विशेषतः बिहान देखि रातिसम्म काम, काम भनेर खट्ने शहरी क्षेत्रका अभिभावकहरूले आफ्ना बालबालिकासित कस्तो व्यवहार गरिरहेका छौं र कस्तो व्यवहार गर्नु पर्छ भन्ने बुझन र त्यसबारेमा सोच्न सघाउने विश्वास गरिएको छ ।
अन्नाई भायोलेट स् कूलले सो पत्रमा लेखेको छ–
‘ गएको १० महीना देखि हामी तपाईंका बालबालिकाको हेरचाह गरिरहेका छौं । तपाईंहरूले बुझनुभएकै छ, उनीहरू स्कूलमा रराम्रोसित सहजाएका छन्, रमाएका छन् । अब आउँदा दुई महीनाका लागि भने उनीहरूको समय तपाईंहरूसित बित्छ । यस अवधिका लागि हामी केही सुझाव दिन चाहन्छौं । आशा छ, यी सुझावले उनीहरूको छुट्टी अझ् रमाइलो पार्न सघाउने छन्ः
- यस अवधिमा हरेक दिन तपाईं कम्तीमा दुई छाक खाना आफ्ना छोरा अथवा छोरीसँगै बसेर खानुहोला । उनीहरूलाई कृषि, पशुपालन, कठिन परिश्रम र अन्नपातको उत्पादन प्रक्रियाका बारेमा जानकारी दिन पनि यो विदाको उपयोग गरिदिनुहोला । यसबाट उनीहरूले खानेकुरा को महत्व बुझछन् ।
- खाना खाइसकेपछि आफ्नो थाल–प्लेट उनीहरूलाई नै माझन दिनुहोला । उनीहरूले स्वावलम्बन र मिहिनेतको महत्व बुझने यसै गरेर हो ।
- आफूले खाना बनाउँदा उनीहरूलाई पनि केही न केही काम गर्न दिनुहोस् । उनीहरूले कुनै तरकारी वा अचार बनाउन सघाए भने आफैं पकाउन पनि सिक्छन् । अझ् आफैं कुनै परिकार बनाउने रुचि देखाउँछन् भने त्यसमा सघाउनुस्, प्रोत्साहन दिनुस् । कुनै कुरा बिग्रिएछ भने पनि चित्त नदुखाउनुस् । त्यसबाट छोराछोरीले आर्जन गर्ने ज्ञान त्यो क्षति भन्दा निकै बढी मूल्यको हुन्छ ।
- उनीहरूलाई लिएर छरछिमेकी र नातागोताका घरमा अवश्य जानुहोस् । छिमेकी र आफन्तका बारेमा जानकारी गराउनु होस् ।
- एकल परिवारमा बस्नुहुन्छ भने बालबालिकालाई यो विदाको बेलामा घर र मावलका हजुरबा हजुरआमाकहाँ लैजानुहोस् । उनीहरूलाई हजुरबा हजुरआमासित घुलमिल गर्न र उहाँहरूसँग कुरा गर्न प्रेरित गर्नु होस् । वृद्धवृद्धाको स्नेह र भावनात्मक सहारा बालबालिकाका निम्ति एकदम जरूरी हुन्छ
- केटाकेटीलाई तपाईंको अफिस वा काम गर्ने ठाउँमा पनि लिएर जानुहोस् । तपाईंको काम देखेर उनीहरूले परिवारका लागि तपाईंले गरेको मिहिनेतको महत्व बुझछन्; त्यसबारे थाहा पाउँछन् ।
- छुट्टीको बेला उनीहरूलाई संभव भएसम्म स्थानीय चाडवाडमा सम्मिलित हुन र हाटबजार आदि जाने व्यवस्था मिलाउनुहोला । यसबाट उनीहरूले पाठ्यपुस्तकमा नपाउने जानकारी र ज्ञान पाउँछन् ।
- बालबालिकालाई करेसाबारीमा काम गर्न हौसला दिनुहोस् । बोट बिरुवा बारेको जानकारीले पनि उनीहरूको मान सिक र शारीरिक विकास मा मदत गर्छ ।
- आफ्नो बाल्यकाल र परिवारको इतिहासका बारेमा पनि छोराछोरीमाझ् चर्चा गर्नु होस् ।
- छोराछोरी या बालबालिकालाई घर बाहिर, टोलछिमेकमा गएर खेल्न दिनुहोस् । अलिअलि चोटपटक लागे लागोस्, पीडा सहन सिक्छन् । लुगा मैला भए होऊन्, धुँदा जान्छ । तर यो उमेरमा कोठामा बसेर मोबाइल फोन चलाउने मात्र बानी भयो भने उनीहरूको शारीरिक र बौद्धिक विकास मा बाधा पुग्छ । मोबाइल, कम्प्युटर आदिको लत बस्नबाट जोगाउने भरपर्दो उपाय नै उनीहरूलाई खुला ठाउँमा साथी साथी भएर खेल्न र उफ्रिन अवसर दिनु हो ।
- उनीहरूलाई कुकुर, बिरालो आदि केही पाल्न मन छ भनेपाल्न दिनुहोस् । तर त्यस्ता जीव भोलि उनीहरू स्कूल जान थालेपछि अथवा होस्टल फर्केपछि पनि सम्हाल्न सकिने खालका होऊन् । खराब लतमा लाग्नबाट जोगाउने यो अर्को उपाय हो ।
- उनीहरूलाई आफ्नो समाज –समुदायसँग गाँसिएका लोकगीत, दन्त्यकथा, गाउँखाने कथा जस्ता कुरा अवश्य सुनाउनुहोला ।
- उनीहरूको उमेर अनुसारका प्रशस्त किताब ल्याइदिनुहोला ।
- टीभी, मोबाइल फोन, कम्प्युटर जस्ता उपकरणबाट सकभर टाढा राख्नुहोला । त्यसरी टाढा राख्ने एउटा उपाय बेलाबेलामा समय निकालेर उनीहरूसित बसेर राम्रा फिल्म हेर्नु र तिनका बारेमा कुरा गर्नु पनि हो ।
- बालबालिकालाई चकलेट, क्यान्डी, चाउचाउ, चिजबल, चिप्स, कोक पेप्सी जस्ता खाने पिउने कुरा बाट सकेसम्म टाढै राख्नुहोस् । त्यस्ता कुरा को विकल्पमा खान सकिने स्वस्थ्यकर चीजहरू तयार पार्न आफैंले विशेष जाँगर देखाउनुहोला ।
बाबुआमा हुन सजिलो छैन, तर साह्रै अप्ठ्यारो पनि छैन । बालबालिकासित मित्रवत् व्यवहार गर्नु होस्, उनीहरूका कुनै व्यवहार मन परेनन् भने अरूलाई नसुनाउनुहोस्, सबैभन्दा पहिले उनीहरूलाई नै भन्नुहोस्; उनीहरूसँगै छलफल गर्नु होस् । यसो गर्नु भयो भने तपाईंका धेरै समस्या स्वतः समाधान हुन्छन् । सधैं सम्झनुहोला– उनीहरूका बारेमा अरूसामु कुरा गरेको बालबालिकालाई पटक्कै मन पर्दैन
हामी स्कूलमा तपाईंका बालबालिकालाई शिक्षा दिन्छौं तर तपाईंको घरको परम्परा, रीतिरिवाज र मूल्य प्रणालीको शिक्षा दिने तपाईंहरू नै हो । धन्यवाद !’



